सामाजिक सञ्जालमार्फत इतिहासको खोजी

मेचीकाली संवाददाता

२ भाद्र २०८०, शनिबार
237 shares

संयोजनः दीपक विश्वकर्मा (छविलाल)
शृङ्खला—२
हाम्रो लुतो लैजा

साउने संक्रातिको दिन बिहानैदेखि मनमा भिन्दै किसिमको फूर्ति पैदा हुन्थ्यो । दिदीबहिनी विहे भइनसकेका, फुपुहरूको घर टाढा, त्यसैले साउने संक्रान्तिको उत्सव मनाउन निम्तो गरेजस्तो लाग्दैन । अथवा साउने संक्रान्तिमा निम्तो गरेर चेलीबेटी खुवाउने चलन हाम्रो परिवारमा नभएको पनि हुनसक्छ । तर बेलुकी घरमा खिर पाक्थ्यो । तामाको तरकारी खाइन्थ्यो । सायद कुखुरो पनि काटिन्थ्यो ।

सो बेला आजकाल जस्तो सुख्खा पर्दैनथ्यो । असारमै सुरु भएको वर्षा साउनभरि सिमसिमे परिरन्थ्यो । रुखपात पलाएर जताततै हरियाली हुन्थ्यो । यहाँसम्म कि आँगनको भित्ताबाट पानी रसाउँथ्यो । कहिलेकाहीँ त त्यो रसाएको पानीलाई कुन्टो बनाएर जम्मा पनि गरिन्थ्यो ।

हाम्रो वंशको इतिहास भाडगाउँमा त्यति लामो छैन । दुधराज विश्वकर्माहरूको वंशावली हाम्रै वंशाका अद्येता गणेश विश्वकर्माले तैयार गर्नुभएको छ । सो वंशावलीको आधारलाई समाउँदा माझकोटबाट भाडगाउँ आउने नरपतेलाई आदिपुस्ता मान्दा हामी पाँचौँ पुस्तामा पर्छौं । हाम्रा छोरा छैटौँ र नातिनातिना सातौँ पुस्ता भए ।
टोलमा गणेश दाजु र मेरो चकचकी रहयो धेरै वर्ष । टोलमा हाम्रा दमाली दाइहरू नहुनु, भएपनि प्रदेश लाग्नु, हामी दुईको जन्मपछि लामो समय छोरीहरू मात्र जन्मिनु आदि कारणले नागपञ्चमी, साउने संक्रान्ति आदि पर्वमा हामी दुई भाइको रजाइँ हुन सकेको हो ।

सायद त्यो दिन स्कुलले छुट्टी दिइन्थ्यो वा बर्खेविदा हुन्थ्योे । कतैबाट जोगाडा भएको अथवा हामी आफैँ रोलखोलाको आसपासको वनमा पुगेर ल्याएको सल्लाको दियालोलाई चिरेर मुठो बनाइथ्यो । सल्लाको हाँगो वा मुलडाँठको त्यो भर्भराउँदो दाउराको नाम बिर्सेँ मैले । आँगनको कुनामा नियालो गाडेर चौखुट्टी छाप्रो बनाइथ्यो । पातीले छाइन्थ्यो । भलाएको पात, उनियो, कुरिलो, केराका पात जमागरेर राखिन्थ्यो । यतिसम्म सम्झना छ, ती सर्जामहरूलाई के गरिन्थ्यो, सम्झना छैन । यो छाप्रो बनाउने काम दाजु र मेरो आआफ्नो घरमा हुन्थ्यो । लुतो पनि त आफ्नो आफ्नो भएर पनि अलगअलग विधिको कामकुरो हुन्थ्यो होला । यस विषयमा दाजु गणेशले धेरै प्रकाश पार्नुभएको छ । उहाँको सम्झनाअनुसार ती सबै सर्जामले लुतीमाइको छाप्रो बनाएर छानो लगाइन्थ्यो ।

