हरेक प्रकारका बेथितिको अन्त्य होस्

मेचीकाली संवाददाता

३१ भाद्र २०७८, बिहीबार
809 shares

अनेक नाममा हुने बेथिति र अनियमितताको अन्त्य नभएसम्म जनतामा परिवर्तनको अनुभूति हुन सक्तैन । देशमा सुशासन स्थापना गर्ने प्रयास सार्थक नहुँदासम्म समृद्धि हासिल गर्न पनि सकिँदैन । एउटा पक्षमा मात्र सुधार गरेर सुशासन कायम हुन सक्दैन । मुलुकमा सुशासन कायम हुन राजनीति, प्रशासन, निजी क्षेत्र, नागरिक सबैमा सुधार हुन जरुरी छ । राजनीति सुध्रिएन भने, प्रशासन सेवामुखी भएन भने, कर्पोरेट क्षेत्रले आफ्नो कर्तव्य पूरा गर्न सकेन भने र नागरिक समाजले आफ्नो भूमिका निर्वाह सकेन भने सुशासन नारामा सीमित हुन पुग्छ । सबैभन्दा महत्वपूर्ण कुरा आत्मानुशासन हो ।

स्थायी सत्ताका रुपमा रहेको कर्मचारीतन्त्रलाई सुधार गरेर सेवाग्राहीमैत्री बनाउन जरुरीछ । यस्तै सरकार र सरोकारवाला निकाय सबैमा अनुशासन कायम हुनुपर्ने छ । सुशासनका लागि विधिको शासन चाहिन्छ । राजनीतिक अस्थिरता र दण्डहीनता कायम रहेमा सुशासनको अनुभूति हुँदैन । दक्षिण एशियाली मुलुकहरूसँग तुलना गर्ने हो भने पनि पारदर्शिता र जवाफदेहिताका सवालमा हामी एकदम कमजोर छौं । हामीले सुशासन कायम गर्न नसकेसम्म परिवर्तनको पनि असली अनुभूति हुँदैन ।

सरकारले देखेको समृद्ध नेपाल र खुसी नेपालीको सपना साकार गर्न सुशासन अपरिहार्य साधन हो । त्यसैले सुशासनलाई समृद्धि, दिगो शान्ति र विकासका लागि प्रस्थान विन्दु मानेर अघि बढ्दा अन्ततः स्थापित सुशासित व्यवस्थामा पुगिनेछ । विडम्बना राजनीतिक अस्थिरता निम्त्याउने र त्यसैका आधारमा स्वार्थ पूरा गर्न खोज्ने कोसिस भइरहेको छ । स्थायीत्वमार्फत समृद्धि हासिल गर्ने कुरालाई नारामै सिमित बनाइने हो कि भन्ने आशंक पनि उत्पन्न भएका छन् । अराजनीतिक तरिकाले सरकार ढाल्ने र गठबन्धन गरेर अर्को सरकार बनाउने, अल्पमतको सत्तापक्ष हुने र बहुमतको प्रतिपक्ष हुने जस्ता कैयन् विषयहरुले अस्थिरतालाई मलजल गरिरहेका छन् । यसप्रकारको प्रवृत्तिको अन्त्य हुन जरुरी छ ।

एउटा साधारण नागरिक पनि गर्भदेखि मृत्युपर्यन्त राज्यको शासन प्रणालीसँग र सार्वजनिक सेवा प्रवाहसँग जोडिन पुग्छ । त्यसैले राज्य सबै नागरिकको अभिभावक हो । राज्यको उद्देश्य र जिम्मेवारी सरकारको माध्यमबाट सम्पादन गरिन्छ । सरकारले राजनीतिक आश्थाका भरमा विभेद गरेर होइन सुशासनका लागि नेतृत्व र पे्ररणदायी भूमिका निर्वाह गरेर जनताको मन जित्नुपर्ने छ । भागबण्डा पु¥याउन, नातेदारलाई अवसर सिर्जना गर्न होइन सामान्य निमुखा नागरिकलाई हेरेर योजना बनाउनुपर्ने छ ।