परमात्मा परमेश्वर र उहाँको अस्तित्वको प्रश्न

मेचीकाली संवाददाता

२ भाद्र २०८१, आईतवार
354 shares

हेमन्त गौतम

यसभन्दा ठिक अघिल्लो लेखमा मैले श्री सूर्यनारायणज्यू कुनै एउटा धपधप गरी निरन्तर रुपमा बल्दो ग्यास वा अन्य अवस्थाको निर्जीव भौतिक पिण्ड अथवा भनौँ जड वस्तु नभई परम चैतन्य स्वरूप, सर्वशक्तिमान, सर्वज्ञ जस्ता तमाम अलौकिक गुण–धर्म वा विशेषताहरू र तदनुरुपका भूमिकायुक्त एकमात्र परम प्रभु परमात्मा परमेश्वर नै हुनुहुन्छ भनी सिद्ध गर्न आवश्यक पर्ने विभिन्न पूर्ण वैज्ञानिक तर्क, तथ्य र प्रमाणहरु बुँदागत रुपमा प्रस्तुत गर्ने क्रममा स्थानाभावले गर्दा केवल तीन (३) वटा बुँदाहरू मात्र प्रस्तुत गर्न सफल भएको थिए । अब बाँकि अंश यसरी निम्नानुसार पाठक महानुभावहरू सामु राख्न चाहन्छु ।

(४) यदि श्री सूर्यनारायणज्यू साँच्चै नै बल्दो ग्यासको निर्जीव भौतिक पिण्ड भए उहाँबाट प्राप्त प्रकाशशक्ति र एउटा बलिरहेको ग्यास वर्न वा ग्यास चुलोबाट निस्केको आगोको ज्वालाबाट प्राप्त प्रकाश शक्तिको प्रभावकारिता सहितका सबै विशेषताहरू एक समान हुनुपर्ने हो । तर त्यस्तो कदापि पाइँदैन । जस्तो कि दिनको समयको उज्यालोको सम्पूर्ण आधार उहाँ श्री सूर्य नारायणज्यू स्वयंबाट प्राप्त प्रकाशशक्ति नै हो र त्यसको एकमात्र स्रोत भनेको पनि, स्वतः स्पष्ट छ, स्वयं उहाँ श्री सूर्यनारायणज्यू नै हुनुहुन्छ । त्यसरी नै फेरि एउटा बलिरहेको ग्यास वर्न वा ग्यास चुलोबाट आउने प्रकाशको स्रोत तिनबाट निस्केको आगोको ज्वाला नै हो, अन्यथा छैन । किन्तु उक्त ग्यास वर्र्न वा ग्यास चुलोबाट दिन वा रातको समयमा प्राप्त हुने प्रकाशको स्रोत जुन तिनबाट निस्कने आगोको ज्वाला हो, त्यसलाई हामीले आफ्नो इच्छा र आवश्यकताअनुरुप लामो कालसम्म पनि निरन्तर रुपमा आफ्नो आँखाले हेर्न सक्दछौं जबकि दिनको उज्यालो दिने प्रकाशको स्रोत श्री सूर्यनारायणज्यूलाई दिनमा अक्कल–झुक्कल यसो झल्याक–झुलुक मात्र हेर्न सक्दछौं, ग्यास वर्न वा ग्यास चुलोबाट उत्पन्न आगोको ज्वालालाई जस्तै लामो कालसम्म निरन्तर रुपमा कदापि हेर्न सक्दैनौँ । यदि कहीँकतै जोर जबर्जस्ती रुपमा अलिक लामो कालसम्म हेरिहालेमा त्यसको नतिजा स्वरुप हाम्रो आँखाको दृष्टि क्षमतामा ठुलै ह्रास आउने मात्र होइन कि त्यो (दृष्टि क्षमता) पूरै समाप्त भएर जान पनि सक्दछ । त्यसैले प्रष्ट छ कि श्री सूर्यनारायणज्यूबाट प्राप्त हुने प्रकाशशक्ति र एउटा बलिरहेको ग्यास वर्न वा ग्यास चुलोबाट निस्कने आगोको ज्वालाबाट प्राप्त हुने प्रकाश शक्तिको विशेषताको बिचमा विद्यमान विशाल अन्तरले गर्दा नै उक्त प्रकारको शत प्रतिशत फरक नतिजा प्राप्त भएको हो र यसबाट यही प्रमाणित हुन्छ कि श्री सूर्यनारायणज्यू कुनै एउटा निरन्तर रुपमा आगो समान धपधप बलिरहेको ग्यासको निर्जीव भौतिक पिण्ड, जड वस्तु नभई उपर्युक्त परम अलौकिक विशेषतायुक्त प्रकाश शक्तिसमेतले भएका एकमात्र परम प्रभु परमात्मा परमेश्वर नै हुनुहुन्छ कुनै सन्देह छैन ।

