‘तिहार’ दीपोत्सव मात्र होइन, बहुआयामिक पर्व हो !

मेचीकाली संवाददाता

१४ कार्तिक २०८१, बुधबार
328 shares

घनश्याम कोइराला

आज कात्तिक कृष्ण पक्षको त्रयोदशी तिथि । आजदेखि यमपञ्चक अर्थात् तिहार सुरु भयो । यमपञ्चकको पहिलो दिन कुकुर तिहार मानिन्छ । यम र यमीसँग सम्बन्धित भएको हुनाले यमपञ्चक भनिएको हो । यम र यमुना दाजु—बहिनी हुन् । मृत्युका देवता मानिने यम वैदिक देवता हुन् । यिनै यम आफ्नी बहिनी यमीका घरमा बसेको पाँच दिनलाई यमपञ्चक भन्ने मान्यता रहेको छ । यी पाँच दिनलाई नेपाली जनजिब्रोले तिहार भन्ने गरेको छ । संस्कृत भाषाको ‘पर्व’ शब्दले जोड्ने अर्थ पनि राख्दछ । यो यमपञ्चक वा तिहार पर्वले दाजुभाइ—दिदीबहिनीलाई जोड्दछ, अर्थात् सम्बन्धलाई थप आत्मीय, सुमधुर र सुदृढ बनाउँछ भन्ने आसय वहन गरेको छ । कात्तिक शुक्ल पक्षको द्वितीयामा दिदीबहिनीनीले दाजुभाइलाई सात रङ्गको टिका लगाइदिएपछि यो तिहार पर्व सकिन्छ । यमपञ्चकका यी पाँचै दिनलाई समग्रमा ‘तिहार’ भनिन्छ । यसमा काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार र भाइ तिहार पर्दछन् । भाइ तिहार भन्नाले दाजु र भाइ दुवै बुझिन्छ । संस्कृत भाषामा दाजु र भाइलाई एउटै ‘भ्रातृ’ शब्द प्रयोग हुन्छ, जसबाट भ्राता बन्दछ । ‘भ्राता’बाट भाइ बन्न र भन्न सजिलो भएर यो शब्द प्रचलित भएको हो । संस्कृतमा ‘भ्रातृ द्वितीया’ र तराई क्षेत्रमा ‘भैया दूज—भाई दूज’ भनिन्छ ।

तिहारको पहिलो दिन आज काग (कतैकतै कौआ—कौवा पनि भनिन्छ) तिहार मानिन्छ । काग या कौवालाई संस्कृतमा काक भनिन्छ । कागलाई नेपाली समाजमा सन्देशवाहक पक्षी मानिन्छ । कागलाई संस्कृतमा वायस पनि भनिन्छ । शास्त्रमा ‘वायसात् पञ्च शिक्षेत् अर्थात् कागबाट पाँच गुण सिक्नू’ भनिएको छ । कागबाट सिक्नुपर्ने ती पाँच वटा विषय हुन्— लुकेर मैथुन गर्नु, सितिमिति कसैलाई नटेर्नु, सावधान रहनु, अतिरिक्त सञ्चय—संग्रह नगर्नु, समयानुसारका वस्तुहरूले काम चलाउनु हो ।
यसै दिन धनतेरस भनेर धनका देवता मानिने कुबेरको जन्म दिन मानिन्छ । यद्यपि, यो विषय यमपञ्चकको बिचमा पर्दछ, तथापि यो दिन प्रत्यक्षतः तिहारभन्दा भिन्न विषय हो । आज नै आयुर्वेदका प्रवर्तक प्राचीन चिकित्सा विज्ञानका प्रतिष्ठाता धन्वन्तरी जयन्ति पनि पर्दछ । यी थप विशेषताले यमपञ्चक—तिहारलाई थप विशिष्ट बनाएको छ तर समय क्रममा यस्ता विशेषताहरू थपिँदै गए तापनि मूल विषय छोडेर थपलाई मात्र अँगाल्नु उचित हुँदैन ।

