ईलाका प्रहरी कार्यालय पिपराद्वारा सार्वजनिक सुनुवाई

मेचीकाली संवाददाता

९ आश्विन २०७८, शनिबार
827 shares

पार्बती आचार्य
कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपराको आयोजनामा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । इलाका भित्र हुने विभिन्न समस्याहरु निराकरण गर्न हरेकको भूमिका उल्लेखनीय भएको हुँदा जिल्ला प्रशासन, नगरपालिका, प्रहरी, नागरिक समाज, महिला अधिकारकर्मी, होटल व्यावसायी, मिडियाकर्मी लगायतको सहभागितामा बाणगंगा नगरपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको सहजीकरण गर्दै इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिनेश गुरुङले ०७५÷०७६, ०७७÷०७८ र ०७८÷०७९ असोज सम्मको त्रिबर्षीय मुद्दाको बिबरण प्रस्तुत गरेका थिए । आत्महत्या, झैझगडा, चोरी शिकारी, मापसे कुटपिट, सवारी दुर्घटना, यौन दुव्र्यवहार लगायतका घटनाहरुको सम्पूर्ण विवरणहरुका बारेमा जानकारी दिएका थिए । झुण्डेर आत्महत्या गर्नेको संख्या बढी देखिएको तथ्यांकमा उल्लेख गरिएको छ ।

यस्तै सञ्चार सुधार र कार्यलय व्यवस्थापनमा अग्रसर रहेको बताए । सडकका विभिन्न ठाउँमा सिसि क्यामेरा समेत जडान गरिएको र भावी योजना बृहत्तर रुपमा अगाडी बढाउने योजना सहित ई.प्र.कामा ब्यारेक निर्माणका लागि वाणगंगा नगरपालिकाबाट रु. ५ लाख बजेट बिनियोजन भएको, प्रहरी चौकी मेचकुरी मर्मत सुधारको लागि रु. ५ लाख नगरपालिकाबाट विनियोजन भएको, प्रहरी चौकी मेचकुरीको कम्पाउण्ड वालको लागि रु. २ लाख २५ हजार विनियोजन भएसँगै निरन्तर अगाडी बढ्ने लक्ष्य रहेको जानकारी दिए ।

कार्यक्रममा सहभागीहरुले उठाएका जिज्ञासा तथा प्रश्नहरुको उत्तर दिँदै वाणगंगा नगरपालिकाका नगर उपप्रमुख चक्रपाणी अर्यालले नगरमा शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने बताए । यस्तै अपराधहरु जति देखिन्छन् त्यती नै आफूहरु चनाखो हुनुपर्ने बताउँदै नगरपालिकाका गम्भीर समस्याहरुलाई समाधान गर्न अनवरत रुपमा अगाडी बढीरहेको स्पष्ट पारे ।

यस्तै ट्राफिक जामका विषयमा नगर सचेत रहेको साथै छाडा चौपाया र फोहोर व्यवस्थापनमा निरन्तर रुपमा अगाडी बढेको तर्क गरे । छाडा चौपाया व्यवस्थापन गर्ने विषय गम्भीर रहेको र पूरै गाई व्यवस्थापन गर्न सक्ने नगरको क्षमता नभएकोले दूध खाने समयमा खाने र पछि छोडिदिने प्रवृत्ति भएका किसानहरुलाई नगरले कारबाही गर्न सक्ने बताए ।

स्थानीय तहले जति पैसाको खोलो बगाए पनि यो समस्या न्यूनीकरण गर्न निकै कठिन देखिएको स्पष्ट पारे । समस्या पहिचान गरी नगरले त्यसको विकल्प खोजी समाधानतर्फ लाग्ने नगरको जिम्मामा रहेको उपप्रमुख अर्यालले बताए । यस्तै न्यायिक समितिमा आएका मुद्दाहरु क्षेत्राधिकार भित्र रहेर हेर्ने गरिएको समेत उनले स्पष्ट पारे ।

