बुटवलको विरासत जोगाउन एमालेले कसलाई अगाडि सार्ला ?

मेचीकाली संवाददाता

२९ माघ २०७८, शनिबार
1537 shares

बुटवल । स्थानीय तहको होस, वा प्रतिनिधिसभाको निर्वाचन रूपन्देहीको बुटवलले देशकै ध्यान खिच्ने गर्छ । बुटवल लुम्बिनी प्रदेशको राजनीतिको केन्द्र हो । सधै एमालेको ‘दवदवा’ रहेको बुटवलमा आगामी २०७९ वैशाख ३० गतेका लागि घोषणा गरिएको निर्वाचनमा एमालले कसलाई अगाडि सार्ला भनेर सरगर्मी सुरू भइसकेको छ । सरकारले निर्वाचनको मिति तोकेसँगै एमालेसँगै प्रमुख दलमा मुख्य पद (मेयर) का लागि उम्मेदवारका आकांक्षीहरूले आन्तरिक रूपमा लबिङ सुरू गरेका छन् ।

बुटवल उपमहानगरपालिका एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको गृहनगर तथा निर्वाचन क्षेत्र (रूपन्देही क्षेत्र नम्बर–२) मा पर्छ । साविक पश्चिमाञ्चलको प्रमुख व्यापारिक, आर्थिक केन्द्र तथा प्रदेश मुकाम बुटवल राजनीतिको उर्वर भूमि हो । जसले गर्दा अब बुटवलमा मेयरको उम्मेदवारमा एमालेले कसलाई अगाडि सार्ला भन्ने बढी चासोको विषय रहन्छ । चिया चौतारीदेखि चोक–चोकमा अब बुटवलको नेतृत्वमा को आउला ? एमालेले कसलाई उम्मेदवार बनाउला भन्ने चर्चा बहसको विषय बन्न थालिसकेको छ । माधव कुमार नेपाल पार्टीबाट अलग भएपछि यस पटक बुटवलमा एमालेभित्र गुटगत राजनीतिक कम छ । बुटवललाई एमालेले आफ्नो ‘किल्ला’ भनिरहन्छ ।

२०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा कांग्रेस माओवादी गठबन्धनका उम्मेदवारहरूलाई पराजित गरी एमालेबाट मेयरमा शिवराज सुवेदी र उपमेयरमा गुमादेवी आचार्य निर्वाचित भएका थिए । यस पटक पनि कांग्रेस माओवादी सहितका सत्तापक्षीय दलको गठबन्धन हुने अवस्था देखिन्छ । त्यसैले एमालेलाई विगतको बिरासत जोगाउने गरी सही उम्मेदवार छनौट गर्नुपर्ने चुनौती पनि छ ।

यसपटक पनि एमाले आफ्नो पकड कायम गर्न चाहन्छ । मेयर सुवेदीले गएको निर्वाचनमा २३ हजार २४९ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्व कांग्रेसका खेलराज पाण्डेलाई पराजित गरेका थिए । पाण्डेको मत २० हजार ८५१ थियो । मेयरमा २ हजार ३९८ मतको अन्तर थियो ।
यस्तै उपप्रमुखमा आचार्यले २५ हजार ३०१ मत ल्याएर विजयी भएकी थिइन । भने, माओवादी केन्द्रका जगत बहादुर पोखरेलले १४ हजार ७९२ मत मात्र थियो । पोखरेल नेकपा विभाजनपछि एमालेमा रहेका छन् । त्यस्तै १९ वटा वडा रहेको बुटवलमा १५ वटामा एमाले वडा अध्यक्षमा पनि जीत निकालेको थियो ।

२०५६ को तत्कालिन स्थानीय निकायको निर्वाचनमा पनि बुटवलमा एमालको तर्फबाट मेयरमा भोजप्रसाद श्रेष्ठ र उपमेयरमा विमलबहादुर शाक्य निर्वाचित भएका थिए । श्रेष्ठ अहिले प्रदेश सांसद छन्् भने, शाक्य अहिले सक्रिय राजनीतिमा छैनन । आउँदो स्थानीय तहको निर्वाचनमा बुटवलको नेतृत्वको लागि एमालेमा मुख्यगरी तीन जनामात्र उम्मेवार प्रमुख दावेदार देखिन्छन् ।

आकांक्षी आधा दर्जन भए पनि एमाले युवा नेता गोपाल राना, हालका मेयर शिवराज सुवेदी र अर्का नेता बाबुराम भट्टराई मध्येबाट एक जनाले मेयरको टिकट पाउने निश्चित जस्तै रहेको एमाले जिल्ला नेताहरू बताउँछन् । पार्टीले वितरण गर्ने टिकट लिन यी तीन नेता कम्मर कसेर लाग्नेछन् । मेयरको आकांक्षीमा उपमेयर आचार्य, एमाले रूपन्देहीका नवनिर्वाचित अध्यक्ष तेजेन्द्र केसी र एमाले केन्द्रीय सदस्य तथा जिफन्टका उपाध्यक्ष कमल गौतम पनि आकांक्षीमा पर्छन ।