कतै भनिएको छ ः ‘काकः पक्षीषु चाण्डालः अर्थात् पक्षीहरूमा काक निकृष्ट हो ।’ तर, यसलाई गरिने सम्मान उच्चताका कारणले हो । यसबाट खराबमा पनि असल हुन्छ, खराबभित्रको पनि असल पक्षको सम्मान गर्नु पर्दछ भन्ने शिक्षा लिन सकिन्छ । मौसम परिवर्तन, सर्प आदिको अगमनको सूचना—संकेत गर्ने, फोहोर खाइदिएर सफा वातावरण दिने आदि कागका गुण त हामी सबैले देखे जानेकै छौँ ।
तिहारको दोस्रो दिन कुकुरको पूजा हुन्छ । यस दिनलाई कुकुर तिहार भनिन्छ । कुकुरको पूजाको मन्त्रबाट थप केही स्पष्ट हुन सकिन्छ । भनिएको छ, ‘द्वौ श्वानौ श्यामशबलौ वैवस्वतकुलोद्भवौ….. अर्थात् वैवस्वत कुलबाट जन्मिएका दुई कालो र टाटेपाटे कुकुरहरूले हिंसाबाट जोगाऊन् भनी तिनीहरूलाई यो अन्न दिन्छु— खान दिन्छु । मानिसले आफ्नो हितका लागि कुकुरलाई आफ्नो सहयोगी र रक्षक बनाएको देखिन्छ । हाम्रा पुर्खाले अन्य घरमा पालिएका पशुहरूलाई अन्य हिंस्रक पशुहरूबाट जोगाउनका लागि प्रशिक्षित गरेर मानिसका निकट र हितैषि बनाए । यति मात्र होइन, कुकुरबाट छ वटा शिक्षा लिन सकिन्छ — षट् शून…भनिएको छ । यो योगदान कहिले स्मरण गर्ने ? कुकुर तिहार वा कुकुर पूजासँग पुर्खाको योगदान र कुकुरको गुणको सम्मान जोडिएको छ । कुकुरको पूजा वा सम्मानसँग उसको उपयोगिताको विषय त छँदैछ, यसमा पुर्खाको क्षमता तथा दूरदर्शिताको सम्मान जोडिएको छ ।

तिहारको तेस्रो दिन अर्थात् कात्तिक कृष्ण पक्षको औँसीको दिन गाई तिहार हुन्छ । यस दिन गाईको पूजा गरिन्छ । गाईलाई हिन्दु धर्मशास्त्रमा माता—आमा भनिएको छ । ‘गावो विश्वस्य मातरः अर्थात् गाई विश्वकै आमा हुन् । वेदमा गाईलाई मानिसको मुख्य सम्पत्तिका रूपमा वर्णन गरिएको छ । गाईका विषयमा ठूलाठूला युद्धहरू भएका छन् । महाभारतमा पनि यस्तो प्रसंग पढ्न पाइन्छ । गाईका धेरै गुणहरू छन् । यस विषयमा खासै उल्लेख गर्नुपर्ने आवश्यकता छैन । पौष्टिक गोरस, खेती तथा वृक्ष—वनस्पतिका लागि मल (गोबर) दिने, औषधि हुने मूत्र दिने, हलो तान्ने बलियो बाछो (बहर)—गोरु जन्माउने बहुउपयोगी गाईलाई सुस्वास्थ्य, धनधान्य, समृद्धि दिने लक्ष्मीका रूपमा पूजा गरिन्छ । यस औँसीको रात्रिलाई सुखरात्रि भनिन्छ । धनधान्यकी देवीको स्वागतार्थ ‘दीप—बत्तीको, आवली—लस्कर’ अर्थात् लामबद्ध — लस्कर बत्ती बालिन्छ, त्यसैले आजको रात्रिलाई ‘दीपावली’ भनिन्छ । कतिपय मानिसहरूले यही एक दिनको झिलीमिलीलाई मात्र लक्षित गरेर सिङ्गो पाँच दिनको महत्वपूर्ण पर्वलाई ‘दीपावली’ मात्र भनेर छोट्याउने गर्दछन् ।

यमपञ्चकको चौथो दिन गोरु तिहार मानिन्छ । गोरु तिहार भनेको गोरुको पूजा गर्ने दिन हो । कृषि क्षेत्रका लागि गोरुको महत्व कति छ भनिरहन पर्दैन । खन्ने जोत्ने अन्य स्वचालित औजार उपकरण नहुँदा पुर्खाले आविष्कार गरेको हलो तान्ने शक्तिका रूपमा गोरुको उपयोग भएको हो । बलिया पशुलाई साधेर मानिसको नियन्त्रणमा राखी मेलो हिँडाउने पुर्खाको ज्ञान बुद्धि र गोरुको बल दुवै महत्वपूर्ण छन् । यद्यपि, गोरुले प्रकारान्तरले माया गरेको बुझ्छ होला, तर पूजै गरेको बुझ्दैन, तथापि गोरुको पूजा गरिनुको अर्को आसय देखिन्छ, कसैले बुझोस् या नबुझोस्, मागोस् या नमागोस्, योगदानको कदर गर्नैपर्छ । गोरु पूजाले पुर्खाको आविष्कारी सोच, आविष्कार र बोल्न नसक्ने प्राणीको पनि योगदानको सम्मान हुनुपर्छ भन्ने भाव व्यक्त गरेको देखिन्छ ।
गोरु (तिहार)पूजाकै दिन गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन पनि छ । गोठमा गोवद्र्धन पर्वतको प्रतीक गोबरको थुप्रो बनाई त्यसलाई सिँगारेर गोवद्र्धन पूजा गरिन्छ । यो एकतामा शक्ति छ, शक्तिमा विजय निर्भर छ भन्ने संकेत हो । श्रीमद्भागवत तथा अन्य पौराणिक कथाअनुसार द्वापर युगमा पृथ्वीका मानिसहरूबाट स्वर्ग र देवताका राजा इन्द्रले बलि(भाग—कर) लिने गर्दथे । भगवान श्रीकृष्णले त्यसको अवज्ञा गरे । फलस्वरूप इन्द्रले ठूलो पानी पारिदिए । श्रीकृष्णले गोकुलवासीहरूलाई सङ्गठित गरेर गोवद्र्धन पर्वत उचाली इन्द्रको प्रतिकार र पानीबाट सुरक्षित हुने तरिका सफल पारेका थिए । एकतामा शक्ति र नेतृत्वको क्षमताको विषय यसबाट लिनुपर्ने शिक्षा हो ।

