व्यास जयन्ती तथा गुरुपूर्णिमा: दत्तात्रेयका २४ गुरु र सकारात्मक शिक्षा

मेचीकाली संवाददाता

१२ श्रावण २०८३, मंगलवार
2 shares

घनश्याम कोइराला

आषाढ शुक्ल पूर्णिमाका दिन मनाइने व्यास जयन्ती तथा गुरुपूर्णिमा ज्ञान, परम्परा र कृतज्ञताको पावन पर्व हो । यस दिन वेदलाई चार भागमा विभाजन गर्ने, महाभारतको सम्पूर्ण वृत्तान्त वर्णन गर्ने, अठार पुराणका रचयिता महर्षि वेदव्यासको जन्मजयन्ती मनाइन्छ । यही दिन गुरु–शिष्य परम्पराप्रति श्रद्धा व्यक्त गर्दै गुरुको सम्मान गरिन्छ ।

गुरुब्र्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः । गुरुः साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः अर्थात् गुरु सृष्टि, पालन र संहारका दैवी शक्तिका प्रतीक स्वरूप हुनुहुन्छ; उहाँ नै परमब्रह्मस्वरूप हुनुहुन्छ । त्यस्ता श्रीगुरुप्रति श्रद्धापूर्वक प्रणाम गर्दछु ।
माथिको प्रसङ्ग त भई नै सक्यो । थप सन्दर्भको विश्लेषण गर्दा देखिने तथ्य पनि अत्यन्त महत्वपूर्ण छ । गुरु केवल पाठ पढाउने व्यक्ति मात्र होइन; जीवनलाई सही दिशा देखाउने प्रकाशस्तम्भ हुनुहुन्छ । गुरुपूर्णिमा त्यही दीव्य प्रकाशप्रति कृतज्ञता व्यक्त गर्ने पावन पर्व हो । सनातन वैदिक वाङ्मयमा श्रीमद्भागवत महापुराणलाई ज्ञान र भक्तिको र परम ग्रन्थ मानिन्छ । यो ग्रन्थ आध्यात्मिक ज्ञान र दर्शनको अमूल्य भण्डार हो । यसको एकादश स्कन्धको अध्यायमा वर्णित ‘अवधूत दत्तात्रेय र राजा यदुको संवादले मानव जीवनका जटिल आध्यात्मिक प्रश्नहरूको सरल र व्यावहारिक समाधान प्रस्तुत गरेको छ ।

यसमा राजा यदुले परम विरक्त, ज्ञानी दत्तात्रेयलाई उहाँको परम शान्ति र आत्मज्ञानको स्रोतबारे सोधेको प्रसङ्ग छ । चर्चाका क्रममा दत्तात्रेयले आफूले कुनै एक व्यक्ति वा शास्त्रलाई मात्र नभई प्रकृति र वरपरका २४ वटा वस्तु तथा जीवहरूलाई गुरु मानेर शिक्षा लिएको स्पष्ट पारेको भनाइ रहेको छ ।
उनको भनाइ छ,‘एको गुरुर्न पर्याप्तः’ अर्थात् एउटै गुरुबाट मात्र पूर्ण ज्ञान प्राप्त नहुन सक्छ; तसर्थ खुला आँखा र चेतनाले हेरेमा प्रकृतिका हरेक तत्वबाट शिक्षा लिन सकिन्छ र लिनुपर्दछ ।
संसारका मानिसहरू विषयवासना र भौतिक सुखको पछाडि कुदिरहेका बेला पूर्ण शान्त र आनन्दित दत्तात्रेयलाई देखेपछि राजा यदुको मनमा प्रश्न उब्जियो । राजा यदुले दत्तात्रेयसँग सोधे ।

