घनश्याम कोइराला
हामीलाई ‘हामी’ कै रूपमा चिनाउने हाम्रो संस्कृति छ । हाम्रो संस्कृतिमा कथा छ । यसमा परिकल्पना, प्रेरणा र कामना छ । उपदेश छ, प्रतीकात्मक प्रयोगको सन्दर्भ छ । यसमा प्रकृति, प्रवृत्ति र मानव मनको भाव छ । मानिसका मूर्त व्यवहारहरूलाई मार्गदर्शन गर्ने अमूर्त विषय पनि धेरै छ । छ्यानबिछ्यानको जिम्मेवारी मानिसको हो । सही वा गलत निक्र्योल गर्ने परिस्थितिको सापेक्षताले हो । निरपेक्ष रूपमा न कुनै असल छ, न कुनै खराब ।
हाम्रो नेपाली समाजमा मनाइने अनेकौँ चाडपर्व छन् । कुनै प्रकृतिसँग सम्बन्धित, कुनै धर्मसँग सम्बन्धित, कुनै अध्यात्मसँग सम्बन्धित, कुनै इतिहाससँग सम्बन्धित छन् । यसैमा जातीय, क्षेत्रीय विषय पनि अटाउने गरेका छन् । तर, यी सबै मध्येकै एउटा बहुआयामिक महत्वको चाड हो–बडादसैँ !
खास भौगोलिक–प्राकृतिक विशेषता र त्यसमा तिथि, ग्रह, नक्षत्र आदिको योगले अझ विशिष्ठता थपिदिएका पर्वहरू छन् । भिन्नाभिन्नै परम्परागत मान्यताका कारणले पनि हाम्रा चाडपर्वहरूमा विविधता रहेको पाइन्छ । तर, ती सबै पर्वहरूमध्ये दशैँ सबभन्दा धेरै नेपालीहरूले मनाउने र सहभागी हुने साझा पर्व हो । वर्षायामको खेतपाती लगाउने काम सकिएको, वर्षाजन्य हिलोमैलो झरी बादल हटेको, शरद ऋतुको सफा र उज्यालो वातावरण त्यसमाथि शुक्ल पक्ष ! हरेक हिसाबले दशैँ महत्वपूर्ण छ र यसलाई महान् भनिएको छ, ठूलो वा बडा भनिएको छ । त्यही महान् चाड बडादशैँ सुरू भएको छ । असोज महिनाको शुक्ल पक्ष अर्थात् उज्यालो पक्षसँगै दशैँ प्रारम्भ हुन्छ । यसरी सुरू हुने दशमीको दिनसम्मलाई नवरात्र वा नवरात्रि भनिन्छ । अझ खासमा यसलाई शास्त्रीय भाषामा ‘शारदीय नवरात्र’ भनिन्छ ।
नेपालमा सबैभन्दा बढी जनसङ्ख्या र भूगोलमा मनाइने पहिलेदेखि मनाइँदै आएको यस पर्वलाई सबैभन्दा ठूलो राष्ट्रिय चाडको रूपमा स्वीकार गरिएको छ । यसलाई महान् पर्व, बडा दशैँ भनिन्छ । महान्, बडा विशेषता बोकेको यो पर्वका अन्तर्वस्तुबारे साहित्यकार, संस्कृति अध्येता–अभियन्ता, अर्थ विद्, स्वास्थ्य विज्ञ, रक्षा–सुरक्षा विज्ञ, धर्म विज्ञ, अध्यात्म विज्ञ, योग विज्ञ, ध्यान साधक–विज्ञ, सामाजिक अध्येता–विज्ञ आदिले आआप्mना विधा र विषयमा आधारित रहेर अध्ययन गर्न पर्याप्त विषय रहेको पर्व हो यो दशैँ ।
पञ्चतत्व, पञ्चमहाभूत, पञ्च कर्मेन्द्रिय, पञ्च ज्ञानेन्द्रिय, पञ्च तन्मात्रा, पञ्चकृष्ट (वैदिक मान्यताअनुसार पाँच प्रकारका पेसाजीवीहरू), पञ्चअमृत, यी सबै पाँच पाँचवटाका प्रतीक पञ्चदेव (गणेश, देवी, विष्णु, शिव र सूर्य) को स्मरण तथा पूजासहित अनेकौँ तीर्थका जलको तथा पूर्णताको प्रतीक सिँगारिएको घट (घडा) स्थापना गरी नौवटी देवीहरू (महामाताहरू) को श्रद्धा भक्तिपूर्वक पूजा आराधाना गरिन्छ । शारीरिक स्वास्थ्यका लागि सबै प्रकारको सुरक्षाको कामना गर्दै न्यास, मानसिक स्वास्थ्य तथा पुर्खा–विशेषतः मातृपुर्खाका पौरखको स्मरण गर्न ध्यान, कृषि तथा औषधि उत्पादनको प्रतीकका रूपमा यवाङ्कुर (जौ उमान–जमरा राख्ने) काम गरिन्छ ।
शैलीपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदातृ गरी नौवटी देवीहरू नै नवदुर्गा हुन् । नवदुर्गाको कथा प्रसंग सन्तानका लागि माताहरूले गर्ने–गरेका पौरखका कथा हुन् । नवदुर्गाका रूपमा उल्लेख गरिएका यी माताहरूका हरेक नामको विशेष अर्थ छ । नव भनेको नौको सङ्ख्या हो । ‘नव’ भनेको नयाँ पनि हो । नौको सङ्ख्याले नवरत्न–नौ प्रकारका बहुमूल्य रत्न जनाउँदछ भने शृंगार, वीर, करुण, अद्भूत, हास्य, भयानक, बीभत्स, रौद्र र शान्त नौ भावरसहरूको समग्रता जनाउँछ । नव शब्दले कहिल्यै पुरानो नहुने निरन्तरताको भाव वहन गरेको छ । संस्कृतिमा चलनचल्तीमा रहिरहेका तर अहिले असान्दर्भिक भइसकेका पक्ष पनि हुन सक्दछन् । त्यस्ता पक्ष सम्पूर्ण रूपमा त्याज्य पक्ष हुन् । केही परिष्कार–परिमार्जनसहित काम लाग्ने पक्ष हुन्छन्, तिनीहरूलाई सोही अनुसार गर्नुपर्दछ भने केही यस्ता पक्ष पनि हुन सक्दछन्, जो जस्ताको तस्तै लागू हुन सक्दछन् । यी तीनै पक्षलाई खुट्याएर अघि बढ्न सक्दा संस्कृतिबारे रहेका भ्रम र अन्धविश्वास हट्न सक्दछन् । हाम्रो संस्कृतिमा आउने कथा वस्तु समयानुसार अर्थ लगाउन र सार वहन गर्न सकिने खालका छन् । तर, अर्कै देश, काल, परिस्थितिमा जस्ताको तस्तै गर्दा अपत्यारिलो हुन्छ र छुट्दै जान्छ ।
यति धेरै विषयको सारसंक्षेप नै ‘नवदुर्गा’ हो । दुर्ग शब्दको अर्थ किल्ला हो । यो युद्धसँग सम्बन्धित विषय हो । सन्तानको सुख र सुरक्षाका लागि मातृशक्तिको भूमिकाको स्मणरसाथ गरिने उच्च सम्मान नै दुर्गापूजा हो । दुर्गा पूजाका क्रममा पूजाकर्ताले शारीरिक शुद्धिका लागि नङ् काट्ने, स्नान गर्ने, सफा लुगा लगाउने गरिन्छ भने मानसिक शुद्धिका लागि महामाताहरूका गाथाको स्मरण गरी ध्यान गरिन्छ । साथै, विशेष कार्यका रूपमा दिङ्न्यास, अङ्गन्यास, करन्यास गरिन्छ । न्यासको शाब्दिक अर्थ स्थापना गर्नु वा विश्वास गर्नु भन्ने लाग्दछ । दिङ्न्यासको तात्पर्य सही ठाउँमा रहने, अङ्गन्यासको तात्पर्य शरीरलाई स्वस्थ र सत्कर्ममा राख्नु, करन्यासको तात्पर्य हातले गर्नुपर्ने काम सही ढङ्गले गर्नु वा कार्य गर्नका लागि हातपाखरा सक्षम राख्नु, सक्षम भए नभएको ख्याल राख्नुभनिएको हो भन्ने बुझिन्छ । यसरी सही स्थान, स्वस्थ शरीर र कर्मशील हात पाखुरा नै जीवन सङ्घर्षमा सफलताका माध्यम हुन् । यस्ता गहकिला सन्दर्भ रहेको दशैँ पर्वलाई हामीले अझ परिष्कृत, अझ विश्वसनीय, अझ विज्ञानसम्मत व्यावहारिक बनाउनुपर्छ । मानिसका केही कर्मका कारणले उब्जेका नकारात्मक पक्षलाई टपक्क टिपेर सिङ्गो संस्कृतिप्रति वितृष्णा फैलाउने काम कसैबाट पनि हुनु हुँदैन ।
तर, शास्त्रीय सन्दर्भ तथा यिनीहरूका सारभूत प्रावधानहरू बारेको अज्ञान र बेवास्ताका कारण अहिले दसैँ सारहीन बन्दै गइरहेको छ । मानिसहरू आपूm सम्मानित हुन प्रतिस्पर्धा गरिहेका छन्, तर पुर्खा–मातृ पुर्खाहरूप्रति गरिने स्मरण र सम्मानलाई अज्ञान तथा अन्धविश्वासका रूपमा चित्रित गदैछन् । कुनै पनि काम–कुरा ‘जानेर गरे विज्ञान र नजानेर गर्दा अज्ञान र अन्धविश्वास हुन्छ’ भनेर बुझ्न आवश्यक छ ।
