पुर्खाप्रति कृतज्ञता र सम्मानको पर्व सोह्रश्राद्ध !

मेचीकाली संवाददाता

२६ भाद्र २०७९, आईतवार
137 shares

घनश्याम कोइराला
आजदेखि पितृपक्ष सुरू भएको छ । पितृपक्ष भनेको धरालीन (मृत्यु भएका वा पृथ्वीमा मिसिएका) भएका आफ्ना पुर्खाहरूको सम्झना र सम्मान गर्ने अवधि हो । यसलाई चलन चल्तीमा सोह्रश्राद्ध भन्ने गरिन्छ । सोह्रश्राद्ध भनेको सोह्र दिन मनाइने भएको हुनाले हो । जम्मा तिथि नै सोह्र वटा हुने भएकोले आप्mना पुर्खा धरालीन हुने कुनै एउटा तिथिमा श्राद्ध गर्ने शास्त्रीय प्रावधान रहेकोले सोही अनुसार गरिने परम्परा रहिआएको छ ।
जुन महिनाको जुन तिथिमा मृत्युभएको हो, त्यस दिन पनि श्राद्ध गर्ने गरिन्छ । त्यसरी गरिने सम्बन्धित तिथिको श्राद्धलाई एकोद्दिष्ट भनिन्छ भने यो सोह्र दिनमा गरिने श्राद्धलाई महालय–महापार्वण भनिन्छ । यस अर्थमा यो सोह्रश्राद्धलाई महालय श्राद्ध भनिन्छ । पक्षका हिसाबले कृष्ण पक्षको प्रतिपदादेखि शुक्ल पूर्णिमासम्म १५ दिन हुन्छ । तर, जम्मा तिथि सोह्र वटा हुने भएकोले हिजोको दिनलाई पूर्णिमा श्राद्ध मान्ने गरिएको हुन्छ ।

तिथि मानिसले बनाएको होइन, तर यसको नामकरण मानिसले गरेको हो । यसको गणना मानिसले गरेको हो । यस गणनामा मानवीय ज्ञान, क्षमता लागेको छ । हाम्रा पुर्खाले गरेको यो गणना अत्यन्त वैज्ञानिक छ । यससम्बन्धी शास्त्र–विज्ञानलाई ज्योतिष भनिन्छ । सूर्य, चन्द्र, ताराहरूको अवस्थिति कहाँ, कुन कोणमा छ र कुन दिन तिनको स्थान कहाँ हुन्छ वा उनीहरूको उपस्थिति र प्रभाव कहाँ हुन्छ भन्ने गणना गरेर तिथि निर्धारण गर्नु चानेचुने विषय होइन । आज सामान्य जस्तो लागे पनि यस्तो पत्ता लगाउने कुरा महान् हो ।
हामी प्रायः मितिमा दिन गन्दछौँ । मिति गणना सङ्क्रान्तिबाट गरिन्छ । सङ्क्रान्ति भनेको सर्नु भनेको हो । यस अर्थमा सङ्क्रान्ति भनेको सूर्य एउटा राशिबाट अर्को राशिमा सर्ने दिन हो । मेष, वृष, मिथुन आदि गरी राशिहरू १२ वटा हुन्छन् र सूर्यले यी १२ राशिको परिभ्रमण गरिसक्ने अवधिलाई वर्ष भनिन्छ ।

दिनलाई मिति र तिथिमा गणना गरिन्छ । मितिमा गणना गरिने विधिलाई सौरमान अर्थात् सूर्यको गतिलाई आधार बनाएर गरिने विधि र तिथिमा गणना गरिने विधिलाई चान्द्रमान अर्थात् चन्द्रमाको गतिलाई आधार मानेर गणना गरिने विधि । गतेका आधारमा गणना गर्दा आजको गते जति हो, त्यस दिन पूरा त्यही गते हुन्छ तर तिथिका आधारमा गणना गर्दा उदयदेखि अस्तसम्म एउटै तिथि नहुन पनि सक्दछ । यसो हुनुलाई तिथि घटबढ भएको भनिन्छ । जे जस्तो भए पनि सोह्रै कलाको (पूर्ण आकार र रूपको) चन्द्रमा हुने दिनलाई पूर्णिमा भनिन्छ । चन्द्रमा देखिँदै नदेखिने दिनलाई अमावस्या (औँसी) भनिन्छ । सौरमानअनुसार सामान्यतः ३० दिनको महिना हुन्छ भन्ने मानिन्छ । गतेको गणना एक गते, दुई गते, तीन गते, चार गते आदि भनेर गरिन्छ र गते महिनाको अन्त्यमा घटबढ भएको देखिन्छ ः २९, ३०, ३१, ३२ गते सम्मका महिना हुन्छन् ।

