नेपालको जनसंख्या २ करोड ९१ लाख, वृद्धिदर ८० वर्ष यताकै कम !

मेचीकाली संवाददाता

१३ माघ २०७८, बिहीबार
992 shares

बुटवल । तीन करोडभन्दा धेरै जनसंख्या अनुमान गरिरहेका बेलामा केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा भने नेपालको जनसंख्या तीन करोडभन्दा तल देखाएको छ । विगत १० वर्षको अवधिमा झण्डै २७ लाखले मात्रै नेपालको जनसंख्या बढेको पाइएको छ ।

नेपालको जनसंख्या वृद्धिदर पछिल्लो ८० वर्षमै कम भएको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक नतिजामा नेपालको पछिल्लो जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ । नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ । यो देशको वृद्धिदर पछिल्लो आठ दशककै न्यून वृद्धिदर हो । २०५८ देखि २०६८ सालसम्मको वार्षिक जनसंख्या वृद्धिदर १.३५ प्रतिशत थियो ।
११० वर्षअघि अर्थात् १९६८ सालमा नेपालको जनसंख्या जम्मा ५६ लाख ३८ हजार ७४९ थियो । १९७७ सालमा सो जनसंख्या घटेर ५५ लाख ७३ हजार ७८८ पुगेको थियो । त्यस्तै १९८७ मा पनि जनसंख्या घटेर ५५ लाख ३२ हजार ५७४ पुगेको थियो । त्यसपछिका जनगणनामा भने जनसंख्या बढेको विभागको तथ्यांकले देखाएको छ ।

१९९८ मा नेपालको जनसंख्या ६२ लाख ८३ हजार ६४९ पुगेको हो । नेपालको जनसंख्या २०२८ मा मात्रै एक करोड १५ लाख ५५ हजार ९८३ पुगेको हो । २०५८ सालमा नेपालको जनसंख्या बढेर दुई करोड ३२ लाख ५१ हजार ४२३ पुगेको विभागले जनाएको छ । अहिले २०७८ मा प्रकाशित प्ररम्भिक तथ्यांक अनुसार भने सो संख्या बढे दुई करोड ९१ लाख पुगेको हो ।

पुरुषभन्दा महिलाको जनसंख्या छ लाख धेरै
नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ । नेपालमा अहिले पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छ भने महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ छ ।

तराईको जनसंख्या २३ लाखले बढ्दा हिमालको घट्यो
पछिल्लो १० वर्षमा तराईको जनसंख्या २३ लाख ४७ हजार १२३ ले बढेको छ ।े जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार भौगोलिक क्षेत्रअनुसार तराईमा जनसंख्या वृद्धि भएको देखिन्छ । तराईमा हाल जनसंख्या १ करोड ५६ लाख ६५ हजार ८२८ पुगेको छ । २०६८ मा तराईमा १ करोड ३३ लाख १८ हजार ७०५ जनसंख्या थियो । विभागका अनुसार १० वर्षअघि तराईमा कुल जनसंख्याको ५०.२७ प्रतिशत थियो । अहिले सो संख्या बढेर ५३.६६ प्रतिशत पुगेको हो । त्यो भनेको तराईमा मात्रै २३ लाख ४७ हजार १२३ ले जनसंख्या वृद्धि भएको हो ।

यस्तै, हिमाली क्षेत्रमा १० वर्षअघि कुल जनसंख्याको ६.७३ प्रतिशत अंश रहेकोमा अहिले ६.०९ प्रतिशतमा झरेको देखिएको विभागले जनाएको छ । २०६८ सालमा हिमाली क्षेत्रको जनसंख्या १७ लाख ८१ हजार ७९२ थियो । हाल जनसंख्या घटेर १७ लाख ७८ हजार १०४ पुगेको हो । यसैगरी पहाडी क्षेत्रमा १० वर्षअघि १ करोड १३ लाख ९४ हजार ७ अर्थात् ४३.०१ प्रतिशत जनसंख्या थियो । अहिले सो जनसंख्या १ करोड १७ लाख ४८ हजार ५४८ पुगेको हो । विभागका अनुसार सो जनसंख्या पहिले ४३.०१ प्रतिशत रहेकोमा ४०.२५ प्रतिशतमा झरेको हो ।

