जातीय विभेदमाथि बुद्धको दृष्टिकोण

मेचीकाली संवाददाता

२० असार २०८३, शनिबार
8 shares

सन्ध्या न्यौपाने

आज विश्वभर मानव अधिकार, सामाजिक न्याय, समानता र उत्तरदायी शासनका विषयमा व्यापक बहस भइरहेको छ । नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजमा पनि जातीय विभेद, सामाजिक असमानता र नैतिक नेतृत्वको अभावबारे निरन्तर छलफल भइरहेका छन ।

समाजको विकाससँगै मानिसहरूले विभिन्न पेशा र जिम्मेवारी अपनाउन थाले । कसैले शासन गरे, कसैले कृषि र व्यापार गरे, कसैले श्रम गरे र कसैले आध्यात्मिक साधना गरे । समाजमा जातीय वर्गीकरण र सामाजिक विभाजनको प्रश्न नयाँ होइन । यसबारे गौतम बुद्धले करिब २५ सय वर्षअघि अगन्न सुत्तमार्फत गहिरो विश्लेषण प्रस्तुत गर्नुभएको छ । त्यतिबेलै बुद्धले समाजको वर्गीकरणको समस्यालाई समाधान गर्नका लागि अगन्न सुत्तको (समाज, जात व्यवस्था, राज्य, शासन र मानव जीवनको उत्पत्ति) देशना दिनुभएको हो । यस सुत्तले सबै मानिस, जन्मका आधारमा होइन,कर्म, नैतिकता र ज्ञानका आधारमा समान र सम्मानयोग्य हुन्छन् भन्ने शिक्षा दिन्छ ।
अगन्न सुत्तमा संसार, मानव समाज, जातीय व्यवस्था, परिवार, निजी सम्पत्ति, राज्य, शासन व्यवस्था तथा विभिन्न सामाजिक संस्थाहरूको उत्पत्ति कसरी भयो भन्ने विषयलाई क्रमबद्ध र विस्तृत रूपमा व्याख्या गरिएको छ । साथै, यस सुत्तले यी सबै संरचनाहरू जन्म वा दैवी शक्तिबाट नभई मानवका कर्म, लोभ, तृष्णा, सामाजिक आवश्यकता र आपसी सहमतिका आधारमा विकसित भएका हुन् भन्ने बौद्ध दृष्टिकोण प्रस्तुत गर्दछ । बुद्धका अनुसार यही कार्य विभाजनका आधारमा ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्रजस्ता वर्गको विकास भयो । त्यसैले जात जन्मबाट होइन, कर्म र पेशाबाट सम्बन्धित सामाजिक पहिचान मात्र हो । कुनै पनि जात स्वभावतः उच्च वा निम्न हुँदैन ।

अगन्न सुत्तको प्रवचन बुद्धले वासेट्ठ र भारद्वाज नामका दुई युवा भिक्षुलाई दिनुभएको थियो । उनीहरू जन्मले ब्राह्मण थिए । बौद्ध संघमा प्रवेश गरेपछि उनीहरूले आफ्नै समाजबाट अपमान र आलोचना सहनुपरेको थियो । त्यस समय ब्राह्मणहरू जन्मकै आधारमा आफूलाई श्रेष्ठ ठान्थे । यही भ्रमलाई हटाउन बुद्धले यो सुत्तको प्रवचन गर्नुभएको हो । उहाँले स्पष्ट रूपमा भन्नुभयो कि मानिसको महानता जन्मले होइन, कर्म, नैतिकता र ज्ञानले निर्धारण हुन्छ । सुत्तको सुरुआत मानव समाजको प्रारम्भिक अवस्थाको वर्णनबाट हुन्छ । बुद्धका अनुसार सुरुमा सबै प्राणी समान थिए । उनीहरूबीच कुनै जात, वर्ग, सम्पत्ति वा सामाजिक विभाजन थिएन । सबै शान्त, समान र सन्तुष्ट जीवन बिताउँथे । यसले समानता नै मानव समाजको प्राकृतिक अवस्था हो भन्ने सन्देश दिन्छ ।
तर समयसँगै परिवर्तन सुरु भयो । पृथ्वीमा उत्पन्न भएको मधुर पदार्थको स्वाद लिन थालेपछि प्राणीहरूमा लोभ र आसक्ति बढ्न थाल्यो। यही लोभ नै नैतिक पतनको पहिलो कारण बन्यो । उनीहरूको प्राकृतिक तेज हरायो । शरीरमा भिन्नता देखापर्न थाल्यो । त्यसपछि घमण्ड, ईष्र्या र विभेद जन्मिए । बुद्धले यस कथामार्फत समाजको समस्या बाहिरी परिस्थितिभन्दा पहिले मानिसको मनमा उत्पन्न हुने लोभ, तृष्णा र अहंकारबाट सुरु हुन्छ भन्ने गहिरो सन्देश दिनुभएको छ । पछिल्ला चरणहरूमा प्रकृतिले भूमिजन्य च्याउ, विभिन्न प्राकृतिक खाद्य पदार्थ र अन्ततः जोताइ नगरी पाक्ने धान उपलब्ध गरायो । सुरुमा यी स्रोत सबैका लागि पर्याप्त थिए । तर केही व्यक्तिले आवश्यकताभन्दा बढी संकलन गर्न थाले । निजी स्वार्थ र सञ्चयको प्रवृत्ति बढेपछि प्राकृतिक सम्पन्नता घट्दै गयो । धानमा भुस लाग्न थाल्यो । खेती गर्नुपर्ने अवस्था आयो । यसबाट बुद्धले प्रकृतिमा अभावभन्दा पहिले मानिसमा लोभ उत्पन्न हुन्छ भन्ने दार्शनिक विचार प्रस्तुत गर्नुभएको छ ।