तस्यैतां प्रहसिताम्यहं लब्धकामस्य सर्वतः । पृच्छामि त्वां महाभाग ब्रूहि मे कारणं प्रभो अर्थात् हे महाभाग ! सबै किसिमका कामनाहरूबाट मुक्त भएर सम्पूर्ण रूपले प्राप्तकाम हुनुभएका हजुरको यो परम प्रसन्नता र आनन्दको कारण के हो ? कृपया मलाई बताइदिनुहोस् ।
प्रायः कर्मसु सक्तानां नृणां लोभधियामपि । धर्मः कामो यशश्चैव हेतुरिह च दृश्यते अर्थात्ः संसारमा प्रायः मानिसहरू कर्ममा आसक्त छन् र लोभी बुद्धि भएका छन् । उनीहरूले गर्ने धर्म, काम वा यशको पछाडि कुनै न कुनै स्वार्थ वा फलको आशा देखिन्छ ।
त्वं तु कर्ता न दृप्तो न कामो न हुताशनः । संसारार्णवमग्नस्य लोकस्य कामलोभयोः।। दह्यमानस्य विषयेः पतितस्य भवाब्धितो। उद्धरस्व महाभाग धर्मं नः सुचक्षुषः अर्थात् तर हजुर भने कार्यकुशल भएर पनि कुनै अहङ्कार वा अभिमान गर्नुहुन्न । हजुरभित्र कुनै तृष्णा वा कामना छैन र हजुर आगोझैँ सबै कुरा भोग्न पछि पर्नुहुन्न । हे महाभाग ! काम र लोभको आगोमा जलिरहेका तथा संसाररूपी समुद्रमा डुबिरहेका जीवहरूको उद्धारका लागि मलाई त्यो धर्म र ज्ञानको उपदेश दिनुहोस्, जसले हजुरलाई यो दिव्य दृष्टि र शान्ति प्रदान ग¥यो ।

त्वं नो ब्रूहि महाभाग आत्मनोअद्भूतकारणम् । यद्ज्ञात्वा मानसो तापः प्रशमं याति देहिनाम् अर्थात् हे महाभाग ! हजुरको यो अद्भुत आत्मज्ञान र शान्तिको रहस्य मलाई भन्नुहोस्, जसलाई जानेर मात्रै पनि देहधारी मानिसहरूको मानसिक सन्ताप र दुःख शान्त हुन सक्छ । (श्रीमद्भागवत महापुराणको एकादश स्कन्ध, अध्याय ७ को श्लोक २४ देखि २८) राजा यदुको प्रश्नको उत्तर दिँदै दत्तात्रेयले आफ्ना २४ गुरुहरू रहेको बताए । ती २४ गूरुहरूको नाम यस प्रकार रहेको छ:

पृथ्वी वायुराकाशमापोअग्निश्चन्द्रमा रविः । कपोतोअजगरः सिन्धुः पतङ्गो मधुकृद् गजः ।।
मधुहा हरिणो मीनः पिङ्गला कुररोअर्भकः । कुमारी शरकृत् सर्प ऊर्णनाभिः सुपेशकृत् अर्थात् पृथ्वी, वायु, आकाश, पानी, आगो, चन्द्रमा, सूर्य, परेवा, अजिङ्गर, समुद्र, पुतली, माहुरी, हात्ती, मह काढ्ने, हरिण, माछा, पिङ्गला, चील, बालक, बालिका, वाण बनाउने (कामी जाति), सर्प, माकुरो र काठे किरा । (श्रीमद्भागवत महापुराण (११-७-३३–३५)
दत्तात्रेयका अनुसार यी २४ गुरुहरू र तिनीहरूबाट प्राप्त मुख्य शिक्षाहरू यस प्रकार रहेका छन् ।

१. पृथ्वीः पृथ्वीमा मानिसले खन्ने, काट्ने, फोहर फाल्ने जस्ता थुप्रै अत्याचार गर्छन्; तर पनि पृथ्वीले कसैप्रति क्रोध नगरी सबैलाई धारण गरेको पाइन्छ । पृथ्वीबाट दत्तात्रेयले सहनशीलता, धैर्य र उपकार गर्ने क्षमता सिके । ज्ञानी व्यक्तिले अरूको दुव्र्यवहार सहन गर्दै आफ्नो धर्मबाट विचलित हुनु हुँदैन ।
२. वायुः वायु सबै ठाउँमा बहन्छ, चाहे त्यो सुगन्धित फूल होस् वा दुर्गन्धित स्थान । तर वायु ती सुगन्ध वा दुर्गन्धमा लिप्त हुँदैन र निष्पक्ष रहन्छ । वायुबाट सङ्गदोषबाट मुक्त रहने (अनासक्ति) र प्राण वायुजस्तै शरीरमा रहेर पनि विषयवासनामा नबाँधिने शिक्षा मिल्छ ।
३. आकाशः आकाशभित्र बादल, वायु, अग्नि आदि अनेकौँ विकार आउँछन् र जान्छन्, तर आकाश सधैँ निर्लिप्त र अपरिवर्तनीय रहन्छ । आत्मा पनि आकाशजस्तै सर्वव्यापी, असङ्ग र विकाररहित छ भन्ने ज्ञान आकाशबाट प्राप्त हुन्छ ।

