साकार हुँदैछ सडक यातायातको नयाँ युग

सिद्धार्थ राजमार्गको एउटा खण्डमा बनेको सुरुङ जुन आज ब्रेक थ्रू हुँदैछ । महेन्द्र राजमार्गको एउटा खण्डमा आधुनिक सडकको निर्माणको थालनीले सडक यातायातमा नयाँ युगको सुरुआत भएको सन्देश दिन्छ ।

मेचीकाली संवाददाता

११ माघ २०८१, शुक्रबार
145 shares
सिद्धार्थ राजमार्गको बुटवल–तानसेन खण्डको जोखिमको क्षेत्रमध्येको भागमा निर्माण भएको सुरुङमार्ग । तस्बिरः अमृत गिरी

अमृत गिरी

बुटवल । राणाकालीन सडक इन्जिनियरिङमा धानिएको सडक यातायातमा केही समययता नयाँ युगको सुरुआत भएको छ । सडक यातायातमा अहिले सुरुङ, द्रुत मार्ग, फ्लाई ओभर, अण्डरपास सहितका नयाँ मोडलका संरचनाको निर्माण सुरु भएको छ । पानीको कुलो लैजान, जलविद्युतका लागि ससाना सुरुङ खनेको करिब चार सय वर्षको इतिहास भएपनि सडक यातायातको नयाँ सुरुङ्गमार्गको इतिहास भने केपी ओली प्रधानमन्त्री बनेपछि सुरु भएको हो ।

यसको ताजा उदाहरण पहिलो सडक सुरुङ नागढुंगा सुरुङ मार्ग हो भने दोस्रो बुटवल–तानसेन खण्डको सिद्धबाबा सुरुङ । नागढुंगाको सुरुङ ‘ब्रेक थ्रू’ भइ सञ्चालनको अन्तिम चरणमा छ भने आज ब्रेक थ्रू हुने सिद्धबाबा सुरुङ मार्ग आउदो वर्ष सञ्चालनमा आउनेगरी धमाधम काम भइरहेको छ ।

योसंगै यहाँ महेन्द्र राजमार्गको मुख्य ब्यस्त खण्ड बुटवल–गोरुसिङ्गे–चन्द्रौटाको सडक विस्तार हुँदैछ । आधुनिक र नौलो प्रविधिमा वन्यजन्तु मैत्री र अण्डर भेहिकल पाससहितको चार लेनको डेडिकेटेड मार्ग हो यो । यो मार्गको पनि आज प्रधानमन्त्री ओलीले बुटवल–१३, जीतगढीमा शिलान्यास गर्ने कार्यक्रम छ । शिलान्यासमा प्रम ओलीसहित उपप्रधान तथा अर्थमन्त्री तथा यी दुबै ड्रिम प्रोजेक्टका योजनाकार विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्रीलगायतका उच्चपदस्थ व्यक्तित्वहरु सहभागी हुने कार्यक्रम छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गमा पहिलो चरणमा ५० किलोमिटर सडक विस्तार हुनेछ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी, रामग्राम, कपिलवस्तु, बुद्धावलीका रणनीतिक स्थल जोड्ने गरि सिद्धार्थ राजमार्ग र महेन्द्र राजमार्गमा नयाँ युग झल्काउनेगरी काम सुरु भएको छ । सुरुङ मार्ग र सडक विस्तारको सुरुआत त्यसैको उदाहरण हो ।

बहुप्रतिक्षित सिद्धबाबा सुरुङको आज ‘ब्रेक थ्रु’
पहाडलाई तराईसँग जोड्ने सिद्धबाबा सुरुङ मार्गको मुख्य ‘टनेल’ को ‘ब्रेक थ्रु’ आज (शुक्रबार हुने भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा मन्दिरनजिकै बन्दै गरेको बहुचर्चित सुरुङ गत वर्ष माघ ४ गतेबाट खन्न थालिएको थियो । ‘ब्रेक थ्रु’ का लागि प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललगायत आउने कार्यक्रम सिद्धबाबा सुरुङ मार्ग आयोजना प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए ।

