

पोमनारायण पौडेल
भगवान बुद्धले देवताहरुलाई धर्म देशना गने क्रममा देवताहरुले बुद्धलाई सोधे, मानिस नाश कसरी हुन्छन् ? नाश हुने कारणहरु के होलान ? प्राणीहरुको पराजय कसरी हुन्छ ? मानिसहरु असफल के कारणले हुन्छन् ? भन्ने विषयमा जानकारी लिन देवताहरुको समुहलाई इच्छा भए पछि बुद्धले यो पराभव सुत्रको देशना गर्नु भएको थियो । पराभव भनेको असफल, पतन, नाश, हानी वा विनाश भन्ने हो । मानिसहरु किन पराभव वा पाराजय वा पतन वा असफल हुन्छ भन्ने सन्दर्भमा देवताहरुलाई प्रदान गरेको महत्वपूर्ण शिक्षा हो । मानिस पराभवका हुनु पर्ने कारणहरु बारेमा पवित्र बौद्धग्रन्थ सुत्र निपात अट्ठकथामा उल्लेख गरिएको छ । यस अंक देखि यिनै विषयमा केन्द्रीत भई पराभव सुत्रको वारेमा चर्चा गर्ने प्रयास गरिएको छ । पराभवका कारणको वारेमा क्रमशः निम्नानुसार १२ वटा मुख्य कारणहरुको वारेमा उल्लेख गरिने छ, आशा छ पाठकहरुले बुद्धका यि महत्वपूर्ण शिक्षाहरुलाई ग्रहण गरी सकरात्मक कर्म तर्फ उत्प्रेरित भई मानव जीवनलाई सफल बनाउन प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
१. धर्म प्रेमीको उन्नती धर्म विरोधीहरुको अवनति
कस्ता मानिसहरु सफल हुन्छन् कस्ता मानिसहरु असफल हुन्छन् भन्ने विषयमा बुद्धले भन्नु भएको छ ।
सुविजानो भवं होति, दुविजानो पराभवो
धम्मकामो भवं होति, धम्मदेस्सी पराभवो ।
अर्थात असफलताको पहिलो कारणका वारेमा कुरा गर्दा कुन मानिस सफल छ त्यो जान्न सजिलो छ र कुन मानिस असफल छ त्यो पनि जान्न सजिलो छ । सफल मानिसले धर्म (असल कर्म) प्रति रुचि राख्दछ त्यस प्रकारका मानिसहरु सफल हुन्छन् । जो मानिसहरु धर्म प्रति अरुचि राख्दछ, धर्म प्रति द्धेष राख्दछ, घृणा गर्दछ, त्यस्ता मानिसहरु असफल हुन्छन् । यहाँ धर्म भनेको कर्मकाण्ड वा पुजा पाठलाई भन्न खोजिएको होईन । धर्म भनेको अरु प्राणीहरुको सेवा गर्नु वा सकरातात्मक कुशल कर्म गर्नु भन्ने हो । अर्थात धर्मलाई प्राकृतिक नियमहरुको पालना गर्ने भन्ने विषयलाई समेत भन्न खोजिएको हो । त्यसैले सफल मानिसहरुले कहिल्लै पनि नकरात्मक कार्यहरु गर्दैन । बुद्धले सफल मानिसहरु धर्मप्रेमी हुन्छन् भने धर्म विरोधिहरु असफल हुन्छन् भन्नु भएको छ । बुद्धले दुबै प्रकारका मानिसहरु चिनिन्छन् । समाजले सफलता र असफलता भोगिरहेका मानिसहरुलाई जानेको हुन्छ । त्यसैले धर्म प्रतिको आस्था र विचार बढाउनु पर्दछ यसले मानिसको जीवनलाई सफल बनाउन मद्दत पुग्दछ ।
२. असत ब्यक्तिको कामलाई मन पराउनु असफलताको कारण हो
