निर्वाचन सरगर्मी र चुनावी घोषणापत्र

मेचीकाली संवाददाता

८ फाल्गुन २०८२, शुक्रबार
31 shares

टेकराज पन्थी

विश्वका अधिकांश देशले खुला वा बन्द प्रकृयाबाट निर्वाचन गराउने गर्दछन् । नेपालमा १८ वर्ष उमेर पुगेका बालिग मतदाताहरूले मत दिएर प्रतिनिधिहरू निर्वाचन गर्ने व्यवस्था छ । २०८२ भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनबाट प्रतिनिधि सभा विघटन भई दलविहीनको चुनावी सरकार गठन भएको थियो । उक्त सरकारले यही २०८२ साल फागुन २१ गते नेपालभर एकैपटक प्रतिनिधिसभाको निर्वाचन गराउन निर्वाचन आयोग र नेपाल सरकार अहोरात्र रूपमा लागि परेको छ । राज्यका सुरक्षा संयन्त्र पनि प्रभावकारीरूपमा रणनीतिक तरिकाले अगाडि बढेर सुरक्षा प्रबन्ध मिलाएको देखिन्छ । दलहरूले आआफ्नो चुनावी घोषणापत्र वा प्रतिज्ञापत्र वा संकल्पपत्रका रूपमा दलको धारणा सार्वजनिक गरिरहेका छन् । यसबाट मतदाताहरूले आगामी दिनमा विजयी दलले के गर्ने लक्ष्य लिएको छ भन्ने बुझिन्छ ।

जुनसुकै दलले जे जे चुनावी घोषणापत्र ल्याएपनि बेरोजगारीको अन्त्य, सुशासन, पारदर्शिता, डिजीटल शहर, विकास र पूर्वाधार निर्माणमा रणनीतिक योजना के रहेको छ भनेर सर्वसाधारणले बुझ्ने र आफूलाई मन परेको उमेदवारलाई आफ्नो मताधिकार प्रयोग गर्ने महत्वपूर्ण अवसर आएको छ । सही व्यक्तिलाई छानेर बहुमूल्य मताधिकार प्रयोग गर्नुपर्दछ । भोट वा आफ्नो मत किन दिने वा मत नदिने भनेर यत्तिकै समय खेर फालेर घरमा कोही पनि बस्नुहँुदैन । एउटा मतले देशको मुहार फेर्न सक्छ । आफूले भोट नदिएर यत्तिकै बस्न लागेमा सधै पछुतोबाहेक अरू केही हुने छैन । यस्तो अवसरलाई सही सदुपयोग गरी आफू, आफन्त सबैलाई मताधिकारको भरपुर सदुपयोग गर्नु जरूरी छ ।

जनताले सच्चा र कुशल ब्यक्तिलाई आफ्नो अमूल्य मत दिएर विजयी गराउनु पर्ने समय आएको छ । सुशासन, भ्रष्टाचारमुक्त समाज, रोजगारीको सिर्जना, विकास र सम्बन्धमा सुधार, दलीय भागवण्डाको अन्त्य, भूराजनीतिमा सक्षम, उत्पादन र उत्पादकत्वमा वृद्धि, विश्वब्यापी बजारीकरण र सूचना प्रविधिमैत्री देश बनाउन योग्य उमेदवारलाई संभव भएमा विदेशमा रहेका दाजुभाइ, दिदीबहिनीहरू पनि नेपालमा आई आफ्नो मताधिकार प्रयोग गर्न सकेमा धेरै राम्रो हुने छ । नेपालको भूराजनीति, परराष्ट्र नीति, विश्वव्यापी आर्थिक नीति, अन्तर्राष्ट्रिय व्यापार नीति, कुटनीतिक अवस्था र सम्बन्ध, सुशासन र भ्रष्ट्राचार नियन्त्रण जस्ता महत्वपूर्ण विषय अहिले हाम्रोसामु खडा भएका छन् । यिनै विषयलाई कसले चिरफार गर्न सक्छ र चिरफार गर्न योग्य व्यक्तिलाई आफ्नो अमूल्य मत दिने अवस्था आएको छ । दलको घोषणापत्र पनि गम्भिर रूपमा अध्ययन गर्नुपर्दछ ।