४. जलः जल स्वभावैले स्वच्छ, शीतल र मधुर हुन्छ । जसरी जलले अरूको प्यास बुझाएर सफा बनाउँछ, त्यसैगरी ज्ञानी पुरुषले पनि आफ्नो मधुर वाणी र आचरणले समाजलाई पवित्र र शीतल बनाउनुपर्छ ।
५. अग्निः अग्निले जे–जति आहुति वा वस्तु पाउँछ, तिनलाई भष्म गरेर आफ्नै तेजमा रूपान्तरण गर्छ । अग्निबाट तपस्या, निष्पाप जीवन र ज्ञानको तेज प्राप्त हुन्छ । ज्ञानी मनुष्यले अग्निझैँ सर्वभक्षी नभई निष्कलङ्क र तेजस्वी हुनुपर्छ ।
६. चन्द्रमाः चन्द्रमाको कला घट्ने वा बढ्ने गर्छ, तर चन्द्रमा स्वयं कहिल्यै नष्ट वा परिवर्तित हुँदैन । यो केवल दृष्टिभ्रम मात्र हो । शरीरको जन्म, वृद्धि र मृत्यु भए पनि आत्मा सधैँ अजर र अमर रहन्छ भन्ने शिक्षा चन्द्रमाले दिन्छ ।
७. सूर्यः सूर्यले जलवाष्पका रूपमा पृथ्वीबाट जल लिन्छ र समय आएपछि वर्षा गराएर पुनः पृथ्वीलाई नै फर्काउँछ । सूर्यले उपकार गरेर बिर्सने र निःस्वार्थ भावले कर्तव्य पालन गर्ने कला सिकाउँछ ।

८. परेवा: ढुकुरः एउटा ढुकुर आफ्नो परिवार र बच्चाहरूको मोहमा परेर सिकारीको जालमा फस्यो । अति–आसक्ति र मोह नै मानिसको पतन र दुःखको मूल कारण हो भन्ने कठोर चेतावनी यस ढुकुरको कथाबाट प्राप्त हुन्छ । यसको विस्तृत कथा यहाँ प्रस्तुत गर्न सम्भव भएन ।
९. अजगरः अजगर आफ्नो आहारका लागि शिकारको पछि दौड्दैन; जे आफैँ प्राप्त हुन्छ, त्यसैमा सन्तोष मान्छ । सन्तोष नै परम सुख हो र अपरिग्रह (आवश्यकताभन्दा बढी सङ्ग्रह नगर्ने) को भावना अजगरबाट सिक्न सकिन्छ ।
१०. समुद्रः हजारौँ नदीहरू मिसिए पनि समुद्र कहिल्यै आफ्नो मर्यादा नाघेर बाहिर आउँदैन र सधैँ गम्भीर रहन्छ । ज्ञानी पुरुष सुख–दुःख, लाभ–हानि जुनसुकै परिस्थितिमा पनि समुद्रझैँ शान्त र गम्भीर रहनुपर्छ ।
११. पतङ्ग÷पुतलीः पुतली आगोको रूप र प्रकाशमा मोहित भएर त्यहीँ डढेर नष्ट हुन्छ । त्यसै गरी, कामेच्छा र बाह्य रूप–सौन्दर्यको मोहमा पर्ने मानिसको विनाश निश्चित छ भन्ने शिक्षा पतङ्गले दिन्छ ।
१२. माहुरीः भ्रमरले साना–ठूला अनेकौँ फूलहरूबाट केवल रस मात्र ग्रहण गर्छ । ज्ञानी व्यक्तिले पनि संसारका सबै शास्त्र र विचारहरूबाट केवल सार–तत्व (ज्ञान) मात्र ग्रहण गर्नुपर्छ ।