यसपछि समाजमा पुरुष र महिलाको स्पष्ट पहिचान विकसित भयो । परिवारको स्थापना भयो । घर निर्माण हुन थाले । निजी सम्पत्तिको अवधारणा जन्मियो । यी सबै सामाजिक विकासका स्वाभाविक प्रक्रिया भए पनि बुद्धले अत्यधिक आसक्ति र स्वामित्वको भावनाले नै द्वन्द्व र असमानताको आधार तयार गर्ने बताउनुहुन्छ । जब सम्पत्ति बढ्यो, चोरी, झूट, हिंसा र अन्याय पनि बढ्न थाले । समाजमा शान्ति कायम राख्न सबै मानिसले आपसी सहमतिबाट एक योग्य, बुद्धिमान र निष्पक्ष व्यक्तिलाई नेतृत्वका लागि चयन गरे । उनी नै महासम्मत अर्थात् पहिलो राजा भए । यो विचार अत्यन्त महत्वपूर्ण छ । बुद्धले राज्य कुनै दैवी शक्तिले स्थापना गरेको होइन, जनताको सहमतिबाट निर्माण भएको संस्था हो भन्ने व्याख्या गर्नुभएको छ । शासकको कर्तव्य जनताको सेवा गर्नु, न्याय कायम गर्नु र धर्मअनुसार शासन गर्नु हो । यही कारण धेरै विद्वानले अग्गञ्ञ सुत्तलाई सामाजिक सम्झौता सिद्धान्तको प्रारम्भिक उदाहरणका रूपमा पनि अध्ययन गर्छन् ।
यस सुत्तको सबैभन्दा शक्तिशाली पक्ष जात व्यवस्थामाथिको यसको दृष्टिकोण हो । बुद्धका अनुसार ब्राह्मण, क्षत्रीय, वैश्य र शूद्र जन्मका आधारमा बनेका वर्ग होइनन् । समाजमा मानिसहरूले अपनाएका फरक फरक पेशा, जिम्मेवारी र जीवनशैलीका आधारमा यी वर्गको विकास भएको हो । ध्यान र आध्यात्मिक साधनामा लाग्नेहरू ब्राह्मण कहलाए । शासन र सुरक्षाको जिम्मेवारी लिनेहरू क्षत्रिय भए। कृषि, व्यापार र उत्पादनमा लाग्नेहरू वैश्य बने । श्रम र अन्य सामान्य पेशामा लाग्नेहरू शूद्र कहलाए । यसरी बुद्धले जातलाई जन्मसँग होइन, कर्मसँग जोड्नुभएको छ ।

बुद्धको अर्को महत्त्वपूर्ण शिक्षा कर्मको सिद्धान्त हो । उहाँका अनुसार सबै मानिस कर्मको नियमअन्तर्गत समान छन् । राम्रो कर्मले सुख र उन्नति दिन्छ । नराम्रो कर्मले दुःख र पतन निम्त्याउँछ । कुनै व्यक्तिको जन्म, सम्पत्ति वा सामाजिक प्रतिष्ठाले कर्मको परिणाम परिवर्तन गर्न सक्दैन । यही कारण नैतिकता नै मानव जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो । अग्गञ्ञ सुत्तको अन्तिम सन्देश अझ गहिरो छ । बुद्धले कुनै पनि जात, वर्ग वा परिवारमा जन्मिएको व्यक्तिले नैतिक अनुशासन, प्रज्ञा र साधनाको अभ्यासद्वारा बोधि वा निर्वाण प्राप्त गर्न सक्छ भन्ने घोषणा गर्नुभएको छ । मुक्ति कुनै विशेष जात वा वर्गको अधिकार होइन । यो सम्पूर्ण मानवजातिका लागि खुला मार्ग हो । यही शिक्षा बौद्ध दर्शनको सार्वभौमिक मानवतावादी दृष्टिकोण हो ।

