

समकालीन विश्वमा राजनीतिप्रति वितृष्णा र बेवास्ता बढिरहेको देखिन्छ । नेपालमा पनि राजनीतिक अस्थिरताका कारणले वितृष्णा र निराशा बढाएको छ । स्थायीत्वको चाहना गर्दै दिएको जनादेशलाई परमादेशले लत्याएका बेलादेखि नेपाली राजनीति अस्थिरतामा रुमल्लिइरहेको छ । त्यसबेला मध्यावधि भइदिएको भए सायद देशले यतिबेला निकास पाउने थियो । अनेक नामका उपद्रव र अराजकता यसरी हावी हुँदैनथे । अहिलेको आवश्यकता भनेको राजनीतिलाई समाजसेवाको असल माध्यम बनाउनु नै हो र लोकतन्त्रलाई थप सुदृढ तुल्याउनु हो ।
राजनीति फोहोरी हुँदै होइन बरु राजनीतिलाई विकृत बनाउने भनेको फोहोरी हातहरूले हो भन्ने कुरालाई बुझाउनुपर्ने छ । राजनीतिमा भ्रष्टतातर्फको अग्रसरता फोहोरमा फस्नु हो । राजनीतिका नाममा अपराध गर्ने, अपराध गर्नेलाई राजनीतिक पहुँचकै आधारमा संरक्षण र उन्मुक्ति दिलाउन खोज्ने जस्ता आपराधिक प्रवृत्तिले पनि आम नागरिक निराश छन् । कानुनले दोषी ठहर गरेका, अनेकौं प्रमाणले पनि दोषी नै मानेका व्यक्तिले कानुनी रुपमा जवाफदेही हुँदा कोकोहोलो मच्याउने काम भइरहेको छ । कसूरअनुसारको कानुनी सजायँ हुनु पूर्वाग्रह होइन । नयाँका नाममा एकोहोरो अरुलाई गाली गरेर, सबैलाई गलत देखेर के कुरा सावित गर्न खोजेको हो ?
निष्ठाको राजनीतिलाई बढावा दिनासाथ, घमण्डलाई त्यागेर यथार्थताको धरातलमा उभिएर देश र जनतालाई माथि राखेर राजनीति गर्दा भने निराशालाई आशामा बदल्न सकिन्छ । राजनीतिज्ञ, नेता तथा कार्यकर्ताहरू इमान्दार हुँदैनन् भन्ने आरोप सबैमा लागू हुँदैन । सबै खराब हुँदैनन र सबै सही पनि हुने कुरै भएन । राजनीति समाज सेवाको एउटा प्रभावकारी र महत्वपूर्ण माध्यम हो भन्ने ठानेर समर्पितहरुलाई अरु खराबको तुलनामा राख्नु गलत हुन्छ । कतिपयले राजनीतिलाई पेशा व्यावसाय बनाएका छन् त कतिपयले बन्दव्यापार जोगाउन नै राजनीति गरिरहेको वा राजनीतिज्ञलाई आर्थिक साथ दिने गरेको देखिन्छ र सुनिन्छ । यस्ता प्रवृत्तिले मुलुकको हित गर्दैन ।
आपराधिक र गलत प्रवृत्तिका लाई राजनीतिबाट पाखा लगाउनुपर्छ । पाखा लगाउने माध्यम भनेको चुनाव नै हो । यदि, जनताले मुलुकको हित र समृद्धिका लागि कसले सही विचार र नीति लिएर काम गरेको छ भन्ने कुरामा विवेक पुराउने हो भने बदमासहरु चुनावमा उठ्ने हिम्मत नै गर्दैनन् । राजनीतिलाई समाजसेवाको पवित्र माध्यम बनाउने दायित्व बुझेकालाई नै चुन्नुपर्ने छ । लोकतन्त्रमा राजनीति दलहरू नै बहुदल र बहुलवादका सुन्दर र सुदृढ पहरेदार भएकाले दलहरूले आफूलाई पवित्र र इमानदार लक्ष्यमा हरदम केन्द्रित हुनुपर्छ । आमजनतामा राजनीतिप्रति आकर्षण बढाउनेतर्फ लाग्नुपर्नेछ ।