लुम्बिनीका लोभी सांसदः धनी सांसदले पनि ताक्छन् उपचार खर्चमा राज्यको मुख

मेचीकाली संवाददाता

८ आश्विन २०७८, शुक्रबार
595 shares

प्रकाश आचार्य
बुटवल । शंकर पोखरेल नेतृत्वको निवर्तमान लुम्बिनी प्रदेश सरकारमा ९९ दिन स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका एमाले सांसद भोजप्रसाद श्रेष्ठले प्रदेशसभाबाट ३५ हजार रूपैयाँ उपचार खर्च लिएका छन् । तत्कालीन बुटवल नगरपालिकाको मेयरसमेत भएका एमाले सांसद श्रेष्ठको बुटवलको सुख्खानगरमा २ तले घर छ ।

श्रेष्ठका एक छोरा औषधि व्यवसायी र अर्का डाक्टर छन् । सामान्य उपचार खर्च आफैं बेहोर्न सक्ने अवस्था भए पनि सांसद श्रेष्ठले राज्यकोषबाट आर्थिक वर्ष २०७७÷०७८ मा ३५ हजार ३६ रूपैयाँ उपचार खर्च लिएका हुन् । श्रेष्ठले अघिल्लो आव (२०७६÷०७७) मा पनि ३५ हजार १६९ रूपैयाँ उपचार खर्च लिएका थिए ।

एमालेकै अर्का सांसद विष्णुप्रसाद पन्थीको बुटवल लक्ष्मीनगरमा २ तले घर छ । कपिलवस्तुबाट निर्वाचित सांसद पन्थी आफ्नै ‘लग्जरियस’ गाडीमा हुइँकिन्छन् । पन्थीको कपिलवस्तुको वाणगंगामा पनि घर छ । तर, उनले पनि सामान्य उपचार खर्चका लागि राज्यको मुख ताकेका छन् । उनले आव २०७७÷०७८ मा प्रदेशसभाबाट २५ हजार ५८५ रूपैयाँ लिएका छन् ।

सत्ता साझेदार दल कांग्रेसका सांसद बसिउद्धिन खाँ पनि रुपन्देहीकै हुन् । सामान्य उपचारका लागि राज्यको मुख ताक्नुपर्ने खालको अवस्था भएका सांसद होइनन् तर उनले समेत राज्यकोषबाट यो वर्ष ३१ हजार ३२३ रूपैयाँ उपचार खर्च लिएका छन् ।

कांग्रेस संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले २ लाख ४९ हजार १५७ रूपैयाँ लिएका छन् । कपिलवस्तुका उनी उखु उद्योगी हुन् । उनले उखु किसानले ८ करोड रूपैयाँभन्दा बढी भुक्तानी नगरेको आरोप छ । उनका लागि त्यो दुई लाख रुपैयाँका लागि राज्यको मुख ताक्नुपर्ने आवश्यकता देखिँदैन । आफूले तिनुपर्ने पैसा नर्तिने तर, लिने ठाउँ कही नछाडेको आरोप उनलाई लागेको छ ।

बुझे २३ लाख उपचार खर्च

लुम्बिनी प्रदेशका ३६ सांसदले उपचार खर्चको नाममा सामान्य चेकजाँचको समेत बिल पेश गरेर आर्थिक वर्ष २०७७÷०७८ मा झण्डै २३ लाख रुपैयाँ बुझेका प्रदेश सभाका सूचना अधिकारी विमला पौडेलले जानकारी दिइन् ।

उपचार कोषबाट रकम बुझ्नेमा पारिवारिक रूपमा आर्थिक हैसियत राम्रो भएका र आफ्नो घर भाडामा लगाएर हजारौं रुपैयाँ उठाउने सांसदहरू पनि छन् । प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको स्वास्थ्य उपचारसम्बन्धी कार्यविधि २०७६ बनेपछि उपचार खर्च लिन थालिएको हो ।

उपचार कोषबाट रकम लैजानेमा राष्ट्रिय जनमोर्चाबाहेक अन्य राजनीतिक दलका सांसद छन् । प्रदेश सभामा एमाले, माओवादी, कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र गरी ८१ सांसद (यस अगाडि ८७) को प्रतिनिधित्व छ । सुगर, दाँत, ग्यास्टिक जाँच गरेको पनि बिल पेश गरेर सुविधा लिएका छन् । चिकित्सकको प्रेस्क्रिप्सन, औषधि र मेडिकल जाँचको रिपोर्ट र बिलसहित सचिवालयमा निवेदन पेश भएपछि उपचार कोषबाट रकम पाइने व्यवस्था छ ।

कार्यविधिअनुसार १ जना सांसदले उपचारबापत एक आर्थिक वर्षमा ५ लाख रूपैयाँसम्म उपचार कोषबाट रकम लिन पाउने व्यवस्था छ । प्रदेशसभाका एक कर्मचारीले भने, ‘सामान्य चेकजाँच गरेका चिकित्सकको प्रेस्क्रिप्सनका आधारमा समेत उपचार कोषबाट माननीयहरूले रकम बुझ्नुभएको छ । रीतपूर्वक निवेदनसहित पेश गरेका छन् ।’

५० लाखभन्दा बढी मूल्यका गाडी चढेर प्रदेशसभामा आउने, जिल्ला सदरमुकाममा ३ तले घर भएका सांसदले समेत राज्यकोषबाट १०÷१५ हजारको उपचारको खर्च बुझ्ने गरेका छन् ।

