भैरहवा र नेपालगञ्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन

भैरहवामा लक्ष्यको ६३.२४ र नेपालगञ्जमा ६३.३४ प्रतिशत मात्रै सङ्कलन

मेचीकाली संवाददाता

८ श्रावण २०८१, मंगलवार
156 shares

रमेश पराजुली

बुटवल । लुम्बिनी प्रदेशमा रहेका दुई ठुला भैरहवा र नेपालगञ्ज भन्सार कार्यालयले लक्ष्य भन्दा निकै कम राजस्व सङ्कलन गरेका छन् । यी दुवै भन्सार कार्यालय गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न असफल भएका हुन् । रुपन्देहीको भैरहवा भन्सार कार्यालयबाट लक्ष्यको ६३.२४ प्रतिशत मात्रै राजस्व सङ्कलन हुँदा उता बाँकेको नेपालगञ्ज भन्सारमा ६३.३४ प्रतिशत राजस्व सङ्कलन भएको छ ।

भैरहवा भन्सार कार्यालयले आव ०८०/०८१ मा १ खर्ब २७ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ६३.२४ प्रतिशत मात्रै सङ्कलन भएको कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए । उनका अनुसार एक वर्षमा ८० अर्ब ८३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको हो । आयात परिमाणका दृष्टिले भैरहवा मुलुकको दोस्रो ठूलो भन्सार नाका हो ।

भैरहवा भन्सार कार्यालयले गत आर्थिक वर्षका कुनै पनि महिनामा लक्ष्य पूरा गर्न नसकेको कार्यालय प्रमुख गौतमले बताए । कार्यालयले गत आर्थिक वर्षको साउनमा ८ अर्ब २८ करोड ९६ लाख ८० हजार सङ्कलन गर्ने लक्ष्य राखेकोमा ६ अर्ब ४९ करोड ५ लाख ३१ हजार (७८.३० प्रतिशत) सङ्कलन गरेको थियो । भदौमा १० अर्ब २५ करोड ५७ लाख १४ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा ६ अर्ब ८६ करोड ५१ लाख ३३ हजार (६६.९४ प्रतिशत) सङ्कलन भएको थियो ।

यस्तै, असोजमा १२ अर्ब ३२ करोड ९७ लाख ५६ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा ९ अर्ब ३८ करोड ६ लाख ७३ हजार (७३.३१ प्रतिशत), कात्तिकमा १० अर्ब ६७ करोड ९२ लाख ७१ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा ४ अर्ब ४९ करोड ४८ लाख ३९ हजार (४२.०३ प्रतिशत), मंसिरमा १० अर्ब ८६ करोड ५२ लाख ५२ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा ६ अर्ब ६० करोड ३ लाख ४४ हजार (५५.७८ प्रतिशत) सङ्कलन गरेको सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

त्यस्तै, पुसमा १० अर्ब ६८ करोड ३१ लाख २४ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा ६ अर्ब १९ करोड १७ लाख १३ हजार (५७.९६ प्रतिशत), माघमा १० अर्ब ४७ करोड ९२ लाख ३८ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा ६ अर्ब ४० करोड ६ लाख ९२ हजार (६१.०८ प्रतिशत), फागुनमा १० अर्ब ९९ करोड ३० लाख ७१ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा ६ अर्ब ७८ करोड ८५ लाख १६ हजार (६१.७५ प्रतिशत) सङ्कलन भएको थियो ।

यस्तैगरी कार्यालयले गत आर्थिक वर्षको चैतमा १० अर्ब ४५ करोड २० लाख ३९ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा ६ अर्ब ७४ करोड ८५ लाख २४ हजार (६४.५७ प्रतिशत), वैशाखमा १० अर्ब ५५ करोड ६५ लाख ११ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा ६ अर्ब ८२ करोड ८१ लाख ३२ हजार (६४.६८ प्रतिशत), जेठमा ११ अर्ब ४५ करोड २ लाख ११ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा ७ अर्ब ८० करोड ५९ लाख ८८ हजार (६८.१७ प्रतिशत) सङ्कलन गरेको सूचना अधिकारी चौधरीले बताए । असारमा १० अर्ब ८० करोड २८ लाख १२ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा ७ अर्ब ६६ करोड राजश्व सङ्कलन भएको छ ।

भैरहवा भन्सार कार्यालयले अघिल्लो आव २०७९/८० मा १ खर्ब ५५ अर्ब ६० करोड रुपैयाँको लक्ष्य राखेकोमा ७६ अर्ब ८८ करोड (४९.४१ प्रतिशत) मात्र राजस्व संकलन गरेको थियो । यस्तै, आव २०७८/७९ मा १ खर्ब २७ अर्ब राजस्व उठाउने लक्ष्य थियो । जसमा १ खर्ब १५ अर्ब रुपैयाँ संकलन भएको थियो । कोभिड महामारीका बीचमा पनि आव २०७७/७८ मा लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व संकलन थियो । ९९ अर्ब ६५ करोड ७६ लाख राजस्व उठाउने लक्ष्य राखेकोमा उक्त आवमा १ खर्ब १२ अर्ब ५४ करोड राजस्व संकलन भएको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा ६६ प्रतिशत लक्ष्य पूरा गर्दै ७० अर्ब २९ करोड र आव २०७५/७६ मा ८८ प्रतिशत लक्ष्य पूरा गर्दै ८२ अर्ब ३० करोड ५३ लाख राजस्व संकलन भएको थियो ।