तिथि घटबढको गणना त्यसै दिन हुन्छ । तिथि गणनाका हिसाबले पनि महिना ३० दिनकै हुन्छ । तर, यसलाई दुई भागमा राखेर हिसाब गरिन्छ । यी दुई भागलाई शुक्ल पक्ष र कृष्ण पक्ष भनिन्छ । गते एकदेखि सुरू भएजस्तै तिथि प्रतिपदा, द्वितीय, तृतीया, चतुर्थी आदिमा गणना हुन्छ । प्रतिपदादेखि सुरू भएर पन्ध्रौँ दिन पूर्णिमा हुने पक्षलाई शुक्ल (सेतो–उज्यालो) पक्ष र पन्ध्रौँ दिन औँसी पर्ने पक्षलाई कृष्ण (कालो–अँध्यारो) पक्ष भनिन्छ । यस्ता विषयमा गरिने अध्ययन नै ज्योतिषको क्षेत्र हो । यो क्षेत्र विशाल छ ।
यो सोह्र श्राद्धलाई पितृको दसैँ पनि भन्ने गरिएको छ । पितृ शब्दले पितापुरुष प्रधानता जनाउँछ । यो सोह्रश्राद्धमा पिताको मृत्युभएको तिथि केन्द्रित हुन्छ । तर, यसमा आमाको तथा आमा तिरका तीन पुस्ता र पिता तिरका तीन पुस्ता तथा सानिमा, ठूलीआमा, फुपू, माइजु, दाजु, भाउजू, काका, काकी आदिलाई श्रद्धापूर्वक स्मरण र पिण्डदान गरिन्छ । पिता जीवितै रहेको, माताको मात्र मृत्यु भएको छ भने जुनसुकै तिथिमा मृत्युभएको भए पनि यस अवधिको नवमी तिथिमा आमाको श्राद्ध गर्ने प्रावधान रहेको छ ।

अज्ञात कालदेखि चलिआएको परम्परा भएको हुनाले आजको समाजले खोजे जस्तो नहुन सक्दछ, तर यो पितृपक्ष आप्mना जन्मदाता र जन्म दाताका पनि जन्मदाताको सम्मान र कृतज्ञताका लागि मनाइने पाक्षिक पर्व हो । जीवित छँदा जसरी माता एकसाथ हुन्छन्, त्यसरी नै मृत्युपछि पनि उनीहरू सँगै हुन्छन् भन्ने मान्यताका आधारमा पिताकै मृत्यु भएको तिथिमा एकसाथ श्राद्ध गर्दा दुवैका लागि हुन्छ भन्ने मान्यता मनाइएको देखिन्छ । पिता जीवितै रहेको र माताको मात्र मृत्यु भएको छ भने नवमी तिथि निर्धारित गरिनु सकारात्मक मान्न सकिन्छ ।

हरेक असल सन्तानले आप्mना जीवित मातापिताको सम्मान, स्याहारसुसार गरेकै हुन्छन्, गर्दछन् । सामाजिक परम्पराले यसको सुनिश्चितता गरेको छ । अब यस्ता विषयमा प्रत्यक्षअप्रत्यक्ष रूपमा राज्यको कानुनी प्रावधानले पनि उमेरका कारण शारीरिक अशक्तता भएका व्यक्तिहरूलाई सुरक्षा प्रदान गरेको छ । तर, हाम्रो सनातन संस्कृतिका मान्यताले मृत्युपछि पनि उहाँहरूको योगदानको सम्मान गर्नुपर्ने मान्यताहरू विकास गरी प्रचलन चलाउँदैआएको छ । मरिसकेका मानिसहरूलाई प्रत्येक दिन सम्झना गर्न सकिए पनि दिनहुँ जमघट तथा भोजभतेर गर्न सम्भव हुँदैन । कम्तीमा वर्षमा दुई पटक आफन्तहरू (छोरा, बुहारी, छोरी, ज्वाइँ, भाञ्जा, भाञ्जी, नाति, नातिनीहरू) जमघट भई मृत्यु भएका आफ्ना निकटतम पुर्खाको सम्मानमा चर्चा परिचर्चा गर्ने, उपलब्ध गतिलो खान्की खाने–खुवाउने प्रचलन महत्वपूर्ण र सकारात्मक हो ।

