संस्कृति निर्माण र विकासका केही पक्षहरू

मेचीकाली संवाददाता

१ आश्विन २०७८, शुक्रबार
1087 shares

घनश्याम कोइराला
श्रीमद्भगवद् गीतामा भनिएको छ,‘यद्यदाचरति श्रेष्ठस्तत्तद्देवेतरोजनः । स यत्प्रमाणं कुरुते लोकस्तदनु वर्तते अर्थात् श्रेष्ठ–अगुवाहरूले जस्तो व्यवहार गर्दछन्, अरु मानिसले त्यसैलाई पछ्याउँछन् । उनले जुन कुरा प्रमाणका रूपमा प्रस्तुत गर्दछन्, संसारले त्यसैको अनुसरण गर्दछ ।’ संस्कृति निर्माणका दृष्टिले यो अत्यन्त महत्वपूर्ण सन्दर्भ हो ।

अहिले अधिकांश मानिसहरूमा संस्कृति भनेको नाचगान हो भन्ने बुझाइ रहेको पाइन्छ । अलि बढी बुझ्नेले अभिनय आदि पनि संस्कृति हो भन्ने बुझेको देखिन्छ । केही थोरै मानिसले चित्रकारी, मूर्ति निर्माण आदि पनि कलाका विषय हुन् भनेर बुझेको देखिन्छ । यस्तो सीमित बुझाइका कारण संस्कृतिको विकास कमजोर भएको छ । नाचगान, अभिनय आदि त संस्कृति प्रसारका माध्यम हुन् । यी माध्यमबाट संस्कृति फैलिन्छ । यसमा नयाँ विकल्प पनि जन्मिन्छ र जाग्छ । हाम्रा दृष्टिकोण, सोचाइ, विचार, व्यवहार, खानपान, रहन–सहन, बसाउठी, पहिरन, बोलचाल, उत्पादन, वितरण आदिको प्रभाव नै संस्कृति हो । नाचगान, अभिनय, कलाकृतिहरूले हाम्रा विगत स्मरण गराउँछन् । वर्तमान स्पष्ट्याउँछन् र भविष्यको संकेत गर्दछन् ।

वास्तवमा संस्कृतिको क्षेत्र निकै विशाल, व्यापक र विस्तृत छ । शब्दकै अर्थले पनि धेरै कुरा जनाइरहेको छ । ‘सम्’ भनेको सुन्दर, ‘कृति’ भनेको परिणाम हो । संस्कारबाट संस्कृति बन्दछ । संस्कार शब्दको अर्थ परिमार्जन, शुद्धीकरण हो । संस्कृति भनेको संस्कारको प्रभाव र परिणाम हो । ‘कार’को परिणाम ‘कृति’ हो । त्यसैले संस्कृतिका ‘कार–कर्ता’ हरेक मानिस हो, परिवार हो, समूह हो, समाज हो, संगठन हो । राजनीतिक पार्टी र राज्य पनि ‘कार’ नै हो, यसको त ‘कृति—परिणाम’मा निर्णायक भूमिका हुन्छ ।

अहिले सञ्चार प्रविधिको विकास र अधिकांश मानिसहरू यसको पहुँचमा हुनु संस्कृति विकासका दृष्टिले महत्वपूर्ण अवसर हो । सबैले मञ्च पाइएको छ । पहिले हरेकले मञ्च पाइँदैन थियो । तर, अहिले हाम्रो हातमा भएको मोबाइल नै हाम्रो मञ्च बन्न सक्दछ, हामीलाई अरुसामु पुग्ने सशक्त माध्यम बन्न सक्दछ । आफ्नो सोचाइ, बुझाइ, विचार, दृष्टिकोण अरुसामु प्रस्तुत गर्न अब विशाल मञ्च नै चाहिन्छ भन्ने छैन । रेडियो, टेलिभिजन आदिले प्रसारण गर्दैनन् भन्नपर्ने रहेन । पत्रपत्रिकाले स्थान दिन्छन् कि दिँदैनन्, छाप्छन् कि छाप्दैनन् भन्न पर्दैन । हुलाक खर्च बढी पर्ने डर पनि भएन । हामीले साँच्चै नै जीवन बुझ्ने, जगतको हित गर्न चाहने हो र असल संस्कृति विकास गर्न चाहने हो भने हामी साधनसम्पन्न छौँ ।

के हामीले सांस्कृतिक विकासका लागि दिन गनेर केही न केही गरेका छौँ ? जति राजनीतिक प्रभावका लागि हामीले सामाजिक सञ्जाल प्रयोग गरिरहेका छौँ, त्यति आफ्नै संस्कृतिको विकास र विस्तारका लागि उपयोग गरेका छौँ ? यदि सामाजिक सञ्जालबाट गरिने विरोधको राजनीतिमा असर हुन्छ भने संस्कृति निर्माणमा यसको असर हुँदैन होला ? अवश्य हुन्छ । नयाँ संस्कृति गर्नु भनेको अरु केही होइन, यसको निरन्तर विकास नै हो । यसको स्थान, समय, अवस्था अनुसार परिष्कार हुँदा अर्थात् संस्कार हुँदा संस्कृति विकास हुने हो ।

