बुद्ध दर्शन र प्राणी अधिकार संरक्षण

–बोल्न नसक्नेको आवाजः गौतमबुद्धको न्यायपूर्ण अभियान

मेचीकाली संवाददाता

१८ बैशाख २०८३, शुक्रबार
13 shares

मिलन गाहा मगर

‘सबै प्राणीको जीवन मूल्यवान् छ, त्यसैले उनीहरूप्रति करुणा र अहिंसा नै सर्वोच्च नैतिकता हो ।’–गौतम बुद्ध
हरेक वर्ष वैशाख पूर्णिमाका दिन लुम्बिनीमा बुद्ध जयन्ती विशेष रूपमा मनाइन्छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा पर्ने पवित्र स्थल लुम्बिनीमा २०८३ साल (सन् २०२६) मा २५७० औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रमका साथ मनाउने तयारी भइरहेको छ । यस अवसरले केवल धार्मिक आस्था मात्र होइन, बुद्धका गहिरा दार्शनिक सन्देशहरू छन् । विशेषगरी मानव मात्र होइन सम्पूर्ण प्राणी जगत्को अधिकार र संरक्षणलाई पुनः स्मरण गर्ने अवसर पनि प्रदान गर्दछ ।
बौद्ध दर्शनको मूलमा प्राणीप्रति गहिरो करुणा र अहिंसाको भावना निहीत छ । बुद्धले प्राणीलाई केवल उपयोगको वस्तु होइन, संवेदनशील जीवका रूपमा व्याख्या गरेका छन् । यही दृष्टिकोणले आजको ‘पशु अधिकार’ भन्ने आधुनिक अवधारणालाई हजारौं वर्षअघि नै नैतिक आधार प्रदान गरिसकेको देखिन्छ । बौद्ध चिन्तनका चार प्रमुख आधार–अहिंसा (कुनै पनि प्राणीलाई हानि नगर्ने), मैत्री (सबैप्रति मित्रभाव), करुणा (अरूको दुःखप्रति संवेदनशीलता) र प्रतित्यसमुत्पाद (सबै जीव एक–अर्कामा निर्भर छन्) ले सहअस्तित्वको गहिरो सन्देश दिन्छन् । बुद्धका अनुसार मानिस र जनावरबीच श्रेष्ठ–हीन सम्बन्ध होइन, सहअस्तित्वको सम्बन्ध रहनुपर्छ ।

पशु हत्या र बलिको सन्दर्भमा बुद्धको दृष्टिकोण अत्यन्त स्पष्ट र प्रगतिशील थियो । उनले वैदिक परम्परामा प्रचलित पशुबलिको विरोध गर्दै धार्मिक कर्मका नाममा हुने हिंसालाई अस्वीकार गरे । यसले धर्मको नाममा गरिने हिंसा पनि अस्वीकार्य हुन्छ भन्ने सन्देश दिन्छ । विनय पिटकमा भिक्षुहरूका लागि बनाइएका नियमहरू अझ कडा छन्–जानाजानी प्राणी हत्या गम्भीर अपराध मानिन्छ, जीवित वनस्पति नष्ट गर्नु पनि दोषपूर्ण ठहरिन्छ । यसले देखाउँछ कि बौद्ध धर्म केवल सैद्धान्तिक उपदेश होइन, व्यवहारमा लागू गरिने अनुशासित नैतिक प्रणाली हो ।
बौद्ध साहित्यका जातक कथा हरूले पनि प्राणीप्रतिको करुणा र त्यागको उत्कृष्ट उदाहरण प्रस्तुत गर्छन् । रुरु जातकमा हरिणले मानिसलाई बचाउँछ, महाकपी जातकमा बाँदरराजाले आफ्नो शरीरलाई पुल बनाएर अरूको रक्षा गर्छ, सस जातकमा खरायोले आत्मबलिदान दिन्छ र व्याघ्री कथामा बोधिसत्वले आफ्नो शरीर दिएर भोकाएकी बाघिनीलाई बचाउँछन् । यी कथाहरूले जनावरहरू पनि करुणा र नैतिकताको पात्र हुन् भन्ने सन्देश दिन्छन् ।

