बुद्धभुमिमा शिक्षाको अधिकार सम्बन्धि अन्तरक्रिया

मेचीकाली संवाददाता

१५ आश्विन २०७८, शुक्रबार
397 shares

सुनिल आचार्य
कपिलवस्तु । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजनामा (इएलपी) परियोजना अन्तरर्गत शिक्षाको अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम बिहीबार कपिलवस्तुको बुद्धभुमि नगरपलिका–४ भृकुटी माबिमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी एवं वडा नं. ९ का वडा अध्यक्ष खुमानन्द न्यौपानेले नेपालको संबिधान २०७२ ले आधारभुत तह अनिबार्य र माध्यमिक तह सम्म निशुल्क शिक्षा भनेपनि निशुल्क शिक्षामा धेरै चुनौती भएको बताए । कक्षा १२ सम्म मातृभाषामा शिक्षा दिन आबश्यक छ तर पाठ्यक्रम र पाठ्यपुस्तक बिचको तालमेल नमिल्नुको कारण मातृभाषा दिन गाह्रो भएको बताए ।

सामुदायिक बिद्यालयमा उच्च शिक्षा हासिल गरेका शिक्षकहरु हुँदाहुँदै पनि किन गुणस्तरिय शिक्षा हुन सकेन भन्ने बिषयमा सबैले खोज्न आबश्यक देखिएको छ । समुदाय, बिद्यालय ब्यबस्थापन समिती र जनप्रतिनिधीहरुले यस बिषयमा चासो लिन जरुरी भएको प्रमुख अतिथी न्यौपानेले बताए ।

गुणस्तरिय शिक्षाका लागि सबैको चिन्तन हुन आबश्यक भएको उनको भनाई छ । अंग्रेजी माध्ययम बढाउनका लागि जनशक्ति ब्यबस्थापन गर्न जरुरी छ । ईच्छा शक्ति नभएको कारण बुद्धभुमि नगरपालिकाले शिक्षामा लगानी बढाउन नसकेको धारणा राखे । सरकारले जारी गरेको विद्यार्थी सिकाई सहयोग निर्देशिका बमोजिम विद्यालयहरु संचालन गर्न आग्रह गरे ।

कार्यक्रममा बुद्धभुमि नगरपालिकाका शिक्षा शाखा प्राबिधिक सहायक माधव पौडेलले कोरोनाका कारण बिद्यालय बन्द भएपछि बिद्यार्थीहरुले गुणस्तरिय शिक्षा लिन नपाएको बताए । बुद्धभुमि नगरपालिका भित्र शिक्षा क्षेत्रमा लगाईएको लगानीका बारेमा जानकारी दिंदै शिक्षा युवा तथा खेलकुद शाखाले यस आर्थिक बर्षमा शिक्षा क्षेत्रमा कुल बजेटको २४ दशमलव ८१ प्रतिशत बिनियोजन गरेको बताए ।

यो बजेट हेर्दा ठुलो हिस्सा देखिएपनि शिक्षामा बजेट न्युन भएको, बिद्यालयको भौतिक बिकास, गुणस्तरिय क्षेत्रमा सुधार, पौंच बृद्धिका कार्यक्रममा अपेक्षित बजेट बाडफाड हुन नसकेको जानकारी दिए । शिक्षाको मुख्य उद्देश्य भनेको बिद्यालयमा धेरै बिद्यार्थीहरु भित्राउने, सिकाउने र टिकाउने गुण स्तरिय शिक्षा दिलाउनु हो ।

प्राबिधिक पौडेलले सहभागीवाट आएका जिज्ञासाको संबोधन गर्दै संविधान र कानुन बमोजिकका अधिकार सबैले उपभोग गर्न पाउनु नागरिकको अधिकार भएको बताउदै कुनै पनि बाहानामा विद्यालयहरुले शुल्क उठाउन नपाउने बताए । प्राबिधिक शिक्षा र उच्च शिक्षा अध्ययन गर्ने छात्राहरुका लागि छात्राबृत्ति प्रदान गर्न हरेक वर्ष रु. ३० हजारका दरले प्रत्येक वडा बाट १ जना छात्रा त्यसमा पनि मधेशी, थारु, दलित र अल्पशंख्यक बाट हुनेगरी रकम छुट्टयाएको जनाए ।