चौखुट्टे छाप्रोलाई सकेसम्म कलात्मक बनाउने कोसिस गरिन्थ्यो । गोबरले लिपिन्थो र धुपधुवा पनि गरिथ्यो । त्यतिविधि सबै सम्झना छैन । आजको पदेलपोखरा माथि डाँडामा रहेको जुन घर छ, त्यो घर कुनै बेला चारपालाका टन्डनहरूको थियो । टन्डन बाजेलाई गाउलेहरूले सुबेदारको रुपमा चिन्थे । सायद उनी रेसुङ्गा प्रभुका सुवेदार थिए । अधिकांश उनको बास तम्घास बजार मै हुन्थ्यो । कोट कचहरी उनको पेटपाल्ने मेसो थियो । यसबारेमा दाजु शेरजंग बस्नेतलाई पूर्णजानकारी छ । लोग्ने सुबेदार भएपछि उनकी जहान स्वतः सुबेदार्नी हुनेनै भइन । सुबेदारका होमबहादुर नामका छोरा थिए । हामी पाँच छ क्लासमा पढ्दा उनी नौदस कक्षा यस्तै कुनै कक्षामा पढ्थे । उनले पछि नाम फेरेर हेमन्त भए । गाउँमा फर्सबहादुर रेस्मी दाइ र स्कुलमा उर्लेनीतिरका दलबहादुर यस्तै नाम भएका समकक्षीसँग उनको जहिल्यै टक्कर हुन्थ्यो । दलबहादुर बहुत खाइलाग्दा थिए । उनले हानेको फुटबल सटको मार खेप्न नसकेर स्कुल बरन्डाको काठको रेलिङ्ग नै भाँचिएको सम्झना छ मलाई । होमबहादुर र फर्सबहादुर रेस्मीदाइ कबड्डी खेल्ने नाममा पदेलपोखराको चौरमा एकाधघण्टा लडिबुडी गर्थे ।

संक्रान्तिको साँझ जब जताततै अँध्यारो छाउँथ्यो, लुतो फाल्नेक्रम सुरु हुन्थ्यो । पदेलपोखरा पाल्तिर खोँचमा एकान्तको हाम्रो घरबाहेक अरु लुतो लैजान बोलाउने घर नै छैनन् । तल्लो भाडगाउँ कोष तल पर्ने, बोलाए पनि कुनै माने नहुने, अन्दाजैअन्दाजमा ‘ए ! तल्ला भाडगाउँलेहरू हो, हाम्रो लुतो लैजा’ फलाकिन्थ्यो र भर्भराउँदो बलेको दियालोको मुठो तल्लो पाटोमा पु¥याइन्थ्यो ।
हाम्रो घरको पाल्तिरको पाखोमा पथ्र्यो हेमन्त दाइको घर । उहाँलाई सजिलो थियो लुतो फाल्न । मैले लुतो फालिसकेपछि वा त्यो भन्दा पहिले डाको हाल्दै उनले मलाई बोलाउँथे–ए छवे सुन्तो एउटा काम परो, कता छस् ?

सिनियर दाइले बोलाए, काम परेरै बोलाएहुनन्, मैले लाटोमनले डाँकोको उत्तर दिन्थे– हँ दाइ सुनँे, के काम परो भन्नुस् ।
ए मेरी बास्यै, दाइको डाकोको अर्थ बोलिसकेपछि मात्र सम्झिन पुगिन्थ्यो । बोल्यो कि डोल्यो । बोली फिर्ता नहुने । दाइले घरमुनिको मकैबारीको पाटो कटाउँदै राँको फाल्दै फलाक्थे–मेरो लुतो लैजा है छवे ।

दाइले यसएलसी पास गरेनन् तम्घासबाट । नवलपुरतिर बसाइ सरे । पछि कामको सिलसिलामा दिल्ली गएको बेलामा उतै बितेछन् । सो बाल्यकालमा हेमन्त दाइले सल्काइदिएको लुतो कहिलेकाहीँ उल्झिन्छ । सँगै पढेकी साथी गोमा जिसी (सेन) का पनि लुते अनुभव रहेका छन् । बाघमारे उनको घर, उनले आफ्नो घर आसपासका दौतरीहरूलाई बोलाएर लुतो सल्काउने गर्थिन् । उपल्लो तम्घास बज्याना घर हुने प्रकाश नेपालको घरको तल लुतो लैजाने घर थिएनन् । उनले लुतो सल्काउने भनेको खोलापारि भुजेलखर्कका चुँदाराहरूलाई थियो । उनले पनि हामीले जसरी फाल्थ्यौं, त्यसरी नै लुतो फाल्ने अनुभव सम्हालेर राखेका छन् ।

