डा.एम.एल शर्मा
मानव सभ्यताको सुरूवातसँगै जीवनलाई सहज बनाउन विज्ञान र प्रविधिको प्रयोग हुँदै आएको छ । विज्ञानको चेतसँगै दैनिक जीवनलाई सजिलो बनाउन प्रविधिको विकास हुँदै जान्छ र आवश्यकताअनुसार प्रविधिमा स्थानविशेष, हावा पानी, स्रोत साधनको उपलब्धतासँगै नवप्रवर्तनको खाँजो पर्दै जान्छ । नवप्रवर्तनमार्फत उपलब्ध प्रविधिलाई सर्वसुलभ बनाउन सकिन्छ र विकास निर्माणलाई आम जनताको श्रीवृद्धिमा प्रयोग गर्दा राष्ट्र सम्मृद्धिको यात्रामा अगाडि बढ्छ । विज्ञान र प्रविधिमा देश तथा समाजको आवश्यकताअनुसार नवप्रवर्तनले सदैव नयाँ कुराको माग गरिरहेको हुन्छ किनभने देश, समाज र व्यक्तिका आवश्यकताहरू फरक–फरक प्रकृतिका हुन सक्छन् । समकालीन विश्वमा विभिन्न देशहरूले विज्ञान र प्रविधिको प्रयोगमा चामत्कारिक उपलब्धि हासिल गरेका छन् र विकासमा उल्लेख्य प्रगति गरेका छन् । हाल विज्ञान र प्रविधिको क्षेत्रमा नयाँनयाँ विकाससँगै प्राज्ञिक क्षेत्रमा विज्ञान, प्रविधि र नवप्रर्वतनको विषयमा खुलेर छलफल सुरु भएको छ, यसलाई सुखद सङ्केतका रूपमा लिन सकिन्छ ।
नेपालमा विज्ञान र प्रविधिको अध्ययन अध्यापन गराई जग बसाली योगदान पु¥याएको ‘पब्लिक साइन्स कलेज’ को स्थापना २०१३ साल असोज १ गते भएको थियो । नेपाल सरकारले २०७० सालबाट हरेक वर्ष असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउँदै आइरहेको छ । विज्ञान, प्रविधि र नवप्रवर्तनलाई उचित प्रयोग गरेर कुनै पनि राष्ट्रको उन्नति हुन सक्छ भन्ने बुझाइबाट यसको महत्वलाई दिवसको रूपमा मनाउन थालिएको हो । नेपाली समाज र सभ्यतामा अनेकौं प्रकारका प्रविधिहरू प्रयोग गरिएका छन् । विज्ञान र प्रविधिलाई कसरी प्रयोग गरिएको रहेछ र पुर्खाहरूले कसरी अगाडि बढाएका रहेछन् भन्ने कुराको खोजिनीति हुनु अहिलेको आवश्यकता हो । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको बेला थुप्रै सिल्पीहरूको ज्ञान र प्रविधिलाई अपनाएको सन्दर्भ एकातिर छँदै छ भने राणा परिवारमा जन्मिएर विज्ञान, प्रविधि र नवप्रवर्तनमा गेहेन्द्र शमसेर राणाको विशेष भूमिका छ भने मुसे थापालगायतका अनुसन्धानताले परम्परागत प्रविधिको संरक्षण गर्दै आधुनिक विज्ञानको उपयोगमा कार्यसम्पादन गरेको पाइन्छ । विज्ञान दिवसको अवसरमा देशको समग्र विकासमा विज्ञान–प्रविधिको महत्वलाई नीति निर्माणको तहमा पु¥याउन विशेष पहल गर्दै युवा प्रतिभाहरूलाई आकर्षित गर्ने खालका विशेष कार्यक्रम ल्याउन पहल गर्नु अनिवार्य छ ।
विज्ञान र प्रविधिले सामान्य जनमानसको कार्यसम्पादनमा सहजता ल्याउन सक्नुपर्छ । आम जनमानसमा रहेको परम्परागत ज्ञान, सिपलाई परिस्कृत गर्ने खालको हुनुपर्छ जसबाट स्थानीय स्तरमा उपलब्ध संसाधनको उचित उपयोगबाट दैनिक जीवनमा सकारात्मक रूपान्तरण ल्याउन सकियोस् । देशको विभिन्न भागमा उपलब्ध प्राकृतिक सम्पदा, स्थानीय ज्ञान र सिपबाट सञ्चालन हुन सक्ने स–साना उद्योगहरूको विकासमा राज्यले टेवा दिने नीति तथा कार्यक्रम यदाकदा ल्याएको भए पनि व्यवहारमा लागू हुन सकेको छैन । यस्ता कार्यका लागि सरकारले संरक्षक तथा अभिभावकको भूमिका खेल्न आवश्यक छ । देशको भौगोलिक विशिष्टतालाई बुझेर, त्यहाँको स्रोतसाधनमा आधारित उद्योग तथा कल कारखाना खोलेर रोजगारीको वृद्धि गर्दै आत्मनिर्भर देश बनाउने हिसाबले नीतिहरू अवलम्बन गर्नुपर्छ, अनि मात्र युवा पलायनलाई रोक्न सकिएला । विज्ञान प्रविधि दैनिकीसित जोडिँदै राष्ट्र निर्माणमा भूमिका खेल्न तहमा पुग्नुपर्छ ।
