संघर्ष जति कडा भयो विजय त्यति नै शानदार हुँदो रहेछ

मेचीकाली संवाददाता

४ बैशाख २०८१, मंगलवार
109 shares

शिव जैसवाल

वर्ष २०८० मेरो लागि ऐतिहासिक रह्यो । लोकसेवा र शिक्षक सेवा गरी ५ ठाउँबाट नाम निस्कियो । यस वर्ष मेरा मुख्य दुई लक्ष्यहरु पूरा भए । डिग्री केमिस्ट्रीको पढाइ र अधिकृतमा सरकारी जागिर खाने चाहना । कक्षा ७ मा हुँदा गरिबीको कारण काठमाडौको होटलमा भाडा माझ्ने काम, ८ मा हुँदा दिल्ली भागेर काम गर्न जानु होस् या वर्षामा पानी पर्दा परालको घरमा रातभरी जागाराम बस्ने कुरा होस्, मृत्युको मुखमा पुगरेर पनि ३ पटक जोगिएको कुरा होस् । भैरहवा छँदा दिनमा बिहान ६ देखि राति १० बजेसम्म ट्युसन पढाउने दिन सोच्दा यो असम्भव प्रायः लागछ । म घरबाट एक रुपियाँ पनि नलिई आफ्नै प्रयासमा टियुबाट डिग्री केमिस्ट्रीमा, अधिकृतमा सिफारिस र दाइको प्रयासमा काठमाडौमा आफ्नै जमिन हुन्छ भन्ने दिमागमा कल्पनासमेत गर्न सकिने कुरा थिएन ।

मेरो जन्म २०५३ सालमा भयो । करिब एक दशक अगाडि विसं. २०७० सालमा एसएलसी पास गर्दा काठमाडौँ बसेर पढ्छु भन्ने कल्पना गर्न पनि गर्न सकिने स्थिति थिएन । कारण थियो गरिबी र चरम आर्थिक अभाव त्यति बेला मेरो परिवार करिब १० हजार बढी जनसंख्या भएको गाउँको सबैभन्दा गरिब थियो । हामी ४ दाजुभाइ र ४ दिदिहरु गरी ८ जना र आमाबुबबा गरी १० जना थियौँ । काम गर्ने एउटा बुबा मात्र हुनुहुन्थ्यो, उहाँ भारी बोक्ने पलेदारीको काम गर्नुहुन्थ्यो, भैरहवामा । म सलाम गर्छु मेरो बुवालाई जसले चरम गरिबी हुँदा पनि ऋण लिएर भएपनी आफू अनपढ हुँदासमेत हामी सबैलाई पढाउनुभयो । काममा लगाउनु भएन । समस्या यतिसम्म थियो कि म कक्षा ७ मा हँुदा घारबाट भागेर काम गर्न काठमाडौं पुगेँ, त्यति बेला मेरो उमेर १२ वर्ष थियो र होटेलमा जुठो भाँडा माझ्ने काम गरेँ । १ महिना १५ दिन काम गरेपछि बिरामी परेपछि घर फर्केर फेरि पढ्न थालेँ । स्थिति अझै खराब भएपछि कक्षा ८ मा हुँदा फेरि पनि घरमा जानकारी नगराई साथीसँग काम गर्न दिल्ली भागेँ , त्यहाँ पनि ३५ दिन जति काम गरेपछि साहुको छोराछोरी विद्यालय गएको हेरेपछि मलाई पनि पढ्ने तीव्र इच्छा जाग्यो, म घर फर्की पढ्न थालेँ ।

