लोकस्तदनुवर्तते….

मेचीकाली संवाददाता

१४ फाल्गुन २०८२, बिहीबार
84 shares

घनश्याम कोइराला

राजनीति राज्यका सबै नीतिहरूको मूल नीति हो । यसलाई सबै नीतिहरूको माऊ पनि भन्ने गरिन्छ । राज्यका दृष्टिकोणबाट हेर्दा मात्र होइन, सामान्य हिसाबले हेर्दा पनि राजनीति विकल्परहित विषय हो । राजनीति जस्तोसुकै होस्, राज्य सञ्चालनको दर्शन, सिद्धान्त, विचार, नीति सबैको केन्द्रीय विषय राजनीति नै हो । यो व्यापक विषय हो ।
समाज र राजनीति एकआपसमा जोडिएको हुन्छ । राजनीतिले समाजलाई व्यवस्थापन गर्दछ भने समाजले राजनीति निर्धारित गर्दछ । यसो हुँदा कहिले राजनीतिमा समाजको प्रभाव र कहिले समाजमा राजनीतिको प्रभाव बढी देखा पर्दछ । जेसुकै भए पनि समाजले राजनीलाई र राजनीतिले समाजलाई समानान्तर रुपमा डो¥याइरहेको हुन्छ । समाज कस्तो छ भनेर राजनीतिको र राजनीति कस्तो भनेर समाजको अवस्था बुझ्न सकिन्छ ।

राजनीति अत्यन्त सहज र अत्यन्त जटिल कर्म हो । सहजता र जटिलता दुवै गुण भएको यस कर्मतिर जानेर, नजानेर, बाध्य भएर वा अरु केही कारणले धेरै मानिसहरू लागेका हुन्छन्, लागेका छन् । सहजता यस अर्थमा कि आपूmलाई लागेको भन्ने, आपूmले सकेको गर्ने । जटिलता यस अर्थमा कि आपूmले गर्ने के हो थाहा छैन, सक्ने के हो त्यो पनि थाहा छैन तर गर्न तम्सिएको छ । नजानेको काम सिक्न सकिन्छ, नहिँडेको बाटो हिँड्न सकिन्छ, राजनीति त्यस्तो विषय होइन । यसमा दृष्टिकोण, विचार, योजना, त्याग, समर्पण, क्षमता र प्रतिबद्धता नभई नहुने विषय हुन् । यसका लागि सिकाइ, बुझाइ गरेको हुनुपर्दछ । जे पर्छ त्यही गर्ने, जहाँ पुगिन्छ त्यहीँ बस्ने जस्तो हुँदैन । यद्यपि, सिकाइ भन्ने कुरा निरन्तर हुने विषय हो । निश्चित लक्ष्य–गन्तव्य हुने भएकोले बिचबिचमा आइपर्ने अवस्थाअनुसार पाइला चाल्ने, गति बढाउनुपर्ने, घटाउनु पर्ने हुन सक्दछ ।

केही दिनअघिको कुरा हो, म बाहिरबाट घर फर्कँदै थिएँ । बढ्दो जाडो, समय दिउँसोको करिब साढे तीन बज्दै थियो । नजिकै सानो चिया पसल देखेँ र त्यहाँ छिरेँ । एक कप चिया अर्डर गरेँ र पर्खेँ । चिया बन्दै थियो । म झ्यालबाट बाहिर बाटोतिर हेरिरहेको थिएँ । एउटा मिनीट्रिलर (हाते ट्याक्टर) आएर टक्क रोकियो । त्यहाँबाट सिमेन्टको धुलैधुलो टाँसिएका दुई जना युवाहरू ओर्लिएर म बसेकै चिया पसलमा छिरे । उनीहरूले झोलिलो चाउचाउ बनाउन आग्रह गरेर बेन्चमा बसे । मेरो चिया आयो, म चियाको चुस्की लिन थालेँ । उनीहरू कुराकानी गर्न थाले । एक जनाले भने, ‘बालेन प्रधानमन्त्री बन्दैछन् रे ।’ अर्कोले भने, ‘म त हर्कले जिते हुन्थ्यो र प्रधानमन्त्री बने हुन्थ्यो भन्ने चाहन्छु ।’ पसलका साहुजीले भने, ‘जसले जे भने पनि चुनाव जित्ने त एमाले या कांग्रेसले नै हो । अरु त सम्झने, पानी छम्कने हो ।’ उनले विदेशीको चासो, जेन–जी आन्दोलनको नाममा भएको विध्वंस आदिबारे प्रवचन दिन थाले । म चुप लागेर उनीहरूतिर पालैपालो हेर्दै बसेँ । उनीहरू पनि पल्याकपुलुक मतिर हेर्दै थिए ।