देशको हरेक भूगोलको आफ्नै विशेष महत्व हुन्छ र विकास भनेको एकीकृत प्रयास हो । तराई क्षेत्रको आफ्नै महत्व छ भने पहाडी र हिमाली क्षेत्रको पनि त्यस्तै विशेष भूमिका र महत्व छ । विविधतासँगै हावापानीमा पनि भिन्नता हुन्छ र भूगोलको विविधताअनुसार उत्पादन गरिने वस्तुहरू फरक हुनु स्वाभाविक हो । जुन कुरा हिमाली तथा उच्च पहाडी भूभागमा उत्पादन हुन सक्छ वा हुन्छ, त्यही कुरा मध्य पहाडी क्षेत्रमा नुहुन पनि सक्छ । आधुनिक विज्ञान र प्रविधिको प्रयोगसँगै पारम्परिक ज्ञान र प्रविधिलाई पनि सुधार्दै अघि बढ्ने हो भने उत्पादनमा वृद्धि भई समृद्ध नेपाल बन्न सक्छ । हामीले एक ठाउँको उत्पादन र उपयोगिता अर्को ठाउँका जनतासम्म पु¥याउन नसक्नु नै विकासमा पछाडि पर्नुको मुख्य कारण हो ।
आफू जन्मिएको र हुर्किएको देश तथा गाउँ समाजलाई विश्वको जुनसुकै कुनामा पुगे पनि मानिसले कहिल्यै बिर्सन सक्दैन, यो मानवीय स्वभाव हो । जीवनमा केही हासिल गरेपछि आफ्नो देश र जनतालाई फाइदा पु¥याउने उद्देश्यले जो कोहीले विभिन्न तरिकाले सहयोग गर्न चाहन्छ र सक्छ । आफ्नो जीवनलाई अर्थपूर्ण बनाउन सबैले योगदान गर्न चाहन्छन् । विदेशमा अध्ययन र अनुसन्धान गरेर नाम र दाम कमाएका व्यक्तिहरू नेपालमा फर्किएर काम गरिरहेका र गर्न चाहिरहेका धेरै उदाहरणहरू छन्, तर सरकारबाट उचित वातावरण र प्रोत्साहन नपाउँदा राष्ट्रले अवसर गुमाइरहेको महसुस गर्न सकिन्छ ।
अनुसन्धानमा नाम कमाएका वैज्ञानिकहरू आफ्नो देशमा केही गर्न चाहेर फर्किएका छन् तर राज्यले यसबारे सोचिरहेको पाइँदैन । वैज्ञानिक अनुसन्धान गरेर राष्ट्रको समृद्धिमा योगदान पु¥याउन खोलिएका संस्थाहरू र विश्वविद्यालयहरूलाई आवश्यक दक्ष व्यक्तिहरूलाई स्थान दिन सरकार र सम्बद्ध निकायको कुनै योजना छैन । विज्ञान र प्रविधिको क्षेत्रमा देशभित्रका विभिन्न प्राज्ञिक संघसंस्था, सरकारी निकाय, गैरसरकारी संघसंस्थामा कार्यरत देशबाहिर रहेका जनशक्तिलाई एक आपसमा सहकार्य गर्ने वातावरण मिलाई दिन पनि अति नै जरुरी छ । यो काम नीतिगत रूपमा सरकारी स्तरबाट मात्रै सम्भव हुन सक्दछ । अनि मात्र विज्ञान र प्रविधिबाट हासिल गर्न सकिने उपलब्धिलाई जनसमक्ष पु¥याउन सकिन्छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) विज्ञान तथा प्रविधिको विकासका लागि स्थापना गरिएको मुख्य निकाय हो । त्यसैगरी नीति अनुसन्धान प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र त्रिभुवन विश्वविद्यालयको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र, रिकास्ट, नेपाल सरकारको वनस्पती विभागअन्तर्गतको अनुसन्धान प्रयोगशाला तथा विभिन्न निकायहरूको प्रयोगशालाहरू छन् । नास्टलाई सबल संस्थाको रूपमा विकास गर्न पहल लिनुपर्छ । नास्ट तथा विश्वविद्यालयहरूले विदेशमा रहेका वैज्ञानिक, अनुसन्धानविदहरूलाई देशभित्र बोलाउन विशेष कार्यक्रम ल्याउनुपर्छ । खासमा नेपालको हावापानी सुहाउँदो, स्थानीय आवश्यकताबमोजिमको अन्ुसन्धान र प्रविधि विकास मुख्य कुरा हो । यी राज्य पोषित निकायहरूले जनताले अपनत्व ग्र्रहण गर्ने कार्य गर्न सकेका छन कि छ्रैनन भनेर विचार गर्न आवश्यक छ ।
