सम्पादक, इन्फ्लुएन्सर र कन्टेन्ट क्रियटर: जनमत निर्माणको बदलिँदो शक्ति

मेचीकाली संवाददाता

२ चैत्र २०८२, सोमबार
22 shares

डीआर घिमिरे

–पत्रिका, रेडियो, टेलिभिजन र सामाजिक सञ्जालले राजनीतिक आन्दोलन र जनमत निर्माणमा निर्णायक भूमिका खेलेका छन् ।
–हिजोका सम्पादक र आजका कन्टेन्ट क्रियटर/इन्फ्लुएन्सर सूचना र विचार प्रसारका प्रभावकारी पात्रहुन्, तर जिम्मेवारी, संरचना र विश्वसनीयतामा फरक छ ।
–डिजिटल युगमा सामाजिक सञ्जाल, एल्गोरिदम र डेटा–विश्लेषणले राजनीति गर्ने तरिका बदलिरहेको छ, जहाँ सूचना मात्र होइन, कथा र डिजिटल प्रभावपनि युद्ध र राजनीति जित्ने शक्तिको हिस्सा बनेको छ ।

कुरा २०४६–०४७ सालको जनआन्दोलनको हो । पञ्चायती व्यवस्थाविरुद्ध देशभर आन्दोलन चर्किरहेको थियो । त्यस बेला काँग्रेस र कम्युनिष्ट दलका धेरैजसो नेता–कार्यकर्ताहरू भूमिगतभएर संघर्ष गरिरहेका हुन्थे । यता सडकमा भने जुलुस, सभा, कोणसभा, नाराबाजी, पोस्टर र वाल–पेन्टिङले आन्दोलनको माहोल तातिरहेको हुन्थ्यो । त्यतिबेला पत्रकारिताको प्रभाव असाधारण थियो । समाचार, विचार र सम्पादकीयहरू मानिसहरू खोजीखोजी पढ्थे । पत्रिका केवल सूचना दिने माध्यममात्र थिएनन्; तिनले आन्दोलनको चेतना जगाउने र जनमत निर्माण गर्ने शक्तिशाली भूमिका निर्वाह गरिरहेका थिए ।

बुटवलको सन्दर्भमा कुरा गर्दा दैनिक लुम्बिनी, दैनिक सिद्धार्थ र एक्सरे साप्ताहिकजस्ता पत्रिकाहरू पञ्चायती व्यवस्थाविरुद्ध आगो ओकल्थे । दैनिक लुम्बिनीको बागडोर सम्हाल्ने क्रममा प्रधान सम्पादक कर्णबहादुर कार्की, सम्पादकको रुपमायो लेखकसहित नारायण पौडेल, दिल साहनी, ऋषिराम भुषाललगायतका स्तम्भकारहरू दैनिक रूपमा लेखनको माध्यमबाट आन्दोलनको मोर्चामा खटिएका थियौं ।

त्यतिबेलाको एउटा रोचक पक्ष थियो । काँग्रेसका धेरैजसो नेताहरू प्रायःभारतीय भूमिमा बसेर आन्दोलनलाई निर्देशन दिइरहेका हुन्थे भने कम्युनिष्ट पार्टीका स्थानीय नेताहरू प्रायःजनताको घरमै बसेर आन्दोलन सञ्चालनगरिरहेका हुन्थे । यद्यपि दुवै पक्षका ठुला नेताहरू भारतमै सुरक्षित बसेका हुन्थे ।

यस्तै प्रसङ्गमा एक दिन नौतनवामा भूमिगत रूपमा बसिरहेका काँग्रेसका तत्कालीन नेता बलराम उपाध्यायलाई भेट्न दैनिक लुम्बिनीका शुभेच्छुक पुगेछन् । उपाध्याय त्यति बेला दैनिक लुम्बिनी पढ्दै रहेछन् । पत्रिका पल्टाउँदै उनले भनेछन्,‘यो पत्रिका त हामीले नै प्रकाशन गरेर आन्दोलनको सारथी बनाएका हौँ ।’
पछि ती शुभेच्छुकले यो कुरा मलाई सुनाए । वास्तवमा सञ्चार माध्यमले राजनीतिक आन्दोलनमा कति निर्णायक भूमिका खेल्न सक्छ भन्ने कुराको यो उदाहरण मात्र हो ।

२०४६ सालमा पत्रिका, पोस्टर र वाल–पेन्टिङ शक्तिशाली हतियारका रूपमा उभिएका थिए । त्यसपछि २०६२–०६३ को आन्दोलनमा भने रेडियो र टेलिभिजन अझ प्रभावकारी बने ।
तीनवर्षअघि चुनाव प्रचारका क्रममा मिडियाभन्दा सामाजिक सञ्जालको बढी उपयोग गरौँ भन्दा कतिपय साथीहरूलाई लाग्थ्यो—यो पत्रिका, रेडियो र टेलिभिजनको महत्व घटाउने कुरा हो ।
फेरि तीनवर्ष नबित्दै ‘जेन–जी’ पुस्ताले चलाएको आन्दोलनमा सामाजिक सञ्जाल, त्यो पनि परम्परागत फेसबुक होइन, डिस्कर्ड जस्तो प्लेटफर्ममार्फत दुई दिनमै सत्ताको समीकरण उल्ट्याउने परिस्थिति सिर्जना भयो ।

