सन्ततिलाई असल संस्कृति सिकाऔं

मेचीकाली संवाददाता

१३ श्रावण २०७८, बुधबार
534 shares

प्रविधिको प्रयोगसंगै पछिल्ला समयमा हाम्रा मौलिक संस्कृतिका बारेमा बालबालिकाहरुले चासो नदिएको पाइएको छ । यो प्रवृत्ति गलत छ र यसलाई तुरुन्तै सच्याउन जरुरी छ । हाम्रा मौलिकता, हाम्रा संस्कृतिका बारेमा बालबालिकालाई बेलैमा सचेत बनाउनुपर्छ र बेलैमा जानकार बनाउनुपर्छ । आफ्नो मौलिकता र संस्कृतिलाई भुलेर आर्जन हुने ज्ञानले समाजको रुपान्तरण गर्न सक्दैन । तसर्थ पहिले नेपालको मौलिकताको असल संस्कृति, अनुशासन सिकाउनुपर्छ ।

नेपाल बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र हो र यसैको प्रतिबिम्ब हरेक तहका कक्षाकोठामा पाइन्छ । अर्को शब्दमा भन्नुपर्दा समाजमा भएको जातीय, भाषिक, लैंगिक, धार्मिक, क्षेत्रीय तथा सांस्कृतिक विविधता विद्यालयदेखि विश्वविद्यालय सम्मका कक्षाकोठामा समेत पाउने गरिन्छ । अझ गहन रूपमा हेर्दा यी विविधताका आलावा विद्यार्थीमा पाइने रुचि, क्षमता, लक्ष्य, आकांक्षा, सबलता एवं कमजोरीका विविधतालाई बुझेर कक्षाकोठामा पठन पाठन गर्न आवश्यक छ । यहीँ क्रममा कक्षा कोठामा संस्कृति र विविधताका बारेमा पनि सिकाउन सकिन्छ ।

हाम्रो शिक्षण सिकाइ पुरातन भएको र कर्मकाण्डी भएको गुनासो बढिरहेको छ । यस कारणले पनि शिक्षामा गुणस्तरीयता आउन सकेको छैन । कक्षाकोठाको विविधता र जटिलतालाई सम्बोधन गर्नेगरी शिक्षण पद्दतिको विकास गर्नुपर्ने भएको छ । विद्यार्थीहरुका बीचमा आपसी सद्भाव, सहयोग, सहकार्य र सौहार्द सम्बन्ध स्थापित गराउने पद्दतिको विकास गर्नुपर्ने छ । सकारात्मक प्रभाव र ऊर्जा प्राप्त हुने गरी शिक्षण सिकाउने व्यवस्था मिलाउनुपर्छ । विविधतामा मिलेर बाँच्न र हातमा हात मिलाएर अघि बढ्न सिकाउने प्रभावकारी माध्यम पनि यहीँ हुन सक्छ ।

सामाजिक एकता, शान्ति र प्रगतिमा सार्थक योगदान पु¥याउने खालका पाठ्यक्रम निर्माण गर्नुपर्ने छ । अहिले स्थानीय तहमा पाठ्यक्रम निर्माणको तयारी भइरहेको छ । यसरी निर्माण गरिने पाठ्यक्रमले स्थानीय मौलिकता र नैतिक शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने छ । हाम्रो संस्कृति र परिवेशलाई बुझ्ने र सुधार्ने गरी पाठ्यक्रमको विकास गर्नुपर्ने भएको छ ।

हाम्रो देशको सन्दर्भमा हेर्दा यहाँका बहुजातीय र बहुसांस्कृतिक मानिसका आ–आफ्नै मौलिक विशेषता, जीवन पद्धति, परम्परागत पेसा, आस्था र विश्वास, चाडपर्व, ऐतिहसिक पृष्ठभूमि र अरूलाई हेर्ने दृष्टिकोणसमेत रहेका छन् । यी कुराको खोज र अनुसन्धान गरी संस्कृतिसापेक्ष पाठ्यक्रम विकास गर्नु र त्यहीअनुसारकै शिक्षण विधि अवलम्बन गर्नुपर्छ । विभिन्न परिवेशका विद्यार्थीसँग सम्बन्धित भौतिक र अभौतिक सम्पदा अनि विशेषतालाई शिक्षणको अंश बनाउन आवश्यक छ । नेपालको मौलिकता, संस्कृति, परम्परा र संस्कारलाई नयाँ पुस्ताहरुसम्मै पु¥याउने गरी शिक्षण सिकाइको विकास गर्न आवश्यक छ ।