परमात्मा परमेश्वर र उहाँको अस्तित्वको प्रश्न

मेचीकाली संवाददाता

२९ भाद्र २०८१, शनिबार
121 shares

हेमन्त गौतम

यसभन्दा ठिक पूर्वको लेखमा मैले श्री सूर्यनारायणज्यूको प्रकाश शक्ति र कुनै एउटा ग्यास वर्न वा ग्यास चुलोमार्फत अथवा बाहिर त्यसैपनि बलिरहेको ग्यास पदार्थबाट निस्कने आगाकोे ज्वालाको प्रकाश शक्तिको बिचमा तिनको कार्यक्षमताको सन्दर्भमा विद्यमान अतुलनीय स्वरूपको विशाल अन्तर्भिन्नता जसअन्तर्गत उहाँ श्री सूर्यनारायणज्यूको प्रकाश शक्तिमा एउटा बल्दो निर्जीव भौतिक वस्तु ग्यासबाट उत्पन्न आगोको ज्वालाको प्रकाश शक्तिमा भन्दा शत प्रतिशत भिन्न स्वरूपको विशिष्ट, अझ भनांै भने विशिष्टभन्दा पनि अति विशिष्ट जुन कार्यक्षमता देखिन्छ, यसले गर्दा पनि श्री सूर्यनारायणज्यू कुनै एउटा बलिरहेको ग्यासको निर्जीव भौतिक पिण्ड नभई एकमात्र परम प्रभु परमात्मा पमेश्वर रुपी परम चेतन तत्व नै हुनुहुन्छ भनी प्रमाणित गर्ने कतिपय दृष्टान्तसहितको आफ्नो थप विचार प्रस्तुत गरेको थिएँ । अब म श्री सूर्यनारायणज्यूबाट हामीले निरन्तर रुपमा उक्त लक्षण वा विशेषतायुक्त प्रकाश शक्ति पाउनुको एकमात्र कारण पनि उहाँमा अन्तर्निहित परम प्रभु परमात्मा परमेश्वरी संरचनागत अलौकिक क्षमता अथवा भनौं विशेषताकै प्रतिफल हो नकि उहाँ कुनै बलिरहेको ग्यासको एउटा निर्जीव भौतिक पिण्ड हुनुको परिणाम नै भन्ने तथ्यका साथै उहाँबाट प्राप्त हुने ताप शक्तिको दृष्टिबाट पनि उहाँ कसरी उक्तबमोजिमको कुनै बल्दो भौतिक पिण्ड कदापि नभई एकमात्र परम चैतन्य स्वरूप परम प्रभु परमात्मा परमेश्वर नै हुनुहुन्छ भन्ने यथार्थलाई समेत उपयुक्त दृष्टान्त सहित निम्नबमोजिम उजागर गर्न चाहन्छुः

(१२) हामीहरुमध्ये कतिपयलाई लाग्न सक्दछ कि आखिर कुनै पनि प्रज्वलनशील निर्जीव भौतिक वस्तु चाहे त्यो ग्यास अवस्थाको होस् चाहे त्यो ठोस अथवा तरल अवस्थाको होस्, त्यस्तो वस्तु बलेको अवस्थामा मात्र त्यसबाट तापशक्ति, प्रकाश शक्ति जस्ता शक्तिहरू पैदा हुने हुन् अन्य कुनै केहीबाट कदापि पैदा हुने होइनन् भने सूर्य स्वयं प्रज्वलनशील ग्यास वस्तुबाट बनेको कारण नै त्यो पाश्चात्य मुलुकका कतिपय वैज्ञानिकहरूले भने जस्तै बलिरहेको होला र त्यसबाट तापशक्ति जस्तै प्रकाश शक्ति पनि विघ्न ठूलो मात्रामा पैदा भई हाम्रो यस पृथ्वीसम्म पनि आइपुगेको होला, नत्र भने कसरी सम्भव हुन्थ्यो होला र ? किन्तु हाम्रो जीवनमा कतिपय यस्ता निर्जीव तथा सजीव वस्तु समेत देखा पर्दछन जो आगोको रुपमा नबल्दा नबल्दै पनि आफ्नो संरचनागत (बनोटजन्य) विशेषताका कारण आफूभित्रैबाट एक प्रकारको प्रकाश शक्ति (उज्यालो) पैदा गरिरहेका हुन्छन् । जस्तो कि हामी नीर्जीव वस्तुमा रेडियम दृष्टान्तको रुपमा लिन सक्दछौँ । यसले आफू प्रज्वलनशील वस्तु नहुनु र आगोको रूपमा बलिरहेको नहुनुको बावजुद पनि आफ्नै खालको प्रकाश (उज्यालो) दिइरहेको हुन्छ जुन रातको समयमा राम्रैसँग अनुभव गर्न सकिन्छ ।
त्यसरी नै फेरि सजीव वस्तुमा जुनकिरीको उदाहरण लिन सकिन्छ । वास्तवमा जुनकिरी जन्तु जगतभित्र पर्ने यस्तो प्राणी हो जो आफू आगोको रुपमा नबलिरहेको अवस्थाको सजीव प्राणी हुँदाहुँदै पनि आफ्नो शरीरको पृष्ठ भागबाट कुनै ऋतु विशेषको रातको समयमा झल्याक–झुलुक प्रकाश (उज्यालो) दिँदै आकाशमा यताउति उडिरहेको हुन्छ । संख्यामा यिनीहरू कहिले अलिक धेरै हुन्छन् भने कहिले अलि थोरै । परन्तु यिनीहरूको शरीरमा आगोले थोरै पनि स्पर्श गरिहालेमा तत्कालै मर्दछन् र यिनीहरूको शरीरबाट प्रकाश आउन पनि तत्क्षणमै बन्द हुन्छ । अनि यसबाट स्पष्ट हुन्छ कि जुनकिरीले दिने उक्त प्रकाश वा उज्यालो भनेको उसको शरीरको संरचनागत आन्तरिक विशेषताको प्रतिफल ऊ भित्रैबाट आपसेआफ उत्पन्न हुने प्रकाश शक्ति नै हो, शङ्का छैन ।