मानिसको असफलताको अर्को कारण हो गतल मानिसले गरेका गलत कामहरुलाई मन पराउनु र गलत कर्म संस्कार भएका व्यक्तिहरुको संगत गर्नु हो । यदि कुनै मानिसले गलत मानिसको कामलाई समर्थन गर्दछ भने कनै दिन त्यस व्यक्तिको पतन निश्चित छ । यस्ता मानिसहरुले आफ्ना निहित स्वार्थका लागि गलत काम गर्न अरुलाई उत्प्रेरित गर्दछन् । यस्ता प्रकृतिका मानिसले सकरात्मक काममा लागेका ब्यक्तिहरुको कामलाई विरोध गर्दछ भने अकुशल कर्ममा लागेको ब्यक्तिका विचार र कामहरुलाई साथ दिन्छ । गलत कामको परिणाम गलत नै हुने भएकाले असफल हुनु स्वभाविकै हो । यस प्रकारका मानिसहरुको जीवन असफल नै हुन्छ भने समाजलाई हित भन्दा पनि अहित हुने कुरा प्रति चासो हुन्छ । यस बारेमा बुद्धले भन्नु हुन्छ,
असन्तस्स पिया होन्ति, सन्ते न कुरुते पियं ।
असतं धम्मं रोचेति, तं पराभवतो मुखं ।।
अर्थात जुन सन्त (राम्रो काम गर्ने ज्ञानी ब्यक्ति) होईन, असंत (मूर्ख, अज्ञानी, विवेकहिन ब्यक्ति) हो त्यो उसलाई प्रिय लाग्छ, जो सन्त हो उसलाई मन पर्दैन वा अप्रिय लाग्दछ, जो सन्त होईन उसको काम मन पर्छ, यहि नै हो पतनको अर्को कारण ।
बुद्धको यस भनाईले यो कुराको पुष्टि गरिहेको छ कि हाम्रो समाजमा हत्या, हिंसा, भ्रष्टाचार, विभेद तथा व्यभिचार जस्ता कार्यहरु गर्ने समूहलाई वा त्यस प्रकारका कार्य गर्ने मानिसहरुलाई मन पराउने मानिसहरु पनि छन् । अर्को तर्फ त्यस्ता मानिसहरुलाई राम्रा काम गर्ने मानिसहरु मन पर्दैन । नेपाली समाजको सकरात्मक रुपान्तरणको बाधक पनि यस्तै पराभव भएका ब्यक्तिहरुको कारण हो भन्न सकिन्छ ।

३. निद्रालु, अल्छि र क्रोधि मानिसको पतन हुन्छ
मानिस पतन वा नास हुनुको तेस्रो कारण भनेको बढि सुत्नु, कुनै काम धन्दा नगर्नु वा काम गर्न अ¥ह्यायो भने काम नगर्नु वा अल्छि वानी भएको मान्छेको परावभ वा नाश हुन्छ भन्ने कुरालाई निम्न श्लोकमा बुद्ध ले भन्नु भएको छ ।
निद्दासीली सभासीली, अनुट्ठाता च यो नरो ।
असलो कोधपञ्ञाणो , तं पराभवतो मुखं ।।
यस गाथाको अर्थ हो, यदि कुनै व्यक्तिलाई निद प्यारो लाग्छ, उ सभामा बस्दा, उठ्दा राम्रो मान्दछ । यदि उसले यस्ता नराम्रा बानीहरु हटाउन कुनै प्रयत्नै गर्दैन । मानिसमा आलसी र क्रोधका लक्षणहरु छन् भने, त्यस व्यक्तिको पराजय वा पतन निश्चत छ । यहाँ निद्दासीलीको अर्थ भनेको उठ्दा, बस्दा, हिड्दा पनि सुत्नै खोज्ने लक्षण भएको ब्यक्ति भन्ने हो । त्यस्तै सभासीली भने समाजमा, भिडमा बस्न रुचाउने र खुब बोल्न मनपराउने लत भएका व्यक्ति भन्ने हो । अनुट्ठाता भनेको तेज र उत्साह नभएको ब्यक्ति भन्ने हो । त्यसै गरी अलसो भन्नाले शाररीक थकावट महसूस गरिरेहेको ब्यक्ति भन्ने हो ।
