शतबीज छर्ने दिन– व्यावहारिक दृष्टिकोण

मेचीकाली संवाददाता

१५ मंसिर २०८१, शनिबार
98 shares

घनश्याम कोइराला

आज मङ्सिर कृष्ण पक्षको चतुर्दशी तिथि हो । यस दिनलाई बाला चतुर्दशी भनिन्छ । यसै त सबै दिन, सबै तिथि महत्वपूर्ण छन् । हरेक दिन मानिसको जन्म भएको हुन्छ र हरेक दिन अनेकौँ मानिसहरूको मृत्यु पनि भइरहेको हुन्छ । जन्म दिन खुसीका कारण महत्वपूर्ण हुन्छ भने मृत्युको दिन दुःखद हुन्छ र स्मृतिमा रहन्छ । जन्म दिनमा उत्सव (जन्मोत्सव) मनाइन्छ, खुसियाली मनाइन्छ । मृत्यु दिवसमा स्मृति दिवस, श्राद्ध आदि गरिन्छ । सुखद वा दुःखद जे होस्, सम्झना दुवै दिनको गरिन्छ । रीतिरिवाज, परम्परा, तरिका भिन्नभिन्न भए पनि संसारका सबै भागमा यी दुवै दिनको सम्झना गरिन्छ । भिन्नभिन्न आर्थिक अवस्थाका कारण यी दिनहरू मनाउने सन्दर्भमा भिन्नता अवश्य नै रहेको हुन्छ ।

मृत्यु भएका आफन्तजनको सम्झनामा गरिने कर्म जाति, धर्म, संस्कृति र भूगोलअनुसार भिन्नभिन्न तरिकाले गरिएको पाइन्छ । तर, आफन्तको मृत्यु नै नसम्झने जाति, धर्म समुदाय होला जस्तो लाग्दैन । पात्रोमा बालाचतुर्दशीको उल्लेख हुनाले यसबारे धेरैलाई थाहा छ । बाला चतुर्दशी नेपालमा मानाइने एक परम्परागत पर्व हो । यस दिनमा मन्दिरहरू तथा मन्दिरका छेउछाउ, पवित्र मानिने नदीका छेउछाउ, पवित्र मानिएका वन आदिमा सतबीज (सतबीउ) छर्ने प्रचलन रहिआएको छ । वैदिक सनातन धर्म संस्कृतिका अनुयायीहरूले यो पर्व श्रद्धाभक्तिपूर्वक मनाउने गरेको पाइन्छ ।

यस पर्वको नाम तिथिसँग जोडेर बाला चतुर्दशी भनिएको छ । यस विषयमा एउटा जनश्रुति रहेको छ । जनश्रुतिअनुसार, ‘बालासुरको मित बृषसिंहमार्फत उसलाई मार्न लगाएको अर्को आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई सतबीज छर्ने आज्ञा दिएकाले मङ्सिर कृष्ण पक्षको चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि सतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनिएको र शतबीज छर्ने गरिएको’ भन्ने उल्लेख गरिएको पाइन्छ ।

यस सम्बन्धमा धार्मिक आख्यान पनि पाइन्छ । तर, यहाँ ती विषयको चर्चा गरिँदैन । यहाँ यस दिन गरिने कर्मबारे केही व्यावहारिक पक्ष प्रस्तुत गर्ने जमर्को गरिएको छ । सबैभन्दा यसमा प्रयुक्त शब्दबारे जानकारी लिऊँ । यसलाई शतबीज रोपण, सद्बीज रोपण भन्ने दुई वटा मूल शब्दले सम्बोधन गरिएको छ । ‘शत’ संस्कृत शब्द हो । यस शब्दको अर्थ हो–सय । ‘बीज’ भनेको बीउ हो । ‘शत’ र ‘बीज’ दुवैलाई जोडेर भन्नुपर्दा ‘सय बीउ’ हुन्छ र रोपण भनेको रोप्नु हो, यसलाई छर्ने भनेर पनि बुझ्न सकिन्छ । यस अर्थमा सयौँथरि बीउ छर्ने वा रोप्ने भन्ने बुझिन्छ । अर्को शब्द हो, ‘सद्बीज ।’ ‘सत्(सद्)’ भनेको असल र ‘बीज’ भनेको बीउ अर्थात् असल बीउ । यसरी अथ्र्याउँदा यसलाई असल–राम्रो बीउ छर्ने दिनका रूपमा लिन सकिन्छ ।