२०६९ सालमा एसएलसी दिई त्यसको भोलिपल्ट बाट स्थानीय बोर्डिङ स्कुलमा पढाउन थालेँ । २०७० सालमा एसएलसी को नतिजा आउँदा मलाई सर्पले दोक्दा म बेडमा जीवन मर्नको सँघारमा थिए । अन्त्यमा चिकित्सकको अथक प्रयासले बाचेँ । एसएलसीमा म विद्यालयमा ८४ विद्यार्थीमा प्रथम भएको थाहा पाएँ । त्यसपछि असल परीक्षा सुरु भयो अब के गर्ने भन्ने चिन्ता सताउन थाले, म बुवासँग भैरहवा जान्छु र त्यही गयर ट्युसन पढाइ आफू पनि पढ्छु भन्ने चाहना राखेँ । यसमा मेरो कान्छी दिदी र भिनाजु धेरै पहल गर्नुभयो र केही आर्थिक सहयोगसमेत गरी पठाउनुभयो । तर त्यो सहज थिएन, भैरहवा जुन मेरो गाउँबाट करिब ३ सय किमी टाढा कोहीसँग चीनजान थिएन । कसरी ट्युसन खोज्ने, कलाई पढाउने भन्ने ठूलो समस्या भयो । त्यतिकैमा एकदिन म र बुवा कुरा गरिरहँदा मेरो बुबा काम गर्ने कम्पनीको मालिकको छोरा उहाँको नाम राजु जैसवाल, मैले ट्युसन पढाउने खोजेको कुरा बुझे । उनले मलाई उहाँको छोरीको ट्युसन पढाउन भने र म तयार भए । यसबापत उहाँले मलाई बस्ने र खान सुविधा दिनुभयो । मलाई एक छोरी र दुई छोराहरुलाई पढाउने अवसर प्राप्त भयो । मैले पढाउन थाले पछि तिनीहरुको पढाई र नतिजामा निकै सुधार आयो । दिन बित्दै गएपछि म अन्य विद्यार्थीलाई समेत ट्युसन पढाउन थालँेँ ।

१०+२ विज्ञान लिएर पढ्न थालेँ, दुवै एकसाथ अगाडि बढाएँ । १२ पास गरे पछि म ब्याचलर बुटवल बहुमुखी क्याम्पसमा विज्ञान लिएर पढ्न थालेँ । त्यहाँ मेरो आदरणीय सर बसन्तराज खनालसँग भेट भयो । उहाँले मलाई अगाडि बढ्न धेरै नै हौसला दिनुहुन्थ्यो र धेरै माया गर्नुहुन्थ्यो । मैले १२ सम्म का विद्यार्थीलाई ट्युसन पढाउन थालेँ र मलाई भ्याइनभ्याइ भयो । मैले बिहान ६ बजेदेखि ९ बजेसम्म बिहान ट्युसन, १० बजे देखि ४ बजेसम्म आफ्नो क्याम्पको पढाइ, ५ बजेबाट १० बजे रातीसम्म होम ट्युसन पढाउन थालेँ । बसाइ भैरहवा र क्याम्प बुटवल भएकाले बसमा जान आउन २÷३ घण्टा लाग्थ्यो, एकदम काममा व्यस्त भइयो । आम्दानी पनि राम्रो हुन थाल्यो । एकदिन कोठामा बसिरहँदा विचार आयो । म त स्नातक पनि पढिरहेकोछु । म त अब केही गरी बाँच्न सक्छु । मेरो कान्छो भाइलाई के होला भनेर चिन्ता लाग्यो । म ट्युसनबाट कमाई बैंकमा जम्मा गरी राखेको पैसाबाट भाइलाई पढाउने विचार गरेँ । भाइ पनि त्यही बेला कृषिमा छात्रवृत्ति नाम निकाल्यो र स्कुल फि लागेन, मलाई सहज भयो । उसलाई खाना र कोठा खर्च प्रति महिना ७÷८ हजार ३÷४ वर्ष दिनु पर्ने भयो र मैले दिएँ । भाइको पढाइ सकेपछि लोकसेवाको तयारी गर्न काठमाडौँ पठाएँ । उसले त्यहाँ तयारी गरी मभन्दा अघि नै निजामती सेवामा सिफारिस भई हाल नवलपुरमा कार्यरत छ । आर्थिक बोझ पनि कम हुन थाल्यो । यता म स्नातकको पढाइ सकाएकाले म काठमाडौँ २०७७ सालको अन्तिमतिर आएँ ।

