कपिलवस्तुः झाडापखाला फैलिएको क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन

मेचीकाली संवाददाता

२० आश्विन २०७८, बुधबार
927 shares

पार्बती आचार्य
कपिलवस्तु । झाडापखाला फैलिएको कपिलवस्तुको कृष्णनगर क्षेत्रमा स्वास्थ्यकार्मीको टोली परिचालन गरिएको छ । सोमबार रातिदेखि सुरु भएको झाडापखालाको महामारीले २ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा कृष्णनगर नगरपालिका वडा नं. ९ का ४५ वर्षीय रामप्रसाद केवटको घरमा र वडा नं. ८ का ७ वर्षीय राज कस्यपको स्थानीय निजी मेडिकलमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

कृष्णनगर नगरपालिकाको वडा नं ७, ८ र ९ मा झाडापखाला तथा बान्ताका बिरामीहरु बढ्दै जान थालेपछि आवश्यक औषधी र २ जना चिकित्सकसहित जिल्ला स्वास्थ्य कार्यालयबाट कार्यालय प्रमुखसहितको टोली खटिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले बताए ।
जिल्लाको टोली शिवराज अस्पताल बहादुरगञ्ज पुग्दा अस्पताल बिरामीहरुले भरिभराउ भएको थियो । १५ बेडको मात्र क्षमता भएको अस्पतालमा बिरामीहरु नअटाएपछि अस्पतालको बरण्डा, बरण्डा बाहिर र नजिकैको महेन्द्र प्राथमिक विद्यालयको कक्षा कोठा र बाहिर चौरमा राखेर उपचार गरिरहेको अस्पतालका डाक्टर मुकेशकुमार चौधरीले बताए ।

शिवराज अस्पतालमा २ सय ४६ जना बिरामी भर्ना भएकोमा १ जना बिरामीलाई थप उपचारकालागि कपिलबस्तु अस्पताल तौलिहवा तथा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रेफर गरिएको छ । हाल शिवराज अस्पतालमा १ सय जना भर्ना छन्, जसमध्ये सामाान्य बिरामीलाई नजिकैको महेन्द्र प्राविमा राखी उपचार गरिएको छ । यसैगरी ४६ जना डिस्चार्ज भएका छन् । मध्यम तथा जटिल बिरामीलाई भर्ना गरी शिवराज अस्पतालमा उपचार भैरहेको छ । हालसम्म अस्पतालमा कुनै पनि बिरामीको मृत्यु नभएको अस्पतालले जानकारी दिएको छ ।

महामारीलाई फैलिन नदिनका लागि अस्पतालको टीम, स्थानीयतहका प्रमुख तथा जिल्लाको टीम बसेर उपचारको कार्ययोजना बनाई केही आवश्यक औषधी तथा उपकरण तत्काल खरीद गरिएको र केही प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयलाई आग्रह गरेको छ । अस्पतालको जनशक्तिले अपुग हुने देखिएकोले नगरपालिकाको स्वास्थ्य शाखा सँग समन्वय गरी स्वास्थ्य चौकीहरुबाट जनशक्ति परिचालनको कार्ययोजना बनाई ड्युटी रोस्टर तयार गरिएको छ । प्रदेश मन्त्रालयलाई बिरामीहरुको दिसाको नमुना संकलन गरी जाँचका लागि पठाइएको छ ।

बिरामीको चापलाई व्यवस्थित गर्न अस्पतालका बिरामीहरुलाई सामान्य, मध्यम र जटिल गरी बर्गीकरण गरी सामान्य बिरामीहरुलाई नजिकैको महेन्द्र प्राविमा राखी उपचार गर्ने व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पाण्डेले बताए । नगरपालिका र स्वास्थ्य कार्यालयको टीमले सबैभन्दा प्रभावित वडा नं ७ को शुकरामपुरमा स्थलगत निरीक्षण गरेको थियो ।