संस्कृति निर्माण या विकासमा हरेक मानिस सहभागी हुन सकिन्छ । यसको सजिलो सर्त भनेको कुनै जटिलताको खोजी नगर्नु हो । काम नलाग्ने कुराको चर्चा नगर्नु हो । अरुसँगको बोली र व्यवहारमा आपूmलाई त्यस ठाउँमा राखेर सोच्नु हो । सबैका सोच विचार उस्तै हुन नसक्ने कुरालाई स्वीकार गर्नु हो । कुन समयमा के गर्दा उचित हुन्छ, त्यो गर्नु हो । कसैले आपूmलाई प्याच्च दुर्वाच्य बोल्दा जसरी चसक्क दुख्छ, त्यसरी अरुलाई पनि दुख्छ भन्ने महसुस गर्नु हो ।

यसमा ध्यान दिन सकिने अन्य केही विषय पनि छन् । जस्तै, हामी विभिन्न चाडपर्वहरू मनाउँदछौँ, यिनमा गहिरिएर ध्यान दिनुपर्छ । यसमा खाने, लाउने जस्ता कतिपय प्रत्यक्ष प्रभावका विषय छन् भने कतिपय बिम्ब–प्रतीक छन् । कतिपय विगतको स्मरण गराउने अनुभवका विषय छन् । जस्तै–स्थानको विशेष व्यवस्था गर्ने, रेखी हाल्ने, बत्ती बाल्ने, कलश सजाउने, पूजा गर्ने, संकल्प भन्ने, पूजा गर्दा अनौठा लाग्ने वस्तुहरू चढाउने, पूmल चढाउने, मन्त्र भन्ने, टीका लगाउने, दान–दक्षिणा दिने, ढोग्ने, आशीर्वाद लिने–दिने, प्रसाद बाँड्ने–खाने आदि गरिन्छ । यसलाई कर्मकाण्ड भनिन्छ । यिनै विषयमा प्रकृति, मानव जीवन र इतिहासका सार फेला पर्दछन् । जीवन र जगतको स्पष्ट तस्बिर यहाँ देखिन्छ । तर, हामीले यी विषयमा ध्यान दिँदैनौँ । सरक्क स्वीकार गर्ने या करक्क मुन्टो बटारेर फरक्क अन्तै फर्कन्छौँ । कुनै कुरालाई स्वीकार नगरीकन त्यसमा सुधार, परिमार्जन वा विकास सम्भव हुँदैन भन्ने ध्यान दिँदैनौँ ।

हामी विभिन्न ठाउँहरूमा घुम्न जान्छौँ । हामी घुम्न गएका स्थान उपवन–उद्यान होला, मन्दिर होला, बजार होला, कलकारखाना या उद्योग होला, पशुपन्छी पालन या खेतीपाती गरिएको स्थल होला । हामी त्यहाँ जाने क्रममा प्रयोग गरिएको सबारी साधन होला । ती सबै ठाउँमा सम्पर्क हुने मानिसहरू होलान् । त्यहाँ राम्रो लाग्ने वा नराम्रो लाग्ने व्यक्ति, प्रवृत्ति, वस्तु होलान् । तिनीहरूमा गहिरिएर ध्यान दिने हो भने साह्रै धेरै कुरा थाहा पाउन सकिन्छ । सोधपुछ गरियो भने त कति कति सिक्न सकिन्छ । मन परेका जति राम्रो, सही वा असल; मन नपरे जति गलत, नराम्रो वा खराब भन्ने दृष्टिकोण नराखीकन हेरियो भने धेरै कुरा भेटाउन सकिन्छ । मन परेको लिने, उपयोग गर्ने र मन नपरेकोलाई छोडिदिने विषय सामान्य हो, तर मन नपरेका जति सबैका लागि छिछि र दुर्दुरकै विषय ठान्न र त्यसअनुसार व्यवहार गर्नु हुँदैन । हामी प्रायः मन परेकोमा कमजोरी बरु खोज्दछौँ, मन नपरेकामा गुण–विशेषता खोज्दैनौँ ।

मानिसहरूसँग भेटघाट गर्दछौँ । मानिसहरूसँगको भेटघाट र कुराकानी सिकाइ र संस्कारका लागि महत्वपूर्ण माध्यम हो । कसरी बोल्दैछन् ? हिजोअस्तिका भेटमा र आजको भेटमा के भिन्नता र यस्तो किन र कसरी भयो ? भेटिने मानिसको मुखमुद्रा र हाउभाउ उस्तै छ भने किन र फरक छ भने केही न केही कारण त पक्कै हुन्छ । यसबाट पनि हामीले परिवर्तनका भुइँ कारणहरू फेला पार्न सकिन्छ । फेला पार्नुको आसय हो, हामीले हामी आफैँमा हुने त्यस्तो फरकपन महसुस गर्न सहयोगी हुन सक्दछ । यस्तो विषयको अभ्यास–संस्कारले संस्कृति–रूपान्तरणमा सहयोग पु¥याउन सक्दछ ।

