रोक्न सकिन्छ आत्महत्या

मेचीकाली संवाददाता

२८ श्रावण २०८०, आईतवार
422 shares

एकबारको यो जुनीलाई पनि अनायसै समाप्त पार्ने काम कुनै हालतमा उचित होइन । यद्यपि विभिन्न कारणले यस्ता अपराधजन्य आत्महत्याका घटना धेरै नै हुने गरेका छन् । आत्महत्या गर्ने र प्रयास गर्ने काम नगरौं, हुन नदिऔं । यसलाई रोक्न पहल गरौं । समाजले कतिपय अवस्थामा सूचना नदिने गरेकाले यकिन तथ्याङ्क नभएपनि पछिल्लो वर्षमा मुलुकभरमा आत्महत्या गर्ने र प्रयास गर्नेको संख्या बढिरहेको छ । नेपाल प्रहरीका अनुसार मुलुकमा हरेक दिन औसत १८ जनाले आत्महत्या गर्छन् । यसलाई रोक्न पहल हरेकले परिवारबाटै गरौं ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वमा वर्षेनी ७ लाख ३ हजारभन्दा बढीले आत्महत्या गर्छन् । धेरै आत्महत्य गर्नेमा नेपाल पनि पर्छ । राजनीतिक अस्थिरता, हिंसात्मक द्वन्द्व, चरम महँगी, विभेदपूर्ण समाज, असहिष्णुहरुको जमात, बेरोजगारीलगायतका कारणले मनमा कुरा खेलाउने, तनाव लिने, कमाउन सकिन भनेर आफैँले आफैँलाई अपहेलित गर्ने जस्ता कारणले धेरैले आत्महत्या गर्ने र प्रयास गर्ने गरेको प्रहरीको विवरणमा छ । यसलाई रोक्न, आफैँले आत्मबल बलियो बनाउने, परिवारले माया गर्ने र सभ्य समाजको विकासमा सरोकारवालाहरु केन्द्रित हुनुपर्ने छ ।

प्रहरी र मनोविद्हरुका अनुसार प्रत्येक आत्महत्याका लागि २० भन्दा बढी आत्महत्याको प्रयास हुन्छ । डब्लूएचओको पछिल्लो अध्ययनअनुसार प्रत्येक वर्ष एचआइभी, औलो, स्तन क्यान्सर, युद्घ र हत्या (होमिसाइड) को तुलनामा आत्महत्याका कारण मर्नेहरू धेरै भएको छ । आत्महत्या गर्ने दाँजोमा यसको प्रयास गर्नेहरू २० देखि २५ गुणासम्म बढी हुन्छन् । प्रयास गर्नेहरुले दिएको संकेत समयमै पहिचान गरेर मनोसामाजिक परामर्श उपलब्ध गराए अधिकांशको ज्यान जोगाउन सकिने विज्ञहरुको निष्कर्ष छ ।
मानसिक स्वास्थ्य विज्ञका अनुसार ‘करिअर’ सुरुवात गर्दा र सेवा निवृत्त हुने समयमा डिप्रेसन बढी देखिएको छ । २० देखि ३० वर्ष र ५० देखि ६० वर्ष उमेर बीचमा डिप्रेसन बढी देखिएको यससम्बन्धी स्वास्थ्य सेवा प्रदान गर्दै आएका विज्ञहरुको भनाइ छ । मानिस स्वस्थ भए पनि डिप्रेसनलगायत मानसिक स्वास्थ्यसम्बन्धी रोगले गर्दा आवेगमा आएर आत्महत्या हुने गरेको पाइन्छ । मानसिक अस्वस्थता भएकालाई समयमै मनोपरामर्श गराउने, परिवार र आफन्तले ध्यान दिने, हरबखत सहयोग गर्नुपर्छ ।

एउटा व्यक्ति, एउटा समूह, मनोचिकित्सक, मनोपरामर्शकर्ताबाट मात्रै रोकथाम सम्भव छैन, समाजका हरेक व्यक्ति सचेत हुनुपर्छ । व्यायाम, आहारविहार र व्यवहार स्वस्थ राखे आत्महत्याको सोचै आउँदैन । मानसिक स्वास्थ्यको पहुँच र सचेतना अहिले बढेको छ । मानसिक अस्पताल भनेर छुट्टै स्थापना गर्नेभन्दा पनि हरेक ठूला अस्पतालमा मानसिक स्वास्थ्योपचारको ओपीडी राख्न जरुरी छ ।