शास्त्रीय मान्यताअनुसार यो पर्व पितृहरूको उद्धारका लागि पितृहरूकै सम्झनामा मनाइन्छ । परम्परागत प्रचलनअनुसार मङ्सिर कृष्ण पक्षको त्रयोदशीको साँझमा पवित्र देवस्थल, पवित्र नदी सङ्गम, नदी किनारमा पितृका नाममा बत्ती बालेर त्यसै ठाउँमा राति जाग्राम बसी भोलिपल्ट चतुर्दशीको दिन शतबीज–सदेबीज छर्ने (रोपण) गरिन्छ । यसो गर्नाले पितृहरूको उद्धार हुन्छ भन्ने जनविश्वास रहिआएको पाइन्छ । मृगस्थली–श्लेषमान्तक वनसँगै रहेको हुनाले र बागमती नदीको किनार भएको हुनाले अन्यत्रभन्दा काठमाडौँको पशुपतिनाथ मन्दिर छेउछाउमा गरिने शतबीज–सद्बीज छर्नुको महिमा ठुलो हुने मानिन्छ ।

नेपालभरिका मानिसहरू आफ्नो पितृहरूको उद्धार गर्ने उद्देश्यले पशुपतिनाथ मन्दिर आइपुगेका हुन्छन् ।
शतबीज–सद्बीजमा मूलतः केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फलका साथै धान, जौ, गहुँ, चना, तिल, कागुनो र मकैलाई मात्र लिइने गरेको पाइन्छ । यी वस्तुहरूका साथै विभिन्न किसिमका फूलहरू पनि मिसाउने गरिएको पाइन्छ । विभिन्न आलेखहरूका अनुसार ‘भगवान् शिव मृगरूप लिएर जहाँजहाँ घुम्नुभयो, त्यस पुण्य क्षेत्रमा बाला चतुर्दशीका दिन एक गेडा बीज छर्दा त्यत्तिकै परिमाणमा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने विश्वास गरिन्छ । बागमती किनारको मृगस्थलीमा भगवान् शिवले मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई तिनै शिवरूपी मृगलाई चिन्नका लागि पार्वतीले विभिन्न किसिमका बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा उक्त बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको’ भन्ने भनाइरहेको पाइन्छ ।

यी सबै धार्मिक आस्था, मान्यता र पितृप्रतिको श्रद्धाका विषय हुन् । यसलाई व्यावहारिक दृष्टिले हेर्दा भिन्न पक्ष पनि सान्दर्भिक छन् । हामीले प्रत्यक्षतः देवता, अतिथि, पशुप्राणी, चराचुरुङ्गीहरूलाई अन्नपानी दिने गरिन्छ । राज्यका लागि राजस्व पनि दिइन्छ । अन्तर्राष्ट्रिय दायित्वका लागि संयुक्त राष्ट्रसंघलाई लेबी आदि बुझाइन्छ । अन्य अज्ञातहरू प्रतिको दायित्वका लागि असल अन्न, सयौँथरि अन्न समर्पण गरिएको हुन सक्दछ ।

हाम्रा वनजङ्गलमा यसरी छरिएका अन्न, फलफूल बीउका रूपमा छरिने र ती उम्रने फुल्ने फल्ने र बीउ नमासिने हुन्छ, मौलिक बीउहरूको संरक्षण हुन्छ । यसबाट कुनै एक ठाउँको अन्न र फलफूलको बीउ अर्को ठाउँमा विस्तार हुन सक्दछ । अहिले हाम्रो प्रकृतिमा रहेका विभिन्न प्रजातिका वृक्ष वनस्पतिको यो एउटा महत्वपूर्ण कारण हुन सक्दछ ।

