निर्वाचन: सम्बन्ध सुमधुर बनाउने अवसर !

मेचीकाली संवाददाता

७ फाल्गुन २०८२, बिहीबार
151 shares

घनश्याम कोइराला

‘संगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम् । देवा भागं यथा पूर्वे सञ्जानाना उपासते अर्थात् हामी सबै मिलेर, एक साथ हिँडौँ वा अगाडि बढौँ । हामी सबैले आपसमा संबाद गरौँ, एउटै स्वर वा उद्देश्यका साथ बोलौँ । हाम्रा मनहरू वा विचारहरू एकै ठाउँमा मिलुन्, हामी सबैको सोच समान होस् । जसरी प्राचीन कालमा देवताहरूले मिलेर आफ्नो भाग लिन्थे वा सहकार्य गर्थे, त्यसरी नै हामी पनि मिलेर काम गरौँ ।’ यो हाम्रो संस्कृतिको आधार हो । लोकसेवा आयोगमा छनोट हुने मानिसहरू सँगै बसेर परिक्षा दिन्छन् । केही उत्तीर्ण हुन्छन्, कोही अनुत्तीर्ण हुन्छन् । पढाइको विषय उही, परीक्षा प्रणाली र प्रश्नपत्र उही, उत्तरपुस्तिका जाँचकी उही भएर पनि परिक्षार्थीहरू सबै छनोट हुँदैनन्, सबै बाहिरिँदैनन् । खेलमैदानमा खेलाडिहरूबिच प्रतिस्पर्धा हुन्छ, पूरा शक्तिकासाथ एक अर्का विरुद्ध लड्दछन्, तर आरोप प्रत्यारोप त गर्दैनन् । बरु प्रतिस्पर्धीका कमजोरी पत्तो लगाएर प्रहार गर्दछन् र विजय प्राप्त गर्दछन् । छनोट भएका मात्र योग्य, अरु अयोग्य भन्ने हुँदैन । समाजका अन्य विषय पनि यस्तै हो ।

समाजमा घट्ने जुनसुकै घटनाहरूबाट शिक्षा लिन सकिन्छ । आन्दोलन, अभियान, निर्वाचनलाई पनि चिनजान गर्ने, सम्बन्धहरू सुमधुर बनाउने, मानिसहरूका भावनाहरू थाहा पाउने–बुझ्ने अवसरका रूपमा लिन सकिन्छ । सम्बन्धहरू जहिले पनि आफ्नै पक्षमा मात्र हुन्छ वा हुनुपर्छ भन्ने हुँदैन । सबै कुरा मन पर्ने मात्र हुन्छ भन्ने पनि हुँदैन । मन नपर्नु पनि एउटा पक्ष हो । मन नपर्ने विषयबाट पनि शिक्षा लिन सकिन्छ । मन नपर्नुका कारण खोज्न सकिन्छ । आपूmलाई अरुले कसरी बुझेका होलान् भन्ने अनुमान पनि गर्न सकिन्छ । अरुभन्दा आपूm राम्रो गतिलो कसरी बन्न सकिन्छ भन्ने सोच्न सकिन्छ । आपूmलाई मन परेको मात्र असल र स्वीकार्य, आपूmलाई मन नपरेको जति सबै कमसल र अस्वीकार्य भन्ने हुँदैन । कहिलेकाहीँ उम्मेदवार बनेका व्यक्ति मन नपर्न सक्दछन् तर पूर्व प्रतिबद्धताका कारण स्वीकार गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ सिद्धान्त, विचार मन परेको हुँदैन तर उम्मेदवारको व्यक्तित्व साह्रे कमन परेको हुन पनि सक्दछ । यस्तो बेला के गर्ने ? आत्ममन्थन र आत्मनिर्णय गर्नुपर्ने हुन्छ । निर्वाचन भनेको पार्टी र उम्मेदवारको मात्र सरोकारको विषय होइन । त्यसैले यसका विभिन्न पक्षहरूबाट समाजका हरेक सचेत मानिसहरूले अनेकौँ विषय सिक्न र बुझ्न सकिन्छ । यसबाट हार सहन सक्ने, जित सम्हाल्न सक्ने उदाहरण ग्रहण गर्न सकिन्छ ।

