युवामा कपाल झर्ने समस्या: कारण र समाधान

मेचीकाली संवाददाता

१० फाल्गुन २०८२, आईतवार
19 shares

संगम के.सी/नन्दिनी गुप्ता

पछिल्ला केही वर्षयता युवापुस्तामा कपाल झर्ने समस्या उल्लेख्य रूपमा बढेको चिकित्सकहरू बताउँछन् । पहिले ४० वर्षपछि देखिने समस्या अहिले १८–२५ वर्ष उमेर समूहमा पनि सामान्यजस्तै हुन थालेको छ । बिहान उठ्दा सिरानीमा थुप्रिएका कपाल, नुहाउँदा हातमा झर्ने गुच्छा वा अगाडिको कपालरेखा क्रमशः पछाडि सर्दै गएको दृश्यले धेरै युवालाई मानसिक रूपमा असर पु¥याइरहेको छ ।

कपाल केवल सौन्दर्यको प्रतीक मात्र होइन; आत्मविश्वास, व्यक्तित्व र सामाजिक पहिचानसँग जोडिएको विषय भएकाले यसको असरले मनोवैज्ञानिक दबाबसमेत सिर्जना गर्छ । कलेज, कार्यालय वा सार्वजनिक कार्यक्रममा सहभागी हुँदा आफ्नो कपालबारे अत्याधिक सचेत हुनु, अरूले ध्यान दिएको हो कि भन्ने चिन्ता गर्नु र सामाजिक सञ्जालमा देखिने ‘परफेक्ट’ छविसँग तुलना गर्नुजस्ता कारणले तनाव अझ बढ्ने गरेको छ ।

कपालको संरचना र वृद्धि चक्र
कपाल छालाको माथिल्लो तहबाट उम्रने केराटिनयुक्त संरचना हो । केराटिन एक रेशेदार प्रोटिन हो, जसले कपाललाई मजबुती र लचकता दिन्छ । प्रत्येक कपालको जरालाई फोलिकल भनिन्छ, जुन छालाभित्र गहिरोसककग बसेको हुन्छ । यही फोलिकलमा रहेको डर्मल पपिला र रक्तसञ्चार प्रणालीले कपाललाई आवश्यक पोषण पु¥याउँछ । मानव शरीरमा मुख्यतः दुई प्रकारका कपाल पाइन्छन्, भेलस र टर्मिनल । भेलस कपाल पातलो, हल्का र छोटो हुन्छ भने टर्मिनल कपाल बाक्लो, गाढा र लामो हुन्छ । टाउकोमा देखिने अधिकांश कपाल टर्मिनल प्रकारका हुन्छन् ।

कपालको वृद्धि कुनै स्थिर प्रक्रिया होइन; यसको आफ्नै जैविक चक्र हुन्छ, जसलाई चार चरणमा विभाजन गरिन्छ; एनाजेन (वृद्धि चरण), क्याटाजेन (संक्रमण चरण), टेलोजेन (विश्राम चरण) र एक्सोजेन (झर्ने चरण) । एनाजेन चरण दुईदेखि छ वर्षसम्म चल्न सक्छ र यही अवधिमा कपाल सक्रिय रूपमा बढ्छ । क्याटाजेन छोटो संक्रमणकाल हो, करिब दुईदेखि तीन हप्तासम्म रहने । टेलोजेन चरणमा कपाल विश्राम अवस्थामा रहन्छ र करिब दुईदेखि तीन महिनापछि एक्सोजेन चरणमा पुरानो कपाल झर्छ । सामान्य अवस्थामा दैनिक ५० देखि १०० वटासम्म कपाल झर्नु स्वाभाविक मानिन्छ । तर निरन्तर १५० भन्दा बढी कपाल झर्न थालेमा वा कपाल उल्लेखनीय रूपमा पातलो देखिन थालेमा समस्या गम्भीर हुन सक्छ ।

कपाल झर्ने प्रमुख कारणहरू
१. आनुवंशिक तथा हर्मोनल कारण
कपाल झर्नुको सबैभन्दा सामान्य कारण एन्ड्रोजेनेटिक एलोपेसिया हो, जुन आनुवंशिक र हर्मोनल कारणले हुन्छ । पुरुषमा यो समस्या देखिँदा अगाडिको कपालरेखा पछाडि सर्दै जान्छ र टाउकोको माथिल्लो भागमा पातलो देखिन सक्छ । महिलामा भने बिच भागबाट कपाल पातलो हुँदै जान्छ । यस प्रक्रियामा टेस्टोस्टेरोन हर्मोन ५–अल्फा रिडक्टेज इन्जाइमको प्रभावमा डाइहाइड्रो टेस्टोस्टेरोन (डिएचटी) मा रूपान्तरण हुन्छ । डिएचटीले कपालको फोलिकललाई क्रमशः सानो बनाउँदै लैजान्छ, जसले टर्मिनल कपाललाई भेलस कपालमा रूपान्तरण गर्छ । यसले एनाजेन (वृद्धि चरण) छोट्याउँछ र टेलोजेन (विश्राम चरण) चरण बढाउँछ, जसका कारण कपाल क्रमशः पातलो र कमजोर बन्दै जान्छ ।

