विदेश जानैपर्ने बाध्यता कहिलेसम्म ?

मेचीकाली संवाददाता

२८ श्रावण २०८२, मंगलवार
7 shares

शिक्षाका नाममा होस् कि रोजगारीका नाम होस् विदेश जानेको संख्या दिनहुँ बढिरहेको छ । यो कुनैपनि विकासशील मुलुकका लागि चिन्ताको विषय हो । यसतर्फ राज्यका सञ्चालकहरुले गम्भीर ध्यान दिन जरुरी छ । विदेशमा सिकेको सिपको सदुपयोग गर्दै देश निर्माणमा जुट्ने वातावरण तयार पार्नुपर्ने छ । त्यसका लागि राज्यले विशेष नीति बनाओस् । आजका युवाहरु दिगो विश्व निर्माणमा लाग्नुपर्ने अवस्था आइरहेको यस वर्षको नाराले पनि प्रमाणित गर्न खोजिरहेको छ । तर दुर्भाग्य हामी नेपाली युवाहरुले न त जीवन उपयोगी सिप नै सिक्न सक्यौं, न त प्राविधिक तथा व्यवसायिक सीप नै लिन सक्यौँ, नत जानेको सिपअनुसारको काम नै पाउन सकेको अवस्था छ ।

राज्यले बेलैमा योजना बनाएर कार्यान्वयन गर्न ढिलाई गरिरहेको छ । विदेश जाने कुरालाई बाध्यताको होइन, स्वेच्छिक बनाउनेतर्फ ध्यान दिन सकिरहेको छैन । युवाहरुको विदेश पलायनले हाम्रो भविष्य अन्यौलग्रस्त बनाइहेको छ । युवालाई स्वदेशमै कुनै न कुनै कामको सुनिश्चितता गर्न सकेको भए, कुनै न कुनै सिप सिकाएर सिपअनुसारको कामको प्रबन्ध गरेका भए पक्कै पनि विदेशिनेको संख्या यसरी अस्वभाविक रुपमा बढ्ने थिएन । विदेश जाने युवाको संख्या दिनानुदिन बढ्दै जाँदा त्यसले भोलिको नेपालको भविष्य के होला ? युवासंगै विदेशिएको अर्बौं रुपैयाँ पुँजीका बारेमा पनि सोच्ने कि ? अहिले कक्षा १२ पास गरेपछि विदेश जाने लहड र लहर चलेको छ ।

हिजोको हिंसात्मक द्वन्द्व, चरम अभाव र बेरोजगारी, अस्वभाविक महँगी र कालाबजारी जस्ता कारणले गर्दा युवा पुस्तामा निराशा छ । अहिले त प्रदेश तहमा देखिएका बेथिति, विसंगति र अनियमितताले एक प्रकारको आक्रोस बढाएको छ । नयाँ भनाउँदो शक्तिले पनि अरुलाई एकोहोरो गाली गरेर आफूलाई चोखो देखाउने कोसिस गरिरहेको यो समयमा युवा पुस्तामा सचेतनाको खाँचो छ । निराशालाई आशामा बदल्ने कार्यक्रमको खाँचो छ ।

गाउँहरु भग्नावेशमा परिणत भइरहेका छन् । एकातिर ज्येष्ठ नागरिक मात्रै छन् भने अर्कोतिर जंगली जनावरका कारण खेतीपाती लाउनेहरु पनि मारमा छन् । घरभित्रै बाँदर पसेर अन्नपात खाइदिन्छ । अनेकौं समस्यामा जेलिएका छन् बस्ती । सहर पनि सहर जस्तो छैन । गाउँबाट सहरमा भविष्य देखेर आएकाहरु अभाव र पीडाले थलिएका छन् । बरु देशै छाडेर जानपाए हुन्थ्यो भन्ने उनीहरुलाई भइरहेको छ । उकुसमुकुस, अभाव, महँगी, संक्रामक रोग, बाढी, खडेरी, भोकमारी, बेरोजगारीका चरम समस्याले आक्रान्त जीवनमा हरेकले परिवर्तन खोजिरहेको छ ।