इतिहासले देखाइरहेको छ कि सञ्चार प्रविधि बदलिँदै जाँदा आन्दोलन र राजनीतिक संघर्षको स्वरूप पनि बदलिन्छ । हिजो पत्रिका र वाल–पेन्टिङ प्रभावकारी थिए, त्यसपछि रेडियो र टेलिभिजन आए । अहिले डिजिटल प्रविधि, सामाजिक सञ्जाल र कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकासले राजनीति गर्ने तरिका नै परिवर्तन भएको छ । यो निश्चित छ कि आजको डेटा र एल्गोरिदमको युगपनि सकिने छ र अर्को पाँचवर्षपछि कुनै प्रविधिले यसलाई पनि विस्थापित गर्ने छ ।

आज आइपुग्दा भेटघाट र छलफलको गुञ्जायसनै सकियो भन्दा हुन्छ । व्यक्तिले सामाजिक सञ्जालमा व्यक्त गर्ने रुचि, प्रतिक्रिया, टिप्पणी र व्यवहारबाट विशाल डाटाबेस तयार गरी ती डाटालाई विश्लेषण गरेर मतदाताको मनोविज्ञान बुझ्न सकिने भएको छ । लक्षित समूह यकिन गरी फरक–फरक राजनीतिक सन्देश पठाउने प्रवृत्तिले विश्वव्यापी रुप लिएको छ । हरेक व्यक्तिको रुचि पत्तालागेपछि सोहीअनुसार एकैपटक लाखौंलाई प्रभावपार्न सकिने अनेकन माध्यमहरु विकसित भइसकेका छन् ।

हिजो मिडिया शक्तिशाली हुँदा सम्पादकहरु शक्तिशाली थिए आज कन्टेन्ट क्रियटर र इन्फ्लुएन्सरहरु शक्तिशाली बन्दै गएका छन् । निश्चयनै सम्पादक वा कन्टेन्ट क्रियटर तथा इन्फ्लुएन्सर सूचना र विचार प्रसारसँग जोडिएका शक्तिशाली पात्र हुन् तथापि उनीहरूको भूमिका आंशिक रूपमा समान भएपनि पूर्ण रूपमा एउटै होइन । समय, प्रविधि र मिडियाको संरचनाले उनीहरूको कार्यशैली र जिम्मेवारी फरक बनाएको छ ।

यी तीनै पक्षको समानता के छ भने दुवैले जनमत निर्माण गर्छन् । यस अर्थमा जनमत (Public opinion) निर्माण गर्ने क्षमता तीनै पक्षमा पाइन्छ । तीनै पक्षले बहस सुरु गर्न सक्छन् । समाजमा धारणा बनाउन सक्छन् र राजनीतिक मुद्दालाई चर्चामा ल्याउन सक्छन् । यस अर्थमा उनीहरू सार्वजनिक बहसका प्रभावकारी पात्र हुन् ।
तर, भिन्नता यो छ कि सम्पादकहरूले पत्रिका र सम्पादकीयमार्फत समाजलाई दिशा दिन्थे । कन्टेन्ट क्रियटर र इन्फ्लुएन्सरहरूले भिडियो, पोस्ट, पोडकास्ट वा लाइभमार्फत विचार फैलाउँछन् ।
सम्पादकहरू पत्रिका वा मिडियाका संस्थाभित्र काम गर्थे, समाचार छनोट, सम्पादन र सही गलतको जिम्मेवारी लिन्थे । एउटा सम्पादकीय नीति अन्तर्गत उनीहरुको काम हुन्थ्यो । अर्थात् संस्था नै शक्ति थियो ।

आधुनिक कन्टेन्ट क्रियटर वा इन्फ्लुएन्सरहरू प्रायःव्यक्तिगत प्लेटफर्ममा काम गर्छन् । मोबाइल र इन्टरनेटले प्रभावशाली बन्न सक्छन् र कुनै ठूलो संस्थाको आवश्यकता पर्दैन अर्थात् व्यक्ति नै मिडिया बनेको छ ।
सम्पादकले तथ्य जाँच गर्छ । सम्पादकीय उत्तरदायित्व पूरा गर्छ । कानुनी तथा नैतिक मापदण्डमा बाँधिएको शुन्छ । यस अर्थमा परम्परागत पत्रकारितामा विश्वसनीयता ज्यादा मानिन्छ ।
कन्टेन्ट क्रियटरहरुले सामग्री छिटो उत्पादन गर्छन् । औपचारिक सम्पादन प्रक्रिया हुँदैन । कहिलेकाहीँ तथ्यभन्दा भावनात्मक सामग्री बढी फैलाउँछन् । त्यसैले यहाँ विश्वसनीयता असमान हुन सक्छ ।