प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जतिसक्यो छिटो अपराध न्यूनिकरणका लागि ठाउँ ठाउँमा सिसिटिभि क्यामेरा जडान गरिने बताए । सम्बन्धित सरकारले प्रहरीसँगको समन्वयमा समस्या समाधान गर्न अनुरोध गर्दै आएको जानकारी दिए । वाणगंगा नगरपालिका कोरोनाको रेड जोनमा रहेकोले स्वास्थ्य मापदण्ड हरेकले ब्यक्तीले पालना गर्न आग्रह पनि गरे । यस नगरपालिकामा यसै हप्तामा १ जनाको कोरोनाका कारण मृत्यु भएकोले सतर्कता अपनाउन स्थानीय निकायलाई अनुरोध गरे ।

कार्यक्रममा प्रहरी उपरिक्षक दान बहादुर कार्कीले सहभागिहरुको जिज्ञासालाई समेट्दै लोकतन्त्रको चाहना अनुसार प्रहरी अघी बढेको र निरन्तर बढीरहने बताए । जनताका हरेक समस्याहरुलाई उठान गनुर्् सार्वजनिक सुनुवाई कार्यक्रमको उद्देश्य भएकोले ती समस्याको समाधान गर्न प्रहरी कटीबद्ध रहने धारणा राखे । विश्वव्यापी भयावह समस्याका रुपमा रहेको लागू औषध झ्याप्पै नियन्त्रण गर्न कठिन भएको बताए । हत्या हिंसाका घटना तराई मूलमा बढी देखिएको र घटना न्यूनीकरण गर्न लक्षित समूहलाई सचेतना फैलाउने लक्ष्य लिएको छ । दुर्घटना न्यूनीकरण गर्न चालक आफै चनाखो हुनुपर्ने स्पष्ट पारे ।

यस्तै शसस्त्र प्रहरीबल २८ नं. बाहिनी प्रमुख धु्रव बहादुर कार्कीले सिमाक्षेत्रमा हुने चोरी तस्करी लगायतका घटना न्यूनीकरणका लागि प्रहरी प्रशासन हरतरहले लाग्ने बताए । प्रदेश र केन्द्रबाट नै नागरिकका हरेक समस्या समाधान गर्न तत्पर रहने भनाई व्यक्त गरेका थिए ।
कार्यक्रममा नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाइले नागरिक समाज प्रहरी प्रसासनसंग हातेमालो गरेर अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरे । समाजमा हुने बिभिन्न किसिमका घटनाहरुलाई कमगर्न स्थानियतह, नगारिक समाज, बिभिन्न संघसंस्था, राजनितीक दल र समाजका अगुवाहरुले अभियान संचालन गर्नुपर्ने बताए ।

तुल्सीराम न्यौपाने, नारायण पाण्डे, पार्वती आचार्य, चन्द्रकान्त न्यौपाने, राधा पाण्डे, सुर्य चुँदाली लगायतले जुनसुकै घटनामा पनि राजनितीक करण गर्न नहुने जिज्ञासा राखेका थिए । महिला तथा बालबालिका माथि हुने घटनामा पीडीतले सहज रुपमा न्याय पाउन नसक्नु दुखको कुरा भएको बताएका थिए । घटना घटि सकेपछि पीडकलाई बढवा दिने र पीडीतलाई आर्थिक प्रलोभनमा पारी होस्टाईल बनाउनु गलत प्रबृधि भएको हुँदा यस बिषयमा सबै सचेत हुन आबश्यक भएको सुझाव दिएका थिए ।

सर्बजनिक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको अध्यक्षतामा, समाजसेवी, विभिन्न संघ संस्थाका पदाधिकारी, राजनीतिज्ञ, मानव अधिकारकर्मी, संचारकर्मी, बुद्धिजिवि लगायतको सहभागिता रहेको थियो । भने प्र.ना.नि टुक बहादुर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।