यम र यमीको सन्दर्भ र भाइ तिहारको विषय हाम्रो यति बेलाको सामाजिक सभ्यताको दृष्टिले महत्वपूर्ण रहेको छ । एउटा पर्वले, त्यससँग सम्बन्धित वैदिक, पौराणिक र सामाजिक पात्र तथा घटना सन्दर्भले दिने सन्देश महत्वपूर्ण हुने गर्दछ । एउटा सन्दर्भले अन्य विषय क्षेत्र पनि आकर्षित गरेको हुन्छ । यस सन्दर्भमा यहाँ संक्षिप्त चर्चा गरिन्छ ।

सनातन संस्कृतिका चाडपर्व, चलनचल्ती, परम्पराका कुरा आउनासाथ जातपात र विभेदका विषय उछालिने गर्दछ । समाजमा यस्तो अवस्था रहेको छ, तर तिनीहरू शास्त्रसम्मत होइनन् । यो कुरा बुझ्न पनि यमपञ्चकको प्रसङ्ग उपयोगी छ । अग्निपुराणका अनुसार मनु, यम र यमीको सूर्य र विश्वकर्माको सम्बन्ध बारे लेखिएको छ ः त्वाष्ट्री संज्ञां मनुं पुत्रं यमलौ यमुनां यमम् । छाया संज्ञां च सावर्णिं मनुं वैवस्वतं सुतम् ।
शनिं च तपतीं विष्टिं संज्ञायां चाश्विनौ पुनः । अर्थात् संज्ञा (सूर्यकी पत्नी) विश्वकर्माकी छोरी हुन् । उनको गर्भबाट मनु एवं यम र यमुना नामका जुम्ल्याहा सन्तान जन्मिए । छायासंज्ञाबाट सावर्णि मनु र शनैश्चर नामका छोराहरू र तपती एवं विष्टि नामका छोरीहरू जन्मिए । (अग्निपुराण, २७३ ओैँ अध्याय) यस्तो उल्लेख पाइन्छ । यसबाट यम र यमी को थिए भन्ने स्पष्ट हुन्छ । सँगसँगै मनु, यम, यमी, विश्वकर्माको सम्बन्ध पनि स्पष्ट हुन्छ । यसरी स्पष्ट हुनु भनेको हाम्रो समाजमा तथाकथित दलित—शूद्र बनाइएका विश्वकर्मा को हुन् भन्ने कुरा र नेपाली समाजमा रहेको छुवाछूतको निरर्थकतबाारे स्पष्ट हुन सकिन्छ ।