१३. गजः बलशाली हात्ती पनि पोथी हात्तीको स्पर्श–सुखको लोभमा परेर सिकारीले बनाएको खाडलमा फस्छ । कामेच्छा र स्पर्श–आसक्ति कति खतरनाक हुन्छ भन्ने कुरा हात्तीबाट बुझ्न सकिन्छ ।
१४. मह काढ्ने मानिसः माहुरीले दुःख गरेर मह सङ्कलन गर्छ, तर मह काढ्ने मानिसले आएर त्यो मह लैजान्छ । यसबाट अत्यधिक धन–सम्पत्ति सञ्चय गर्नु व्यर्थ छ र त्यसको उपयोग वा दान नगरेमा अरूले नै लैजान्छन् भन्ने पाठ मिल्छ ।
१५. हरिणः मृग मीठो सङ्गीत र धुनमा मोहित भएर आफ्नो चेतना गुमाउँछ र सिकारीको बाणको शिकार बन्छ । कर्णेन्द्रिय (कान) को अत्यधिक मोह विनाशको कारण बन्न सक्छ भन्ने शिक्षा मृगबाट मिल्छ ।
१६. मीनः माछा अंकुशामा राखिएको मासुको लोभमा परेर आफ्नो ज्यान गुमाउँछ । रसना (जिब्रोको स्वाद) लाई वशमा राख्न नसक्दा मानिस पतनको बाटोमा लाग्छ ।

१७. पिङ्गलाः पिङ्गला नामकी यौनव्यवसायी महिला थिइन् । उनले रातभर धनी प्रेमीको प्रतीक्षा गर्दा निराश हुनुपरेको कथा छ । अन्ततः जब उनले आशा र तृष्णा त्यागिन्, तब उनले परम शान्ति पाइन् । कथा अनुसार पिङ्गला नामकी एक प्रसिद्ध नगरवधू बस्थिन् । उनी आफ्नो रूप र सौन्दर्यको व्यापार गरेर जीविकोपार्जन गर्थिन् । एक दिन साँझ उनी धनवान् ग्राहकको प्रतीक्षामा आफ्नो घरको ढोकामा उभिएकी थिइन् । जो–जो पुरुष उताबाट आउँथे, पिङ्गलालाई लाग्थ्यो, ‘यिनले मलाई धेरै धन दिनेछन् ।’ तर मानिसहरू आउँदै र जाँदै गर्थे, कसैले पनि उनलाई वास्ता गरेनन् । यसरी ग्राहकको प्रतीक्षा गर्दागर्दै आधा रात बित्यो । उनी ढोकाबाट भित्र जाने र फेरि बाहिर आएर बाटो हेर्ने गरिरहिन् । आशा, तृष्णा र लोभका कारण उनको मन र शरीर दुवै अत्यन्तै थकित, व्याकुल र अशान्त बने ।
रातको अन्तिम प्रहर (मध्यरातपछि) सम्म पनि कोही नआएपछि उनलाई आफ्नो यो स्थितिप्रति तीव्र विवेक र वैराग्य उत्पन्न भयो । अत्यन्तै निराशा र मानसिक सन्तापका बिच पिङ्गलाको भित्री चेतना जागृत भयो । उनले विचार गरिन्ः ‘म कति मूर्ख र अज्ञानी रहेछु ! मासु, रगत र हड्डीले बनेको नाशवान् पुरुषको क्षणिक सुख र धनका लागि मैले रातभर आफूलाई तड्पाएँ । यदि मैले यो समय र प्रेम मेरो हृदयभित्रै विराजमान अविनाशी र परम आनन्दस्वरूप परमात्मा (श्रीहरि) लाई समर्पण गरेको भए मलाई कहिल्यै दुःख भोग्नुपर्ने थिएन ।’

यस्तो विचार आउनेबित्तिकै उनको मनबाट धन र कामेच्छाको सम्पूर्ण तृष्णा हराएर गयो । उनले आफ्नो ढोका बन्द गरिन् र सम्पूर्ण आशा तथा अपेक्षा त्यागेर ढुक्कसँग निदाइन् । पिङ्गलाबाट दत्तात्रेयले आशा र तृष्णाको त्याग नै परम शान्तिको बाटो हो भन्ने शिक्षा लिए ।
श्रीमद्भागवतमा यसरी लेखिएको छः आशा हि परमं दुःखं नैराश्यं परमं सुखम् । यथा सञ्छिद्य कान्ताशां सुखं सुष्वाप पिङ्गला अर्थात् सांसारिक वस्तु वा व्यक्तिबाट आशा (अपेक्षा) राख्नु नै सबैभन्दा ठूलो दुःख हो, र आशा वा तृष्णाको सर्वथा त्याग (निष्काम हुनु) नै परम सुख हो । जसरी पिङ्गलाले आफ्नो प्रेमीको आशा पूर्ण रूपमा त्यागेपछि मात्र परम शान्ति र सुखको अनुभूति गरिन् । (श्रीमद्भागवत ११-८-४४)
१८. कुरर पक्षीः कुरर पक्षीको मुखमा मासुको टुक्रा हुँदा अरू चीलहरूले उसलाई आक्रमण गर्छन् । तर जब उसले त्यो मासुको टुक्रा छाडिदिन्छ, उही क्षण उ शान्त र सुरक्षित हुन्छ । वस्तु वा सम्पत्तिको स्वामित्व त्याग गर्दा मात्र वास्तविक शान्ति मिल्छ ।
१९. बालकः सानो बालक मान–अपमान, लाभ–हानि वा भविष्यको चिन्ताबाट सर्वथा मुक्त हुन्छ । उ आफ्नै मस्त स्वभावमा आनन्दित रहन्छ । ज्ञानी पुरुष पनि अहङ्काररहित र चिन्तामुक्त भएर बालकसस्तै सहज हुनुपर्छ ।