यसरी माथिका दृष्टान्तहरूबाट एउटा बलिरहेको निर्जीव भौतिक वस्तु ग्यास वा अन्यबाट मात्र प्रकाशशक्ति (उज्यालो) पैदा हुन्छ भन्ने कुरा जसरी पूर्णरुपेण गलत साबित हुन्छ त्यसरी नै यो कुरा फेरि पूर्णतया सही साबित हुन जान्छ कि कुनै कुनै निर्जीव वा सजिव वस्तु आगोको रूपमा बलिरहेको नहुँदा नहुँदै पनि आफ्नो संरचनागत मौलिक विशेषताका कारण तिनबाट आफसेआफ आफ्नै प्रकारको प्रकाश शक्ति–उज्यालो उत्पन्न हुन सक्दछ भने झनै श्री सूर्यनारायणज्यू धपधप बल्दो ग्यासको निर्जीव भौतिक पिण्ड कुनै पनि अवस्थामा नहुँदा नहुँदै पनि आफ्नो परम प्रभु परमात्मा परमेश्वरीय संरचनागत अलौकिक विशिष्ट विशेषताको नतिजास्वरूप उहाँ आफूभित्रैबाट स्वतस्फूर्त रूपमा उक्त बमोजिमको प्रकाश शक्ति अविरल एवं अभिछिन्न रुपमा पैदा भइरहनु कुनै आश्चर्यको विषय भएन नै । तसर्थ उहाँ श्री सूर्यनारायणज्यूलाई एकमात्र परम सजीव–सचेतन परम प्रभु परमात्मा परमेश्वर मान्नुको अतिरिक्त अन्य कुनै विकल्प छैन ।