तिहारको सन्दर्भको मूल जरो यम र यमी (यमुना) को सम्वाद ऋग्वेदमा रहेको छ । ऋग्वेद कालीन समाजमा दाजु—बहिनीबिच वैवाहिक सम्बन्ध हुने गरेको सङ्केत पाइन्छ । सिंगो समाजमा थियो कि त्यो त्यस परिवारको वा तिनीहरूको मात्र हो, स्पष्ट छैन, तर यम र यमीको सम्वादको निष्कर्षका रूपमा आएको यो सभ्य सम्बन्ध हाम्रो सभ्यताको विकासमा निकै ठूलो महत्वको देखिन्छ ।
ऋग्वेदमा एउटा खास प्रसङ्ग छ । यमी यमसँग भन्छिन्, ‘हे यम ! विशाल आकाशको एकान्त स्थानमा म तिमीसँग साथीका रूपमा मिलन चाहन्छु । डुँगाजस्तो भएर संसाररूपी समुद्र तर्नका लागि पिताका नातिका रूपमा हाम्रा असल सन्तान उत्पन्न गराउन हामी परस्पर सङ्गत होऔँ भन्ने विधाताको इच्छा छ ।’
यमले यमीसँग भन्दछन् ‘हे यमी ! तिमीसित यस कुरा जानकारी छ भने तिमी पनि अर्कै पुरुषलाई रुखलाई लहराले बेरेझैँ आश्रय लिएर पतिका रूपमा स्वीकार गर । आपसमा एकले अर्कालाई मन परेको व्यवहार गर र त्यसैबाट मङ्गलकारी सुख प्राप्त गर ।’ यसरी यम र यमीको सम्वाद टुङ्गिन्छ । यो सम्वाद हेर्दा त्यतिबेला दिदीभाइ दाजुबहिनीका बिचमा विवाह हुने प्रचलन रहेको देखिन्छ । तर, यम र यमी बिचको यो सम्वादपछि यो प्रथा नरहेको स्पष्ट हुन्छ । यो विषय आजका लागि विवादको विषय हुनुहुँदैन । यो सन्दर्भ वैदिक समाजको एउटा खास सन्दर्भ मात्र हो, वैदिक समाजलाई लाञ्छित गर्नका लागि होइन भन्ने बुझ्न आवश्यक छ । वैदिककालीन समाज कुनै एउटा जाति वा वर्णको समाज थिएन । त्यस कालका सबैको साझा समाज थियो ।
यी सन्दर्भहरूलाई ध्यान दिँदै अहिले प्रचलित तिहार हेर्दा यहाँदेखि सामाजिक अवस्थामा ठूलो परिवर्तन प्रारम्भ भएको मान्न सकिन्छ । तिहार दाजुभाइ—दिदीबहिनीबीच पवित्र, सुमधुर, आत्मीय सम्बन्ध स्थापना भएको र त्यसप्रति प्रतिबद्धताको निरन्तरताका लागि सुरु गरिएको महान् चाड हो । ‘दीपावली’ले यति धेरै विविधता र महत्वलाई सम्वोधन गर्न सक्दैन ।

हामीले कुनै पर्वका माध्यमबाट यी विषयको सम्झना राखेनौ भने पुर्खाले आफ्ना पछिल्ला सन्तानका लागि गरेको योगदान मेटिने छ । अहिले संसार बन्नमा पुर्खाको योगदान मेटिनु राम्रो मान्न सकिन्न । अर्को, हामीले पनि भावी सन्ततिका लागि केही गर्नैपर्छ भन्ने युगीन दायित्वबोध गर्न पनि हामीले प्राचीन—पुख्र्यौली परम्पराबाट चलिआएका प्रवन्धहरूको ससम्मान स्मरण गर्न आवश्यक हुन्छ । पर्वहरूले हामीलाई यस्तो शिक्षा दिइरहन्छन् र आनुवंशिक स्मरणशीलता कायम राख्न मद्दत गर्दछन् ।

अन्त्यमा, संस्कृतिबारे लेनिनको विचार यस्तो छः ‘मानव जातिद्वारा सिर्जित र संग्रहित ज्ञान र विज्ञानको सम्पदालाई आत्मसात नगरिकनै कम्युनिस्ट बन्न सकिन्छ भन्ने सोच्नु भयंकर भूल हुनेछ । मानव जातिद्वारा सिर्जना र विकास गरिएको ज्ञान, विज्ञान, सम्पदाबाट नै सांस्कृतिक सम्पदाको निर्माण हुन सक्दछ ।’ यिनै सन्दर्भहरूमा तिहारको संस्कृतिलाई पनि लिन आवश्यक छ ।
समग्रमा तिहारका यी पाँच दिन मानव जीवनका लागि अत्यन्त महत्वपूर्ण विषय सूचना, स्वास्थ्य, सुरक्षा, इमान्दरिता, श्रम, एकता, पवित्रता, घनिष्टता, धनधान्य, सम्पन्नता सहितको उज्यालो पर्व हो भन्ने बुझ्न सकिन्छ । बुझेर मनाएको संस्कृतिले हामीलाई शिक्षा दिन्छ भने नबुझी अवलम्बन गरिएको संस्कृतिले विभेद र विकृति बढाउँछ । संस्कृतिलाई कसरी लिने र कस्तो बनाउने, कसरी विकास गर्ने भन्ने विषय मानिसहरूको बुझाइ र गराइमा भर पर्दछ । ‘तिहार’ दीपोत्सव मात्र होइन, बहुआयामिक पर्व हो ! ‘दीपावली’ले तिहारको पूर्णता समेट्दैन ! (लेखकः संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)