२. तनाव र जीवनशैली
तनाव कपाल झर्नुको महत्वपूर्ण तर प्रायः बेवास्ता गरिने कारण हो । शरीरमा दीर्घकालीन तनाव हुँदा कोर्टिसोल हर्मोनको मात्रा बढ्छ, जसले कपालको प्राकृतिक वृद्धि चक्रमा अवरोध पु¥याउन सक्छ । यसले ‘टेलोजेन एफ्लुभियम’ नामक अवस्था निम्त्याउन सक्छ, जसमा तनावपूर्ण घटना वा रोगपछिका केही हप्तामा अत्यधिक कपाल झर्न थाल्छ । परीक्षाको दबाब, जागिरको असुरक्षा, सम्बन्धगत समस्या, निद्राको कमी र असन्तुलित काम, जीवन शैलीले युवामा दीर्घकालीन तनाव बढाइरहेको छ । पर्याप्त विश्राम नपाउनु, राति ढिलो सुत्ने बानी र अत्यधिक स्क्रिन समयले पनि कपाल स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ ।

३. पोषणको कमी
सन्तुलित आहार कपालको मजबुतीका लागि अत्यावश्यक छ । प्रोटिन, आइरन, जिंक, भिटामिन डी, भिटामिन बी–समूह (विशेषतः बायोटिन) को कमी हुँदा कपाल कमजोर भई झर्न सक्छ । आइरनको कमी हुँदा रगतमा अक्सिजन वहन क्षमता घट्छ, जसले कपालको जरामा पर्याप्त पोषण पुग्न दिँदैन । क्र्यास डाइट, तीव्र तौल घटाउने प्रयास, जंक फुडको अत्यधिक सेवन र हरियो सागसब्जी तथा प्रोटिनयुक्त खानेकुराको कमीले युवामा पोषण असन्तुलन बढाइरहेको छ । शाकाहारी व्यक्तिहरूमा पर्याप्त आइरन र भिटामिन बी १२ नपाउँदा पनि कपाल झर्ने समस्या देखिन सक्छ ।

४. हर्मोनल असन्तुलन र स्वास्थ्य समस्या
महिलामा थाइराइड असन्तुलन, पोलिसिस्टिक ओभेरियन सिन्ड्रोम, प्रसूति पछिको हर्मोन परिवर्तन जस्ता कारणले कपाल झर्न सक्छ । पुरुष र महिलादुवैमा थाइराइड हर्मोनको असन्तुलनले कपालको वृद्धि चक्र प्रभावित पार्न सक्छ । साथै, लामो समयसम्म ज्वरो, सर्जरी, गम्भीर संक्रमण वा दीर्घरोगपछि पनि अस्थायी रूपमा कपाल झर्ने समस्या देखिन सक्छ ।

५. अन्य कारण
रासायनिक पदार्थयुक्त हेयर प्रोडक्टको अत्यधिक प्रयोग, बारम्बार हेयर स्ट्रेटनिङ, रङ लगाउने प्रक्रिया, तातो ड्रायर वा स्ट्रेटनरको नियमित प्रयोगले कपालको संरचना कमजोर बनाउँछ । चाया, फंगल संक्रमण, अत्यधिक प्रदूषण र कडा केशबन्धन (टाइट पोनीटेल वा ब्रेड) ले पनि कपाल झर्ने जोखिम बढाउँछ ।

परम्परागत जडीबुटी र प्राकृतिक उपाय
पछिल्ला वर्षहरूमा परम्परागत औषधीय वनस्पतिप्रति पुनः चासो बढेको छ । आयुर्वेद र लोकचिकित्सामा प्रयोग हुँदै आएका केही जडीबुटीबारे आधुनिक अध्ययनहरू पनि भइरहेका छन् । अमला; भिटामिन सी, ट्यानिन, ग्यालिक एसिड, एलाजिक एसिड र शक्तिशाली एन्टिअक्सिडेन्ट तत्वले भरिपूर्ण मानिन्छ । यी तत्वहरूले शरीरमा हुने अक्सिडेटिभ स्ट्रेस कम गर्न सहयोग गर्छन् । अक्सिडेटिभ स्ट्रेस बढी हुँदा कपालको जरामा कोषिकागत क्षति पुग्न सक्छ, जसले समयअगावै कपाल झर्ने जोखिम बढाउँछ । अमलाले आइरनको अवशोषण सुधार गर्न मद्दत गर्ने भएकाले रगतमार्फत कपालको फोलिकलसम्म अक्सिजन र पोषण प्रवाह सुधार हुन सक्छ ।