विदेशिने महिलाको संख्या ७१ प्रतिशतले वृद्धि
यसैगरी जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार विदेशिने महिलाहरूको संख्या ७१ प्रतिशतले वृद्धि भएको छ । १० वर्षअघिको तुलनामा विदेशिने महिलाहरूको संख्या बढेको हो । विभागका अनुसार अहिले विदेशिने महिलाहरूको संख्या ७१.०९ प्रतिशतले बढेको हो ।
अहिले कुल २१ लाख ६९ हजार ४७८ व्यक्तिहरू विदेशमा बसोबास गर्दै आएको प्रारम्भिक तथ्यांकले देखाएको छ । जसमध्ये १७ लाख ६३ हजार ३१५ पुरूष र ४ लाख ६ हजार १०३ महिला विदेशमा बसोबास गर्दै आएका छन् । त्यो भनेको ८१.२८ प्रतिशत पुरूष र १८.७२ प्रतिशत महिला विदेशमा छन् ।

१० वर्ष अघिको तथ्यांकलाई हेर्ने हो भने जम्मा विदेशिनेको संख्या १९ लाख २१ हजार ४९४ जना थियो । जसमध्ये पुरूष १६ लाख ८४ हजार २९ जना पुरूष र महिला २ लाख ३७ हजार ४०० जना थिए । त्यतिबेला विदेशिने पुरूषको संख्या ८७.६४ प्रतिशत थियो भने महिलाहरूको जम्मा १२.३६ प्रतिशत मात्रै थियो । त्यसअनुसार अहिले महिलाहरू विदेशिने दर बढेको छ । यस्तै भौगोलिक क्षेत्रअनुसार तराईका १० लाख ६५ हजार ९६९, पहाडका ९ लाख ८४ हजार ८९६ हजार र हिमालका १ लाख १८ हजार ६१३ व्यक्तिहरू विदेशमा रहेको देखिन्छ ।

झण्डै २२ लाख नेपाली परिवारबाहिर
नेपालका झण्डै २२ लाख नागरिक आफ्नो परिवारमा अनुपस्थित रहेको राष्ट्रिय जनगणनाले देखाएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार यसरी परिवारबाट टाढा रहेकामध्ये ८१.२८ प्रतिशत पुरुष र १८.७२ प्रतिशत महिला छन् । २१ लाख ६९ हजार ४७८ जना नेपालीहरू आफ्नो परिवारबाट बाहिर रहेका छन् । उनीहरूमध्ये १७ लाख ६३ जहार ३१५ जना पुरुष तथा ४ लाख ६ हजार १०३ जना महिला हुन् ।

परिवारमा अनुपस्थित रहेको जनसंख्या अक्सर विदेशमा रहेको विभागले जनाएको छ । १० वर्षअघि २०६८ को जनगणनामा १९ लाख २१ हजार ४९४ जना नेपाली परिवारबाट टाढा रहेको देखिएको थियो । जिल्लागत आधारमा हेर्दा ७७ वटै जिल्लाबाट नागरिकहरू विदेश पलायन भएका छन् । सबैभन्दा बढी विदेश पलायन हुने जिल्लाहरूमा क्रमशः काठमाडौं, कैलाली, झापा, रुपन्देही र मोरङका छ । यस्तै, सबैभन्दा कम मनाङ, डोल्पा, हुम्ला, मुगु र मुस्ताङबाट नेपालीहरू विदेश गएका छन् ।

