गुल्मीमा २५ वर्षदेखि प्रदीप र चन्द्रको चुनावी लडाइँ

मेचीकाली संवाददाता

२३ भाद्र २०७९, बिहीबार
508 shares

प्रकाश आचार्य
बुटवल । शालीन नेताको पहिचान बनाएका गुल्मीका दुई ‘हेभीवेट’ उम्मेदवार प्रदीप ज्ञवाली र चन्द्र भण्डारी फेरि एकपटक चुनावी मैदानमा आमनेसामने हुने भएका छन् । २०५६ यता लगातार एकअर्काको प्रतिस्पर्धी रहँदै आएका एमाले उपमहासचिव ज्ञवाली र नेपाली कांग्रेसको उपसभापतिमा प्रतिस्पर्धा गरेका प्रभावशाली नेता भण्डारी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने भएका हुन् ।

ज्ञवाली र भण्डारी आमनेसामने हुन लागेको यो पाँचौंपटक हो । दुवैको नाम पार्टी क्षेत्रीय कमिटीहरूले उम्मेदवारको रूपमा सिफारिश गरेका छन् । दुवै नेता अहिलेसम्म आफ्नो क्षेत्रभन्दा बाहिर गएर चुनाव लडेका छैनन् । गुल्मीको विकासका लागि दुवैले जित्नुपर्ने जिल्लावासीको चाहना अहिलेसम्म पूरा हुन पाएको छैन ।
हालसम्मका ४ प्रतिस्पर्धामध्ये ३ पटक ज्ञवाली र एकपटक भण्डारीले बाजी मारेका छन् । २०५६ मा ज्ञवाली र भण्डारीबीच पहिलो प्रतिस्पर्धा हुँदा ज्ञवालीले जीत निकाले । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा पनि दुवैबीच प्रतिस्पर्धा हुँदा पुनः ज्ञवालीले जिते । २०७० मा दोस्रो संविधानसभा निर्वाचनमा भने भण्डारीले बाजी मारे ।

निर्वाचन क्षेत्र पुनःसंरचना भएर ३ बाट २ मा झरेपछि २०७४ को निर्वाचनमा गुल्मी–१ बाट ज्ञवाली र भण्डारीबीच नै प्रतिस्पर्धा भयो, जसमा ज्ञवालीले आफ्नो पुरानो विरासत फर्काए । मंसिर ४ गते हुने प्रतिनिधि÷प्रदेशसभा निर्वाचनमा गुल्मी–१ मा कसले बाजी मार्ला भन्ने चर्चा परिचर्चा सुरु भइसकेको छ ।
एमालेले ज्ञवालीलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिश गरेर पठाए पनि कांग्रेसमा भण्डारी आफ्नो क्षेत्रबाट सर्वसम्मत हुन सकेनन् । यद्यपि, अन्तिममा भण्डारीलाई नै कांग्रेसले उम्मेदवार बनाउने सम्भावना प्रबल छ । एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र ज्ञवाली पार्टी र सरकारमा जाँदा आफ्नो जिम्मेवारी पूरा गर्दै कार्यकर्तामाझ लोकप्रिय नेता पनि हुन् ।

भण्डारी कतिपय अवस्थामा पार्टीको अनुशासनभन्दा बाहिर गएर पनि बोल्न सक्ने हिम्मत राख्छन् । भण्डारी पार्टी सभापति शेरबहादुर देउवाका कटुआलोचक हुन् ।
एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा गुल्मीका पुराना नेता कमलराज श्रेष्ठ दुवै नेताबीच निकै सौहार्दपूर्ण प्रतिस्पर्धा हुँदै आएको बताउँछन् । ‘बाटोमा भेट हुँदा दुवैले एक अर्कालाई अंगालो हाल्छन् । फोटो खिचाउँछन् । सभ्य भाषा प्रयोग गरेर चुनावी प्रचार गर्छन् । एकअर्कालाई गालीगलौज गर्दैनन्,’ प्रदेशसभा सांसदसमेत रहेका नेता श्रेष्ठले भने । श्रेष्ठले थपे, ‘प्रदीप ज्ञवालीले तीन चोटी जिते, एकचोटी हारे । अब के हुन्छ हेरौं । हाम्रोमा ज्ञवाली र भण्डारीको ‘ब्याटल’ २३ वर्षदेखि जारी छ ।’

कांग्रेस उपसभापतिका प्रत्यासीसमेत रहेका भण्डारीले पार्टीभित्र आफ्नो कुरा सशक्त ढंगले राख्दै आएका छन् । पदाधिकारीमा हारेका अन्य अधिकांश नेतालाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनित गरे पनि भण्डारीलाई मनोनित गरिएको छैन । संस्थापनइतर खेमामा रहेकाले केन्द्रीय सदस्यमा मनोनित नभए पनि गुल्मीमा भने भण्डारीको आफ्नै प्रभाव छ । कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले भण्डारी र ज्ञवालीको प्रतिस्पर्धा निकै रोमाञ्चकारी हुने गरेको बताए ।

‘दुवै विद्वान् नेताको पहिचान बनाउँदै ‘हेभीवेट’ भएका छन्,’ पन्थीले भने, ‘दुवै तार्किक छन् । विकासवादी पनि छन् । एउटै क्षेत्रबाट लडे पनि स्वच्छ प्रतिस्पर्धा हुँदै आएको छ ।’ योपटक गठबन्धन सहयात्री दलहरूको साथ रहेकाले भण्डारीलाई चुनाव जित्न सहज रहेको दाबी पन्थीले गरे । २०७० मा ज्ञवालीले हार स्वीकार गर्दै भण्डारीलाई बधाई दिएका थिए । २०७४ मा भण्डारीले पनि हारलाई सहजरूपमा लिँदै ज्ञवालीलाई अवीर लगाएर बधाई दिएका थिए । साहित्यकार डीबी गुरुङ दुवै नेता लोकप्रिय रहेकाले उनीहरूको चुनावी महासंग्राम ‘पपुलारिटी’ को हिसाबले निकै रोचक हुने बताउँछन् ।