पश्चिम नेपालको प्रमुख शहर तथा आर्थिक केन्द्र बुटवल भित्रिने प्रवेशद्वारको रूपमा रहेको सुरुङ ‘ब्रेक थ्रु’ ले पूर्वाधारको क्षेत्रमा आशाको किरण जगाएको छ । ‘ब्रेक थ्रु’ का लागि साढे १ मिटर भाग सुरक्षित रुपमा राखिएको छ । बाँकी रहेको सोही भाग क्षेत्रलाई ब्लास्टिङ गरेपछि सिद्धबाबा मन्दिर र विद्युत् हेटबक्स तर्फबाट खन्दै आएको सुरुङको मुख एकआपसमा जोडिने छ ।
आयोजनाका अनुसार दुवैतर्फको रिबसहित सुरुङमार्गको कुल लम्बाइ एक हजार १२६ मिटरको हुने भएपनि खन्नुपर्ने टनेलको भाग भने एकहजार ८९ मिटर मात्रै रहने छ । त्यसमध्ये साढे १ मिटर मात्रै भाग ‘ब्रेक थ्रु’ का लागि बाँकी राखेर एक हजार ८७.२ मिटर सुरुङ खनेर सकिएको आयोजना प्रमुख अधिकारीले जानकारी दिए । मुख्य सुरुङ सिद्धबाबा मन्दिरतर्फ (दक्षिण) बाट ६१० र विद्युत्को हेडबक्सतर्फ (उत्तर) बाट ४७७.२ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ । आउँदो वर्षायामको अप्ठ्यारो अवस्थामा सुरुङबाट सवारीसाधान सञ्चालन गर्नेगरी आयोजनाको तयारी छ । ‘ब्रेक थ्रु’ पछि बाहिरी क्षेत्रको सडक मर्मत गर्दा टनेलबाटै गाडी पठाउने आयोजना प्रमुख अधिकारीले बताए ।

हालसम्म आयोजनाको भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभानदेखि सिद्धबाबासम्म झण्डै ४ किलोमिटर सडक वर्षा होस् या हिउँद सधैँ पहिरोको उच्च जोखिममा पर्छ । सडकदेखि तल तिनाउ नदीतर्फ अप्ठ्यारो भीरसहितको छाँगो र माथितर्फ अग्लो चट्टानसहितको पहाड भएकोले वर्षामा मात्र होइन हिउँदमा समेत सुख्खा पहिरोको उत्तिकै जोखिम हुन्छ ।

सोही जोखिमलाई मध्यनजर गरी सरकारले सुरक्षित आवागमनका लागि सुरुङमार्ग निर्माणको योजना अघि बढाइएको थियो । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाइरहेको सुरुङमार्गको निर्माणको काम ७ अर्ब ३४ करोड २१ लाख रूपैयाँको लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ । निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौताअनुसार २०८३ चैतभित्र सुरुङमार्गको काम सम्पन्न गर्नुपर्ने छ ।

यसअघि १५१ मिटर लम्बाइ रहेको पहिलो बाइपास टनेल गएको असोज ४ मा, १३० मिटर लम्बाइको तेस्रो बाइपास टनेल गएको भदौ २६ मा र १६१ मिटरको दोस्रो बाइपास टनेल गएको पुस ७ गते ‘ब्रेक थ्र’ गरीएको थियो । आयोजनाकी सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीले सुरुङ छिचोलेपछि सुरुङभित्र लाइटिङ, अक्सिजन जडान, भेन्टिलेसन र सडक ढलानको काम हुने बताइन् । दैनिक ८÷८ घण्टाको सिफ्ट बनाएर सुरुङमा चौबीसै घण्टा काम भइरहेकाले छिटो प्रगति भएको इन्जिनियर ज्ञवालीको भनाइ छ । ‘यो सुरुङ मार्गले यस क्षेत्रलाई पूर्वाधार विकाससहित आर्थिक क्षेत्रमा समेत फड्को मार्न योगदान गर्नेछ । गुल्मी र पाल्पाका नागरिकको एक दशकदेखिको चाहना पूरा हुनेछ,’ ज्ञवालीले भनिन् ।

सुरुङ मार्गको काम सुरु हुनुभन्दा अगाडि र पछाडि ३ हजार ५०० मिटरको रकनेट (जाली) राखेर सडक सुरक्षित बनाउने काम पनि आयोजनाले गर्नेछ । अग्लो भीर र चट्टानी पहाड भएकाले सिद्धबाबा सडक खण्डमा बर्खा र हिउँदमा अत्यधिक पहिरो झरिरहन्छ । पहिरोका कारण ठूलो जनधनको क्षति हुँदै आएपछि यसलाई ‘मृत्युमार्ग’ पनि भन्ने गरिएको छ । दोभानदेखि बुटवलको चिडियाखोलासम्मको ५ किलोमिटर क्षेत्र अति जोखिमपूर्ण मानिन्छ । बाह्रै महिना पहिरो झरेर हरेक वर्ष मानवीय क्षति गराइरहेको यो खण्डलाई सुरक्षित बनाउन राज्यको लामो प्रयासपछि सुरुङ निर्माणको काम अघि बढेको हो ।