तराई–मधेशमा जनसंख्या बढ्यो
भौगोलिक क्षेत्रअनुसार कुल जनसंख्याको वितरणमा तराई क्षेत्रको अंश २०६८ सालको तुलनामा २०७८ मा वृद्धि भएको देखिएको छ । विसं २०६८ को जनगणनामा तराईमा कुल जनसंख्याको ५०.२७% हिस्सा रहेकामा २०७८ मा वृद्धि भई ५३.६६% पुगेको छ । हिमाली क्षेत्रमा कुल जनसंख्याको ६.७३ प्रतिशत अंश रहेकामा २०७८ मा केही कम भई ६.०९% रहेको देखिन्छ ।

त्यसैगरी पहाडी क्षेत्रमा २०६८ मा ४३.०१% अंश रहेकामा हाल ४०.२५%मा झरेको छ । दश वर्षको अवधिमा लैङ्गिक अनुपात तराईमा १% विन्दुले घटेको देखिन्छ भने हिमाल तथा पहाडमा क्रमशः ३% र ४% विन्दुले बढेको देखिन्छ । यो गत २०६८ को जनगणनामा हिमाल, पहाड र तराईमा क्रमशः ९४, ९१ र ९७ रहेकामा २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजासम्म आइपुग्दा क्रमशः ९७, ९५ र ९६ कायम हुन आएको छ । वार्षिक जनसंख्या वृद्धिदर हेर्दा हिमाली क्षेत्रमा ऋणात्मक (—०.०२%), पहाडी क्षेत्रमा न्यून मात्रामा धनात्मक (०.२९% ) र तराई क्षेत्रमा अन्य क्षेत्रको तुलनामा उच्च धनात्मक (१.५६%) वृद्धि देखिन्छ ।

जनसंख्या वृद्धिदर लुम्बिनी प्रदेशमा धेरै
पछिल्लो १० वर्षमा सबैभन्दा बढी जनसंख्या वृद्धिदर लुम्बिनी प्रदेशमा रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजाअनुसार प्रदेशगत रुपमा वार्षिक जनसंख्या वृद्धिदर हेर्दा ७ वटा प्रदेशमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२५ प्रतिशत प्रतिवर्ष छ ।

१० वर्षमा ६ लाख २४ हजार ९ सय ५३ अर्थात् १३.८९ प्रतिशत वृद्धिदर रहेको छ । सबै भन्दा कम गण्डकी प्रदेशमा ०.३० प्रतिशत प्रतिवर्ष जनसंख्या वृद्धि देखिन्छ । यो हिसाबले हेर्दा १० वर्षमा गण्डकी प्रदेशमा ७ लाख ५९ हजार ८८ जना अर्थात् ३.१६ प्रतिशतले वृद्धि भएको छ ।
दोस्रो धेरै वार्षिक जनसंख्या वृद्धिदर हुने प्रदेशमा मधेश प्रदेश रहेको छ जसको वृद्धिदर १.२० प्रतिशत प्रतिवर्ष छ । योसँगै पछिल्लो १० वर्षमा मधेश प्रदेशमा ७ लाख लाख २२ हजार १ सय ४३ जना थपिएका छन् । अर्थात् १० वर्षमा १३.३६ प्रतिशत वृद्धि भएको छ । अन्य प्रदेशको वार्षिक जनसंख्या वृद्धिदर १.० प्रतिशत भन्दा कम नै रहेको देखिन्छ ।

प्रदेशअनुसारको जनसंख्या परिवर्तन र वृद्धिदर प्रदेशगत रुपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या मधेश प्रदेशमा ६१ लाख २६ हजार २८८ र सबैभन्दा कम कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८८९ जना रहेको छ जुन समग्रको क्रमशः २०.९९% र ५.८१% छ । लैङ्गिक रुपले विश्लेषण गर्दा लैङ्गिक अनुपात सबैभन्दा धेरै मधेश प्रदेशमा र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा क्रमशः १०१ र ९० रहेको छ ।