यस्तै बिद्यार्थीहरुको शिक्षामा पौच बढाउनका लागि र बिद्यालय छोड्ने दरलाई कम गर्नका लागि कक्षा ८ मा पढ्दै गरेका छात्राहरुलाई साईकल बितरण, दलित छात्राहरुलाई, साईकल बितरण गरिएको, गणित, अंग्रेजी र बिज्ञान पढाउने शिक्षकहरुलाई तालिमको ब्यबस्था गरिने योजना रहेको जानकारी दिए । उनले शिक्षक दरबन्दी मिलान हुन नसक्दा कतै धेरै शिक्षक र कतै कम रहेको बताए । हरेक बिद्यालयमा कक्षा ६ देखि माथि अध्ययन गर्ने छात्राहरुकालागि सेनेटरी प्याडको निशुल्क ब्बयबस्था गरिएको बताए ।

भृकुटी माबिका बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष बल बहादुर सेन वलीले राष्ट्रभाव बढाउनका लागि शिक्षाको आबश्यकता हुने बताए । एकातिर शिक्षाको गुणस्तरलाई बृद्धि गर्ने भनिएको छ भने अर्कोतर्फ सरकारले दरबन्दी परिर्पुिर्त नगर्दा बिद्यार्थीहरुले गुणस्तरिय शिक्षा लिन नपाएको बताए । बिद्यार्थीहरुलाई शिक्षामा ध्यान दिन आग्रह गर्दै बिद्यार्थीहरुलाई शिक्षामा कुनै कुरामा अभाव भएमा ब्यबस्थापन समितीलाई जानकारी गराउन आग्रह गर्दै ब्यबस्थापन समितीले गर्न सक्ने सहयोगका लागि प्रतिबद्धता ब्यक्त गरे ।

यस्तै भृकुटी सामुदायिक बिकास केन्द्रका अध्यक्ष मिनराज बेलवासेले शिक्षा निति अहिले ब्यवहारीक नभएको भन्दै अवको शिक्षा ब्यवसायीक, जिवन उपयोगी शिक्षा निति ल्याउनु प्रर्ने सुझाव दिए । राष्ट्र निर्माणमा शिक्षाको ठुलो भुमिका भएको हुँदा उद्देश्य अनुसारको प्रबिधी तर्फ जानुपर्ने, शिक्षा रोजगार र प्रबिधीको महत्व बुझ्न आबश्यक भएको बताए ।

स्वास्थ्य र शिक्षको अवधारणालाई परिमार्जित गरेर जानु पर्ने र देशको संस्कारको आधारमा शिक्षा पद्दती हुनुपर्ने लगाएतका बिषयमा सुझाव दिंदै सामुदायिक बिकास केन्द्रबाट हुने सहयोगकालागि प्रतिबद्धता जनाए । यसैगरी जनकल्याण माबिका प्रधानाध्यापक टिकाराम खानालले शिक्षामा बजेट अभावका कारण कुनै न कुनै बहानामा बिद्यार्थीहरुबाट शुल्क लिन बाध्य भएको बताए । नीती र संबिधानले संबोधन गरेको बर्तमान अवस्थामा सबै बिद्यालयमा बालबालिकाहरुले निशुल्क र अनिबार्य रुपमा शिक्षा प्राप्त गर्न नसकेको बताए ।

बिभिन्न शिर्षकमा बिद्याथीहरुलाई पुर्ण रुपले निशुल्क शिक्षा दिन सक्ने अवस्थामा नरहेको बताउँदै गुणस्तरिय शिक्षाकालागि केन्द्र, प्रदेश र स्थानिय सरकारले ध्यान दिन जरुरी भएको बताए । बिद्यालय अन्तरर्गतका बिभिन्न समस्याहरुलाई समाधान गर्न राज्यले शिक्षामा ठुलो लगानी लगाउनु पर्ने उनको भनाई छ ।

यसैगरी भृकुटी माविका प्रधानाध्यापक बेद प्रकास भुसालले बिद्यार्थीहरुबाट शुल्क नलिइने हो भने बिद्यालय संचालन गर्न गाह्रो हुने बताए । प्राबिधिक शिक्षाका लागि अनुगमन भनेर १ लाख ५० हजार छुट्टईएको थियो, सो रकम बिद्यार्थीहरुलाई कोरोनाका कारण कतै अनुगमन गर्न लैजान नसकेपछि बिद्यालयको बाउन्ड्रीमा तारबार गरिएको बताए ।

