आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा गरी मनाइँदै

मेचीकाली संवाददाता

२४ कार्तिक २०७८, बुधबार
438 shares

भैरहवा । आज छठ पर्वको तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम बसी भोलि बिहानको उदाउँदो सूर्यको उपासना गरी अघ्र्य दिएपछि यो पर्व सम्पन्न हुनेछ । अस्ताचलगामी सूर्यको उपसाना गरिने पर्व यो मात्रै हो

छठमा ब्रत बसी ऊर्जाको अक्षय स्रोत सूर्यको उपासना गर्दा सुख–समृद्धि र मनोकामना पूर्ण हुने जनविश्वास छ । यो पर्व विधिवत् रुपमा कात्तिक शुक्ल चतुर्थी तिथि अर्थात् सोमबारदेखि सुरु भएको थियो । अत्यन्त निष्ठा एवं पवित्रताका साथ यो पर्व मनाउनुपर्ने भएकाले भगवान् सूर्यको पूजा गर्ने ब्रतालुले कार्तिक शुक्ल चतुर्थी तिथिमा शरीरलाई पवित्र बनाउने उद्देश्यले विधिवत् रुपमा स्नान गरी अरुवा अरुवाइन खाने गर्छन् ।

पञ्चमी तिथिमा दिनभर उपवासमा बसेर साँझको समयमा नयाँ माटोको चुल्होमा खीर पकाउँछन् । त्यसपछि घरको देवीदेवताको पूजामा चढाइएको खीर प्रसादका रुपमा ब्रतालुले ग्रहण गरी परिवारका अन्य सदस्यलाई वितरण गर्ने गरिन्छ । यस विधिलाई खरना भनिन्छ
सूर्यलाई अघ्र्य अर्पण गर्ने ब्रतालुले पञ्चमी तिथिभर उपवास बसी साँझ मात्र सो प्रसाद ग्रहण गरेर पुनः उपवासलाई निरन्तरता दिन्छन् । त्यसपछि सप्तमी तिथिको बिहानसम्म अर्थात् कम्तीमा ५० घण्टासम्म उपवास बस्नुपर्ने हुन्छ ।

षष्ठी तिथिमा पोखरीको डिल वा नदी किनारमा पूजाका सामग्री राखेर अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य अर्पण गरिन्छ । भोलिपल्ट सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अघ्र्य अर्पण गरेपछि विधिवत् रुपमा पर्व सम्पन्न हुन्छ । यस पर्वमा सूर्यलाई प्रसादका रुपमा ठेकुवा, भुसुवा, केरा, मिठाइ, उखु, नरिवल, पान, सुपारीलगायत प्रसादका सामग्री नयाँ माटोका भाँडो र बाँसको टोकरीमा राखेर अर्पण गरिन्छ । यो पर्व एकपल्ट सुरु गरेपछि प्रत्येक वर्ष गर्नुपर्ने हुन्छ । खासगरी मनोकामना पूर्ण भएपछि यो पर्व सुरु गर्ने गरिन्छ ।

आरोग्य भास्करदिच्छेत मूल उद्देश्यका साथ मनाइने गरिएको यस पर्वमा कतिपय ब्रतालुले परिवारको कल्याण र सन्तान प्राप्तिका साथै विभिन्न प्रकारका भाकल पूरा भएपछि पर्व सुरु गरेका हुन्छन् । पर्व मनाउने परिवारका कुनै व्यक्ति उपवासमा बस्न नसक्ने अवस्थामा छन् भने जोकोही ब्रतालुले तिनीहरुको प्रसाद लिएर सूर्यलाई अर्पण गर्न सकिने समेत सुविधा रहेको छ ।

धार्मिक ग्रन्थ पुराणमा उल्लेख गरिएको छ,‘शौनकमुनिले सुतजीसमक्ष पृथ्वीमा थुप्रै मानिस रोगले ग्रस्त, कतिपयलाई सन्तान छैन् यस्ता व्यक्तिका कल्याणका लागि कुनै उपाय छ कि छैन भनेर जिज्ञासा राख्दा उहाँले प्राचीनकालमा एक दुष्ट क्षत्रीय राजा यक्ष्मा रोगबाट पीडित थिए । एक ब्राह्मणको सल्लाहमा उहाँले सूर्यदेवको विधिवत् रुपमा चार दिनसम्म छठ पर्वको रुपमा पूजापाठ गरेपछि सो रोगबाट मुक्ति पाउनुभयो ।

सपछि, यो पर्वले विधिवत् रुपमा सुरु भएको विश्वास गरिन्छ ।’ छठी माईका नाममा ब्रत र सूर्यको आराधना गरी तराईमा मनाइने छठ पर्व रुपन्देहीको भैरहवा, धकधई, बेथरी, मर्चवार, बुटवल, गैडहवा र आसपासका क्षेत्रहरुका जलाशयमा पनि धुमधामका साथ मनाउने गरिन्छ ।
मूलतः तराईवासी र मैथिली समाजले मनाउने विशेष चाडको रुपमा रहेको यो पर्व भैरहवा क्षेत्रका वासिन्दाले पनि मनाउने क्रम बढ्दो छ ।

दिनानुदिन छठमाई प्रतिको आस्था बढ्दै गएकाले अहिले हिन्दूमात्र नभई केही अन्य धर्मावलम्बीहरुले पनि मनाउन थालेका छन् । यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ ।