सामाजिक सञ्जालमार्फत इतिहासको खोजी

मेचीकाली संवाददाता

२९ श्रावण २०८०, सोमबार
421 shares

संयोजनः दीपक विश्वकर्मा (छविलाल)
श्रृङ्खला— १
सन्दर्भ: वीरेन्द्र शिल्ड भार्से

हामी सानो हुँदा मनमा गढेर बसेको के थियो भने राणा, मल्ल र ठकुरी–शाहहरू शासक वर्गका मान्छे हुन् । उनीहरू बस्ने भनेको काठमाडौंमा मात्रै हो । सर्वसाधारणका छोराछोरीले पढ्ने स्कुलमा उनीहरूका सन्तानले पढ्दैनन् । सानोतिनो पदमा नोकरी गर्दैनन् । पुलिसको तल्लो पद सिपाही, सेनाको शुरुआतको पद, खरिदार र बहिदारमा भर्ना हुँदैनन् ।

मल्लहरूले सर्वसाधारणले पढ्ने स्कुलमा पनि पढ्दारहेछन् भन्ने कुराको जानकारी भरत मल्लका दाजुभाइले महेन्द्र माविमा पढ्दाबाट थाहा भयो । तर शाह र राणाहरूबारेको धारणा भने पछिसम्म पनि उहीँ पुरातनपन्थी रहिरह्यो ।

हाम्रो खेलाडीहरूको जम्बोटिम वीरेन्द्र शिल्ड खेल्न भार्से गयो । म खेलाडी थिइन, तर हल्लाखोर टिममा सामेल गराएर लगियो । पछिल्लो समयमा स्कुलका रेखाचित्र सम्बन्धी काम गरेर सरहरूको कामलाई सहज बनाउने गर्थें म । बारग्राफ, पाइचार्ट, स्तम्भ चित्र आदि ग्राफसम्बन्धी काम गरेर सरहरूलाई सहज बनाइदिन्थे । ती सबै कारणले पनि गुरु ज्ञानहरि आचार्यको औधी प्यारो छात्र थिएँ म । सोही कारणले गर्दा पनि म त्यो जम्बो टिममा परेँजस्तो लाग्छ ।

जुभुङ्गका सामाजिक तथा राजनीति व्यक्तित्व हरिप्रसाद गौतमको घरमा बासबसेर अर्को दिन टिम भार्से प्रस्थान गरेको थियो । बढीघाटमा पौडी खेलेको, त्यतै खाना खाएको कुरो गणेश विश्वकर्माले प्रतिउत्तर दिँदा बल्ल संझनामा आयो । निकै रमाइलो भएको थियो, त्यो टुर । दाजु वसन्तकुमार श्रेष्ठको हिन्दी गायनले यात्रालाई रमाइलो बनाएको थियो । उहाँको पानीपतवाला बिजुली खैनीको स्वादको बखान मैले पहिल्यै गरिसकेको छु । वसन्त दाजु हालसालै बुटवल बहुमुखी क्याम्पसबाट सेवानिबृत्त भएर हाल मिलनचोकतिर बस्नुहुन्छ ।

खेलकुदको कुरो बाहेक मेरो दिमागबाट सोबेला देखि हट्न नसकेका दुईवटा कुराहरू धेरै वर्ष सम्म जमेर बसे । ती दुईवटा कुराका एउटा थियो शान्तिपुरतिरबाट खेलाडीको रूपमा भागलिन आएकि एक छात्रा रुमा राना (नाम परिवर्तन) र रिडीतिरबाट आएकी विजया राणा ।

कुरकुरे बैंसको बेला थियो त्यो समय हामी सबैको, विपरित लिङ्गीसँगसँगै हिडम् हिडम् लाग्ने, बोलम बोलम लाग्ने । मानवीय कुरो हो यो । त्यसैले यस विषयलाई अन्यथा नलिँदा हुन्छ । खेलाडीकोरुपमा अन्य स्कुलबाट आएकी रुमा राना निकै दिलेरी स्वभावकी थिइन् । विशेषतः हामी रमितेहरूलाई खेलको तैयारी गर्नुपर्ने अभिभारा नभएकोले पनि रामरमाइलोमा दिन बिताउन छुट थियो । उनी सायद लाहुरेकि छोरी थिइन् । सुन्दरमा पनि अति सुन्दर थिइन् उनी । उनको दिलेरी मन यति विशाल थियोकी मागेजतिलाई आफ्नो नाम ठेगाना दिन्थिन् । चिठी लेख्न आग्रह गर्दै मुस्कानसहित हात मिलाउँथिन् । हामी अल्लारेहरू उनको व्यवहारमा लठ्ठै हुन्थ्यौं ।

