कमल सिलवाल
बुद्ध धर्म केवल दर्शन होइन, यो जीवन जिउने गहिरो कला हो । यस जीवनकला भित्र शीलको शिक्षा (नैतिक अनुशासन) ले आधारभूत भूमिका खेलेको पाइन्छ । शील बिना ध्यान दृष्टिविहीन हुन्छ, र प्रज्ञा बिना शील अपूर्ण हुन्छ । यही त्रिशिक्षा शील, समाधि र प्रज्ञा मध्येको पहिलो खुड्किलो शील हो। शीलहरूमा पनि पाँच शीलहरू (पञ्चशील) सामान्य जनजीवनका लागि आधार मानिन्छन् । तर यी पाँचमध्ये प्रथम शील–पाणातिपाता वेरमणि (प्राणी हिंसा नगर्ने शिक्षा) केवल पहिलो क्रममै आएको शील होइन, वास्तवमा सम्पूर्ण शीलहरूको मूल आधार हो, बीज हो ।
प्रथम शीलको मूल अर्थः केवल हत्या नगर्नु मात्र होइन ।
प्रथम शीललाई प्रायः ‘हत्या नगर्नू’ भनेर सतही रूपमा बुझिन्छ तर पाली भाषाको पाणातिपाता शब्दको गहिरो अर्थ बुझ्दा यसको व्यापकता प्रकट हुन्छ ।
–पाण = स्वास भएको, चेतनायुक्त जीव
–अतिपात = नष्ट गर्नु, हिंसात्मक हस्तक्षेप
–वेरमणि = सचेत रूपमा टाढा रहनु
‘पाणो नाम जीवित सत्तो’ अर्थात् पाण भन्नाले जीवित सत्ता हो । यहाँ स्वासभन्दा बढी महत्त्वपूर्ण कुरा जीवित हुनु हो । केही जीवहरू स्वास लिन्छन् भन्ने अनुभूति प्रत्यक्ष देखिँदैन (जस्तै सूक्ष्म जीव), तर ती पनि पाण नै हुन् ।
पाली अट्ठकथाहरूमा पाणातिपात को व्याख्या गर्दै ‘अतिपातो नाम वधो’अर्थात् अतिपात भन्नाले वध÷नाश हो भनिएको पाइन्छ तर यहाँ बध केवल शारीरिक हत्या मात्र होइन, जीवनलाई नष्ट गर्ने उद्देश्यसहित गरिएको कर्म हो, अर्थात् अतिपात भनेको जीवन नष्ट गर्ने उद्देश्यसहित गरिएको हिंसात्मक कर्म, केवल ‘मार्नु’मात्र नभई हिंसात्मक हस्तक्षेप भन्नु उचित व्याख्या हो ।
‘चेतनाविरति’ अर्थात जानिजानी रोक्नु या रोकिनु अर्थात् अनायास भएको कर्म शीलभङ्ग होइन, चेतनापूर्वक रोकिएको अवस्था नै वेरमणि हो । वेरमणि भनेको जानिजानी, चेतनापूर्वक पाप कर्मबाट टाढा रहने अवस्था हो । समन्तपासादिका अट्टकथामा यसरी लखिएको छः
‘पाणो नाम जीवितसत्तो
अतिपतो नाम तस्स जीवितसत्तस्स वधो ।
जीवितिन्द्रियस्स उपच्छेदो
तस्मा पाणातिपातो नाम पाणस्स अतिपातो ।’
अर्थात् पाण भन्नाले जीवित प्राणी हो, अतिपात भन्नाले त्यस जीवित प्राणीको वध हो, जीवन–इन्द्रियको विच्छेद हो, त्यसैले पाणातिपात भन्नाले प्राणीको जीवन नष्ट गर्नु हो ।
यसरी हेर्दा पञ्चशीलमा प्रथम शीलको अर्थ हुन्छ कुनै पनि चेतनायुक्त प्राणीको जीवन नष्ट गर्ने, पीडा दिने, भय सिर्जना गर्ने कुनै पनि कर्मबाट सचेत रूपमा टाढा रहनु । यहाँ केवल शारीरिक हत्या मात्र होइन, मानसिक हिंसा, संरचनागत हिंसा, उपेक्षा, शोषण, र दमनसमेत गरी शारीरिक र मानसिक हिंसाहरु समावेश हुन्छन् ।
