पाका नेताका अस्वभाविक गतिविधि

मेचीकाली संवाददाता

३ भाद्र २०७८, बिहीबार
1004 shares

नेपाली कम्युनिष्ट आन्दोलनमा लामो समय बिताएका र नेकपा एमालेमा झण्डै १६ वर्षसम्म नेतृत्व गरेका, चुनाव हारेर पनि प्रधानमन्त्री बनेका नेता माधवकुमार नेपालका पछिल्ला गतिविधिले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ । नेता नेपाल पछिल्ला यी गतिविधिका कारण नेपालको राजनीतिमा एक अनौठो पात्रको रूपमा देखा परेका छन् । खासमा उनले गरेका गलत काममै कारण कम्युनिष्ट नेतृत्वको सरकार ढलेको हो । आफू नै पार्टीका नेताका विरुद्ध विपक्षीलाई बोकेर सत्तामा पु¥याउन माधव नेपालहरुले खेलेको भूमिका कम्युनिष्ट आन्दोलनको मूल प्रवाहका विरुद्ध छ ।

नेकपा (एमाले) को लामो समयसम्म नेतृत्व गरेका नेता माधव नेपाललाई फेरि किन पदको नाजायज भोक जागेको होला भन्ने कुराले आम कार्यकर्तालाई पिरोलिरहेको छ । आफ्नै पार्टीका अध्यक्ष केपी ओलीले नेतृत्व गरेको सरकारलाई विश्वासको मत नदिएर ढाल्ने, २० प्रतिशतले दल विभाजन गर्ने अध्यादेश ल्याउन लगाउने, नयाँ दलमा लाग्नेहरुको सम्पत्ति विवरण पनि बुझाउन नपर्ने र थ्रेसहोल्ड पनि राख्न नपर्ने जस्ता विषयले कतिपय नेताका लक्ष्य कता केन्द्रित छ भन्ने बुझिन्छ । खासमा उनीहरु समग्रमा देशमा राजनीतिक स्थायीत्व, विकास, खुशहाल र समृद्धिका अभियान अगाडि नबढून् भन्ने चाहन्छन् । यसको नेतृत्वमा पाका नेता माधव नेपाललाई उभ्याइएको छ ।

पार्टीको महाधिवेशनको र सांगठनिक प्रक्रियाको बर्खिलाफ गएर आफ्नै पार्टीका निर्वाचित अध्यक्षलाई कानुन विपरीत सत्ता त्याग्न बाध्य बनाउने, पार्टीको नेतृत्वबाट पनि बलजफ्ती हटाउन चाहने जुन खेल भयो यो कुनै पनि मानेमा स्वीकार गर्न नसकिने खालको छ । प्रयोग भएर हो वा आफैँ अग्रसर भएर हो यस्तो गर्नै नहुने काममा उनीहरु सामेल भए । आफ्नै पार्टीले नेतृत्व गरेको सरकारभन्दा विपक्षीले नेतृत्व गरेको सरकारलाई क्रान्तिकारी र अग्रगमनकारी देख्ने, एमालेभन्दा अरु दललाई नै संस्कारी देख्ने, आफ्नो दलका विरुद्ध आफैँ निरन्तर क्रियाशील हुने हो भने एमालेमा रहिरहनुको कुनै अर्थ छैन ।

पछिल्लो समय देखिएको पदलोलुप प्रवृत्तिले पनि नेपाली कम्युनिष्ट आन्दोलनमा समस्या खडा गरेको छ । पदलोलुप प्रवृत्तिमा रहेका कुनै पनि नेताबाट परिवर्तनको नेतृत्व हुन सक्तैन । विचारमै खोट भएपछि प्राप्त हुने परिणाम पनि अन्ततः चोटैचोटको हुने हो । यो बेलामा आम कार्यकर्ता र नेताहरु पार्टी विभाजनको विपक्षमा छन्, उनीहरु एकताबद्ध पार्टी चाहन्छन् । राष्ट्रिय राजनीतिमा रहेका कुनै पनि दल विभाजित हुनु राम्रो होइन । कुनै पनि पार्टीका नाममा गलत काम गर्ने कुरालाई स्वीकार्न सकिँदैन ।