नेपाली समाजमा दशैँ भेटघाट, मेलमिलाप, घर–परिवारका ठूलाबडाहरूलाई सम्मान गर्ने र उहाँहरूका जीवनबारे बुझ्ने, महत्व दिने र उहाँहरूबाट आशीर्वाद–शुभकामना—प्रेरणा प्राप्त गर्ने महत्वपूर्ण अवसर हो । यो अवसर परिवारका आपूmभन्दा सानाहरूलाई आशीर्वादका रूपमा आफ्ना विगतका अनुभवहरूबाट उत्प्रेरित गर्ने अवसर हो र यो नियमित कर्तव्यको स्मरण पनि हो ।
यात्रा तथा खानपानमा विशेष ख्याल राख्नु, खाद्यान्नको दुरुपयोग रोक्नु, देशको अर्थतन्त्र र आप्mनो आर्थिक हैसियतको ख्याल गरेर खर्च गर्नु, आप्mनो समाज–समुदायका कमजोर वर्गका मानिसहरूलाई हीनताबोध हुने गरी देखावटी नगर्नु, सबैलाई नराम्रो हुने, अन्धविश्वास बढ्ने गरी र पछि आफैलाई पछुतो हुने गरी तडक भडक नगर्नु आदि दशैँमा ध्यान दिनैपर्ने पक्ष हुन् । समग्रमा दशैँ प्रकृति, प्रवृत्ति र संस्कृतिका लागि महत्वपूर्ण पर्व हो ।
नवरात्रिको नौ दिन दुर्गादेवीको पूजा आराधना गरिन्छ । यस अवसरमा दुुर्गासप्तशती चण्डी पाठ गरिन्छ । दुर्गादेवी भनेको कुनै एउटी देवी मात्र नभई नौ वटी देवीहरूको साझा एकत्र स्वरूप हो । नवदुर्गाको पूजामा पाठ गरिने दुर्गासप्तशतीको पाठको सुरूमा पढिने दुर्गाकवच (देव्याकवचम्) मा लेखिएको छ, ‘यं यं चिन्तयते कामम्, तं तं प्राप्नोति निश्चितम्’ अर्थात् मानिसले जे जस्तो चिन्तन, परिकल्पना र कामना गर्दछ, त्यही त्यही नै प्राप्त गर्दछ । यस अवसरमा सबैले सार्थक सोच, चिन्तन र व्यवहारमा ध्यान दिऔँ । यो पाठ किन गर्ने ? पाठ गर्नाले बिर्सिँदैन । विषयवस्तु सम्झिरहन पनि पाठ गर्नुको खास अर्थ हो ।
दशैँ रङ्ग रमाइलो, मेलमिलाप र खानपानसँग मात्र जोडिएको पर्व होइन, यद्यपि दशैँ मनाउने परम्परा कहिलेदेखि सुरू भएको भनेर भन्न सकिन्न, यो सनातनदेखि चलिआएको पर्व हो । दशैँमा युद्धको प्रसंग अर्थात् कथा छ । युद्धको कमाण्ड देवी अर्थात् महिला–मातृशक्तिले सम्हालेको कथा छ । मार्कण्डेय पुराण, देवीभागवत, दुर्गासप्तशती चण्डीमा यी कथाहरू छन् । माता–नारी शक्तिको विजयको यस पर्वलाई पछिल्लो समय राम–रावणको कथासँग जोडेर देवी–मातृ प्रधानताबाट देव–पुरुषप्रधानतातिर सर्लक्क मोडेको देखिन्छ र नवरात्रि–नवदुर्गा जोडिएको बडादशैँलाई अयोध्याले लङ्कामाथि विजय प्राप्त गरेको विजया दशमीका रूपमा मनाउनेहरू बढेका छन् । दशैँलाई विजया दशमी भन्नेहरू या त नबुझेका हुन् या त पितृप्रधानताका पक्षपोषक हुन् ।
‘बडादशैँ’ शब्दले नवदुर्गा, नवरात्रि, मातृशक्ति, मातृमहिमा वहन गरेको छ । लामो समय मनाइने पर्वको सार वहन गरेको छ । सङ्घर्ष र विजयको निरन्तरताको सन्दर्भ वहन गर्दछ । तर, विजया दशमीले रामले रावणमाथि, अयोध्याले लङ्कामाथि विजय प्राप्त गरेको एउटा सन्दर्भ मात्र जनाउँछ । राम–रावण युद्ध र जय–पराजयको कथाको कुनै अर्थ नै नभएको भन्ने होइन, यसको खास र विशिष्ट सन्दर्भ छ, तर दशैँको सन्दर्भ दुर्गाको नाममा संगठित शक्ति पुञ्जसँग सम्बन्धित विषय हो । मातृशक्तिसँग सम्बन्ध भएको यो बडादशैँ उहाँहरूकै सम्मानमा मनाउनु सान्दर्भिक ठहर्छ । (लेखक संस्कृति अध्येता तथा अभियन्ता हुन् ।)