सामान्यतया निर्वाचन भनेको चयन गर्ने, छनोट गर्ने प्रक्रिया हो । छनोट गर्ने भनेको अनुकूल रोज्ने हो । जनप्रतिनिधि छान्ने भनेको कुनै छाक खाजा, खाना रोजेजस्तो होइन । यो कुनै दिन लगाउने लुगा रोजेजस्तो पनि होइन । यो आपूmले प्राप्त गरेको अधिकार प्रयोग गर्ने वारेस रोज्ने हो । यिनै प्रतिनिधिको माध्यमबाट जनतन्त्र, लोकतन्त्र, गणतन्त्र चल्ने हो । त्यसैले यो गम्भीर विषय हो । यो हाम्रो जीवन, जीविका र जमिन (देशको भूगोल) सँग सम्बन्धित विषय हो । भनिन्छ, ‘निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो ।’ लोकतान्त्रिक व्यवस्था भएका देशमा आवधिक निर्वाचन हुने गर्दछ । निर्वाचन निश्चित अवधिमा अपनाइने एउटा राजनीतिक प्रक्रिया त हो तर केवल एउटा नियमित प्रक्रिया मात्र होइन ।

नेपालमा पनि निर्वाचनको अभ्यास लामै छ । नेपालको इतिहासको पहिलो निर्वाचन विसं. २०१० मा सम्पन्न भएको थियो । यो निर्वाचन काठमाडौँ नगरपालिकाको पहिलो निर्वाचन थियो । त्यसपछि विसं. २०१४ माघ ८ मा काठमाडौँ नगरपालिकाको दोस्रो निर्वाचन सम्पन्न भएको थियो । यी दुई निर्वाचनबारे उल्लेख गर्नुको तात्पर्य के हो भने नेपालमा राष्ट्रिय स्तरको निर्वाचनभन्दा पहिले स्थानीय निर्वाचन भएको थियो ।

राष्ट्रिय स्तरको निर्वाचन वि.सं. २०१५, फागुन ७ सम्पन्न भएको थियो । यो निर्वाचन पहिलो आनिर्वाचन सम्पन्न थियो । यसरी नेपालको निर्वाचनको इतिहास ७२ वर्ष पुरानो छ । पटकपटक व्यवस्था फेरिए पनि हरेक व्यवस्थामा निर्वाचन भएको छ । निर्वाचनलाई लोकतन्त्रको मेरुदण्ड भन्नेहरूले नै कहिले बहिस्कार र कहिले सहभागिता जनाएका छन् । दलविहीन पञ्चायती व्यवस्थामा पनि निर्वाचन हुने गर्दथ्यो । नेपालका कम्युनिष्ट र नेपाली कांग्रेस पार्टीले पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन विकास गर्न आफ्ना कार्यकर्ताहरूलाई दलविहीन पञ्चायती निकायहरूमा उम्मेदवार बनाएका थिए । यी प्रतिबन्धित पार्टीका कार्यकर्ता राष्ट्रिय पञ्चायत सदस्य, नगरपञ्चायत र गाउँपञ्चायतका प्रधान, उपप्रधान, वडाध्यक्ष, वडा सदस्य भएका थिए ।

निर्वाचनबारे अहिले पनि मतैक्यता देखिँदैन । कसैले यसलाई प्रतिस्पर्धा मानेका छन् भने कसैले सङ्घर्ष, कसैले वर्गसङ्घर्ष । निर्वाचनमा सहभागी दलहरू प्रतिस्पर्धी हुन् कि प्रतिद्वन्द्वी भन्ने छुट्याउन गाह«ो छ । निर्वाचनका क्रममा फाट्टफुट्ट गठबन्धन सबै दलले, सबै दलसँग, सधै गरेका छन् । यस अघिको निर्वाचनमा केही दलहरूका बिचमा बृहत् गठबन्धन भएको थियो । निर्वाचनका क्रममा गरिएको गठबन्धन निर्वाचनपछि भङ्ग भएको घटना पनि देखिए–भोगिएकै छ ।

निर्वाचनपछि सरकार निर्माणमा पनि प्रायः सबै दलले सबै दलसँग गरेका छन् । प्रजातन्त्रवादी, लोकतन्त्रवादी, गणतन्त्रवादी, राजा–राजतन्त्रवादी, मधेशवादी, नास्तिकतावादी, अध्यात्मवादी, संविधान मान्ने, संविधान नमान्ने, सङ्घीयता मान्ने, सङ्घीयता नमान्ने सबैसबै मिलेका छन् । कम्युनिष्ट पार्टी नेतृत्वको सरकारमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुनुभएको हो । सङ्घीयता मान्ने एमाले नेतृत्वको सरकारमा सङ्घीयता विरोधी चित्रबहादुर केसी सहभागी हुनुभएको हो ।