केही प्रयोगात्मक अध्ययनहरूले अमला एक्स्ट्रयाक्टले डर्मल पपिला कोषिकाको वृद्धि प्रोत्साहित गर्ने संकेत दिएका छन्, जसले एनाजेन चरण लम्ब्याउन भूमिका खेल्न सक्छ । अमला प्रायः तेल, चूर्ण, रस वा हेयर मास्कका रूपमा प्रयोग गरिन्छ । नरिवल वा तिलको तेलमा अमला उमालेर तयार गरिएको तेल हप्तामा दुई–तीनपटक मसाज गर्दा टाउकोको रक्तसञ्चार बढाउन सहयोग मिल्न सक्छ ।

त्यस्तै जवा फूल अर्थात् घण्टि फूल मा फ्लाभोनोइड, एमिनो एसिड, म्युसिलेज र बिटा–सिटोस्टेरोलजस्ता तत्व पाइन्छन् । यसले टाउकोको छालामा आद्र्रता कायम राख्न मद्दत गर्छ र सुख्खापन कम गर्न सहयोग पु¥याउँछ । केही अध्ययनहरूले जवा पातको एक्स्ट्रयाक्टले कपालको लम्बाइ र वृद्धि चरण बढाउन सकारात्मक प्रभाव देखाएको उल्लेख गरेका छन् । पात वा फूल पिसेर पेस्ट बनाई सिधै टाउकोमा लगाउन सकिन्छ वा तेलमा पकाएर हर्बल तेलका रूपमा प्रयोग गर्न सकिन्छ ।
जटामसी परम्परागत रूपमा स्नायु सन्तुलन र कपाल स्वास्थ्यका लागि प्रयोग हुँदै आएको जडीबुटी हो । यसको जरामा बोर्निल एसेटेट र जटामन्सिक एसिडजस्ता सक्रिय यौगिक पाइन्छन् । यी तत्वहरूले एन्टिअक्सिडेन्ट तथा सम्भावित एन्टि–इन्फ्लेमेटरी प्रभाव देखाउन सक्छन् । केही अनुसन्धानहरूले जटामासी एक्स्ट्रयाक्टले कपाल फोलिकलको आकार वृद्धि र वृद्धि चरण लम्ब्याउन सहयोग गर्न सक्ने देखाएका छन् । यसलाई तेल वा अर्कका रूपमा प्रयोग गरिन्छ ।

रोजमेरी तेल, जुन रोजमेरी वनस्पति बाट प्राप्त हुन्छ, पछिल्ला वर्षहरूमा विशेष चर्चामा आएको छ । यसमा रोस्मारिनिक एसिड, क्याम्फर र सिनेओलजस्ता सक्रिय यौगिक पाइन्छन् । यी तत्वहरूले टाउकोको रक्तसञ्चार सुधार गर्न र कपालको जरामा पोषण प्रवाह बढाउन सहयोग पु¥याउन सक्छन् भन्ने विश्वास गरिन्छ तर रोजमेरी एसेंशियल आयल सिधै प्रयोग गर्नु उपयुक्त हुँदैन; यसलाई नरिवल वा अन्य वाहक तेलमा २–३ प्रतिशतको अनुपातमा मिसाएर मात्र प्रयोग गर्नुपर्छ ।

समाधान र सावधानी
कपाल झर्ने समस्या देखिएमा स्वयम् औषधी उपचार भन्दा पहिले चिकित्सकसँग परामर्श गर्नु उचित हुन्छ । आवश्यक परे रक्त परीक्षणमार्फत आइरन, भिटामिन डी, थाइराइड र अन्य हर्मोनको अवस्था जाँच गर्न सकिन्छ । प्रारम्भिक चरणमै पहिचान भएमा उपचार प्रभावकारी हुने सम्भावना बढी हुन्छ ।

साथै, सन्तुलित आहार, नियमित व्यायाम, पर्याप्त निद्रा, तनाव व्यवस्थापन, धूम्रपान र मद्यपानबाट टाढा रहनु र हल्का तथा गुणस्तरीय हेयर प्रोडक्टको प्रयोग गर्नु कपाल स्वास्थ्यका आधारभूत उपाय हुन् । सामाजिक सञ्जालमा फैलिएका अप्रमाणित दाबी र चमत्कारी उपचारको पछि नलागी वैज्ञानिक जानकारी र विशेषज्ञ सुझावलाई प्राथमिकता दिनु आवश्यक छ ।
कपाल झर्नु बहुआयामिक समस्या हो, जसको समाधान पनि समग्र जीवनशैली सुधारसँग जोडिएको हुन्छ । समयमै सचेत भई उचित कदम चालिएमा कपाल स्वास्थ्य जोगाउन सकिन्छ र आत्मविश्वास कायम राख्न सकिन्छ । (दीर्घ अनुसन्धान समूह’ बुटवल सिटी क्याम्पस, लुम्बिनी बौद्ध विश्वविद्यालय) ।