कुन सांसदले कति उपचार खर्च लिए ?
गत आवमा लुम्बिनी प्रदेशसभाका ३६ सांसदले उपचार खर्च बुझेका छन् । कांग्रेस सांसद अष्टभुजा पाठकले ४८ हजार ४१९, जनता समाजवादी पार्टी (जसपा) सांसद (हाल पदमुक्त) कल्पना पाण्डेले १ लाख ८० हजार ३४३, एमाले सांसद कमलराज श्रेष्ठले ३२ हजार ५९५, सांसद कूलप्रसाद पोखरेलले ३९ हजार ७१०, कृष्णप्रसाद न्यौपानेले १ लाख १९ हजार ९३३ रुपैयाँ लिएका छन् ।

त्यसैगरी उपसभामुख कृण्णी थारुले २४ हजार ५६६, खड्गबहादुर खत्रीले १२ हजार ५२२, चिन्तावती कुर्मीले १५ हजार ५९०, डिल्लीबहादुर चौधरी (हाल मन्त्री) २ लाख ३७ हजार २७०, आशा स्वर्णकारले ३५ हजार १४२, तेजबहादुर वलीले ३६ हजार ४५०, थानकुमार थापाले २७ हजार ९९७ रकम उपचार खर्च बुझेकी छन् ।

त्यस्तै दधिराम न्यौपाने (हाल पदमुक्त) ५३ हजार ९१५, दिनेश पन्थी (हाल पदमुक्त) १६ हजार ६०८, दीपेन्द्रकुमार पुन मगर ७ हजार ६०७, दीपेश थारु १० हजार ३३, दीपा विक, २४ हजार ३५७, धमकली चौधरी १३ हजार ७७०, पुरनमान बज्राचार्य २ लाख २० हजार १६७, पुर्मती ढेंगा (हाल मन्त्री) २४ हजार ६४६, सभामुख पूर्णबहादुर घर्तीले १० हजार ८६५, माला गोतामे १ लाख ६० हजार ७५६, महम्मद याकुव अन्सारी ६९ हजार ५०४, रमा अर्याल ३७ हजार ४७९, रामजी प्रसाद घिमिरे २२ हजार ६६५, रुन्धावती शर्मा ४३ हजार ८५४, विजयबहादुर यादव (हाल पदमुक्त) १ लाख २६ हजार ४३८, विमला शर्मा पन्थी ६० हजार ६४९, वैजनाथ कलवार १ लाख ४ हजार ४५३, शंकर गिरी ३५ हजार ५८, शान्तीदेवी स्वर्णकार ४० हजार ६०४ र सरस्वती गौतम ४५ हजार ७७८ गरी २२ लाख ८० हजार ८४६ रूपैयाँ सांसदले उपचार खर्च लिएका हुन् ।

गएको आर्थिक वर्षमा २८ सांसदले १४ लाख ४९ हजार ५५० रुपैयाँ सांसदले उपचार खर्च बुझेका थिए । आव २०६६÷६७ मा उपचार खर्चमा सबैभन्दा धेरै प्रदेश सभाले स्व.कांग्रेस दलका नेता बलदेव शर्मा पोखरेललाई ४ लाख ८६ हजार ४२४ रूपैयाँ दिएको थियो । आव २०७६÷७७ मा अहिले कांग्रेस दलका नेता कनौडियालाई २ लाख ४९ हजार १५७ रूपैयाँ लिएका छन् । प्रदेश सभाका कर्मचारीले भने, ‘सांसदहरूले नैतिकताका आधारमा सुविधा लिन्न भन्नुभएको छैन । कानुनको सेवासुविधा छोड्दिन भन्नेलाई हामीले केही भन्न मिल्दैन ।’

सांसदमा नैतिकता छैन: सुशासनविद्
सुशासनविद् खेमराज रेग्मीले नेता र सांसदहरूमा नैतिकता नभएको बताए । रेग्मीले भने, ‘कानुन नै बनाएर सुविधा लिने व्यवस्था गरिएपछि किन लिएका होलान् भन्न मिल्दैन । महामारीमा राज्यले नै कानुन बनाएर उपचारबापतको रकम जनताको उपचार कोषमा राखौँ भनेको भए बाध्य हुन्थे तर आर्थिक रूपमा सम्पन्नहरूले सानो–सानो रकम पनि उदारता र नैतिकताले लिन्न भनेको भए राम्रो हुने थियो ।’

प्रदेशसभा सभामुखको ५३ हजार, उपसभामुखको ५०, विपक्षी दलका नेताको ५० र सचेतकको ४८ हजार र सदस्यको ४५ हजार रुपैयाँ मासिक पारिश्रमिक रहेकोमा साउनदेखि सेवासुविधा १५ देखि १८ प्रतिशतसम्म बढाइएको छ । संसद्ले बैठक भत्ता १ हजार पाउँछन् । सांसदलाई घरभाडाबापत १५ हजार रुपैयाँ समेत उपलब्ध गराइन्छ । बुटवलमा घर हुनेलाई ७ हजार ५०० रुपैयाँ दिइन्छ । सांसदले इन्धन खर्चदेखि गाडीको मोबिल समेत पाउँछन् ।