पछिल्लो दश वर्षमा सिद्धबाबा खण्डमा पहिरो खस्दा र दुर्घटना हुँदा ८० जनाभन्दा बढीले ज्यान गुमाएको सरकारी तथ्याङ्क छ । सुरुङ मार्ग बनेपछि सिद्धार्थ राजमार्ग सुरक्षित र भरपर्दो सडक बन्नेछ । सुरुङ मार्ग बनेपछि सिद्धबाबा क्षेत्रमा पहिरोको सन्त्रास अन्य हुने आशा लिइएको पाल्पा दोभानका स्थानीय तोया लम्सालले बताए । ‘यही खण्डका कारण यात्रा गर्दा सिद्धबाबामा के होला भन्नुपर्ने अवस्था छ । अब त्यो त्रास अन्त्य हुनेछ,’ लम्सालले भने ।

सडकमा अहिले दैनिक जसो २ हजार ५०० हाराहारीमा सवारीसाधन गुड्छन् । यो सडक खण्ड हुँदै पाल्पा, स्याङ्जा, गुल्मी, पोखरा, बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ र उत्तरी छिमेकी देश चीन जोड्ने कोरला नाकासम्म पुग्ने गरिन्छ । वातावरणविद् तथा इन्जिनियर प्रा.डा. खेटराज दाहालले सिद्धबाबा सुरुङ आवश्यकभन्दा केही छोटो बनेको बताए । ‘सुरुङ कम्तीमा चिडियाखोलादेखि दोभानसम्म बन्नुपर्ने हो,’ दाहालले भने, ‘यात्राका क्रममा मानिसहरू बलि चढेका थिए । यति नै भए पनि सरकारले एकदमै राम्रो ग¥यो । यो क्षेत्रमा कम्तीमा ४ किलोमिटर लामो सुरुङ मार्गको आवश्यकता हो । सानो नै बने पनि खुसी हुनुपर्छ ।’

सिद्धबाबा सडक खण्डको विकल्पमा प्रदेश र स्थानीय सरकारले बनाएका वैकल्पिक मार्ग पनि प्रभावकारी देखिएका छैनन् । प्रदेश सरकार गौरवको आयोजनाका रूपमा रूपन्देहीको चरङ्गे, मुढाबासबाट चौकीभञ्ज्याङ, ज्यामिरे हुँदै पाल्पाको झुम्सा पुग्ने सडकसमेत बने पनि प्रयोगमा आउन सकेन ।
त्यस्तै, बुटवलको बेलबास हुँदै पाल्पाको तिनाउ गाउँपालिका जोड्ने अर्को २२ किलोमिटर लामो ‘ट्रयाक’ पनि खोलिएको छ । सडक नुवाकोटबाट सिद्धार्थ राजमार्गमै जोडिन्छ । सडक दुर्घटनाको जोखिम घटाउँदै सुनौली–पोखरा सडक खण्डमा पर्ने सिद्धार्थ राजमार्गका ठूला घुम्तीहरू कटान भइरहेका छन् । त्यस्तै, दुई लेनको यो सडक खण्डलाई बुटवल–नारायणगढजस्तै चार लेनमा विस्तार गर्ने गरी सरकारले योजना अघि बढाएको छ । मुलुकमा बनेका नागढुंगा–सिस्नेखोला र सुनकोशी–मरिण डाइभर्सनको सुरुङ यसअघिनै छिचोलिसकिएको छ ।

सबैको मेहनत, सहकार्य र खासगरी विष्णुप्रसाद पौडेलको मेहनतले सुरुङ मार्ग र सडक विस्तारको कामले सार्थकता पाएको उनीसंगै कैयौं ठाउँमा सुरुदेखि पहल गर्न हिंडेका संविधानसभा सदस्य सोमप्रसाद पाण्डेले सहकार्यले सफलता मिलेको बताए । उनी बिहीबार सुरुङ मार्ग परिसरमा भेटिएका थिए ।