मिनीट्रिलर (हाते ट्याक्टर) बाट ओर्लेकामध्ये एक जनाले भन्दैथिए, ‘यो घन्टी पार्टी, चिम पार्टी पनि कुनै गतिला पार्टी होइनन् तर गएको चुनावमा रवि दाइको विश्वासले घन्टीमा भोट हालियो । उनीहरूले पनि केही गरेका त होइनन् तर एमालेका आफ्नै गाउँका साथीभाइहरू त अमेरिकाबाट पचिालित पो भन्छन् त । म सिमेन्टका बोरा र फलामे डन्डी बोकेर गुजारा गर्ने मान्छेलाई त्यस्तो भन्दा दुःख लाग्दैन त ?’ उनी जोसुकै भए पनि पुरानालाई भोट नदिने, नयाँलाई दिने भन्दै थिए । म केही बोलिनँ, तर मनमा भने धेरै कुरा खेलिरह्यो । पुराना र जिम्मेवार पार्टीका नेता–कार्यकर्ताको बोली वचनबाट पनि जनता टाढिएका पो रहेछन् भन्ने लाग्यो । हुन त नेपालमा विदेशी चासो र हस्तक्षेपबारे थुप्रै वहस हुने गरेकै छ ।

राजनीतिक नेतृत्वबारे आजभन्दा १३ वर्ष अघिको घटना सम्झेँ । कुरा २०६९ साल चैत्र महिनाको पहिलो साताको हो । हामी सपरिवार तराई जाने तयारी गरिरहेका थियौँ । यस भ्रमणका लागि अन्य तयारीका साथै फेरफारका लागि र यो मौसममा तराईका लागि अनुकूल हुने लुगा–कपडाको बन्दोबस्त पनि मिलाउनु थियो ।
मैले कालो रङ्गको सूतिको एउटा प्यान्टको कपडा किनेँ । डेरा नजीकैको कपडा सिलाउने ठाउँमा गएँ र नापो दिएँ । प्यान्ट तयार गर्न त्यससिलाई केन्द्रका साहुजी भनौँ या मास्टरजीले मलाई चार दिनपछिको समय दिए । मैले केही नभनी उनले दिएको रसिद लिएँ र हिँडँे । उनले मलाई ११ बजेपछि आउन भनेका थिए । म पनि दिनभरि आफ्नो मिटिङ्गबैठक, भेटघाट, घुमफिरको काम सकेर बेलुका करिब ६ बजेतिर सिलाई केन्द्रमा पुगेँ ।

म सिलाइ केन्द्रमा पाँचौँ दिन पुगेँ र उनले चारदिन अघि दिएको रसिद खल्तीबाट निकाल्दै मास्टरजीको हातमा थमाएँ । उनले त्यो रसिद यसो हेरेर भने, ‘सर, तपाईँको प्यान्ट आज तयार भएन, भोलि बिहानै लिनु होला है !’ मैले केही बोल्न आवश्यक ठानिनँ । सहमतिसूचक टाउको हल्लाएर हिँडेँ ।
भोलिपल्ट बेलुकातिर त्यही बाटो हुँदै डेरामा फर्किने क्रममा सिलाई केन्द्र गएँ । आज पनि हिजोजस्तै गरी रसिद निकाल्दै मात्र थिएँ । मास्टरजीले बडो भलाद्मी पाराले भने, ‘सर, काम गर्ने मानिस घर गएको काममा नै आएन । तपाईँको प्यान्ट आज पनि तयार हुन सकेन, भोलि फरक पर्दैन ।’