पहाडिया भनेर दुत्कारिएका नेताको नेतृत्वमा बनेको सरकारमा मधेशवादी भनिने दलका नेताहरू पटकपटक सहभागी हुनुभएकै हो । यसरी हेर्दा कुनै दलसँग कुनै दलको दुस्मनी–वैरभाव रहेको देखिँदैन । सिंहदरबार जलाउने चेतावनी दिएका बालेन शाह वरिष्ठ नेता रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पटक पटक उपप्रधान तथा गृहमन्त्री हुनुभएकै हो । नेपाली कांग्रेसको नेतृत्वमा कम्युनिष्टहरू सरकारमा सामेल भएकै हुन् । धुरन्धर राजावादी—राजतन्त्र पक्षधर सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा काँग्रेस र कम्युनिष्टहरू सहभागी भएकै हुन् ।

सबै विषयको चर्चा किन त ? किनभने निर्वाचनमा चलनचल्तीमा भोट हाल्ने भनिन्छ र अर्को शब्दमा ‘मतदान’ भनिन्छ । मत भनेको विचार हो, दान भनेको दिनु हो । निर्वाचनमा भोट दिनु भनेको आफ्नो विचारको प्रतिनिधि अरुलाई अर्थात् उम्मेदवारलाई बनाउनु हो । संविधान अनुसार नागरिकको अधिकार जनप्रतिनिधि मार्फत तोकिएको विधिबाट प्रयोग हुने कुरा उल्लेख गरिएको छ ।

यस्तो महत्वपूर्ण र गम्भीर विषय एकातिर छ भने अर्कोतिर फेरि कसैले कसैको मुखै हेर्न पर्दैन कि भनेजसरी गालीगलोजको प्रतिस्पर्धा भइरहेको देखिन्छ । सतहमा प्रायः नदेखिएका विषय खोतली खोतली नाङ्गेझार पार्ने काम पनि भइरहेको छ । मिथ्या आरोप र प्रत्यारोपको त बाढी नै सिर्जना गरिएको छ । निर्वाचनका समयलाई केही मानिसहरूले पार्टी परित्याग गर्ने र पार्टी प्रवेश गर्ने अवसरका रूपमा पनि सदुपयोग (दुरुपयोग ?) गरिरहेको देखिन्छ । अर्को पार्टीमा छँदा सत्तोसराप गरिएका नेता–कार्यकर्ता आफ्नो पार्टीमा आउँदा पटक्कै नसुहाउने गरी महिमा मण्डन गरेको देख्दा आश्चर्य लाग्छ ।

निर्वाचन आउँछ, जान्छ । समाज, छिमेक, आफन्त त उही–उनै रहन्छ नि । मर्दापर्दा चाहिने छिमेकी हुन्, समाजका सबै मानिस हुन् । त्यसैले निर्वाचनका समयमा हामी जहाँ जहाँ उभिए पनि, जता जसलाई भोट दिए पनि निर्वाचनपूर्व मनै चुँडिने गरी दुर्वाच्य बोलेर वैरी बढाउनुहुँदैन । सबैको बुझाइ एउटै हुन्थ्यो भने हामी एकै ठाउँमा हुन्थ्यौँ । हाम्रो बुझाइ, दृष्टिकोण, ठम्याइ फरक भएर नै हामी फरक फरक पार्टीका कार्यकर्ता, मतदाता भएका हौँ । उनीहरू हामीतिर किन भएनन् ? यो मात्र प्रश्न होइन, हामी उनीहरूतिर किन हुन सकेनौँ ? यो पनि उत्तिकै महत्वपूर्ण प्रश्न हो नि तर यसलाई दुर्भावनाको जग बनाउनु हुँदैन । समाजमा सद्भाव, समता, सम्मान र सकारात्मकता कायम राख्नु हामी सबैको दायित्व हो ।

निर्वाचन विभाजनको माध्यम मात्र होइन, मेलमिलापको आधार पनि बन्न सक्दछ । सम्झौँ— ‘सहनाववतु सहनौ भुनक्तु । सहवीर्यं करवावहै । तेजस्विनावधीतमस्तु मा विद्विषावहै अर्थात् हामी दुई (दुवै पक्ष) ले एकापसमा सुरक्षा गरौँ, सुरक्षित होऔँ । हामी दुवै भोजन गरौँ । हामी दुवै मिलेर काम गरौँ । हामी दुवैले तेज र विद्या (तेजयुक्त विद्या) प्राप्त गरौँ । हामी कहिल्यै आपसमा विद्वेष नगरौँ !’

दुई पक्ष त जहिले, जहाँ पनि हुन सक्दछ । एउटा पाइला स्थिर र अर्को पाइला अघि बढ्दा मात्र हिँडाइ हुन्छ । प्रकृतिमा उज्यालो र अँध्यारो दुवै छ । काँडा र फूल पनि पकृतिकै उपज हो । दुई पक्ष हुनु लडाइँ झगडाका लागि मात्र होइन, मेलमिलापका लागि पनि त हुन सक्छ, लड्न मात्र होइन, दुई पक्ष त मिल्न पनि चाहिन्छ नि ।