सिद्धबाबा सुरुङ मार्गमा अब के काम बाँकी छ ?
सुरुङमार्ग त छिचोलियो तर कहिले सञ्चालनमा आउँछ त भन्ने आम जिज्ञासा छ । अहिले यहाँ ४० जना चाइनिज र ८० जना नेपाली दक्ष, अर्धदक्ष र अदक्ष गरि करिब एक सय ५० जनाले नियमित काम गरिरहेका छन् । छिचोलिएको सुरुङभित्र पसेर सेकेण्डरी सपोर्टका काम भइरहेको छ । यसअन्तर्गत इन्भट लाइनिङ र बेञ्च ब्लास्टका काम अहिले भइरहेका छन् । प्रधानमन्त्री केपी ओलीले ‘ब्रेक थ्रू’ गराएसंगै ती काम तीब्र गतिमा अगाडि बढ्नेछन् ।

स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेसन (एसडिसी) ले ०७५ सालमा यो क्षेत्रको सर्भे गरी सुरुङमार्गको डीपीआर तयार गरेको थियो । उक्त कम्पनीले सिद्धार्थ राजमार्गको बर्तुङ–चिडियाखोला सडकखण्डको सिद्धबाबादेखि दोभान चौकीसम्मको २ हजार ७ सय मिटर सडकक्षेत्र एकदमै जोखिमयुक्त रहेको निष्कर्ष निकालेर सोहीअनुसार सरकारलाई सुझाव पनि दिएको थियो ।

चट्टानी भीरमा रक सेट अर्थात् स्लोप प्रोटेक्सनको काम गर्न सम्भव नभएको क्षेत्रमा सुरुङको प्रस्ताव भएअनुसार यो सुरुङ खन्न थालिएको हो । ०७६ मंसिर २ गते सुरुङमार्गका लागि १० अर्ब १५ करोड रुपैयाँ स्रोत सुनिश्चित भएको थियो । यसको केही समयपछि २०७८ मा ग्लोबल टेण्डर आह्वान भयो । केही समयपछि नै ठेक्का प्रक्रिया पूरा गरेर चाइनीज कम्पनीले यो सुरुङमार्ग बनाउने जिम्मेवारी पाएको थियो । सुरुङमार्गको कुल १.२६ किलोमिटर लम्बाइ र साढे आठ मिटर चौडाइको छ ।

सुरुङका दुवै मोहोडामा ‘रक सेट र स्लोप प्रोटेक्सन’
योसंगै सुरुङमार्गको बुटवल र तानसेनतिरका दुवै मोहोडामा जोखिममा क्षेत्रमा रक सेट र स्लोप प्रोटेक्सन गरिनेछ । यो भनेको सुरुङमार्गमा पुग्ने बुटवलतिरको खण्ड र सुरुङमार्गबाट निस्किएर तानसेनतिरको खण्डको जोखिमको सडकलाई माथि भिरसम्मै सुरक्षा प्रदान गर्ने प्रविधि प्रयोग गरिनेछ । अष्ट्रियाको ‘न्याथम मेथड’ नामको नयाँ डिजाइनमा सुरुङमार्ग बनेको छ र सोहीअनुसारका नयाँ डिजाइनमा रकसेट र स्लोप प्रोटेक्सनका काम हुने इन्जिनियर श्रीजेस पौडेलले बताए । पौडेल तिनै इन्जिनियर हुन् जो नागढंगाको सुरुङमार्गमा पनि खटिएका थिए । यहाँ उनी सुरुदेखि नै निर्माण कम्पनीको तर्फबाट काममा खटिएका छन् । दुबै मोहोडामा सडकदेखि करिब ३५ मिटर माथिसम्मै स्लोपलाई सुरक्षा प्रदान गरिने इन्जिनियर पौडेलले बताए ।

यसरी बन्दैछ बुटवल–चन्द्रौटा आधुनिक सडक
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्डलाई चार लेनमा बिस्तार योजनाको अहाज शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने भएका छन् । ६ दशकपछि स्तरोन्नति हुन थालेको यो सडक २०१८ सालमा तत्कालीन राजा महेन्द्र शाहले शिलान्यास गरेका थिए । विश्व बैंकले ६९ किलोमिटर सडक स्तरोन्नतिका लागि २७ करोड ५० लाख डलर उपलब्ध गराउने सम्झौतापछि भएको सडक विभागले जनाएको छ । विभागका सहसचिव तथा उपमहानिर्देशक डा विजय जैसीका अनुसार दुई खण्डमा विभाजित गरी यो सडक स्तरोन्नतिको काम हुँदै छ । बुटवलदेखि गोरुसिङ्गेसम्म ५० किलोमिटर र गोरुसिङ्गेदेखि चन्द्रौटासम्म १९ किलोमिटर गरी दुई खण्डमा विभाजित गरी स्तरोन्नति हुँदै छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गको बुटवल–गोरुसिङ्गे–चन्द्रौटा खण्डको नयाँ मापदण्डमा आजदेखि विस्तार हुने सडकको स्केच ।