हाम्रो सनातन संस्कृतिमा यस्ता अनेकौँ विषय परम्पराका रूपमा रहेको छ । यस्ता विषयका जानकारी नभएका हुनाले कतिले यसलाई वाहियात र अन्धविश्वासको विषय मान्दछन् । पुर्खाले चलाएका यस्ता चलनचल्तीको वैज्ञानिक पक्षहरूबारे खोजीनिती गर्न आवश्यक छ । अब सिमेन्टले बनाएका परिसरमा छरिएका अन्नले सद्बीजको भूमिका निर्वाह गर्न सक्दैन । अब धार्मिक आस्था र यसको सारको सम्मान र संरक्षण गर्दै यति धेरै अन्न तथा फलपूmलको दुरुपयोग गरिनु हुँदैन, यसको उचित विकल्प खोज्नु पर्दछ । प्रायः देवस्थलहरूमा सद्बीज छरेपछि ती वस्तुहरू कुहिएर सरसफाइमा समस्या परेको पनि देखिन्छ । अब देवस्थल–धार्मिक क्षेत्रहरूलाई सुग्घर सफा राख्नका लागि उचित व्यवस्था गर्न आवश्यक छ । अहिले नदीजल प्रदूषणमा मूलतः आजापूजामा अर्पण गरिएका वस्तुहरू मुख्य कारण बनेको देखिन्छ । तर, सहरका घरका ढल, उद्योगका प्रदूषित पानी, विभिन्न उद्योगका तथा पशुपङ्क्षी पालनका फोहरहरूले पनि पानी प्रदूषित भइरहेको तथ्य बिर्सनु हुँदैन ।

आजको विशेष दिनमा छर्ने, रोपण गर्ने वस्तुहरू पितृ—देवताका नाममा सङ्कल्प गरेर शिक्षा, सार्वजनिक विकास, धार्मिक स्थानहरूको विकास तथा व्यवस्थापन, नदीजल प्रणालीको सरसफाइमा लगाउन सकिन्छ । यसको आम्दानीलाई आध्यात्मिक चेतना अभिवृद्धि, योग केन्द्र आदि निर्माण तथा व्यवस्थापनमा लगाउन सकिन्छ ।

मन्दिर, पवित्र नदी तटका वृक्ष वनस्पति रहेको खास सीमित क्षेत्रमा मात्र सद्बीज छरेर (रोपण गरेर) ती बीजलाई उमारेर उचित उपयोगमा ल्याउन पनि सकिन्छ । हाम्रा पुर्खाले धर्मको स्थिति बसाल्दा मानिसहरूको ख्याल गरेर, प्रकृति र पशुप्राणीहरूको ख्याल गरेर नै बसाल्नुभएको हो भन्ने कुराको हेक्का राख्नु पर्दछ र यसलाई अन्धविश्वास होइन, बरु सबैले बुझ्न नसकेको–बुझ्न बाँकी रहेको वा बुझ्नेतिर ध्यान दिनुभन्दा परम्परा पछ्याउँदै जाँदा यथार्थ जानकारी नभएको हो भन्ने पुष्टि गर्न आवश्यक छ ।

पुर्खाका सबै कुरा आज जस्ताको तस्तै लागू गर्न असम्भव होला, त्यसो आवश्यक पनि नहोला, जतिबेला यस्ता क्रियाकलापहरू प्रारम्भ गरियो, त्यतिबेलाको मानव चेतनासापेक्ष र औचित्यपूर्ण थियो भन्ने कुरा बिर्सनुहुँदैन । कुनै पनि कुरा जानेर गरे विज्ञान र नजानी गरे अन्धविश्वास हुन्छ । सद्बीज छर्ने–शतबीज रोपणलाई पनि त्यसरी नै बुझ्न र गर्न आवश्यक छ । (लेखक संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)