मासु सेवनबारे बौद्ध दृष्टिकोण पनि सन्तुलित र नैतिक छ । जीवक सुत्त अनुसार तीन अवस्थामा मासु सेवन निषेध गरिएको छ–यदि प्राणी मारिएको देखिएको छ, सुनिएको छ वा शंका लागेको छ भने । यसलाई ‘त्रिविध शुद्धता’ भनिन्छ । प्रारम्भिक बौद्ध परम्पराले पूर्ण रूपमा मासु निषेध नगरे पनि प्रत्यक्ष वा अप्रत्यक्ष हिंसामा संलग्न हुन नहुने स्पष्ट सन्देश दिन्छ तर महायान परम्परामा भने लंकावतार सूत्रअनुसार मासु सेवन पूर्ण रूपमा निषेध गरिएको छ, किनकि यसले करुणाको विकासमा बाधा पु¥याउँछ । यसले देखाउँछ कि बौद्ध धर्ममा नैतिकताको विकासक्रम समयसँगै अझ संवेदनशील र व्यापक हुँदै गएको छ ।
बुद्धले आजीविकासम्बन्धी पनि महत्वपूर्ण नैतिक मापदण्ड प्रस्तुत गरेका छन् । उनले प्राणी व्यापार, मासु व्यापार, हतियार, विष र मदिरा व्यापारलाई ‘गलत आजीविका’ का रूपमा व्याख्या गरे किनकि यस्ता पेशाले हिंसा र पीडा बढाउँछन् । यसले आर्थिक गतिविधिमा पनि नैतिकताको आवश्यकता औंल्याउँछ ।
इतिहासमा सम्राट अशोकले बौद्ध करुणालाई राज्य नीतिमा रूपान्तरण गर्ने प्रयास गरेका थिए । उनका शिलालेखहरूमा पशु हत्या घटाउने, मानिस र जनावर दुवैका लागि उपचार व्यवस्था गर्ने र केही प्राणीहरूको हत्या पूर्ण रूपमा निषेध गर्ने व्यवस्था उल्लेख पाइन्छ । यसले राज्यस्तरमै प्राणी अधिकारको संरक्षण सम्भव छ भन्ने उदाहरण प्रस्तुत गर्छ ।

आधुनिक युगमा पशु अधिकारको अवधारणा पश्चिमी दर्शनमा पनि विकसित भएको छ । जेरेमी बेन्थम ले ‘प्रश्न यो होइन कि उनीहरूले सोच्न सक्छन् कि सक्दैनन्, प्रश्न यो हो कि उनीहरूले पीडा महसुस गर्न सक्छन् कि सक्दैनन्’ भनेर नैतिकताको आधार पीडा अनुभूति हुने क्षमतामा राखे। पीटर सिंगरले पनि जनावर मुक्तिको अवधारणा अघि सारे । यी आधुनिक विचारहरू बौद्ध दर्शनसँग गहिरो रूपमा मिल्छन् किनकि बुद्धले पनि सबै प्राणी पीडाबाट बच्न चाहन्छन् भनेर करुणालाई केन्द्रमा राखेका थिए ।
नेपालको सन्दर्भमा पनि पशु अधिकार संरक्षणका लागि कानुनी व्यवस्था गरिएको छ । मुलुकी अपराध संहिताले पशु क्रूरतालाई अपराध मानेको छ भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले वन्यजन्तु हत्या र शोषणमा कडा सजायको व्यवस्था गरेको छ । यद्यपि कानुन भए पनि व्यवहारमा यसको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण छ ।

बौद्ध दर्शनले दिएको सन्देश आजको विश्वमा झनै सान्दर्भिक देखिन्छ । जहाँ मानव अधिकारकै संरक्षणमा चुनौती देखिएको छ, त्यहाँ प्राणी अधिकारको सवाल अझै ओझेलमा पर्ने खतरा छ तर मानव अधिकार र पशु अधिकार वास्तवमा एकअर्काका पूरक हुन् । दुवैको आधार करुणा, न्याय र सहअस्तित्वमा आधारित छ ।
मानव अधिकारले मानिसलाई सम्मानपूर्वक बाँच्ने, स्वतन्त्र हुने र पीडाबाट मुक्त रहने अधिकार दिन्छ । त्यस्तै, पशु अधिकारले जनावरलाई अनावश्यक हिंसा, शोषण र पीडाबाट जोगाउने कुरा गर्छ । जब समाजले जनावरप्रति दयालु व्यवहार गर्छ, त्यो समाज मानिसप्रति पनि संवेदनशील हुने सम्भावना बढी हुन्छ । हिंसा जहाँ हुन्छ, चाहे त्यो मानिसमाथि होस् वा जनावरमाथि, त्यहाँ अन्याय र असुरक्षा बढ्ने जोखिम रहन्छ ।

यसर्थ, पशु अधिकारको सम्मान गर्नु भनेको केवल जनावरको रक्षा मात्र होइन, मानवताको स्तर उकास्नु पनि हो । बुद्ध दर्शनले यही सन्देश दिन्छ–‘मासु खानु वा नखानु भन्दा ठुलो कुरा हो, कुनै पनि प्राणीलाई हानि नपुगोस् ।’
अन्ततः, बुद्धको करुणामय दृष्टिकोणले हामीलाई एउटा स्पष्ट बाटो देखाउँछ–न्यायपूर्ण, दयालु र सहअस्तित्वमा आधारित समाज निर्माण गर्ने बाटो । बोल्न नसक्ने प्राणीहरूको आवाज बन्नु नै साँचो मानवता हो । बुद्ध जयन्तीको सन्दर्भमा यो सन्देश आत्मसात् गर्न सकियो भने मात्र यसको वास्तविक अर्थ पूरा हुनेछ ।