जीवनप्रति करुणाः नैतिकताको आधार
बौद्ध धर्मको केन्द्रमा करुणा र मैत्री छन् । करुणा तब मात्र सम्भव हुन्छ जब जीवनप्रति गहिरो सम्मान हुन्छ । यही सम्मान नै प्रथम शीलको हृदय हो ।
यदि जीवनप्रति आदर छैन भने न चोरी गर्दा नै अपराध बोध हुन्छ, न झूट बोल्दा नै पीडाको अनुभूति हुन्छ । जीवनप्रतिको समानता र करुणा भाव नभएको मनमा केको दुराचार, केको सदाचार । आफूले गरेको दुराचारले अरूको सम्मान खण्डित हुन्छ भन्ने ध्यान नै हुँदैन । त्यस्तै कुरा लागु हुन्छ, मदक पदार्थको सेवनमा पनि । स्वयमको शारीरिक हानि त छँदैछ साथ साथै पारिवारिक एवम् सामाजिक सम्मान पनि गुमिरहेको हेक्का नहुने अवस्थामा कति जनालाई मानसिक हिंसा पुगेको हुन्छ, उक्त व्यक्ति स्वयमलाई पनि थाहा हुँदैन । चेत नै हराएको मानिसले कसरी अरुको सम्मान गर्न सक्छ र ?
यसैले जीवनप्रतिको सम्मान नै सबै नैतिक संवेदनाको बीज हो । जब जीवनप्रतिको संवेदना नष्ट हुन्छ तब अरु कुनै शील पालनाको अवस्था नै रहँदैन ।
प्रथम शीलमा व्यक्त अहिंसालाई पञ्चशीलका चार शीलहरुसँग विश्लेषणात्मक रूपमा हेरौँ ।
(क) दोस्रो शीलः चोरी नगर्नु
चोरी, केवल सम्पत्ति खोस्नु वा अरुको वस्तु थाहा नदिई लिनु मात्र होइन, यो त एक प्रकारको आर्थिक हिंसा नै हो । कसैको श्रम समय, सपान र सुरक्षा माथिको आक्रमण हो । यस्तो कर्मले अरुको जीविकामा आघात मात्र पु¥याउँदैन, उसको समग्र जीवनलाई नै असुरक्षित बनाउँछ । त्यसैले चोरी गर्नु पनि जीवनलाई हानि पु¥याउनु हो । यसले भोक, असुरक्षा र मानसिक पीडा जन्माइरहेको हुन्छ । चोरी जीवन माथिको हिंसा नै हो ।
(ख) तेस्रो शीलः शारीरिक दुराचार नगर्नु
यौन दुराचारलाई यदि केवल नैतिक नियमको उल्लंघनका रुपमा मात्र हेर्ने हो भने यसले दिने गहिरो पीडालाई बुझ्न सकिँदैन । यौन दुराचार केवल भावनात्मक शोषण मात्र होइन यो त कसैको अटुट विश्वासको हत्या पनि हो, आत्मसम्मानको नष्ट पनि हो ।यो प्रत्यक्ष रुपमा शारीरिक हत्या नभए पनि मानसिक र भावनात्मक जीवनको हत्या नै हो । अझ भन्ने हो भने आज यौन दुराचार कै कारणबाट हत्या भएका तमाम घटनाहरु समाजमा प्रसस्तै भेटिन्छन् । यसर्थ प्रथम शीलमा रहेको हिंसा नगर्नु भन्ने शीलले तेस्रो शीललाई पनि सूक्ष्म रुपमा प्रकट गरिरहेको पाइन्छ ।
(ग) चौथो शीलः झुटो नबोल्नु
झुटो नबोल्नु वास्तवमा प्रथम शील कै सूक्ष्म, भाषिक र सामाजिक विस्तार हो । हिंसा केवल शारीरिक होइन । बुद्धले हिंसालाई केवल शारीरिक कर्ममा सीमित गर्नुभएको छैन । बुद्ध धर्ममा कर्म तीन तहमा हुन्छन्
१.कायिक कर्म (शरीर)