बिरामी बढ्दै जाँदा अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि स्थानीय क्लिनिकमा समेत बिरामीको उपचार भइरहेको नगरपालिकाका प्रमुख रजतप्रताप शाहले जानकारी दिए । शाहले बिरामीहरूको संख्या बढ्दै जान थालेपछि लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयमा जानकारी गराएको र स्वास्थ्यकर्मीको टोली पठाउन आग्रह गरेकोमा असोज १९ गते बेलुकी प्रदेशबाट २ जना डाक्टर प्रदेशले पठाएको बताए ।

वडा नं ७ को स्वास्थ्य चौकीको नेतृत्वमा वडाका सबै घरमा पुगी बिरामी भए नभएको एकिन गरी सामान्य लाई जीवनजल तथा अन्य औषधी दिइएको र मध्यम तथा जटिललाई तुरुन्त अस्पतालमा प्रेषण गर्ने व्यवस्था मिलाइएको छ । प्रकोपको कारण पत्ता लगाउने उद्देश्यले खानेपानी कार्यालयमा जिल्ला तथा नगरपालिकाको टीमले अनुगमन गरी सम्भावित कारणहरुबारे छलफल गरिएको छ ।

यस्तै वडा नं. ७ का वडा अध्यक्ष राजकिशोर यादवले महामारीलाई न्यूनीकरण गर्न वा फैलिन नदिनका लागि समुदायमा जनचेतना अभियान सञ्चालन गरिएको र सबैलाई पानी उमालेर मात्र पिउन माइकिङ गरिएको बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिजयकुमार कार्कीले महामारीलाई फैलिन नदिन नगरपालिकाको स्रोत, साधन र जनशक्ति परिचालन गरिएको बताए ।

अजिगरा स्वास्थ्य चौकीका प्रमुख सालिकराम कहारले एक्कासी आएको महामारीलाई फैलिन नदिनकालागि महामारी सुरु भएदेखि नै लागि परेको बताए । कसरी महामारी भयो भन्ने बिषयमा गाउँमा अनुगमन गर्दा ६० प्रतिशत धाराको अशुद्ध पानीका कारण हुन सक्ने अनुमान गरिएको बताए ।

‘दूषित पानीकै कारण झाडापखाला फैलिएको हुन सक्ने अनुमान गरिएको हुँदा पानी कहाँ कसरी दूषित भयो भन्ने पत्ता लगाउँदैछौं ।’ स्वास्थ्य प्रमुख पाण्डेले भने । नगरपालिकाको बहादुरगञ्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, जुमिला, डबरालगायतका गाउँमा झाडापखाला र बान्ताका बिरामी बढी देखिएका छन् । झाडापखाला के कारण फैलिएको हो भन्ने एकिन कारण पत्ता लागिनसके पनि दूषित पानीको कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

धेरैजसो नागरिकहरुले १५ देखि २० फुट जमिनको सतहमा गाडिएको चापाकलबाट निकालिएको पानीका कारण झाडापखाला फैलिएको हुनसक्ने अनुमान गरिएको छ । झाडापखाला फैलिएको गाउँमा अधिकांश घरका धेरै सदस्य बिरामी परेका छन् । बिरामीहरुलाई सोध्दा रोटी, तरकारी, दाल, भात खाएको केही समय पछि पहिला पेट दुख्ने र त्यसपछि बान्ता हुन सुरु भएको बताउँछन् । बिरामीहरु मध्ये धेरै बालबालिकाहरु बिरामी छन् । अस्पतालमा बेड नभएर उनीहरुलाई अस्पतालको भुइँमा राखेर उपचार भैरहेको छ ।

कपिलवस्तु अस्पतालको आइसियू, इन्डोर र इमर्जेन्सीमा गरी ३० जनाको उपचार भैरहेको कपिलवस्तु अस्पतालका डाक्टर गणेश क्षेत्रीले जानकारी दिए । साथै बुधबार बिहान शिवराज अस्पताल बहादुरगञ्जका लागि थप ६ जना डाक्टरसहितको टोली पठाइएको डाक्टर क्षेत्रीले जानकारी दिए ।