पत्रिका दैनिक वा साप्ताहिक हुन्छन् । रेडियो/टेलिभिजनको निश्चित समय तोकिएको हुन्छ । यस अर्थमा सूचना फैलिन समय लाग्छ तर सामाजिक सञ्जालमा भिडियो, पोस्ट, लाइभ केही मिनेटमै लाखौँ मानिससम्म पुग्न सक्छ ।
पत्रकारितामा कुनै सामग्री पस्कनुभन्दा अघि उपसम्पादकले परीक्षण गर्छ, सम्पादकले के प्रकाशित गर्ने भन्ने निर्णय गर्छ तर कन्टेन्ट क्रियटरहरुले आफूलाई लागे पछि सामाजिक सञ्जालको माध्यमबाट उचित देखेका सामग्री फैलाउने काम गर्छन् ।

संक्षेपमा यसो भन्न सकिन्छ– सम्पादक समाजको विचार–निर्माता थिए । कन्टेन्ट क्रियटरहरू डिजिटल जनमतका चालक बन्दै गएका छन् ।
यसैले प्रश्न उठ्छ, डिजिटल युगमा कन्टेन्ट क्रियटरहरूले हिजोका सम्पादकजस्तै उत्तरदायित्व र नैतिकता पनि वहन गर्न सक्लान् कि नसक्लान् ? आजसम्मको अनुभवमा सकेको पाइँदैन ।
सामाजिक सञ्जालमा लाइक, क्रिया–प्रतिक्रिया आम रुपमा चलनचल्तीकै विषय हो । शब्द लेख्नु भन्दा एक क्लिकमा छिटो र सहज अभिव्यक्तिका रुपमा लाइक/डिस्लाइक/हर्ट/थम्ब्स–अप/हासो /कमेन्/ शेयर गरी राय बुझाउने माध्यम तथा त्यस्ता सामग्रीको लोकप्रियता वा प्रभावमा पनगर्ने सामान्य तरिका बन्यो । हुन पनि छोंटो प्रतिक्रियाले प्रयोगकर्तालाई सन्तुष्टि र ‘डोपामिन’ दिन्छ ।

शायद यही कारणले होला अमेरिकी लेखक पीडब्लु सिंगर र एमर्सन बुकिङ्ले सामाजिक सञ्जालको एउटा अभिब्यक्तिलाइकलाई आधार मानेर सन् २०१८ मै “लाइकको युद्वः सामाजिक सञ्जालको हतियारीकरण”नामक पुस्तक लेखेका थिए । नभन्दै आजसामाजिक सञ्जाललाई नयाँ प्रकारको युद्धभूमि मान्न थालिएको छ ।

डिजिटल प्लेटफर्महरूले सूचना प्रवाहको स्वरूप मात्र परिवर्तन गरेका छैनन्, तिनले नयाँप्रकारको सूचना युद्धको सम्भावना पनि सिर्जना गरेका छन् । सैन्य रणनीति, साइबर युद्ध र सुरक्षा अध्ययनका विशेषज्ञ अमेरिकाका राजनीतिक वैज्ञानिक र सुरक्षा विष्लेषक पीडब्लु सिंगर र डिजिटल प्रचार तथा सूचनायुद्धका विशेषज्ञ, सामाजिक सञ्जाल अध्ययन गर्ने अनुसन्धान कर्ता एमर्सनब्रुकिङ्को सह लेखनमा प्रकाशित “LikeWar: The Weaponization of Social Media” पुस्तकमा लेखिएका हरेक कुरा आज व्यवहारमै प्रमाणित भएका छन् ।

पुस्तकमा सामाजिक सञ्जाललाई नयाँ प्रकारको युद्धभूमि भनिएको छ । उनीहरुले भनेका छन्–युद्व अब केवल सेना बिचमात्र होइन, सूचना, प्रसार र सामाजिक सञ्जालबिच पनि हुन्छ । जहाँ प्रचार, अफवाह र मनोवैज्ञानिक प्रभावमार्फत जनमतलाई प्रभावितगर्न सकिन्छ । यस्ता प्रवृत्तिहरूले लोकतान्त्रिक प्रक्रियामा सूचना विश्वसनीयताको प्रश्न पनि उठाएका छन् । उनीहरु दुवैजना न्यू अमेरिका नामकथिंक ट्यांकमा कार्यरत थिए ।

हुन पनि आजको समयमा राजनीतिक शक्ति प्राप्त गर्न वा प्रभाव विस्तार गर्न केवल सैन्य शक्ति पर्याप्त हुँदैन; सूचना, प्रचार र डिजिटल प्रभाव पनि उत्तिकै महत्वपूर्ण बन्न थालेका छन् ।

यसैले त भनिन्छ २१ औँ शताब्दीमा युद्ध र राजनीति केवल भौतिक शक्तिमात्र होइन, सूचना, कथा (Narrative) र डिजिटल प्रभावको युद्ध पनि हो । आजको स्थापित सत्य के हो भने कुनै युद्ध जित्न केवल शक्ति पर्याप्त हुँदैन, कथालाई नियन्त्रण गर्न सक्ने क्षमता पनि आवश्यक हुन्छ । यसका लागि जनताले कुन कथा विश्वास गर्छन् भन्ने कुराले युद्ध र राजनीतिमा ठूलो भूमिका खेल्छ ।