दुई रोचक घटनाहरूः
२०१५ सालको आमचुनावमा गुल्मीमा कांग्रेस पार्टीका उम्मेदवारवार निलाम्बर पन्थीको जित भयो । उहाँ एमपी बन्नुभयो । उनको सम्मानमा महेन्द्र हाइस्कुलको प्राङ्गणमा सांस्कृतिक कार्यक्रमको आयोजना गरियो । नाचगान र भाषण प्रवचनको कार्यक्रम भएको थियो । महेन्द्र हाइस्कुलका तत्कालीन जल्दाबल्दा विद्यार्थी सूर्यबहादुर ओलीले कार्यक्रमको सञ्चालन गरेका थिए । सूर्यबहादुरले ओली निकै पछि थरको अगाडि सेन थपेर सेन ओली भए ।

एमपी निलाम्बर पन्थीसँग तम्घासका जनताले धेरै कुराको अपेक्षा गरेका थिएनन् । उनीहरूले उनीसमक्ष तत्कालीन महेन्द्र हाइस्कुलको भवन निर्माणका लागि केही मागहरू प्रस्तुत गरे । तर निलाम्बर पन्थीले एमपीले यस्ता ससाना स्कुललाई चन्दा बाँड्ने, पाटीपौवा बनाउने जस्ता ससाना कामकुराहरू गर्दैन । उसको काम भनेको त नीति बनाउने, देशलाई देशविदेश चिनाउने हो ।

एमपीको मुखबाट सो कुरो सुनेपछि तम्घासका जनता निरास भए । भीडबाट एकजना कम्युनिष्ट नेता चिन्तामणि पोख्रेल जुरुक्क उठेर उनको उत्तरको विरुद्ध बोल्न थाले । उनले कांग्रेस पार्टीको चरित्रको बारेमा ब्याख्या गर्दै तथानाम गाली गरेर भने–चन्दा दिने, स्कुल बनाउने, पाटीपौवा बनाउने काम त कम्युनिष्टहरूले गर्छन् । लौ मैले यो स्कुल बनाउन चन्दा उठाउने कार्यको शुभारम्भ गरे । मेरो नाममा रु.१० लेखियोस् । आज गोजीमा राखेर हिँड्छु । कुनै पनि बेला यो रकम चुक्ता गर्नेछु ।
१७ सालमा राजा महेन्द्रले संसद् भंग गरे । एकदलीय पञ्चायती व्यवस्था लागू भयो । पञ्चायतको विरुद्ध थुप्रै आन्दोलनहरू भए । त्यसैको एक कडी थियो २०२० सालको लुम्बिनी अञ्चलव्यापी किसानहरूको विरोध प्रदर्शन ।

२०४६ सालको आन्दोलन आंसिक सफल भयो । निलाम्बर पन्थीहरूले अनेकौं अवसर पाए । चिन्तामणी पोख्रेलले पनि अनेकौं अवसर पाए । तर उनले निलाम्बर पन्थीको चन्दासन्दा दिनेकाम एकपीको होइन भन्ने कुराको बर्खिलाफ रु.१०÷– रुपैयाँको जो उधारो बाचा गरेका थिए, त्यसलाई कहिल्यै चुक्ता गरेनन् । उनको नाममा आजपनि बाँकी बक्यौता रहेको कुरो सोबेलाका खातापाता हेर्दा देख्न सकिने छ । नपत्याए सुबसेनलाई भेट हुँदा सोध्न अनुरोध गरेँ । उहाँ आज पनि सक्रिय जीवन जिइरहनुभएको छ ।

(मदन पौडेलसँगको फेसबुके संवाद । तत्कालीन नेकपा, रुपन्देही जिल्ला सेक्रेटरी तथा इन्चार्ज । हालः शंखरनगर रुपन्देहीसँगको कुराकानीको आधारमा)