केही मानिसहरू यस्ता चलनचल्तीको विरुद्धमा देखिँदैछन् । यसलाई अन्धविश्वास करार गरेर सांस्कृतिक रिक्तता सिर्जना गर्न खोज्दैछन् । उनीहरूलाइ यसरी रिक्त भएको ठाउँ अर्को कुनै प्रचलनले लिन्छ र हाम्रो हराउने र अर्काको हुर्कने हुन सक्छ भन्ने अनुमान छैन होला । यी चलन आजका होइनन्, ठ्याक्कै सबै आज सुहाउँदो नहुन सक्दछ । यसमा केही नमिलेका विषयलाई लिएर सबै कुराको विरोध गर्नु जायज होइन । पुर्खाले सामाजिक रीति बसाल्ने क्रममा यस्ता कुरा ल्याए । तर, हामीले के ल्यायौँ ? के पद्धति बनायौँ र बसाल्यौँ ? कुन संस्कृति हो हामीले खोजेको ? कस्तो परम्परा हो हामीले स्थापित गरेको ? सबै कुरा छोड्दै जाने हो भने हाम्रो परिवार, समाज कस्तो बन्ला ? सरस, सहृदयी, कृतज्ञ रहला कि निरस, निर्दयी र कृतघ्न बन्ला ?

हामी राजनीतिमा लडिरहेका छौँ । नाफाका लागि आपसमै भिडिरहेका छौँ । अवसरका लागि हानालुछी गरिरहेका छौँ । यस क्रममा हामीले हाम्रो भाषा छोडेका छौँ । ‘नेपाली जान्दिनँ’ भनेर मख्ख पछौँ । सन्तानले नेपाली नजानेकोमा गौरव गछौँ । संस्कृतिलाई अन्धविश्वास भनिदिएर कुन्नि कता भाग्दैछौँ ।
बरु, यिनीहरूमा सुधारका व्यावहारिक विकल्प खोज्नुपर्छ । असमान छन् भने समानताका प्रावधान स्थापित गर्नुपर्छ । खर्चिलो, भड्किलो छन् भने मितव्ययी र सरलता अपनाउन सकिन्छ । खर्च र भड्काउ संस्कृतिको दोष होइन । शास्त्रमा भए सुनका पात्र, नभए पातको सुविधा दिएको छ ।

यसो विचार गरौँ त, आज देखि सोह्र श्राद्ध (पितृ पक्ष–मरेकाहरूको चाड) सुरू भएको छ, दसैँका शुभकामना र भोज सुरू भएको छ । शास्त्र, शास्त्रीय विधिविधान मान्नुहुन्न भने पितृ पक्षमा दसैँको शुभकामना र भोजभतेर किन ? यदि मान्नुहुन्छ भने निर्धारित विधि विपरीत किन ? हो, अन्धविश्वासका जरा यी हुन् । अन्धविश्वासको कालो चश्मा लगाएर उज्यालो संस्कृतिमाथि दोष लगाउनु सांस्कृतिक अपराध हो । सस्कार र संस्कृति फेरिने विषय हुन् । मानिसलाई निश्चित आस्था निष्ठामा बाँध्ने माध्यम हुन् । संस्कृति भनेको सुधारिएको, परिमार्जन गरिएको सकारात्मक परिणति हो । यसमा विकल्पको ठाउँ छ, तर विकृतिलाई ठाउँ दिनु हुँदैन । हेरौँ, हेर्न पाइन्छ । फेरौँ, फेर्न पाइन्छ । तर संस्कृतिलाई बिगार्न र फेहर पार्न पाइँदैन ।

पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवताः अर्थात् पितृहरू शब्द (सही शब्दद्वारा सम्बोधन) चाहन्छन्, देवतालाई सम्झे पुग्छ । सद्भावको स्रोत नै देवता हुन्, सम्मानका पितृ सम्मानका पात्र हुन् । (लेखक संस्कृति अध्येता तथा अभियन्ता हुन् ।)