खासगरी नेपालको पछिल्लो समयदेखि सूचना प्रविधि क्षेत्रमा आशालाग्दो रूपमा विकास भएको छ । तर नेपालमा जति फाइदा लिनुपर्ने हो त्यो हुन सकेको छैन किनभने हाल प्रविधिलाई अधिकांश रूपमा मनोरञ्जनको माध्यमको रूपमा मात्र प्रयोग गरिरहेका छौँ । यसरी प्रविधिलाई कृषि, स्वास्थ्य जस्ता विभिन्न क्षेत्रमा अत्यधिक प्रयोग गरी ग्रामीण क्षेत्रमा त्यसबाट सेवा पु¥याउन सकियो भने मात्र केही उपलब्धि हासिल गर्न सकिएला । यसैगरी स्वास्थ्यको क्षेत्रमा पनि सूचना प्रविधिलाई प्रयोग गर्न सम्भव छ । कोरोना कालमा देशमा विद्यालय, महाविद्यालयदेखि विश्वविद्यालयसम्मका कक्षाहरू सूचना प्रविधिको प्रयोग गरेर सञ्चालन गर्न सफल भएका छन् । अप्ठ्यारो समयमा शिक्षाको गतिलाई अवरूद्ध हुनबाट बचाउन धेरै हदसम्म सूचना प्रविधिले महत्वपूर्ण भूमिका खेलेको छ । यस हिसाबले सूचना प्रविधिको विकास र पहुँच सन्तोषजनक ढङ्गले अगाडि बढिरहेको भत्र सकिन्छ ।
कुनै पनि देशको विकास हुन त्यहाँका जनताहरू आफैं जाग्नुपर्ने हुन्छ । जनताहरू आफैँ जागे भने देशको विकास हुन कठिनाइ हुँदैन । यति मात्र कि सरकारको सही योजना निर्माण अति आवश्यक हुन्छ । हाल नेपाली अधिकांश युवा विदेश गइरहेका छन् त्यस्तो जनशक्तिलाई नेपालमा काम गर्न सक्ने वातावरण सरकारले बनाउनुपर्छ र अधिकतम मानव संसाधनको प्रयोग गर्नुपर्छ । साथै हाम्रो देशको पारम्परिक पद्धति तथा प्रविधिलाई बढावा दिनलाई र प्रविधिको अधिकतम प्रयोग गर्नतर्फ देशले ध्यान दिनु जरूरी छ । जबसम्म नेपालमा विज्ञान र प्रविधिलाई केन्द्रमा राखेर काम गरिँदैन सरकार र समाजले गम्भीरताका साथ लिँदैन तबसम्म विदेश लाग्ने नेपाली युवाहरूर्को लर्को रोकिने छैन ।
यदि राजनीतिक स्थिरता र इमानदार राज्य व्यवस्था कायम गर्न सकियो भने नेपालको भौगोलिक विविधता, परिश्रमी जनता, विभिन्न जनसमुदायमा भएको सिप, समाज र उमेर समूहले देशलाई ठूलो फाइदा पु¥याउन सक्छ । विज्ञान र प्रविधिको क्षेत्रमा योगदान पु¥याउन सक्ने प्राज्ञिक संस्थाहरू, अनुसन्धान केन्द्रहरू, गैर सरकारी संघसंस्थाहरू र विदेशमा रहेका जनशक्तिलाई उत्प्रेरित गरी उनीहरूको आर्जित ज्ञान, सिप र अनुभवलाई देशको हितमा प्रयोग गर्न सरकारले विशेष ध्यान दिनुपर्छ ।
अन्त्यमा, विज्ञान र प्रविधिको क्षेत्रमा योगदान पु¥याउन, संरचना निर्माण गर्ने र विज्ञानको जग राख्न महत्वपूर्ण भूमिका खेल्नहुने व्यक्तिहरूलाई सम्झने र सम्मान गर्ने दिनको रूपमा पनि विज्ञान दिवसलाई लिनुपर्छ र केही गर्ने उत्साहका साथ अघि बढ्न खोजेका प्रतिभाहरूलाई प्रोत्साहित गर्ने दिनको रूपमा लिनुपर्छ । यस कार्यका लागि विषयविज्ञहरूका विचार लिई उनीहरूका साथमा बसेर देश विकासको खाका कोर्न सकियो भने देशले चाहेको अपेक्षित प्रगति हासिल गर्न सकिने छ । हामी नेपालीहरूले विगत लामो समयदेखि राजनीतिक अस्थिरता बेहोरेका छौँ । विकास र समृद्धि आफ्नै जीवनकालमा देख्न र भोग्नका लागि विज्ञान र प्रविधिलाई प्राथमिकतामा राख्न जरूरी छ । तब मात्र १२ औं विज्ञान दिवसको विज्ञान तथा प्रविधिः विकास र उत्पादनमा वृद्धि को नारा सार्थक हुनेछ । (डा.शर्मा रसायनशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुनुहुन्छ ।)