केपी शर्मा ओलीका गतिला केही बोली

मेचीकाली संवाददाता

८ मंसिर २०८२, आईतवार
23 shares

डिल्लीराज आचार्य

नेपाली राजनीतिको आकाशमा अरुको आलोचना गर्ने त के, सत्तो सराप गर्नेहरुको पनि कम संख्या छैन । अधिक त्यस्ताहरु सबैको नकारात्मक पक्ष मात्र देख्छन । त्यहीत्यही वकल्छन् । मानौँ तिनीहरुमा कुनै नकारात्मकता नै छैन जस्तो अथवा मानौँ तिनीहरु भनेका दुधले नुहाएका र सद्गुण नै सद्गुणले भरिएका हुन् । बिर्सन्छन् तिनीहरु कि कमजोरीविहीन मान्छे संसारमै छैनन् र हुन पनि सक्दैनन् । सालाखाला रुपमा थोरै कमजोरी र धेरै सदगुणहरु भएका मान्छेहरु अर्थात् असल मान्छेको चाहना राख्दछ समग्र समाज ।

केपी शर्मा ओली

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आफैँ त्यस्ता एक पात्र हुन् जसले आफ्नो उचाइमा पुगेका सबैलाई आफूभन्दा पुडका देखिरहेका छन् । उनका कथन र अभिकथनहरु सुन्दा यस्तो लाग्दछ कि उनको उचाइलाई चुम्न सक्ने नेपाली धरतीमा अरु कोही छ भन्ने नै उनलाई लागेको छैन । भाषणमा लङ्का हाक्ने तर व्यवहारमा रुम्जाटारकै वरिपरि हुने धेरै नेपाली नेताहरु मध्येका एक हुन् उनी पनि । तर पनि उनका केही बोलीहरु दमदार नभएका होइनन् । अर्थपरक र दीर्घकालीन महत्वका छन् । यसो भन्न कञ्जुस्याइँ गर्नु सरासर दृष्टिदोष वा पूर्वाग्रही हुने छ ।
यो उल्लेखन कतिपय प्रिय पाठकहरुलाई मन नपर्ला । कतिलाई ओलीभक्तिका पङ्तिहरु भन्ने पनि पनि लाग्ला । अरु केही होइन, यहाँ समसायिक चर्चाका विषयका रुपमा रहेका उनका केही सत्य र कटु वचनहरुको स्मरण गर्ने प्रयास गरिएको हो ।

संविधान सभाबाट संविधान निर्माण गर्ने क्रममा ततकाल विद्रोहको रापिलो र रबाफिलो शक्ति रहेको नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले १३ वटा संघीयस्वरुप दिने तरखरमा लागे । केपी शर्मा ओली त्यसविरुद्ध उभिए । पाँच प्रदेशतिर जाने अभिलाषा पुराभएन तर सात प्रदेशमा राख्न सफल भयो उनीसहितको जनमत । प्रदेशको नामाकरण जातको नाउँको आधारमा हुनै लाग्यो । त्यसको पनि विरोधमा उभिए र भूगोल, प्रकृति र संस्कृतिले प्रधान्यता पायो ।

महाकाली सन्धिताका पनि चर्चा र विवादमा आएको लिम्पिया धुरा र लिपुलेकसमेतको केही भूभागमा परेको केही पछि आएर, भारतीय पञ्जा परयो । केपी शर्मा ओली बाघ बनेर गर्जे । त्यस भूभागलाई नेपालको नक्सामा राख्न र त्यसमा वैधानिकता प्रदान गर्न संविधान नै संशोधन गर्नमा अगुवाई गरे र सफल भए । भलै प्रशस्त कूटनैतिक पहल र अन्तर्राष्ट्रियकरण विधिको प्रयोगबिना गरिएको ततकालीन अपरिपक्कता पनि भन्न सकिएला तर मुलुकी स्वाधिनताको पक्षमा सतिसाल बनेर उभिएको त्यो दृश्यलाई कुन नेपालीमनले अन्यथा हो भन्न सक्ला र ? नेपथ्यामा त्यसरी नै भन्यो भनेपनि त्यसमा नेपालीपन बाँकी रहेको कसरी मानिएला र ? मानिँदैन । यो प्रकरण व्यक्तिगत रुपमा ओलीका लागि सदियौँ बाँचिरहने प्रकरणमा रुपमा स्थापित भइसकेको छ ।