बुटवलदेखि गोरुसिङ्गेसम्मका लागि केही वर्षअघि एसियाली विकास बैंकको सहयोगमा डिजाइन सम्पन्न भएको थियो । नेपाली ३४ अर्ब रुपैयाँ लगानीमा बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक विस्तार हुँदैछ । २ लेनको सडक अब ४ लेनको बन्नेछ । एक सय किलोमिटर प्रतिघण्टाको गतिमा सवारीसाधन गुड्न सक्ने गरी बनाउन लागेको सडक आधुनिक र वातावरणमैत्री हुने आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेले बताइन् । यो सडक बुटवलबाट चन्द्रौटा हुँदै नेपाल–भारत कृष्णनगर भन्सार र लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीसँग जोडिन्छ । यो सडक क्षेत्रभित्र पर्ने १० किलोटिरको कोरिडोरलाई हरित क्षेत्रको रुपमा विकास गर्ने योजना प्रस्ताव अघि बढाएको वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले जानकारी दिए । बन्न थालेको फोरलेन सडकको दुवै किनारलाई हरियाली क्षेत्रको रुपमा विकास गर्नेगरी उच्च प्राथमिकतामा राखेर कार्यक्रम प्रस्ताव गरिएको छ । सम्झौता अनुसार सडक निर्माणको भौतिक काम २०२३ नोभेम्बरमा सुरु भएर २०२६ नोभेम्बरमा सक्ने लक्ष्य छ । पहिलो चरणमा बुटवलदेखि कपिलवस्तुको गोरुसिंगेसम्मको ५० किलोमिटरमा काम हुनेछ ।

अहिले बुटवलदेखि गोरुसिंगे खण्डमा रूखको मार्किङ, विद्युत् पोलको व्यवस्थापन, माटो, ढुंगा, गिट्टी र बालुवाको परीक्षणका लागि ल्याब निर्माण, ठूला मेसिन र सामग्री व्यवस्थापन र सडकको नापजाँचको काम भएको छ । पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुनेछन् । १ सय ४९ कल्भर्ट र ६ वटा अन्डर/ओभर पास निर्माण हुनेछन् । यो सडक सहरी क्षेत्रमा ५०, सहरोन्मुख क्षेत्रमा ३७ र जंगल क्षेत्रमा २४ मिटर चौडाइको बन्नेछ । सडक क्षेत्रमा पर्ने रूखहरूको नम्बरिङ सकिएर वन मन्त्रालयको अनुमतिमा अहिले मार्किङको काम भइरहेको र त्यसपछि रूख कटान सुरु हुने बुटवल गोरुसिंगे सडक परियोजना प्रमुख इन्जिनियर न्यौपानेले बताइन् ।
सडक निर्माणका लागि चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले सम्झौता गरेका छन् । काम आशिष निर्माण सेवाले गर्नेछ । सम्झौताको तीन वर्षभित्रै काम सक्ने निर्माण व्यवसायी विजय गौलीले दाबी गरे । रुख कटान र विद्युत्का पोल स्थानान्तरणपछि सडक किनारको एकतर्फबाट निर्माण सुरु हुने गरी परियोजनाले डिजाइन गरेको छ । पूर्वपश्चिम राजमार्ग भएर दैनिक हजारौं सवारी ओहोरदोहोर गर्ने भएकाले सवारीसाधन र यात्रुलाई सास्ती नहुने गरी निर्माणका काम हुने उनले बताइन् ।

सालझन्डीदेखि पिपरासम्म र बनगाईदेखि गोरुसिंगे क्षेत्रमा १ सय ४९ वटा कल्र्भट निर्माण गर्ने आयोजनाले जनाएको छ । तीमध्ये तीन वटा वन्यजन्तु आवतजावत गर्ने अन्डरपास र अन्य पानी बग्नसमेत मिल्ने गरी निर्माण हुनेछन् । सालझन्डी–पिपरा खण्डमा चार वटा, कोइली–घेरुवा–बनगाई–गोरुसिंगे क्षेत्रमा ६ वटा अन्डर/ओभरपाससहितका कल्भर्ट निर्माण हुने आयोजनाले बताएको छ ।