खेलको समापन पछि टिम आआफ्नो स्कुलतिर लाग्यो । अरु साथीहरूको कुरो थाहा पाइएन तर मैले भने रुमालाई चिठी लेखेको थिइन । वा लेख्न हिम्मत गरिन । अथवा लेख्ने जरुरत नै परेन । किनकि उताबाट फर्केपछि पढ्नको लागि म पोखरा जाने तैयारीमा लागेँ । चिठी लेख्ने होस् नै भएन भनौ ।

विजया राणाको नाम उनको आफ्नै नाम हो । उनलाई सम्झिनुको खास कारण चाहिँ राणा खानदानका छोराछोरीहरूले पनि आममान्छेका छोराछोरीहरूसँगै पढ्दारहेछन् भन्ने गुरुज्ञानको प्राप्ति नै हो । उनको शारीरिक बनोट, हाइटीकद भने आकर्षक थियो । लामो तथा छोटो दौडमा उनको बेजोड सहभागिता रहेको थियो ।

पोखरामा पढ्दाताका ससानो बिदामा पनि घर आउन मन लाग्थ्यो । यद्यपि छात्रावासको बसाइ बहुतै सुखद थियो । त्यो सुविधाको माझमा पनि घरमै जान पाएहुन्थ्यो भन्ने मन हुन्थ्यो । र आइन्थ्यो पनि । जाडो बिदाको बेलामा म घर आएको थिएँ । सोही बेला पाल्पा-तम्घास बाटो खन्न जानुपर्ने झारा लाग्यो । झारेलुलाई बाटोखन्न गएबापत केही पैसा पनि दिइने भन्ने कुरो थियो । त्यो झारामा नजाने घरधुरीलाई जरिवाना गर्ने हाँक हालिएको थियो । हाम्रा बा जहिल्यै आरनमा ब्यस्त हुने । जाँदा आउँदा ५÷६ दिनको नोक्सानीको सवाल पनि थियो । बाको त्यो अवस्था देखेर म नै झारा जाने निधो भयो । यद्यपि हाजिरी पनि लाग्ने कुरो सुनेर माइली बहिनी पनि जान तम्सिई । बहिनी हाजिरीको रूपमा गएपनि म भने झाराकोरुपमा गएँ ।

गाउँका थुप्रै मान्छे गएका थिए । साथीको रूपमा गाउँकै मित्र बाबुराम मरासिनी पनि थिए । हाम्रो पहिलो झारा रिडी माथि आँपको बगैंचामा परेको थियो । खुब मेहनत गरेर कोदालो गैती, बेल्चा चलाएको थिएँ मैले । मेरो मेहनत देखेर पनेलपोखरा घर हुने बलबहादुर कुँवर माइलाबाले स्वावासी दिनुभएको अहिले पनि संझना आउँछ । त्यत्रो ठुलो स्कुलमा पढ्ने केटाले पनि यस्तो मन लगाएर काम गर्ने भन्दै सबै गाउँलेको अगाडि वाहवाही गर्नुभएको थियो ।

भार्सेको वीरेन्द्र शिल्डमा डामिएको मनको चस्को रिडीसम्म पुगेको थियो मेरो । विजया राणा रिडीकी हुन् भन्ने जानकारी नहुने कुरै थिएन । किनकि खेलखेल्दा स्कुल र स्कुल रहेको ठाउँको नाम बताउने गर्ने गरिन्थ्यो । भार्सेबाटै मनको एक कुनामा कुँदिएर बसेको विजया राणा र उनको घर देख्ने अभिन्न अभिलाषा आँपकोबगैंचामा बासबस्दा झन् प्रबल बनेर आयो । सोही इच्छा पूरा गर्न बिहानको सौच र पानीको टेपमा हातमुख धुने निहुपारेर मित्र बाबुराम र म विजया राणाको घर खोज्दै गयौं । यो सबै प्रपन्च मेरो थियो, त्यो उखर्माउलो योजनाबारे बाबुरामलाई कुनै जानकारी थिएन । तर विजया राणा र बाबुराम दुबै रेसका घोडा भएकाले उनीहरू बीच चिनजान नहुने भन्ने कुरो थिएन ।

टेपको पानीमा हात मुख धोइयो । विजयालाई देखियो । भार्सेको खेलकुद बारे संझना गरियो । सबभन्दा ठुलो कुरो उनको पनि हाम्रैजस्तो ढुङ्गा माटोले बनेको साधारण घर देखियो । त्यही दिनदेखि सबै राणाहरूको विशाल दरबार हुन्छ भन्ने भ्रम मेरो मनबाट पनि उत्रियो ।

विजया राणाको खबर बुटवलको बसाइमासमेत लिने मौका जुर्यो । भयो के भने काम विशेषले बुटवलको मैनाबगरस्थित अटोभिलेजमा जाँदा संयोगले उनका मामाको टायर दोकानमा पस्ने काम प¥यो । सोधखोज गर्दा उनको घर पनि रिडी रहेछ । संयोग कस्तो प¥यो भने आफू राणा भएपनि उनी नाताले विजयाका मामा पर्दारहेछन् र घर पनि रिडी नै रहेछ ।