आज नेपालले संविधानमार्फत समानता, मानव अधिकार, सामाजिक न्याय र लोकतान्त्रिक शासनलाई स्वीकार गरिसकेको छ । तर व्यवहारमा जातीय विभेद, सामाजिक असमानता, भ्रष्टाचार र शक्ति दुरुपयोगका समस्या अझै विद्यमान छन् । यस्तो अवस्थामा अग्गञ्ञ सुत्तले दिएको सन्देश झन् अर्थपूर्ण देखिन्छ । जन्मका आधारमा होइन, क्षमता र चरित्रका आधारमा सम्मान गर्ने संस्कार विकास गर्नु आवश्यक छ । शासन शक्ति होइन, सेवा हो भन्ने भावना स्थापित हुनुपर्छ । समाजमा कानुनको शासनसँगै नैतिकताको शासन पनि उत्तिकै आवश्यक हुन्छ ।

वर्तमान सन्दर्भमा सान्दर्भिकता 
नेपालको संविधानले सबै नागरिकलाई समानताको अधिकार प्रदान गरेको छ र जातीय विभेद तथा छुवाछुतलाई कानुनी रूपमा निषेध गरेको छ । तर व्यवहारमा अझै पनि जातीय भेदभाव, सामाजिक असमानता र छुवाछुतका घटना देखिन्छन् । यस्तो अवस्थामा अग्गञ्ञ सुत्तले दिएको शिक्षा अत्यन्त सान्दर्भिक छ । जन्मका आधारमा होइन, क्षमता, चरित्र र नैतिकताका आधारमा मानिसको सम्मान गर्ने संस्कारले मात्र समतामूलक समाज निर्माण गर्न सक्छ । साथै, बुद्धले प्रतिपादन गरेको नैतिक नेतृत्वको अवधारणाले सुशासन र उत्तरदायी शासन प्रणालीलाई पनि मार्गदर्शन गर्दछ ।
आज पनि कतिपय क्षेत्रमा जातका आधारमा विवाह, शिक्षा, रोजगारी, सार्वजनिक स्थानको प्रयोग तथा सामाजिक सम्बन्धमा विभेद हुने गरेको पाइन्छ । यस्ता व्यवहारले मानव मर्यादा र समानताको सिद्धान्तलाई कमजोर बनाउँछन् । बुद्धले प्रतिपादन गर्नुभएको कर्म, करुणा, मैत्री र समानताको शिक्षाले यस्ता विभेद अन्त्य गर्न महत्त्वपूर्ण प्रेरणा प्रदान गर्दछ । यदि समाजले व्यक्तिको मूल्याङ्कन जन्मका आधारमा नभई उसको चरित्र, क्षमता र योगदानका आधारमा गर्न थाल्यो भने मात्र वास्तविक सामाजिक न्याय स्थापना हुन सक्छ । त्यसैले अग्गञ्ञ सुत्तको शिक्षा केवल धार्मिक दृष्टिले मात्र होइन, मानव अधिकार, लोकतन्त्र, सामाजिक समावेशिता र न्यायपूर्ण समाज निर्माणका लागि पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक छ ।

बुद्धले करिब २५ सय वर्षअघि उठाउनुभएको प्रश्न आज पनि उस्तै महत्वपूर्ण छ । समाजलाई विभाजन गर्ने आधार जन्म हो कि कर्म ? नेतृत्वको आधार शक्ति हो कि जनताको विश्वास ? मानिसको वास्तविक पहिचान जात हो कि चरित्र ? अगन्न सुत्तले यी सबै प्रश्नको स्पष्ट उत्तर दिन्छ । मानिस जन्मले होइन, कर्मले महान् हुन्छ । समाज समानतामा टिक्छ । राज्य जनताको सहमतिबाट चल्छ । नैतिकता नै सभ्य समाजको सबैभन्दा बलियो आधार हो ।

अगन्न सुत्त विभेदकारी जातीय व्यवस्थाविरुद्ध बुद्धको क्रान्तिकारी विचार प्रस्तुत गर्ने महत्वपूर्ण सुत्त हो । यस सुत्तले जन्मका आधारमा गरिने श्रेष्ठता र हीनताको अवधारणालाई अस्वीकार गर्दै कर्म, नैतिकता र प्रज्ञालाई मानिसको वास्तविक मापन मान्दछ । बुद्धका अनुसार सबै मानिस समान छन् र उनीहरूको सम्मान जन्मले होइन, चरित्र र कर्मले निर्धारण हुन्छ । आज पनि समानता, सामाजिक न्याय, मानव अधिकार र समावेशी समाज निर्माणका लागि अग्गञ्ञ सुत्तको शिक्षा अत्यन्त सान्दर्भिक र प्रेरणादायी रहेको छ । यसैले विभेदरहित, न्यायपूर्ण र मानवीय समाज निर्माणका लागि बुद्धको यो दृष्टिकोण व्यवहारमा उतार्नु समयको आवश्यकता हो । यो सम्पूर्ण मानव समाजका लागि समानता, उत्तरदायित्व, नैतिक नेतृत्व र मानवीय मर्यादाको स्थायी मार्गदर्शन हो । (लेखक लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलमा बि.ए.एल्एल्.बि. दोस्रो सेमेष्टरमा अध्ययनरत छात्रा हुन् ।)