हराउँदै रैथाने धान

मेचीकाली संवाददाता

१७ असार २०७८, बिहीबार
942 shares

पाल्पा, असार १७ । पछिल्लो समय पाल्पामा रैथाने जातका धान भने लोपोन्मुख अवस्थामा छ । स्थानीय विभिन्न जातका धान खाँदा मिठो स्वादका भए पनि उत्पादन कम हुने र वर्णशङ्कर जातका धान उत्पादन बढी हुने भएका कारण पनि कृषकले रैथाने जातका धान रोप्न छाडेका हुन् । पहिले–पहिले परम्परागत ढङ्गबाट रोपिने बर्मेली, अनदी, जर्नेली, बातिसरो, थापाचिनी, बासमती, झिनुवा, आमझोत्तेलगायतका धानको बीउ लोपोन्मुख अवस्थामा रहेको कृषकको भनाइ छ ।

पछिल्लो समय बजारमा पाइने विभिन्न थरीका धानको बीउबाट उत्पादन धेरै हुने तथा पानी कम लाग्ने भएपछि कृषकको यसतर्फ आकर्षण बढेकोे कृषि शाखा कार्यालय रामपुरका प्रमुख रामहरि पाण्डेयको भनाइ छ । उनका अनुसार उत्पादन बढी, धानको नल छोटो र स्याहार्न पनि सजिलो हुने भएपछि कृषक उन्नत धानको बीउतर्फ आकर्षित भएका छन् । सावा मनसुली, शान्ति, जानकी, जिरामसिना, साना मनसुली, युएस, खुमल चारलगायतका धानखेतीमा यस क्षेत्रका कृषकको आकर्षण देख्न सकिन्छ ।

नयाँ उन्नत जातका धानको बीउमा किरा कम लाग्ने र उत्पादन बढी हुने भएका कारण कृषकले पहिलेपहिले जस्तो घरमै धानको बीउ राख्ने चलन पनि हराउन थालेको छ । कृषकले धेरै उत्पादन हुने र प्रविधिको प्रयोगबाट छिटोछरितो ढङ्गले खेती गर्ने प्रणाली अपनाउन थालेका छन् । पुराना धानबाट खाना स्वादिलो भए पनि उत्पादन कम, सिँचाइका लागि पानी धेरै लाग्ने, नल लामो हुने र धान नपाक्दै ढल्ने कारण पनि यसतर्फ कृषकको ध्यान कम जान थालेको कृषक हुमादेवी देवकोटाले बताउँछिन् । चाहिएको बेला आकाशबाट सिँचाइका लागि पानी नपर्ने र सजिलै पानी उपलब्ध नहुने ठाउँमा पानी कम लाग्ने भएका कारण पनि कृषकले धुलोमा बीउ राख्ने र वर्णशङ्कर धान रोप्ने गर्दछन् । बेलाबेला पानी बोकेर धानमा राख्ने कृषकको भनाइ छ ।

पछिल्लो समय वर्णशङ्कर जातको भनेपछि धेरै फल्ने लोभमा कृषक प्रभावित भएको रामपुरका कृषक सूर्यप्रसाद रेग्मी बताउँछन् । वर्णशङ्करभन्दा पुराना जातका धान धेरै स्वादिलो र फाइदाजनक भए पनि यसको महत्व कृषकले बुझ्न नसकेको उनको धारणा छ । पाल्पामा वर्णशङ्कर जातका धान रोपे पनि बजारका स्वादिला चामल किनेर खाने गर्दछन् । आफूले उत्पादन गरेका धान बिक्री गरी बासमतीलगायतका केही चामल बजारबाट खरिद गरी कृषकले नै प्रयोग गर्ने गर्दछन् ।

पाल्पामा ५० प्रतिशत रोपाइँ
पाल्पामा ५० प्रतिशत रोपाइँ सकिएको छ । कृषकको महत्वपूर्ण पर्वजस्तै मानिने असार १५ सम्म आइपुग्दा जिल्लाका फाँट क्षेत्रका खेतमा रोपाइँको चहलपहल बढेको छ । यस वर्ष मनसुन निकै छिटो भित्रिएको, मिनिट्रिलर, पावरट्रिलर, ट्याक्टरलगायतका यन्त्रका कारण तथा निषेधाज्ञाको समय शहर पसेका युवा गाउँमै हुँदा रोपाइँ छिटो भएको आकलन गरिएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव अर्यालले बताए ।
जिल्लाको तानसेन नगरपालिकाको माडीफाँट, रम्भाको हुँगी, अर्सेदी, निस्दीको ढुङ्गानाबेँसी, तिनाउको कचल, रैनादेवी छहरा गाउँपालिकाको सर्देवा, रिब्दीकोटको लदुवा तथा बगनासकाली, माथागढी, पूर्वखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा रोपाइँ भएको केन्द्रले जनाएको छ । जिल्लाकै बढी धान उत्पादन हुने क्षेत्रका रूपमा पहिचान बनाएको माडीफाँटमा करिब ७० प्रतिशत धान रोपाइँ भएको ज्ञान केन्द्रले जनाएको छ ।

