जितगढीमा नेपाली वीर योद्धाका सालिक निर्माण

मेचीकाली संवाददाता

४ फाल्गुन २०७८, बुधबार
487 shares

बुटवल । बुटवल जितगढीमा नेपाल अंग्रेज युद्धका विजेता तत्कालीन नेपाली वीर योद्धाका सालिक निर्माण गरिएको छ । सम्पदा स्थल परिसरमा कर्णेल उजिरसिंहको पूर्ण कदको सालिक यसअघि नै निर्माण गरिएको छ । सोही सालिक नजिकै लहरै पारेर कर्णेल उजिरसिंहका पालाका १३ सेनाका अर्धकदका सालिक निर्माण गरिएको हो ।

ओझेलमा परेको जितगढीले जनप्रतिनिधि आएपछि मुहार फेरेको छ । त्यस क्षेत्रमा करिब तीन बिघा जग्गामा गुरुयोजना बनाएर संरक्षण, संवद्र्धन र विस्तारका काम गरिएको छ । बुटवल उपमहानगरपालिकाले जितगढीको गुरुयोजना बनाएर बटौली पर्यटन सर्किटको केन्द्रका रुपमा विकास गरिरहेको छ । अहिले गुरुयोजनाअनुरुपका विभिन्न संरचान निर्माणका काम भएका छन् ।


गुरुयोजनाअनुसार नै कर्णेल उजिरसिंह पालाका नेपाली वीर योद्धा १३ जनाको सालिक निर्माण गरिएको हो । त्यसबेलामा सेनासँगै सर्वसाधारण पनि लडेर अंग्रेजलाई जितेका थिए । विश्वमा साम्राज्य फैलाएको तत्कालीन इष्ट इण्डिया कम्पनी अर्थात् अंग्रेजले बुटवलको यही गढी किल्लामा मात्रै आएर पराजित भएको हो ।

अंग्रेजलाई पराजित गरेर धपाउने त्यसबेलाका वीर योद्धाहरु काजी वीरभञ्जन पाँडे, कुम्भेदान कृपासुर थापा, दलखम्ब थापा, शमशेर राना मगर, सरदार सूर्जे थापा, लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्भेदान वृषसुर थापा, जमदार भीमसेन देउजा, जमदार शूरवीर बोहरा, हवल्दार रणशूर बानियाँ, सिपाही हंशवीर अधिकारी, थरघर नकुल बानियाँ र जुठे बस्नेतको सालिक निर्माण गरिएको छ ।
त्यस क्षेत्रमा प्रवेशका लागि किल्लाको झल्को दिनेगरी आकर्षक गेट निर्माण गरिएको छ । गेटले किल्लाकै झल्को दिन्छ । सम्पदा परिसरमा हरियालीसहितको फुलबारी उद्यान, झिलमिली लाइटिङ र राष्ट्र धुनसहितको पानीका फोहरा पनि निर्माण गरिएको छ ।

पछि विस्तार गरिएका संरचनाको एमाले सचिव तथा पूर्वमन्त्री माननीय सांसद छविलाल विश्कर्माले उपमाहनगरको स्थापना दिवसको अवसर पारेर सालिक अनावरण र संरचनाको उद्घाटन गरेका छन् । त्यसअवसरमा उनले ओझेलमा परेको जितगढीले अहिले मुहार फेरेको र राष्ट्रिय स्वाभिमानको किल्लाका रुपमा खडा भएको भन्दै प्रशंसा गरे ।

त्यसक्रममा प्रमुख शिवराज सुवेदीले जितगढी विजय उत्सव दिवसको मिति यकिन गर्नुका साथै गुरुयोजना बनाएर संरक्षण, प्रवद्र्धन र विस्तारका काम गरिएको बताए । सहकार्य गर्ने नेपाली सेना, स्थानीय जनप्रतिनिधि, समुदाय, इतिहासविद्लगायतलाई धन्यवाद गरे ।
सोअवसरमा प्रदेश सरकारका पूर्वमन्त्री तथा एमाले नेता एवम् प्रदेशसभा सदस्य लिला गिरी, राष्ट्रियसभा सदस्य गोपाल भट्टराई, एमाले नेता दधिराम न्यौपाने, प्रदेशसभा सदस्य सांसद भोजप्रसाद श्रेष्ठ, पूर्वसांसद देवेन्द्र घिमिरे, संविधानसभा सदस्य नेत्र पन्थी, उपप्रमुख गुमादेवी आचार्य, प्रवक्ता रामप्रसाद रेग्मीलगायतले सम्पदा स्थल निर्मित वीर योद्धाका सालिकमा माल्यार्पण गरो थिए ।

यस्तै सम्पदा स्थल रहेको वडाका अध्यक्ष महेन्द्रप्रसाद लिगल, कार्यपालिका सदस्यहरू, जनप्रतिनिधिहरु, पूर्वसांसदहरू, पूर्वप्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, महाशाखा प्रमुखहरू, स्थानीय अगुवाहरु उपस्थितिमा सालिक अनावरण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको महाशाखा प्रमुख तथा वरिष्ठ अधिकृत विष्णुप्रसाद खनालले बताए ।
०५४ मा जिविस सदस्य हुँदा नै जितगढीमा चासो दिँदै जिम्मेवारीमा आउने सीमित बजेटलाई सोही स्थानमा प्रयोग गर्ने सुवेदी बुटवलको मेयर बनेपछि अहिले जितगढीले मुहार फेरेको छ ।

जनप्रतिनिधि आएपछि ऐतिहासिक सम्पदा स्थलको संरक्षण, संवद्र्धन र विस्तार भएपछि जितगढीको कायापलट भएको संरक्षणकर्मी तथा अभियन्ता रवीन्द्रगोपाल लाकौलले खुशी प्रकट गरे । जितगढीमा फहराएको राष्ट्रिय झण्डाले स्वाभिमान र वीरताको गाथा झल्काइरहेको उनको भनाइ छ ।