२०. बालिका वा कुमारी कन्याः धान कुट्दा हातका धेरै चुराहरू बजेर हल्ला भएपछि कुमारी कन्याले हातमा एउटा मात्र चुरा राखिन् र हल्ला शान्त भयो । धेरै मानिसहरूको सङ्गतमा कलह र विक्षेप हुन्छ; तसर्थ आध्यात्मिक साधनाका लागि एकान्त र मौनता अनिवार्य छ ।
२१. शरकृत् (बाण बनाउने कामी भनिने जाति समुदाय) बाण बनाउने मानिस आफ्नो काममा यति एकाग्र थिए कि उनको छेउबाट राजाको ठूलो सवारी जाँदा पनि उनले थाहा पाएनन् । ध्यान र लक्ष्यप्रति यस्तै पूर्ण एकाग्रता हुनुपर्छ भन्ने पाठ यसबाट प्राप्त हुन्छ ।
२२. सर्पः सर्पले आफ्नो घर आफै बनाउँदैन, अरूले बनाएको देवल वा दुलोमा बस्छ र एक्लै हिँड्छ । साधु वा ज्ञानीले पनि घरको मोह नगरी (अनिकेत) निष्काम भएर एक्लै विचरण गर्नुपर्छ ।
२३. माकुरोः माकुरोले आफैँभित्रबाट धागो निकालेर जालो बुन्छ र पुनः त्यसैलाई आफैँभित्र समेट्छ । प्रकृति पनि यो संसार रचना भएको हुन्छ पुनः आफैँमा लीन हुन्छ भन्ने तत्वज्ञान माकुरोबाट बुझ्न सकिन्छ ।

२४. कुमालकोटीः काठको किरालाई भृङ्गी किराले आफ्नो गुडमा थुनेर राख्दा, त्यो काठको किरा भृङ्गीकै निरन्तर ध्यान र भयका कारण अन्ततः आफैँ भृङ्गी रूपमा रूपान्तरित हुन्छ । यसबाट मानिसले जसको निरन्तर ध्यान गर्छ, ऊ त्यस्तै बन्छ (तन्मयता) भन्ने रहस्य सिद्ध हुन्छ ।
यी २४ वटै ‘गुरुहरू’ का भिन्नाभिन्नै महत्वपूर्ण कथा छन् । श्रीमद्भागवत महापुराणको यो प्रसङ्गले हामीलाई जीवन जिउने एउटा व्यापक र व्यावहारिक दृष्टिकोण प्रदान गर्दछ । दत्तात्रेयका २४ गुरुहरूको प्रसङ्गले ‘संसार नै ज्ञानको पाठशाला हो’ भन्ने सत्यलाई उजागर गर्दछ । यदि मानिसमा अहंकाररहित जिज्ञासा, सूक्ष्म अवलोकन क्षमता र सकारात्मक सोच छ भने, उसले प्रकृति, पशुपक्षी र साना–तिना घटनाहरूबाट पनि जीवनको सर्वोच्च सत्य र आत्मज्ञान प्राप्त गर्न सक्छ । यी त केही प्रतीक मात्र हुन् । प्रकृति र प्राणीहरूबाट हामीले पनि सकारात्मक शिक्षा लिनुपर्दछ । हामी पनि भनौँ, ‘तस्मै श्रीगरवे नमः !’ (लेखक कोइराला संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)