हो, यसै सन्दर्भमा कसैकसैलाई यस्तो पनि लाग्न सक्दछ कि श्री सूर्यनारायणज्यू आयतन वा आकारमा अत्यन्त विशाल हुनु भएको तर एउटा ग्यास वर्न वा ग्यास चुलोबाट निस्कने आगोको ज्वाला जतिसुकै ठूलो भएतापनि उहाँको लेखा अतुलनीय रुपमा सानो भएका कारण उक्त प्रकारको नतिजा देखा परेको पो हो कि ? वास्तवमा त्यस्तो कदापि होइन । किनभने कुनै पनि प्रकाशशक्तिको स्रोत चाहे त्यो श्री सूर्यनारायणज्यू स्वयम् हुनुहोस् चाहे कुनै बलिरहको ग्यास वर्न वा ग्यास चुलोबाट निस्केको आगोको ज्वाला होस्, श्री सूर्यनारायणज्यूलाई समेत केही क्षणको लागि भए पनि निर्जीव भौतिक पिण्ड नै मान्दा उपर्युक्त कुनै पनि स्रोतबाट प्राप्त हुने प्रकाशशक्तिको कुनै स्थान, वस्तु वा व्यक्तिमा पर्ने कम वा बेसी (बढी) प्रभाव सो प्रकाशशक्तिको स्रोतको आयतन वा आकार र त्यस (स्रोत) को सम्बद्ध स्थान, वस्तु वा व्यक्तिसँगको दूरीमा निर्भर गर्दछ । उक्त स्रोतको आयतन वा आकार ठूलो भएमा त्यसबाट उत्पन्न हुने प्रकाशशक्तिको प्रभाव बढी हुन्छ भने सानो भएमा प्रभाव पनि स्वतः कम हुन्छ । त्यसरी नै फेरि दूरी बढी भएमा प्रभाव कम र दूरी कम भएमा प्रभाव बढी हुन्छ । जस्तो कि एउटा बलिरहेको ग्यास वर्न वा ग्यास चुलोबाट उत्पन्न आगोको ज्वालाको आयतन वा आकार ठूलो भएमा त्यसबाट आउने प्रकाशको प्रभाव पनि हामी अपेक्षाकृत बढी अनुभव गर्दछौं भने सानो भएमा कम । त्यस्तै फेरि त्यस आगोको ज्वाला र हाम्रो बिचको दूरी बढी भएमा त्यसबाट आउने प्रकाशशक्तिको प्रभाव अपेक्षाकृत कम र सो दूरी कम भएमा प्रभाव बढी अनुभव गर्दछौँ । तसर्थ श्री सूर्यनारायणज्यू दूरीका हिसाबले हामीबाट अत्यन्त टाढा रहनु भएको हुँदा उहाँको आयतन वा आकार जतिसुकै ठूलो भएतापनि देखाइमा उहाँ केवल एउटा ठूलो साइजको भकुण्डो जत्रो मात्र देखिनुहुन्छ भने र यदि उहाँ एउटा बल्दो ग्यासको निर्जीव भौतिक पिण्ड नै हो भने उक्त बमोजिम दूरी बढी भएका कारण उहाँबाट प्राप्त हुने प्रकाशशक्तिको हामीमा पर्ने प्रभाव पनि स्वतः कम हुने कुरा आउँछ नै जबकि हाम्रो सामु बलिरहेको ग्यास वर्न वा ग्यास चुलो सानो वा ठूलो जत्रो होस्, हाम्रो अति निकटमा हुँदा त्यसबाट प्राप्त हुने प्रकाशशक्तिको प्रभाव पनि हामीमा स्वत बढी पर्न जाने हुन्छ । फलस्वरूप श्री सूर्यनारायणज्यू र उक्त ग्यास वर्न वा ग्यास चुलोबाट निस्कने आगोको ज्वालाबाट प्राप्त हुने प्रकाशशक्तिको हाम्रो आँखामा पर्ने प्रभावमा खासै ठूलो अन्तर रहने प्रश्न नै आउँदैन । त्यस अवस्थामा यदि श्री सूर्यनारायणज्यू पनि उक्त ग्यास वर्र्न वा ग्यास चुलोबाट निस्कने आगोको ज्वाला समान बल्दो ग्यासको ज्वालायुक्त निर्जीव पिण्ड नै भए सो ग्यास वर्न वा ग्यास चुलोबाट निस्कने आगोको ज्वालालाई जस्तै उहाँलाई पनि हामीले आफ्नो इच्छा र आवश्यकता अनुरुप लामो कालसम्म निरन्तर रुपमा हेर्न सक्नुपर्ने होइन र ? अवश्य हो । तर हामी त्यस्तो, सर्वविदितै छ, कदापि पाउँदैनौं । हो, हामीले श्री सूर्यनारायणज्यूलाई यदि हेर्न चाह्यौ भने पनि यसो अक्कल–झुक्कल झल्याक–झुलुक मात्र हेर्न सक्दछौं, त्यसभन्दा बढी कदापि होइन जबकि ग्यास वर्न वा ग्यास चुलोबाट निस्केको आगोको ज्वालालाई हामी लगातार रुपमा धेरै बेरसम्म नै हेर्न सक्दछौं ।