यहाँ म ट्युसनको पढाइबाट घरबाट एक रुपियाँ पनि नलिई काठमाडौ बस्ने विचार गरँे । यहाँ आउँदा म स्नातकोत्तर पढ्ने कि लोकसेवा पढ्ने वा दुवैसंगै पढ्नेमा धेरै दुविधा भयो । मैले मेरो सरहरु तथा साथीभाइसँग यस विषयमा सल्लाह मागेँ, कसैले डिग्री मात्र पढ, कसैले लोकसेवा मात्र, पढ केमिस्ट्री जस्तो गाह्रो विषय र अधिकृत जस्तो गाह्रो लोकसेवा दुवैसँगै लैजाँदा कुनै पनि राम्रो हुँदै धेरैले भने ।
त्यपछि म डिग्री त पढ्नै पर्छ र लोकसेवा पनि पढ्नु नै छ बरु सजिलो विषय लियएर पढौँ भनेर म सामाजिक विषय लियर पढ्ने विचार गरेँ र केन्द्रिय कयाम्पसमा फारम भरेँ । तर मेरो मनले मानेन र म फारम भर्ने अन्तिम दिन सामाजिकमा भरिसकेको फारम रसायन शास्त्त्रमा परिवर्तन गरेँ । यसरी डिग्री केमिस्ट्री र लोकसेवा सँगै लगे निश्चित समय दुवैमा विभाजन गरी निरन्तर पढ्न थालेँ । पहिलो वर्ष म गल्ती गरेको जस्तो लाग्यो किनभने दुवैतिर खासै राम्रो हुन सकेन । केमिस्ट्रीको पढाइ धेरै चुनौतीपूर्ण थियो । धेरै समय दिनुपर्ने, प्राक्टिकलमा धेरै बस्नु पर्ने, असाइन्मेन्ट गर्नुपर्ने, आन्तरिक र अन्तिम परीक्षा धेरै पढी दिनुपर्ने । तर पनि हिम्मत नहारी इमान्दारीका साथ मिहिनेत गरिरहेँ । पहिलोपटक नागरिक उड्ययन अधिकृतमा लिखितमा नाम आयो तर वैकल्पिकमा परँे, फेरि पनि त्यति नै जोस्, जाँगरले पढँे र मावि विज्ञान, निमावि विज्ञान, नाष्ट अधिकृत, मधेस प्रदेश अधिकृत गरी ५ ठाउँबाट लगातार नाम निस्कियो । म नास्ट रोजेँ र हाल म नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानमा प्रशासकीय अधिकृतको रुपमा कार्यरत छु । यता मेरो माइलो दाइको काठमाडौमा पसल राम्रो चल्न थालेपछि, काठमाडौमा जमिनसमेत किन्नुभयो । मेरो र परिवारको आर्थिक स्थिति सुध्रेको महसुस भएको छ । मेरो आमाले देखाएको बाटो र उहाँसँगको मेरो अथाह प्रेमको आशीर्वादस्वरुप यो भएको छ जस्तो लाग्छ । अहिले आमा र बुवासँङ भेट्न घर जान बाँकी नै छ ।

मैले यो १० वर्षको समयलाई हेर्दा धेरै कुरा सिक्न र बुझ्न पाएँ । सफलता प्राप्त गर्न परिस्थिति जस्तोसुकै भए पनि मनमा आट, असल बानी, इमान्दारीताका साथ मिहिनेत, लगनसिलता, निरन्तर प्रयास, सकारात्मक सोँच, आमाबुवालाई माया गर्ने र समयको सही व्यवस्थापन गर्ने हो भन्ने निश्चित रुपमा सफलता प्राप्त गर्न सकिन्छ र जीवनको पाना आफ्नै हातले लेख्न सकिन्छ जस्तो लाग्छ । नयाँ वर्ष २०८१ सबैको मंलमय होसर, ह्यापी न्यू ईयर २०८१ ।
प्रशासकीय अधिकृत नास्ट, खुमलटार
मौलापुर सोनरनिया रौतहट
हाल कीर्तिपुर काठमाडौं ।