नेपालमा सुरुङमार्गको नालीबेली
नेपालमा मानवनिर्मित सुरुङको इतिहास चारसय वर्षभन्दा पुरानो छ । मुलुकको पहाडी भेगमा सिँचाइका लागि कुलो निर्माण गर्ने क्रममा सुरुङ निर्माण भएको पाइन्छ । नेपाल टनेलिङ एशोसिएशनका अनुसार नेपालमा सुरुङको इतिहास निकै पुरानो छ । पाल्पाको अर्गेलीमा बनेको सुरुङ मुस्ताङमा रहेका सुरुङलाई सयौं वर्ष पुराना मानिन्छ । तर, सडक सुरुङमार्गको भूमिगत संरचना भने अहिले बल्ल बन्न थालेका छन् । सडकमार्गको तुलनामा सुरुङमार्ग निर्माण गर्दा लागत कैयौं गुणा महँगो पर्छ । तर, नेपालजस्तो पहाडी मुलुकका लागि दीर्घकालीन दृष्टिले सुरुङमार्गको बहुआयामिक महत्व छ । सुरुङमार्गले एकठाउँ र अर्को ठाउँको दूरी निकै नै छोट्याउँछ । केपी ओली नेतृत्वको सरकारले केही वर्षयता सुरुङ निर्माणलाई उच्च प्राथमिकतामा राखी अध्ययनमा बजेट छुट्याउँदै आइरहेको छ ।

नेपाल टनेलिङ एशोसिएशनका अनुसार हालसम्म नेपालमा करिब ४१६ किलोमिटर सुरुङ बनिसकेको छ, जसमा ३५० किलोमिटर हाइड्रोपावर सुरुङ, २७ किमी खानेपानी वितरण सुरुङ, २५ किमी सिँचाइ सुरुङ, ११ किमी सडक सुरुङ, ५२२ मिटर ढल निकास सुरुङ, दुई किमी खानी सुरुङ र ०.३ किमी म्युजियम सुरुङ गरी जम्मा ९ किसिमका छन् । रेल सुरुङमार्गको निर्माण भने नेपालमा भएको छैन । यस्तै, ३०० किमी हाइड्रोपावर सुरुङ, ३ किमी सिँचाइ सुरुङ र सडक १० किमी सडक सुरुङ गरी जम्मा ३१३ किमी हाल निर्माणाधीन चरणमा छन् ।

नेपालमा सुरुङको प्रयोग सबैभन्दा बढी जलविद्युत परियोजनामा भएको पाइन्छ । नेपालमा खानेपानीका लागि बनेको पहिलो सुरुङ भनेकै मेलम्ची खानेपानीको हो । सिन्धुपाल्चोकको अम्बाथानदेखि काठमाडौंको सुन्दरीजलसम्म २७ किमी सुरुङ खनेर मेलम्चीको पानी राजधानीमा वितरण हुँदै आएको छ । हालसम्म खनिएको सुरुङमध्ये यो नै सबैभन्दा लामो सुरुङ हो । २०७४ को चैत २९ गते ‘ब्रेक–थ्रु’ भएको यो सुरुङ खन्न करिब १० वर्ष लागेको थियो । यस्तै, नेपालमा पहिलोपटक आधुनिक प्रविधिको प्रयोगबाट बनेको सुरुङ भने भेरी–बबई डाइभर्सन सुरुङ हो । यसमा अमेरिकन प्रविधिको टनेल बोरिङ मेसिन (टिबीएम) प्रयोग भएको थियो । जसमार्फत अपेक्षित समय अगावै सुरुङ छेड्ने काम सकिएको थियो । १२.२ किलोमिटरको यो सुरुङ मुख्य रूपमा सिँचाइका लागि प्रयोग गर्न बनाइएको थियो । यो सुरुङ खन्न २ वर्ष पनि लागेको थिएन । योसहित सिँचाइका लागि नेपालमा करिब २५ किलोमिटरभन्दा बढी सुरुङ खनिएको छ ।

यस्तै, हाल गौरवको आयोजनामा सूचीकृत सुनकोसी मरिण बहुउद्देश्य आयोजनामा टिबीएमको प्रयोग गरेर सुरुङ खन्ने काम जारी छ । सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्य आयोजना पनि टिबीएम मेसिनको प्रयोग गरेर सुरुङ खन्ने काम भइसकेको छ । नेपालको पहिलो सडक सुरुङ नागढुङ्गा सुरुङमार्ग अब केही समयमै प्रयोगमा आउँदैछ, यसको केही महिनाअघि प्रधानमन्त्री केपी ओलीले नै ‘ब्रेक थ्रु’ गराएका थिए ।