अब थप अर्को पनि दृष्टान्त लिऊँ । कहिलेकाहीँ साना–ठूला घर वा भवनहरूमा, वनजङ्गलमा, त्यस्तै कोइला, पेट्रोल, ग्यास आदिका ठूलाठूला भण्डारणस्थलहरूमा आगलागी हुँदा त्यसबाट उत्पन्न हुने आगोको ठूलाठूला ज्वालालाई हामीहरु मध्येकै मानिसहरूबाट आवश्यकताअनुसार लामो कालसम्म पनि अविछिन्न रुपमा आफ्नो आँखाले हेरेरै सो आगो निभाउने काम गरिआएको वा गर्ने यथार्थ पनि प्रायः हामी सबैलाई ज्ञात नै छ भने यहाँ निर प्रश्न उठ्छ –उपर्युक्तबमोजिम दूरीका हिसाबले हामीबाट अति नै टाढा रहनुभएका कारण केवल एउटा ठूलो साइजको भकुण्डो जत्रो मात्र देखिनुहुने श्री सूर्यनारायणज्यू यदि साँच्चै नै एउटा बल्दो ग्यासको निर्जीव पिण्ड नै भए उहाँलाई पनि उपर्युक्त बमोजिम नै हाम्रो आँखाले लामो समयसम्म पनि लगातार रुपमा हेर्न सकिनु पर्ने हो, कतिकति बेला यसो अक्कल–झुक्कल झल्याक–झुलुक मात्र किन ?

सप्रकार माथिको सबै विश्लेषणबाट यही तथ्य नै परम सत्य प्रमाणित हुन जान्छ कि श्री सूर्यनारायणज्यू कुनै एउटा अभिछिन्न रुपमा धपधप बल्दो ग्यासको गोलाकार निर्जीव भौतिक पिण्ड कुनै पनि अवस्थामा नभई केवल एकमात्र परम चैतन्य स्वरूप परम प्रभु परमात्मा परमेश्वर नै हुनुहुन्छ र उहाँ भित्रैबाट आफसेआफ त्यस्तो अलौकिक विशेषता युक्त प्रकाशशक्ति समेत नित्य निरन्तर रुपमा उत्पन्न भइरहन्छ जसले गर्दा प्रभु उहाँलाई बलिरहेको कुनै निर्जीव भौतिक वस्तु–ग्यास वा अन्यबाट उत्पन्न आगोको ज्वाला चाहे त्यो आयतन वा आकारमा जतिसुकै ठूलो होस् वा सानो, त्यसलाई जस्तै उहाँलाई हाम्रो आँखाले लामो कालसम्म लगातार रुपमा हेर्न कदापि सकिँदैन, बरु केवल कति–कतिबेला अक्कल–झुक्कल झल्याक–झुलुक मात्र हेर्न सकिन्छ जसमा रन्चमात्र पनि कुनै शङ्का सन्देह गर्ने स्थान छैन । अरु बाँकी सबै आगामी लेखहरूबाट । अङ्क–५ (क्रमशः)

यस अघिका अङ्कहरु

अङ्क–४ प्रभु परमात्मा परमेश्वर र उहाँको अस्तित्वको प्रश्न
अङ्क–३ प्रभु परमात्मा परमेश्वर र उहाँको अस्तित्वको प्रश्न
अङ्क–२ प्रभु परमात्मा परमेश्वर र उहाँको अस्तित्वको प्रश्न
अङ्क–१ प्रभु परमात्मा परमेश्वर र उहाँको अस्तित्वको प्रश्न