आफ्नै नेतृत्वमा रहेको सरकारको सम्बन्धित निकाय वा अधिकारीको निर्देशनको पालना गर्नुपर्ने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी आफैँलाई बालुवाटारमा सुरक्षा दिन नसक्ने भन्दै होतरेर हेलिकेप्टरबाट मकवानपुर पु¥याएर ज्यान जोगाई दिनुपर्ने अवस्था किन प¥यो र त्यस प्रकारको अवस्थाको सिर्जना कसकसले र कसरी ग¥यो ? सुरक्षा निकायसहित सम्बन्धित को कसको के कमजोरीले त्यस्तो हुन गयो वा वर्षौँदेखिको सुशासनको प्रत्याभूतिको अभावको कारणले मात्र त्यस्तो बाध्यात्मक परिस्थिति आयो ? गहन समीक्षाको विषय अवश्य हो । तर अप्रत्यासित रुपमा भएको गत भाद्र २३ गतेको जबर्जजस्ता विरोध र २४ गतेको दर्दनाक घटनापछिको अन्तरिम सरकार गठनदेखि त्यसका समग्र क्रियाकलापलाई उनले पूर्ण असंवैधानिक भन्दै आएका छन् । सुशीला कार्कीलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गर्न आफूले कुनै सिफारिस गरेको भए सार्वजनिक गर्न पनि चुनौति दिइरहेका छन् । यो सरकार कसको हो ? भन्नेमा गम्भीर प्रश्न उठाएका छन् ।

‘यो सरकार कसको हो ? जेनजीहरु मेरो सरकार होइन भन्छन् । दलहरु हाम्रो सरकार होइन भन्छन् । संसद्ले यसलाई चिन्दिनँ भन्दछ । संविधानले मसँग यस्तो सरकार बनाउने व्यवस्था नै छैन भन्दछ । आखिर यो सरकार कस्को हो ?’ प्रेस चौतारी नेपालका प्रतिनिधिहरुसँगको भेटघाट कार्यक्रममा भनेछन् ।
‘अवैधानिक र अनाधिकत रुपबाट बिघटन गरिएको संसद्लाई पुनः स्थापना गरिएमात्र देशलाई सही बाटोमा हिँडाउन सकिन्छ । यस्तो असंवैधानिक तबरले संसद्लाई बिघटन गर्दै जाने हो भने नजिर बस्छ । यसले देशलाई संवैधानिक बाटोमा फर्कन अवरोध गर्दछ । त्यसकारण यो कोर्स तत्कालै करेक्सन हुनुपर्छ’ भन्दै अवैधानिक रुपमा प्रतिनिधिसभाको बिघटनको दूरगामी परिणामको बारेमा पनि बोलेका छन् ।

वस्तुतः वर्तमान अवस्थामा मुलुकी समस्याको चुरो कुरो भनेकै सडकको आवाजको नाममा निर्वाचित जनप्रतिनिधिहरुको मूल्य र लोकतान्त्रिक पद्दतिको मान्यतामा गम्भीर असर पुग्ने गरी यसरी अवैधानिक रुपमा सरकार गठन गर्दै जाने हो भने आवधिक निर्बाचन, लोकतन्त्र, कानुनको शासनसहितका समस्त मान्यताहरुको कुनै अर्थ र महत्व रहने छैन । ‘जसका लाठी उसका भैँसी’ हँदै ध्वंस प्रश्रय पाउने छ । जुन सबैका लागि र सधैँका लागि दुर्भाग्यको अध्याय बन्ने छ ।

राजनीतिक विश्लेषक एवं जानकारहरुले भन्ने गरेका छन्,‘नेकपा एमालेका अध्यक्ष, ओलीले आसन्न महाधिवेशनमा मीयो बनेर सबैलाई समेटेर लग्न सके भने र नयाँ पुस्तालाई नेतृत्वमा अगाडि सार्दै अन्तरपार्टी जनवादलाई मजबुत बनाउन सके भने उनले अँगालेको राष्ट्रवादी धारले मुलुकी माटो सिञ्चित गर्ने मात्र होइन, जनजनको मनलाई सितलता प्रदान गर्दै, मुलुकी समृद्धिले गति लिने छ ।’ हेरा‌ैँ, उनीसहित देशको भविष्य कता जान्छ र केपी शर्मा ओलीले नेकपा एमाललेलाई कसरी लान्छन् ? (ऐरावती–१ धनवोट, प्यूठान )