२.वाचिक कर्म (वाणी)
३.मानसिक कर्म (मन)
यदि शीलको केन्द्र हिंसा नगर्नु हो भने झुट, गाली, अपशब्द जस्ता कुरालाई वाणीले गरिएको हिंसाका रुपमा हेर्नु पर्ने हुन्छ । अर्थात् झुट बोल्नु भनेको वाचिक हिंसा हो । ‘झुट’ जीवनमाथिको आक्रमण हो । झूटले मानसिक जीवन नष्ट गर्छ । मानिस केवल शरीर मात्र होइन । उसको जीवनमा विश्वास, आत्मसम्मान, मानसिक शान्ति जस्ता अति आवश्यक तत्वहरु पनि समावेश हुन्छन् । झुटले त्यस्ता तत्वहरुको हत्या गर्दछ । त्यसैले झुट मानसिक जीवनको वध हो, हिंसा हो । शब्दद्वारा कसैको जीवन, प्रतिष्ठा र मानसिक शान्ति नष्ट गर्नु हिंसा कै रुप हो । जीवन प्रति सम्मान हुनेले कहिल्यै पनि शब्दको हतियार प्रयोग गर्दैन । अतः झुटो नबोल्नु केवल नैतिक नियम मात्र होइन य त हिंसा नगर्नु भन्ने शीलको वाचिक विस्तार हो ।
(घ) पाँचौँ शीलः मादक पदार्थ सेवन नगर्नु
मादक पदार्थ सेवनले सेवकको चेतना गुमाउँछ । चेतना नै नरहेपछि हिंसा स्वभाविक हुन्छ किनभने कुनै पनि हिंसा सचेत भएर गरेको पाइँदैन । आवेश वा वेहोसी मै धेरै हिंसाका घटना भएको भेटिन्छ । मादक पदार्थ हिंसा भड्काउने मात्र होइन स्वयम् हिंसाको माध्यम पनि हो । घर परिवारका मनिसमा कति मानसिक हिंसा भइरहेको हुन्छ, त्यसको लेखाजोखा नै भएको छैन । अनि मादक पदार्थको सेवान स्वयमको शरीर प्रति गरिएको शारीरिक हिंसा पनि त हो । यसरी हेर्दा पाचौँ शील पनि प्रथम शीलकै रक्षक शीलको रुपमा देखा पर्छ ।
प्रथम शील र अहिंसाको दर्शन
प्रथम शील (हिंसा नगर्नु) पूर्वीय परम्परासँग जोडिएको भए तापनि बुद्धले यसलाई दार्शनिक रुप प्रदान गरी नयाँ उचाई दिनुभयो । हिंसालाई केवल कर्मगत नभई चेतनागत व्यवहारको रुपमा व्याख्या भयो ।
बुद्ध भन्नुहुन्छः सब्बे तसन्ति दण्डस्स, सब्बेसं जीवितं प्रियं
अत्तानं अपमं कत्वा, न हनेथ्य धातये (धम्मपद, दण्डबग्गो)
आजको संसारमा हिंसा केवल हतियारबाट मात्र हुँदैन । युद्ध, जातीय विभेद, लैङ्गिक हिंसा, पशु अधिकार उल्लंघन, पर्यावरण विनाश जस्ता यी सबै विषयहरु जीवनमाथिका संरचनागत हिंसा नै हुन् ।
ध्यान गर्ने व्यक्ति पनि यदि करुणाहीन छ भने त्यो ध्यान पनि केवल आत्मकेन्द्रित अभ्यास हुन्छ । प्रज्ञा खोज्ने व्यक्ति पनि यदि जीवन प्रति संवेदनशील छैन भने प्राप्त प्रज्ञा पनि अहंकारमा रुपान्तरण हुनेछ । यसर्थ बौद्ध दर्शनको मेरुदण्डका रुपमा रहेको पञ्चशीलको प्रथम शील केवल व्यक्तिगत नैतिकता होइन, वैश्विक नैतिक घोषणापत्र हो । (लेखक लुम्बिनी बौद्ध विश्वविद्यालय स्नातकोत्तर तह प्रायोगिक बौद्ध अध्ययनतर्फ अध्ययनरत विद्यार्थी हुन् ।)