पाल्पाको रामपुरमा भने केही मात्रामा मात्रै रोपाइँ थालिएको छ । रामपुरमा करिब पाँच प्रतिशत रोपाइँ भए पनि अधिकांश खेतबारीमा मकै पाक्नै बाँकी भएका कारण रोपाइँ नभएको कृषि शाखा कार्यालय रामपुरका प्रमुख रामहरि पाण्डेयले बताउँछन् । उनका अनुसार मकै छर्ने समयमा आकाशबाट पानी ढिलो परेको, पर्याप्त पानी नपर्दा समयमा मकै नपाकेकाले धान रोपाइँ यसवर्ष ढिलो भएको छ । जिल्लामा विशेषगरी असारको पहिलो सातादेखि साउनको अन्तिम सातासम्म रोपाइँ हुन्छ । विगत वर्षमा भन्दा यस वर्ष धानखेती गरिने क्षेत्रफलसमेत वृद्धि भएको छ । यस वर्ष विभिन्न पालिकाले अनुदानमा धानको बीउ अनुदानमा दिएको तथा युवा गाउँ फर्केर बाँझो जग्गामा खेती गर्न थालेका कारण पनि यस वर्ष नौ हजार ६०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको ज्ञान केन्द्रका प्रमुख अर्यालको भनाइ छ । यसअघि जिल्लाका करिब आठ हजार ६२० हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको थियो ।

पछिल्लो समय जिल्लामा धान उत्पादनसमेत बढ्दै गएको छ । जिल्लामा विसं २०७६ मा तीन दशमलव आठ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएकामा वृद्धि भएर २०७७ मा चार मेट्रिक टन प्रतिहेक्टर उत्पादन भएको केन्द्रको तथ्याङ्क छ । उन्नत जातका वर्णशङ्कर धान रोपाइँ, यन्त्रको प्रयोगले माटोको राम्रोसँग खनजोत तथा समयमा वर्षाका कारण पनि उत्पादन वृद्धि भएको ज्ञान केन्द्रको अनुमान छ ।

असार १५ मा कोरोना भाइरसको जोखिम कायमै रहेकाले जिल्लाका केही स्थानमा मात्रै दूरी कायम गर्दै सामान्य तरिकाले रोपाइँ महोत्सव गरिएको छ । कृषि ज्ञान केन्द्र पाल्पाको सहयोग र निस्दी कृषि शाखाको आयोजनमा ढुङ्गानाबेँसी, कृषि ज्ञान केन्द्र र तानसेन नगरपालिका कृषि शाखाको सहयोग स्थानीय महिला समूहको आयोजनामा माडीफाँटमा १८औँ धान दिवस तथा रोपाइँ महोत्सवसमेत गरिएको छ । जिल्लाको माडीफाँट, अर्गलीफाँट, रामपुरफाँट, हेक्लाङफाँट र दोभानलगायतका फाँटमा बढी धान उत्पादन हुन्छ ।

दाङमा ६० प्रतिशत रोपाइँ
यसवर्ष मनसुन छिटै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि दाङमा असार महिनाभित्रै धान रोपाइँ सम्पन्न हुने अनुमान गरिएको छ । असारको दोस्रो हप्तासम्म जिल्लामा ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञानकेन्द्र दाङका कृषि प्रसार अधिकृत रुद्रमणि पौडेलले जानकारी दिए । उनका अनुसार गत वर्ष सो अवधिमा जिल्लामा ३० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको थियो । अहिलेसम्म जिल्लाको देउखुरी क्षेत्रका अधिकांश गाउँमा रोपाइँ सम्पन्न भइसकेको छ भने घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिकासहित पश्चिम दाङमाभने रोपाइँ भैरहेका छन् ।

यसपटक लगातार पानी परेकाले आफूले पहिलो पटक ट्रयाक्टरको प्रयोगबाट खेत तयार गरी धान रोपाइँ गरिरहेको दङगीशरण गाउँपालिकाका किसान कृष्ण चौधरीले बताए । जिल्लामा गतवर्ष ३८ हजार हेक्टर क्षेत्रफल जग्गामा धानखेती गरिएकोमा यसवर्ष ३९ हजार ६ सय हेक्टर क्षेत्रफल जग्गामा धान खेती गरिने अनुमान गरिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।

केन्द्रका अनुसार यहाँका किसानले सावित्री, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२, लगायतका वर्णशङ्कर जातका धान लगाएका छन् । यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा–२,सुक्खा –३ जातका धान लगाउने गरेका छन् । जिल्लामा यसपटक धान रोपाइँको लागि आवश्यक पर्ने रसायनिक मलको अभाव भने रहेको छैन् । रासस