आज भने म पनि चुपो लागेर बाटो लाग्न सकिनँ । मैले भनेँ,‘हैन तपाइँले त अस्तीको मिति दिनुभएको हो । आजसम्म पनि दिँदै हुनुहुन्न । म भोलि नै बाहिर जाँदैछु । यस्तो त भएन नि ! दिन नसक्ने भए पहिले नै भनेको भए हुन्थ्यो ।’ उनी पनि देशको वर्तमान राजनीतिबाट प्रशिक्षित व्यवसायी न परे । भनिहाले, ‘सर, सबै कुरा भनेजस्तो कहाँ हुन्छ र ? कोसिस गरेको हुँ, काम गर्ने मानिस नै नआएपछि के गर्ने त ?’ मैले भनेँ, ‘यो तपाइँको समस्या हो, यस विषयमा तपाइँले पहिले नै सोच्नु पर्दथ्यो । मैले फलानै दिन चाहिन्छ भनेको थिइनँ । तपाइँले मैले भनेअनुसार चल्नु परेको होइन, म तपाइँको भनाइअनुसार चल्ने हो । यहाँको मालिक तपाइँ हुनुहुन्छ ।’ मेरो यो दार्शनिकजस्तो तर्क सुनेर प्वाक्क भने, ‘नेपालमा सबै भनेको जस्तो के भएको छ र ? भनेको समयमा त संविधान पनि बन्न सकेन । यो यस्तै हो सर ! त्यहाँ सरहरू केही गर्न सक्नुहुन्न, हामीसँग मात्र समयको कुरा गर्नुहुन्छ ।’ उनले मुख फोरेरै नभने पनि व्यवसायको सन्दर्भ मिलाएर ‘श्रम र सिपमा मात्रै नियम भन्दै…’ झण्डै जातिगत अपहेलना गरेकोसमेत सङ्केत गर्नभ्याए । म आफ्नै पाराले भुत्भुताउँदै डेरातिर लागेँ । गर्न पो के सकिन्थ्यो र ? घर पुगेको मात्र थिएँ, प्रश्न आयो, ‘खोई हजूरको प्यान्ट आएन ?’ अब के भन्ने ? राजनीतिलाई जोगाउनैप¥यो, मैले व्यवसायीलाई नै दोषि देखाउँदै भने, ‘यी लुगा सिलाउनेहरू, प्रेस चलाउनेहरू, टिभी–फ्रिज मर्मत गर्नेहरू, यस्तै हुन्छन् । कहिल्यै भनेको समयमा काम पूरा गर्दैनन् ।’ किन कि यो क्षेत्रमा काम गर्न बिजुली आवश्यक हुन्छ । बिजुली आपूर्तिको अवस्था सकारात्मक छैन । यो तात्कालिक घटनामा आधारित एउटा सामान्य उदाहरण मात्र हो । यस्ता उदाहरण धेरै छन् ।

यही अनुभवी कुरा सुनाएर सानो प्रवचन दिएँ । तर, मेरो मनले भने राजनीतिक अकर्मण्यता र असफलताको असरको व्यापकताको सानो, तर जीवन्त मर्म मनमा खेलाउँदै बसेँ र बसिरहेको छु । हाम्रा अग्रज राजनेताहरूले आफ्ना दाउपेचको जनजीवनमा समेत असरपर्ने विषयमा थाहा पाएका होलान् कि नपाएका होलान् भन्ने प्रश्न पनि मनभित्र मडारिइरहेको छ । हुन त बाहुनवादी भनिएका बाहुन नेताहरू नै मुलुकको वर्तमान राजनीतिमा निर्णायक रहेको हुनाले श्रीमद्भगवद्गीताको यो श्लोक पढेका हुनुपर्ने हो–

यद्यदाचरति श्रेष्ठस्तत्तदेवेतरो जनः । स यत्प्रमाणं करुते लोकस्तदनुवर्तते ।
श्रेष्ठः–अगुवाले, यत् यत्–जे जे, आचरति—आचरण गर्दछ, इतरः जनः—अन्य मानिसले, तत् तत्—त्यही त्यही, एव–नै गर्दछ । सः–उसल,े यत् प्रमाणम्–जे पुष्टि वा प्रमाणित, कुरुते—गर्दछ, लोकः–जनता, तत् अनुवर्तते–त्यसैको अनुसरण गर्दछ । (अध्याय ३, श्लोक २१) । समाजका अगुवा राजनीति नेताहरू नै हुन् । उनीहरूको व्यवहारको प्रभाव समाजका सबै क्षेत्रमा पर्नु स्वाभाविकै हो । नेतागणलाई चेतना भया !