विशेष सम्पादकीय: जनशक्ति र पुँजीको पलायन रोकौं

मेचीकाली संवाददाता

३० मंसिर २०८१, आईतवार
105 shares

समाजवाद उन्मुख संविधान जारी गरेर संघीयताको कार्यान्वयन गर्दै समृद्ध मुलुक निर्माणको राष्ट्रिय लक्ष्य लिइएको छ । तर, सोही अनुसारका काम भने प्रभावकारी रुपमा अगाडि बढ्न सकिरहेका छैनन् । परिवर्तन हुँदै त छ तर, सुस्त सुस्त गतिमा मात्रै । अहिले हाम्रो मुलुकका लागि मानव संसाधन र आर्थिक पुँजीको पलायन गम्भीर चुनौती बनेको छ । शिक्षा मन्त्रालयको हालैको तथ्यांकले वार्षिक ५० हजारभन्दा बढी विद्यार्थी अर्बौं रुपैयाँ बराबरको रकमसहित विभिन्न मुलुक जाने तथ्य उजागर गरेको थियो । यो विकासोन्मुखको अवस्थाबाट भरखर माथि उठ्न खोजेको मुलुकका लागि एउटा चिन्ताको विषय हो ।

देशभित्रको शैक्षिक प्रणाली र रोजगार बजारलाई कमजोर बनाउने गरी युवा शक्तिको विदेश पलायन भइरहेको छ । नेपालमा रहेका शैक्षिक संस्थाहरू विद्यार्थी अभावले आन्तरिक रूपमै कमजोर भइरहेका छन् । अहिलेको यस्तो प्रवृत्ति रोक्नका लागि राज्यले ठोस योजना ल्याउनु अत्यावश्यक छ । शिक्षामा सुधार गर्दै प्राविधिक र आधुनिक धारका पाठ्यक्रम तयार पार्नु जरुरी छ । नेपाललाई शैक्षिक हबको रूपमा विकास गर्न, बुद्धिज्म, पर्वतारोहण, ऊर्जा, जलसम्पदा र खानीसम्बन्धी विषयमा विदेशी विद्यार्थीलाई आकर्षित गर्न सकिने कोर्सहरू सुरु गर्नुपर्छ ।

देशभित्र रोजगारीका अवसर सिर्जना गर्दै युवा शक्ति र उनीहरूले विदेशमा आर्जन गरेको ज्ञान र सीपलाई स्वदेशमा लगानी गर्न उत्प्रेरित गर्नुपर्छ । युवाहरूलाई उद्यमशीलता, कृषि र उद्योगमा आकर्षित गर्ने नीति कार्यान्वयन गर्नु आजको आवश्यकता हो । कृषिमार्फत समृद्धि हासिल गर्ने जुन लक्ष्य लिएका छौं, त्यसलाई साकार पार्न पनि युवाको बढ्दो पलायनलाई रोक्नुपर्ने छ । साथै, आधुनिक जीवनशैलीअनुकूलका कार्यक्रम बनाउने, कृषिमा आधुनिकीकरण र उपकरणको प्रबन्ध गर्ने, बजारिकरणको विस्तार गर्ने, मल, बीउको सहज उपलब्धता गराउनेतर्फ ध्यान दिनुपर्छ । यी सबै कामका लागि स्थिर राजनीतिक वातावरणको खाँचो छ ।

वैदेशिक शिक्षाका नाममा भइरहेको पलायनसँगै आर्थिक परनिर्भरता र खेतीपातीको संकट समाधान गर्न, राज्यले विशेष योजना बनाउनुपर्छ । उदाहरणका लागि, आधुनिक कृषिमा प्रयाप्त लगानी, सहुलियत ऋण, कृषि उपजमा आधारित उद्योगमा प्रोत्साहन र गाउँमै रोजगारी सिर्जना गर्ने कार्यक्रमले सकारात्मक प्रभाव पार्न सक्छ । नेपालको भविष्य युवा पुस्तामा निर्भर छ । मानव संसाधन र पुँजीको पलायन रोकेर मात्र देशले समृद्धिको यात्रा तय गर्न सक्छ । यो २५ वर्षे उत्सवको अवसरमा, मेचीकाली सन्देश सबैलाई देशभक्तिका साथ नवीन सोचका साथ अघि बढ्न प्रेरित गर्न चाहन्छ । समृद्ध नेपालको परिकल्पना व्यवहारमा उतार्न एकजुट भएर लागौं ।