मन्दीका कारण आयातमा कमी
आर्थिक मन्दीले कम आयात हुनु र सरकारका अन्य नीतिगत समस्याका कारण गत आवमा राजस्व असुली खुम्चिन पुगेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख गौतमले बेलहिया नाका हुँदै हुने आयात खुम्चिँदा लक्ष्य भेट्टाउन नसकिएको बताए । बढी भन्सार राजस्व दिने वस्तुकै आयात घटेको र अघिल्लो आवमा भएको असुलीको तुलनामा राजस्व संकलन केही बढेको उनले बताए । बेलहिया नाकाबाट सबैभन्दा बढी आयात हुने जिप, कार, भ्यान, मोटरसाइकल, डिजेल, पेट्रोल, फलामे ब्लेड, मार्बल, खाद्यान्न र अन्य व्यापारिक वस्तुको आयात घट्दा राजस्व संकलनमा प्रभाव परेको उनको भनाइ छ । साना सवारी साधन, फलामे एमएस ब्लेड र पेट्रोलियम पदार्थको आयातबाट भैरहवा भन्सारको कुल राजस्व संकलनमा झन्डै २५ प्रतिशत योगदान रहने गरेको बताइन्छ ।

भैरहवा भन्सारबाट निर्यात भने बढेको छ । अघिल्लो आव ०७९/८० को तुलनामा आव ०८०/८१ मा निर्यात बढेको कार्यालय प्रमुख गौतमले बताए । अघिल्लो आवमा १० अर्ब ९६ करोड रुपैयाँ बराबरका विभिन्न नेपाली वस्तु विदेश निकासी भएकामा आव ०८०/०८१ को जेठ मसान्तसम्ममा १३ अर्ब १७ करोड रुपैयाँ बराबरको निकासी भएको छ । भैरहवा भन्सारबाट सेन्थेटिक यार्न, सिमेन्ट, सिमेन्ट क्लिङ्कर, अल्कीड रेजीन र अन्य पिभिसी रेजीन, खोटो रोजीन, चाउचाउ, नुडल्स, पास्ता, प्लाइउड, जडीबुटी, पिना र अन्य वनस्पतीजन्य उत्पादनहरु निर्यात हुने गर्दछन् । चालू आव २०८१/०८२ का लागि भैरहवा भन्सार कार्यालयलाई १ खर्ब ९ अर्ब ३३ करोडको लक्ष्य निर्धारण भएको छ ।

नेपालगञ्जमा ६३ प्रतिशत मात्रै राजस्व सङ्कलन
बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले गत आव ०८०/८१ मा लक्ष्यको ६३ दशमलव ३४ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ । २८ अर्ब ६६ करोड राजस्व सङ्कलनको लक्ष्य रहेकामा १८ अर्ब १५ करोड मात्रै राजस्व सङ्कलन भएको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिए ।

नेपालगञ्ज भन्सार कार्यालयले पनि गत आवका कुनै पनि महिनामा लक्ष्य पूरा गर्न सकेन । अघिल्लो आवभन्दा गत आवमा करिब ४ करोड कम राजस्व सङ्कलन भएको छ । आव २०७९÷८० मा भन्सार लक्ष्य २९ अर्ब ३२ करोड ९५ लाख रहेकामा १८ अर्ब १९ करोड ६९ लाख ७५ हजार (६२.०५ प्रतिशत) राजस्व सङ्कलन भएको थियो । आयात रोकिएपछि नेपालगञ्ज भन्सार कार्यालयले गत आव ०८०/८१ मा लक्ष्यभन्दा न्यून राजस्व असुली भएको उनको भनाइ छ । अघिल्लो आव २०७९/८० मा चिनी आयातबाट मात्रै करिब ९० करोड राजस्व असुली भएकामा गत आवमा चिनीबाट राजस्व असुली शून्य भएको थियो ।

कार्यालयले गत आर्थिक वर्षको साउनमा १ अर्ब ४१ करोड ४० लाख ९८ हजार (७८ प्रतिशत), भदौमा १ अर्ब ४५ करोड ११ लाख ८० हजार (६५.३३ प्रतिशत), असोजमा १ अर्ब ४८ करोड ६० लाख ९९ हजार (६०.७८ प्रतिशत), कात्तिकमा १ अर्ब २४ करोड २१ लाख ५० हजार (५२ प्रतिशत) राजस्व सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए ।
त्यस्तै मंसिरमा १ अर्ब ५५ करोड ८९ लाख ९९ हजार (६१.७८ प्रतिशत), पुसमा १ अर्ब ५३ करोड ५५ लाख ५६ हजार (५९.८५ प्रतिशत), माघमा १ अर्ब ३१ करोड ८१ लाख २२ हजार (५६.९६ प्रतिशत), फागुनमा १ अर्ब ५८ करोड ४७ लाख ३८ हजार (६३.३५ प्रतिशत), चैतमा १ अर्ब ५५ करोड ७२ लाख ६७ हजार (६३.५६ प्रतिशत) राजस्व सङ्कलन गरेको छ ।

त्यस्तैगरी गत आवको वैशाखमा १ अर्ब ५३ करोड ४० लाख ८० हजार (६२.०५ प्रतिशत) राजस्व सङ्कलन भएको छ । जेठमा २ अर्ब ४९ करोड ६६ लाख एक हजार र असारमा २ अर्ब ४६ करोड ८२ लाख १९ हजार राजस्व असुली गर्ने लक्ष्य राखेको थियो । नेपालगञ्ज नाका हुँदै भारतबाट पेट्रोलियम पदार्थ, मार्बल, खाद्यान्न, तरकारी, फलफूल आयात हुन्छ भने नेपालगञ्जबाट जडीबुटी, एसेन्सीयल आयल, दालचिनी, अलैंची, प्लाइउड, खोटो रोजीनलगायतका अन्य वस्तु भारततर्फ निकासी हुने गरेको छ ।