(१३) जसरी एउटा ग्यास वर्न वा ग्यास चुलोमार्फत अथवा बाहिर त्यसै पनि बलिरहेको ग्यास पदार्थबाट निस्कने आगोको ज्वालाबाट प्राप्त हुने प्रकाश शक्ति र श्री सूर्यनारायणज्यूबाट प्राप्त हुने प्रकाश शक्तिको बिचमा तिनीहरूको लक्षण वा विशेषता अथवा कार्यक्षमताको सन्दर्भमा अतुलनीयस्वरूपको भन्न मिल्ने विशाल अन्तर्भिन्नता विद्यमान रहेको पाइन्छ त्यसरी नै उक्त प्रकाश शक्तिसँगै प्राप्त हुने तापशक्तिको बीचमा पनि उसै समान अतुलनीय स्वरूपको भन्न सकिने विशाल अन्तर्भिन्नता नै रहेको देखिन्छ । भन्नुको तात्पर्य तिनको (ताप शक्तिको) बिचमा पनि यति धेरै ठूलो भिन्नता देखिन्छ कि परम चैतन्य स्वरूप परम प्रभु परमात्मा परमेश्वर श्री सूर्यनारायणज्यूलाई यस आधारमा समेत कुनै बलिरहेको ग्यासको निर्जीव भौतिक पिण्ड होइन कि उक्तबमोजिमका परम प्रभु परमात्मा परमेश्वर नै हर तरहबाट स्वीकार्नै पर्ने हुन्छ, फरक छैन । जस्तो कि एउटा बलिरहेको ग्यास वर्न वा ग्यास चुलोबाट अथवा दाउरा, कोइला आदिबाट आएको ताप लिँदा (आगो ताप्दा) हामीले जहिले पनि अगाडिबाट अर्थात् हाम्रो शरीरको अग्र भागलाई आगो तिर पारी लिन्छौ भने श्री सुर्यनारायणज्यूबाट आएको ताप लिदा (घाम ताप्दा) पछाडिबाट अर्थात् हाम्रो शरीरको पृष्ठ भागलाई उहाँ (श्री सूर्यनारायणज्यू) तिर पारी लिन्छौं । यो कुरा आम मानिसहरूलाई स्वतः जानकारी मात्र होइन अनुभव समेत छ भन्नुमा कत्ति पनि अतिसयोक्ति हुदैन । अब भनौँ श्री सूर्यनारायणज्यू यदि बलिरहेको ग्यासको एउटा निर्जीव भौतिक पिण्ड नै भए उहाँबाट आएको ताप लिँदा पनि उक्त बमोजिमको आगोबाट आएको ताप लिँदा जस्तै हाम्रो शरीरको अघिल्तिर (अगाडि)बाट लिनुपर्ने हो । परन्तु त्यसो नहुँदा श्री सूर्यनारायणज्यू बलिरहेको ग्यासको एउटा निर्जीव भौतिक पिण्ड नभई माथि भनिए बमोजिम नै एक मात्र परम प्रभु परमात्मा परमेश्वर हुनुहुन्छ भन्ने कुरामा कुनै शङ्का रहँदैन नै ।

(१४) हिउँद यामको दिनमा यदि आकाशमा बादल लागेको छ अथवा पानी परिरहेको छ भने जाडोले मानिसहरू घरभित्र आगो तापेर बसिरहेका हुन्छन् । परन्तु त्यतिकैमा अनायास बादल फारी चकमन्न घाम लागेमा उनीहरु आगो छाडी घाम ताप्न बाहिर तिर लाग्दछन् । कारण, आगोको तातो वा न्यानो र घामको अर्थात् श्री सूर्यनारायणज्यूको तातो वा न्यानोले दिने आनन्दमा ठूलो अन्तर रहेको हुन्छ । यसबाट पनि श्री सूर्यनारायणज्यू कुनै एउटा बलिरहेको ग्यासको भौतिक पिण्ड नभई तापशक्तिमा पनि आफ्नै प्रकारको मौलिक विशिष्टभन्दा विशिष्ट प्रभावकारितायुक्त एकमात्र परम प्रभु परमात्मा परमेश्वर रूपी परम चेतन तत्व हुनुहुन्छ भन्ने कुरा स्वतः सिद्ध हुन जान्छ ।

(१५) कुनै एउटा भाँडो लिऊँ जसलाई आगोमा राखी तताउन सकियोस् । त्यसमा अलिकति पानी राखौं । अब त्यसलाई दिनको समयको बाहिरको घाममा केहीबेरसम्म राखी त्यसमा भएको पानीको तापक्रम लिऊँ र त्यो पानी तत्कालै मुखमा राखी चार्खाै । फेरि त्यही भाँडोमा त्यति नै पानी लिई त्यसलाई एउटा बलिरहेको ग्यास वर्न वा ग्यास चुलोमा राखी उति नै तापक्रम सम्म तताउँ र त्यस (पानी)लाई उसैगरी चाखौं । ती दुईथरी पानीमध्ये प्रत्येकको स्वाद पूरै फरक फरक पाउनेछौँ । यदि श्री सूर्यनारायणज्यू स्वयं पनि कुनै एउटा बलिरहेको ग्यासको भौतिक पिण्ड भए घाम अर्थात् उहाँ श्री सुर्यनारायणज्यूको तापशक्तिमा तताएको पानी र ग्यास वर्न वा ग्यास चुलोको आगोको तापशक्तिमा तताएको पानीको स्वाद शत प्रतिशत एक समान हुने थियो । तसर्थ हामी किटानी साथ भन्न सक्दछौं कि श्री सूर्यनारायणज्यू उपर्युक्त बमोजिमका एकमात्र परम प्रभु परमात्मा परमेश्वर नै हुनुहुन्छ नकि कुनै बलिरहेको ग्यासको एउटा निर्जीव भौतिक पिण्ड । अरु बाँकी अंश सबै आगामी लेखहरूबाट । अंक–८ (क्रमश)