यसरी निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचनमार्फत एकल सदस्यीय निर्वाचन क्षेत्रहरूबाट १६५ सदस्यहरू निर्वाचित हुनेछन् भने बाँकी ११० सदस्यहरू नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुसार दलको सूचीमा रहेका उम्मेदवारहरूबाट समानुपातिक प्रतिनिधित्वमार्फत चयन गरिनेछ । यसरी प्रतिनिधिसभाका लागि कुल २७५ जनाको लागि यही फागुन २१ गते मतदान गर्ने तय भएको छ । राजनीतिक दल र उमेदवारहरूले फागुन १८ गते राती १२ बजेसम्म मात्र जुलुस, आमसभा र प्रचारप्रसारका कार्यक्रमहरू गर्न पाउनेछन् । त्यसपछि ‘मौन अवधि’ सुरु हुने र यस समयमा कुनैपनि प्रकारका चुनावी गतिविधि, छलफल वा ‘कानेखुसी’ गर्नसमेत निषेध गरिएको छ ।

यही फागुन ३ गते राती १२ बजेदेखि निर्वाचन प्रचारप्रसारको १५ दिने समय सीमा सुरु भएको छ । त्यसैले यस अवधिमा सबै मतदाताहरूले सही व्यक्तिको चयन गरी फागुन २१ मा मताधिकार प्रयोग गर्नुपर्ने अवस्था रहेको छ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र मन्त्रीहरूले निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न नपाउने व्यवस्था निर्वाचन आयोगले गरेको पाइन्छ । यसको कडा निगरानीका लागि केन्द्रिय र जिल्लास्तरीय अनुगमन समितिहरू प्रभावकारी रूपमा अनुगमनमा लागेको देखिन्छ ।

नागरिकको अधिकार, आवाज र मनपरेको व्यक्ति चयन गर्न पाउने विषयको प्रत्याभूति लोकतन्त्रको मर्म हो । शासन पनि नागरिकले नागरिकका लागि नागरिकद्वारा गरिने शासन Democracy is by the people, for the the people and with the people नै लोकतन्त्र हो । Democracy is a system of government where power is vested in the people, who rule either directly or through freely elected representatives. यसरी जनताले जनताका लागि जनताद्वारा गरिने शासन नै लोकतन्त्र भएकोले मतदाता सूचीमा नाम समावेश भएका आम नागरिकले आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न छुटाउन भएन । हामीले योग्य, दक्ष, सक्षम र आफूले रोजेको व्यक्तिलाई मतदानबाट चयन गर्नु पर्ने अवसर मिलेको हुँदा यो अवसरलाई अधिकारको रूपमा प्रयोग गर्नु जरूरी छ ।

मतदान अधिकारका मुख्य पक्षहरूमा नागरिकको अधिकार नै महत्वपूर्ण छ । यो एक स्वतन्त्र, गोप्य र अनिवार्य अधिकार हो, जसले सरकारप्रति नागरिकको जवाफदेहिता सुनिश्चित गर्दछ । योग्य उम्मेदवारलाई भोट दिएर आफ्नो विचार र प्राथमिकता प्रतिनिधित्व गराउने मताधिकारबाट प्रतिनिधि छनोट एउटा माध्यम हो । राष्ट्र निर्माणमा प्रत्यक्ष सहभागी हुने र सरकारको नीति निर्धारणमा प्रभाव पार्ने क्षमता मताधिकार भएकोले मताधिकारलाई लोकतान्त्रिक सहभागिताका रूपमा लिइन्छ । मतदान गर्ने अधिकार लोकतन्त्रमा नागरिकको एक मौलिक र प्रमुख अधिकार हो ।

जसअन्तर्गत तोकिएको उमेर पुगेका नागरिकले निर्वाचनमा आफ्नो प्रतिनिधि छनोट गर्न मत दिन्छन् । यो आफ्नो परिवार, समुदाय र देशलाई असर पार्ने स्वास्थ्य, शिक्षा, रोजगारी, सुशासन, विकास र अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता महत्वपूर्ण नीतिगत निर्णयहरूमा आफ्नो भनाइ राख्ने र सरकार बनाउने प्रक्रियामा प्रभाव पार्ने अवसर पनि हो । त्यसैले सम्पूर्ण मतदाताहरूले कुनै पनि हालतमा यस अवसरलाई गुमाउन भएन ।

आफ्ना छरछिमेकी, इष्टमित्रहरू सबैलाई जागरूक बनाई आफ्नो मताधिकारको उचित प्रयोग गर्नु जरूरी छ । सबैले समयमा सही व्यक्ति चयन गर्न सकेमा देशमा शान्ति, सुशासन, शिक्षा, स्वास्थ्य र रोजगारी, भ्रष्टाचारको अन्त्य, विकास, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र नितिमा सुधार भई उद्योग र व्यापार व्यवसायमा नेपाल अगाडि बढ्न सक्छ । सकारात्मक सोचबाट नै आफ्नो मताधिकारको प्रयोग भएमा लोकतन्त्र र देशको विकास हुनेमा विश्वास गर्न सकिन्छ ।