यस अगाडि पनि मेयरमा चर्चामा रहेर अन्तिम समय टिकट वितरण गर्दा सुवेदीले पाएपछि पछाडि हटनुपरेकोले अहिले राना बढी चर्चामा छन् । राना निर्वतमान जिल्ला उपसचिव पनि हुन् । त्यस्तै दुई कार्यकाल युवा इन्चार्ज, उद्योग व्यवसाय विभाग, रूपन्देहीको दुई कार्यकाल अनुभव बटुेलका राना आन्दोलनको अग्र मार्चामा खटिने नेतामा पर्छन । उनले आफूले रूपन्देहीलाई पर्यटनको आधार बसालेको बताउँछन् ।

रानाले यस पटक आफू स्वत बुटवलको मेयरको उम्मेदवार रहेको बताउँछन् । उनी पार्टी सबै तहका कार्यकतासँग भिजेका पनि छन् । उनी भन्छन, ‘बुटवलको विकास गर्न मेरो साच्चो भिजन छ । आगामी निर्वाचनमा बुटवलको नेतृत्वको लागि तयार छु ।’ अहिलेका मेयर सुवेदी पनि नेतृत्वमा पुनः दोहोरिन चाहन्छन् । एमालेको केन्द्रीय सदस्य तथा निर्वतमान जिल्ला अध्यक्ष सुवेदीले अहिले आफूले अगाडि सारेका योजनाहरू पूरा गर्न नेतृत्वमा दोहोरिन चाहेको उनी निटक नेताहरू बताउँछन । तर, उनी आफू अहिले नैं पुनः मेयरमा दोहोरिन चाहेको विषयमा बोलेका छैनन् । मजदुर आन्दोलनबाट राजनीतिक यात्रा सुरू गरेका सुवेदीले हालै सम्पन्न एमालेको महाधिवेशनबाट एमाले केन्द्रीय सदस्य बनेका हुन् ।

अर्का आकांक्षी बाबुराम भट्टराईले अब बुटवलको नेतृत्वको लागि पार्टीले आफूलाई अगाडि सार्नुपर्ने बताउँछन । सरल शैलीका नेता भट्टराई स्वास्थ्य पृष्ठभूमिका नेता हुन् । उनी एमाले जिल्ला कमिटी हुँदै अहिले प्रदेश सदस्य छन् । त्यस्तै नेपाल औषधि व्यववसायी संघको निर्वतमान केन्द्रीय अध्यक्ष, एमाले केन्द्रीय स्वास्थ्य विभागको पूर्व सदस्य पनि हुन् । बुटवललाई नमूना शहर र एमालेको संगठनलाई थप सृदृढ बनाउने भट्टराई बताउँछन् । युवा जोश जाँगर बोकेका भिजन भएका नेतामा पनि पर्छन भट्टराई ।

बुटवल देशकै पुरानो नगरपालिका मध्येको हो । बुटवल विक्रम संवत् २०१६ सालमा नगरपालिका बनेको थियो । बुटवलबाट एमाले उपाध्यक्ष पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचन लगातार भारी मतका साथ निर्वाचित भएर ‘हयाट्रिक’ गरेका छन् । पौडेलले २०७० को दोस्रो संविधान सभा निर्वाचनमा तत्कालिन माओवादीका नेता तथा हाल जसपा नेता डा. बाबुराम भट्टराई भारी मतका साथ बुटवलबाट पराजित गरेपछि बुटवल साच्चै एमालेको ‘गढ’ रहेछ भनेर देशभर चर्चामा आएको थियो ।

एमाले रूपन्देहीका युवा नेता देवराज पोखरेलले एमालेबाट जितेका मेयर÷उपमेयर कुनै पनि नेतालाई दोहोराउन नहुने बताउँछन् । ‘एमालेले देशभरका मेयर नदोहो¥याउने नीति बनाउनु पर्छ । राम्रो काम गर्ने ‘अपग्रेट’ हुने, काम गर्न नसक्नेले मैदान खाली गर्ने । जसले गर्दा पार्टीभित्र असन्तुष्टी पनि हुँदैन ।’ पोखरेल भन्छन् ।

एमाले रूपन्देहीका अध्यक्ष केसीले पार्टी आफूलाई उपमहानगरको मेयरमा अगाडि सारे नेतृत्व लिने बताउँछन । शिक्षा, स्वास्थ्य, र भौतिक पूर्वाधारको विकासमा पौडेलले रूपन्देहीलाई धेरै अगाडि बढाएका छन् । बुटवलका भौतिक पूर्वाधार लोभलाग्दा र आकर्षक छन् । बुटवल–बेलहिया सडक समयमै निर्माण नहँुदा ‘हाइवे’ धुलाम्मे छ । जसको असर बुटवलका जनप्रतिनिधिले भोगेका छन् । बुटवल पहाडी जिल्लाको बसाई सराईको केन्द्र हो । बुटवलको जनसंख्या झण्डै दुई लाख छ । बुटवललाई सबै पार्टीले बुटवलको चुनावलाई विशेष महत्व दिन्छन । एमालेले आफ्नो अस्तित्व रक्षा कसरी गर्ने भन्ने उद्देश्यका साथमा लागिपरेको छ । भने, अन्य पार्टीहरु एमालेको ‘किल्ला’ तोड्ने चाहन्छन् ।