कुनै वस्तुको किनमेलमा पनि हामी गहिरियौँ भने धेरै कुरा बुझ्न सकिन्छ । वस्तुको महत्व, त्यसको उत्पादन, उत्पादनमा लागत, त्यसमा श्रम र श्रम सम्बन्ध, मूल्य, नाफा, नाफा हुने तरिका, बढी लाभान्वित हुने पक्षबारे थाहा पाउन सक्दछौँ । खाद्य चेतनाबारे थाहा पाउन सकिन्छ । मानिसहरूमा रहेको खाद्य मनोविज्ञान बुझ्न सकिन्छ । यसले सामाजिक जीवनमा पार्ने असरहरूको गति र दिशा थाहा पाउन सकिन्छ र संस्कृतिमा यसको प्रभाव बुझ्न सकिन्छ । अनि, यसमा यथास्थिति वा परिवर्तन थाहा पाइरहन सकिन्छ र यी सबै मानिससँग, समाजसँग जोडिएको विषय हुने भएकोले समाज र संस्कृतिमा पर्ने प्रभावको आँकलन गर्न सकिन्छ ।

सभा सम्मेलनमा जान्छौँ, भाषण वा प्रवचन सुन्दछौँ । यसरी सुन्दा वक्ताको बोलीको स्तर, अरुलाई गर्ने सम्बोधनको भाषा, त्यहाँको श्रेणी विभाजन, श्रेणी विभाजनका आधार आदिबारे बुझ्न पाइन्छ । समाचार सुन्छौँ, हेर्छौँ, पढ्छौँ । यिनमा पनि समर्थन, तटस्थता र समर्थनका विषय हुन्छन् । समर्थन र विरोध दुवैमा अंश अंश फरक हुन सक्दछ । यी यावत् विषयले संस्कृति निर्माण गरिरहेको हुन्छ । यसलाई समानता, सद्भाव, सम्मान, सकारात्मक सोचयुक्त बनाउन सक्दा युगीन र सभ्य संस्कृतिको विकास हुन्छ । .

संस्कृति अनुकरणीय हुनुपर्दछ । सहज र सरल हुनुपर्दछ । संस्कृति भनेको स्वीकृति हो र अनुकरणीय पनि हो । संस्कृति निर्माण र विकास अगुवाहरूको व्यवहारमा भर पर्दछ । अगुवाहरूको व्यवहार संस्कृति निर्माण तथा विकासमा महत्वपूर्ण हुन्छ । घरमा, विद्यालयमा, क्याम्पसमा, विश्वविद्यालयमा, व्यापार–व्यवसायमा, सामाजिक तथा अन्य संघ–संस्थामा, राजनीतिक दलहरूमा, संसद, अदालत, आयोग आदि शासकीय संरचनाका अंगहरूमा छन् । उनीहरूका व्यवहारबाट संस्कृति बन्दछ । लेखक, पत्रकार, फिल्मकार आदि पनि अगुवा हुन् । उनीहरूका प्रस्तुति पनि संस्कृति निर्माण र विकासका विषय हुन् । सडक किनारामा राखिएका होर्डिङ बोर्डमा गरिएका विज्ञापन, भित्तामा लेखिएका नाराहरूको पनि संस्कृति निर्माण र विकासमा असर परिरहेको हुन्छ । यी सबै क्षेत्रमा असल संस्कृति निर्माण गर्न–संस्कारयुक्त क्रियाकलाप आवश्यक छ ।

डढाइदिन्छौँ, खरानी बनाइदिन्छौँ, चकनाचुर पारिदिन्छौँ, माटोमा मिलाइदिन्छौँ, पत्तासाफ पारिदिन्छौँ, ढाड खुस्काइदिन्छौँ, सोत्तर पारिदिन्छौँ आदि इत्यादि अभिव्यक्तिले कस्तो संस्कृति विकास होला ? बाल मस्तिष्कमा यी भनाइहरूको कस्तो असर पर्ला र कस्तो जनशक्ति हुर्केला ? सभ्य र समृद्ध समाज निर्माण गर्न सभ्य र समृद्ध संस्कार आवश्यक छ । संस्कृति निर्माण तथा विकासबारे राजनीतिक नेतृत्वसँग यी प्रश्नहरू छन् । किनभने त ‘यद्यदाचरति श्रेष्ठस्तत्तद्देवेतरोजनः । स यत्प्रमाणं कुरुते लोकस्तदनु वर्तते अर्थात् श्रेष्ठ–अगुवाहरूले जस्तो व्यवहार गर्दछन्, अरु मानिसले त्यसैलाई पछ्याउँछन् । उनले जुन कुरा प्रमाणका रूपमा प्रस्तुत गर्दछन्, संसारले त्यसैको अनुशरण गर्दछ ।’