सो कार्यक्रममा भृकुटी मावि बुड्ढीका विद्यार्थी अस्मीता खनालले संबिधानमा उल्लेख गरिएको सुबिधा हामी बिद्यार्थीहरुले प्राप्त गर्न नसकेको बताउँदै निशुल्क शिक्षा भने पनि शुल्क तिर्न बाध्य भएको बताए। कोरोनाका कारण बिद्यालयहरु बन्द हुँदा पनि कुनै न कुनै बहानामा बिद्यार्थीहरुबाट बाह्रै महिनाको शुल्क उठाईएको गुनासो गरे ।

कृषि शिक्षा अध्ययन गर्ने बिद्यार्थीहरुका लागि शुल्क चर्को भएको, ओजेटी गराउनुको सट्टा फिल्डमा झार गोडाउने गरेको, गुण स्तरिय बिउबिजनहरु नदिएको, कृषि क्षेत्रमा कही कतै अवलोकन नगराएको गुनासो गरे । यस्तै अर्का विद्यार्थी राहुल खनालले संविधान र कानुनमा आधारभुत शिक्षा अनिवार्य र निशुल्क र माध्यमिक शिक्षा निशुल्क भनिए पनि विद्यालयले प्राविधिक शिक्षा र अग्रेजी माध्यमवाट अध्यन गर्ने बिद्यार्थीहरुवाट शुल्क उठाउने गरेको तथा विद्यार्थी भर्नाका नाममा हरेक विद्यालयले भर्ना शुल्क लिने गरेको बताईन् ।

सरकारले निशुल्क शिक्षा भनेको छ हामी बिद्यार्थीहरुबाट किन शुल्क लिनु हुन्छ भनेर सोध्दा सरहरुले केही शिक्षकहरुलाई सरकारले तलव नदिएको हुँनाले शुल्क उठाउन बाध्य भएको शिक्षकले भन्ने गरेको बिद्यार्थी खनालले भने ।

यस बिद्यालयमा प्राबिधिक शिक्षा संचालन गर्दा के शिक्षकलाई तलव नआएको होला त ? प्राबिधिक शिक्षा अध्ययन गर्ने १ जना बिद्यार्थीहरुबाट बार्षिक १५ हजार रुपैंया फिस उठाउने गर्दा बिद्यार्थीहरुले चाहेर पनि पढ्न नसकेको हुँदा शुल्कमा कमी गर्नुपर्ने बताए । यसैगरी बिद्यार्थी शोभा खनालले बिद्यालयले दिंदै आएको सेनेटेरी प्याड कामै नलाग्ने तथा गुणस्तरिय हिन भएको बताए । नेपाल कृषि प्रधान देश भएपनि कृषि क्षेत्रलाई प्राथमिकतामा नराखिएको आफुलाई महसुस भएको बताए ।

कृषि क्षेत्र पढ्ने बिद्यार्थीहरुलाई प्राक्टील पनि हुनुपर्ने तर अहिले सम्म फिल्डमा झार गोड्ने बाहेक हामीहरुले कुनै पनि प्राक्टिकल गर्न नपाएको बताए । बिद्यार्थी बिक्रम अधिकारी, आईसा सुनार र हिमाल कुवर लगाएतले बिद्यालय संचालन भएपनि शिक्षक नियमित बिद्यालय नआएको, पुरै बिषय पढाई नभएको गुनासो गरे ।

कार्यक्रममा मानव अधिकार समुहका अध्यक्ष कृष्ण प्रसाद खनालले शिक्षाको अधिकार सम्बन्धी संबैधानिक ब्यवस्था, विद्यामान शिक्षानिति, प्राबधान र सोको कार्यान्वयनको अवस्था विषयमा आधारपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम मानवअधिकार समुहका अध्यक्ष कृष्ण प्रसाद खनालको अध्यक्षतामा समुहका कोषाध्यक्ष बिनिता भुषालको स्वागत तथा समुहका सचिव महेन्द्र प्रसाद खनालको संचालनमा सम्पन्न कार्यक्रममा कार्यक्रमको उद्देस्य तथा विषयवस्तु माथी इन्सेक सहजकर्ता पार्बती आचार्यले जानकारी गराएकी थिईन् ।

कार्यक्रममा शिक्षक, अभिभावक, बिद्यार्थीहरु र बाल अधिकार चेतना समुहका संयोजक मतिराज खनाल, समुहका पदाधिकारीहरु लगाएतको सहभागिता रहेको थियो ।