कोधपञ्ञणो भन्नाले द्धेष तरित्र भएका, कुनै कुरा गर्दा तुरुन्त रिसाई हाल्ने स्वभाव भएका मानिसहरु भन्ने हो । माथि उल्लेख गरिएका ब्यक्तिहरुको पतन अनिवार्य हुन्छ । निद्राशीलता, सभाशीलता, अनुुत्थानता, आलस र क्रोधी यि पाँच प्रकारका स्वभावहरु भएका व्यक्तिहरुको विजय नभई पराजय हुन्छ भनी बुद्धले मानिसको पनत हुनुको तेस्रो कारणका वारेमा बताउनु भएको देवताहरुको समूहलाई गाथा प्रस्तुत गर्नु भएको थियो ।
४. माता पिताको अपहेलना गर्नेको पतन हुन्छ
जुन ब्यक्तिले आफ्ना माता पिताको सेवा गर्दैन र अपहेलना गर्दछ त्यस प्रकारका ब्यक्तिहरु असफल अथार्त नाश हुन्छन् भनी बुद्धले निम्न गाथा प्रस्तुत गर्नु भएको थियो ।
यो मातरं पितरं वा जिण्ण्कं गतयोब्बनं ।
पहु सन्तो न भरति, तं पराभवतो मुखं ।।
यस गाथाको अर्थ यदि कुनै असंभावना रहदा रहदै पनि आफ्ना बाबु आमाको भरण पोषण उसका सन्तानले गर्दैन भने उसको पराभव अर्थात पराजय वा पतन निश्चत छ । माता पिताको शरीर जिर्ण हुन्छ ,यौवन अवस्था पार भै सकेको हुन्छ र कुनै काम गर्न असमर्थ हुन्छ यस्तो अवस्थाका माता पितालाई भरण पोषण नगर्ने र अपमान गर्ने छोरा वा छोरीको कहिल्लै पनि भलो हुन सक्दैन । यसर्थ सन्तानले आफुलाई जन्म दिने माता पिताको सम्मान तथा उनीहरुका लागि आवश्यक भरण पोषण, औषधि लगायतका सेवाहरुको परिपुरण गर्ने छोरा वा छोरीलाई कुनै प्रकारको पराभव वा असफलता भोग्नु पर्दैन । माता पिताको सेवा गर्नाले त्यसका निश्चित फाईदाहरु पनि छन् । माता पिताको पालपोषण र सेवा गर्नाले थुप्रै प्रकारका लाभ हुन्छन् । तर भरण पोषण नगर्दा यस्ता लाभहरुवाट उ बन्चित हुन्छ । जव उ लाभहरुवाट बन्चित हुन्छ र पतन वा पराजय निश्चित हुन्छ भनि बुद्धले चौथो भाथा प्रस्तुत गर्नु भएको थियो ।
५. श्रवण ब्राह्मणलाई झुठो बोलेर धोका दिने पतन हुन्छ
पाँचौ गाथाको रुपमा मानिस पतन वा नाश हुने अर्को कारण भनेको ब्राह्मण तथा श्रवणलाई झुठो बोल्ने मानिसहरुको पनि नाश अनिवार्य छ भनि बुद्धले निम्न गाथा प्रस्तुत गर्नु भएको थियो,
यो ब्राह्मणं सवणं वा, अञ्ञं वा पि वनिब्बकं ।
मुसाबादेन वञ्चेति, तमं पराभवतो मुखं ।।
माथिको गाथाको अर्थ भनेको ब्राह्मण होस वा श्रावण जसलाई पनि झुठो बोल्दछ भने उसको पराभव निश्चित नै छ भनिएको हो । यसको कारण झुठो बोल्नेहरुको कसैले कुरा पत्याउदैनन् । यो मान्छे झुठो बोल्दछ भन्ने कुरा चारैतिर फैलदै जान्छ । उस प्रतिको विश्वास घट्दै जान्छ । यसको कारण पतनको वा असफलताको कारण बन्दछ भनेर बुद्धले बताउनु भएको छ । त्यसैले कहिल्लै पनि झुठो बोली शीलको उलंघन गर्नु हुदैन । (बाँकी अर्को हप्ता)