मामासँग भान्जी विजया राणा बारे सोध्दा अहिले उनी बेलायत रहेको र उतैको पिआर पनि लिइसकेको कुरो राणा बाहुसाहेबले बताए । ३२/३३ सालदेखि मनको कुनामा विजया राणासँग बुटवल तम्घासको यात्रा गर्दा कथमकदाचित भेट भएमा भार्सेको खर्राटा डौडको कथा दोहोराउने अभिलाषा पनि इतिश्री भयो ।

सन्दर्भः रेसुङ्गाको पोखरी

महिना साउनको थियो । सायद स्कुलमा बर्खेबिदा थियो । चिदीचौरमा जताततै मुल फुट्थ्यो, सायद आजकाल पनि फुट्छ होला । त्यही फुटेको मुलमा फुटबल प्रेमीहरू लड्दै पड्दै खेल्थे । कुनै समय फुटबलबारे तम्घासबाट निस्कने साप्ताहिक पत्रीकामा लेखेको थिएँ मैले । आजकाल त खेलाडीको नाम पनि बिर्सन थालियो । अहिले पौडीको कुरो गरौं ।

रेसुङ्गा पोखरी

स्कुल पछाडि भर्खर भर्खर पोखरी खनिएको थियो । पोखरी खन्नुभन्दा पहिले त्यहाँ पानीको छिपछिपे धाप थियो जस्तो लाग्छ । सो पोखरीमा पौडी खेल्ने अवसर पाइयो या पाइएन सम्झना छैन । मैले सामान्य पौडी खेल्न पदेलपोखरामै सिकेको हुँ । यद्यपि त्यो पोखरीमा असार साउनमा मात्र भलको पानी जम्मा हुन्थ्यो । सलसली किराका लार्भा दौडिने पानीमा डुबुल्की मार्दा पनि मनमा घिन संकोच लाग्दैन थियो । त्यस्तो पानीमा खेल्दा लुतोसुतो हुन्थेन । भएपनि साउने सक्रान्तिमा अरुलाई सारिन्थ्यो ।

खानीगाउँको माथि सिरानमा ससानो पोखरी थियो । सो पोखरीलाई कपासेको पोखरी भनिनेकुरो साथीहरूबाट थाहा भयो । आजकाल छ छैन थाहा छैन । त्यो पोखरीमा पुग्न छापटोलाको बाटो भएर पनि जान सकिन्छ । सायद साउनकै महिना हुनुपर्छ, दाजु गणेशका बाग्लुङ्गे थापा थरका साथी, जो क्याम्पस पढ्दापढ्दै ब्रिटिस सेनामा भर्नाभएर पढाइ छोडे, र अर्का भंगेरी बासको झांग (नियालो होकी) घर हुने मगर थरको साथी कपासेको पोखरीमा पौडी खेल्न गयौं । सफा कल्कलाउँदो पानीमा दाजुहरू पौडी खेल्नु भयो । मैले हिम्मत गरिन वा पौडिएँ, सम्झना छैन । जे होस् निकै रमाइलो भएको थियो ।

हाम्रो पौडी टिमलाई डाँडाको त्यो पोखरीको पौडाइले धित मरेन । टिम उकालो लाग्यो र रेसुङ्गा पुग्यो । रेसुङ्गामा रहेको पोखरी आजजस्तो ब्यबस्थित थिएन, तर बर्खाको याममा पूरा पानीले भरिएको हुन्थ्यो । म पौडी खेलिन, त्यो कुराको सम्झना छ । तर दाजु र उहाँका साथीहरू पौडी खेल्नु भयो । त्यत्रो लामो पोखरीमा चक्कर लगाउनु भयो । मैले हेरेर मज्जा लिएँ ।

पौडी पश्चात् टिम ओरालो झर्यो । हामी दुईभाइलाई गर्जुराबाट सिधै तल झरेर घर आएपनि हुने थियो । हामी दुई सिधै तल झर्यौ वा तम्घासनै पुगेर साथीहरूलाई बिदा गरिओरी तेस्रो बाटो घर पुग्यौं, त्यो कुरो भने बिर्सियो ।

यो पनि बचपनको सुनौलो सम्झना हो ।

(तम्घासस्थित महेन्द्र माविका पुराना विद्यार्थीहरूले बनाएको म्यासेन्जर ग्रुपमा समावेश भएका कथाहरूको धारावाहिक श्रृङ्खला । म्यासेन्जर ग्रुपः चुरामणि पन्थी, गणेश विश्वकर्मा, गोमा सेन, बाबुराम बञ्जाडे, मेघनाथ आचार्य, बालकृष्ण पन्थी, बाबुराम मरासिनी, यज्ञ पन्थी, तिलक श्रेष्ठ, युवराज श्रेष्ठ, प्रकाश नेपाल, गोकर्ण मरासिनी)