दुवैको चुनावी मुद्दा पनि समान खालका हुने गर्छ । समृद्ध, सम्पन्न र नमूना गुल्मी बनाउने योजना दुवैले अगाडि सार्दै आएका छन् । संविधान निर्माण हुँदै देश संघीयतामा गएपछि अबको यात्रा आर्थिक समृद्धि रहेको दुवैको भनाइ रहने गरेको छ । कालीगण्डकी कोरिडोर, रेसुङ्गा विमानस्थल, रिडी–तम्घास सडकलगायत पूर्वाधार विकास पनि दुवैको प्राथमिकतामा छ ।

तम्घास–बुटवल सडकको सिद्धबाबा खण्डमा निरन्तर भूक्षयका कारण उत्पन्न जटिलता व्यवस्थापनका लागि वैकल्पिक मार्ग तम्घास–सालझण्डी सडक पनि चुनावी मुद्दा बन्ने गरेको छ । संविधान निर्माणका क्रममा तत्कालीन लुम्बिनी अञ्चलको भूगोल टुक्रिनेगरी प्रदेश सीमांकनको तयारी भएपछि बुटवल र भैरहवासहित प्रदेशका सबै जिल्लामा आन्दोलन चर्किँदा ज्ञवाली र भण्डारी एकै ठाउँमा उभिएका थिए ।
त्यसको अगुवाई एमाले उपाध्यक्ष विष्णु पौडेलले गरेका थिए । पौडेलका दुई सारथी थिए, ज्ञवाली र भण्डारी । गुल्मीमा कम्युनिष्टहरू बलियो रहेको आँकलन गर्ने गरिन्छ । २०४८ सालपछिका निर्वाचनहरू हेर्दा नतिजाले पनि त्यस्तै देखाउँदै आएको छ । अहिले कम्युनिष्टहरू छिन्नभिन्न भएका बेला भण्डारीलाई केही सहज हुने आँकलन छ ।

२०४८ को निर्वाचनमा गुल्मी–१ मा कांग्रेसका झगबहादुर पुन र एमालेका कमलराज श्रेष्ठबीच प्रतिस्पर्धा हुँदा पुनले जित निकाले । गुल्मी–२ बाट कांग्रेसका भागवत ज्ञवाली र एमालेका जीवराज आश्रितबीच प्रतिस्पर्धा हुँदा ज्ञवाली विजयी भए । गुल्मी–३ बाट कांग्रेसका रूद्रमणि शर्मा र एमालेका टंक पोखरेलबीच प्रतिस्पर्धा हुँदा शर्माले जित निकाली तीनवटै क्षेत्रमा कांग्रेस विजयी भयो ।
२०५१ को मध्यावधि निर्वाचनमा गुल्मी–१ बाट कांग्रेसका झगबहादुर पुन र एमालेका रामनाथ ढकालबीच प्रतिस्पर्धा हुँदा ढकाल विजयी भए । त्यस्तै क्षेत्र नम्बर २ बाट एमालेका कमलराज श्रेष्ठ र कांग्रेसका भागवत ज्ञवालीबीच प्रतिस्पर्धा हुँदा श्रेष्ठ विजयी भए । गुल्मी–३ बाट कांग्रेसका रुद्रमणि शर्मा र एमालेका टंक पोखरेलबीच प्रतिस्पर्धा हुँदा पोखरेल विजयी भएर ३ वटै क्षेत्रमा एमाले विजयी भयो ।

त्यस्तैगरी २०५६ को निर्वाचनमा गुल्मी–१ बाट कांग्रेसका उनै पुन र एमालेका फटिक थापाबीच प्रतिस्पर्धा हुँदा एमालेका थापा विजयी भए । क्षेत्र नम्बर २ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीबीच प्रतिस्पर्धा हुँदा ज्ञवालीले जीत निकाले । क्षेत्र नम्बर ३ मा कांग्रेसका त्रैलोक्यप्रताप सेन र एमालेका गोकर्ण विष्टबीच प्रतिस्पर्धा हुँदा विष्ट विजयी भए ।

२०६४ मा क्षेत्र नम्बर १ बाट माओवादीका सुदर्शन बराल एमालेकी मैना भण्डारीलाई पराजित गर्दै विजयी भए । क्षेत्र नम्बर २ मा प्रदीप ज्ञवाली विजयी भए भने भण्डारी पराजित बने । क्षेत्र नम्बर ३ मा माओवादीका चन्द्रबहादुर केसीले एमालेका गोकर्ण विष्टलाई पराजित गरे । २०७० मा क्षेत्र नम्बर १ मा कांग्रेसका कृष्ण छन्तेलले एमालेकी भण्डारीलाई पराजित गरे । क्षेत्र नम्बर २ मा ज्ञवाली र भण्डारीबीच प्रतिस्पर्धा हुँदा भण्डारीले जीत निकाले भने क्षेत्र नम्बर ३ मा एमालेका गोकर्ण विष्टले माओवादीका वामदेव क्षेत्रीलाई पराजित गरे । गुल्मी लुम्बिनी प्रदेशको पहाडी जिल्ला हो ।

निर्वाचन क्षेत्र पुनः संरचना भएर २ वटामा समेटिएपछि ज्ञवाली र भण्डारीले प्रतिस्पर्धा गर्दै आएको भूगोल क्षेत्र नम्बर १ मा प¥यो । २०७४ मा क्षेत्र नम्बर १ बाट ज्ञवाली र भण्डारी आमनेसामने भए ।