महिला सशक्तिकरणका लागि योग

मेचीकाली संवाददाता

१० असार २०८१, आईतवार
365 shares

कमल पन्थी
योगको शाब्दिक अर्थ जोड हो । आत्माको परमात्मासँगको जोडलाई नै योग भनिन्छ । हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु नै योग हो । रोगीका लागि रोग चिकित्सा पद्दति हो भने निरोगीका लागि जीवन पद्दति हो । वर्तमान समयमा मानिसहरु मानसिक तथा शारीरिक समस्याबाट ग्रसित अवस्थामा रहेकाले योगको महत्व झन बढ्दै गएको छ । योग सूत्रका प्रणेता पतञ्जली हुन् ।

पातञ्जल भनेको पतञ्जलीले बनाएको योग दर्शन हो । जीवन र जगतको रहस्यलाई अनेकन मार्गहरुबाट बुझ्ने प्रयासमा दर्शनको उत्पत्ति भएको हो । शारीरिक, मानसिक, बौद्धिक तथा आत्मिक विकासको लागि योग सर्वोत्तम पद्दति हो । श्रीकृष्णले ज्ञान योग, कर्म योग र भक्ति योग गरी तीन प्रकारका योगको चर्चा गर्नुभएको छ । योग सूत्रको श्रेय भगवान् शिवलाई जान्छ । शिवबाट सुरु भएका योग विधाहरु क्रमशः सप्तऋषिहरुमार्फत पुस्तौँपुस्ता यात्रा गरेर हामी माझ आएको हो । प्राचीन कालमा ऋषिमुनिहरुले घर गृहस्थी त्यागी एकान्तमा बसी साधना गर्ने कार्यलाई योग भनिन्थ्यो । वर्तमान समयमा पनि निश्चित उमेर पुगेपछि वा कुनै समस्या देखिएपछि मात्र योग साधनातर्फ लाग्ने गरेको पाईन्छ । यो गलत कुरा हो । योगका लागि कुनै उमेर र अवस्था चाहिँदैन । आफ्नो शारीरिक योग्यता, क्षमताका आधारमा विभिन्न योगाभ्यास गर्न सकिन्छ । यसले रोगी निरोगी हुने र स्वस्थ्य मानिसलाई स्वस्थ्य जीवन जीउन सघाउ पु¥याउँछ । सकारात्मक सोचको विकास गरी व्यक्तिको जीवन पद्दतीमा परिवर्तन ल्याउँछ । योग सर्वकालीन, सार्वजनिक र सार्वभौमिक विषय हो ।

योग एक विज्ञान
यो जगतमा भौतिक विज्ञान र चेतनाको विज्ञान/अन्तर विज्ञान Esoteric science अर्थात् Spirituality गरी जम्मा दुईवटा विज्ञान छन् । भौतिक विज्ञानको पथ प्रदर्शन वैज्ञानिकहरुले गर्छन् भने चेतनाको विज्ञानको ऋषि, सन्तहरुले गर्छन् । कुनै विषयमाथि अध्ययन, अनुसन्धान तथा सत्यको उद्घाटन गर्ने विज्ञानका विशेषताहरु हुन् । योग पनि एक विज्ञान भएकाले अन्धविश्वास र अन्धपरम्परा होइन । विज्ञानले पदार्थको स्थिति सितको सम्बन्ध राख्छ भने योगले व्यक्तिको चेतना जागृतिसँग चासो राख्छ ।

योग जीवन जिउन सिकाउने कला
बदलिँदो जीवनशैली, रहनसहन तथा खानपानले अहिले हाम्रो जीवनशैली अस्तव्यस्त छ । शरीरलाई फाइदा नगर्ने खाना, मनलाई दुःख हुने शब्द, मस्तिष्कलाई असर पर्ने गरी नराम्रो सोचाइले हामीले आफूले आफैँलाई दुःख दिइरहेका छौँ । हाम्रो जीवनशैलीलाई अनुशासित बनाउँछ योग र ध्यानले । योगले शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र अध्यात्मिक चेतनाका साथ जीवन जिउने कला सिकाउँछ । नियमित आसन, प्राणायम र ध्यानले सकारात्मक सोचको विकास, मानसिक शान्ति, कार्य क्षमतामा वृद्धि, ऊर्जा र आत्मज्ञान प्राप्ति हुन्छ । आफूभित्र र बाहिरको संसारलाई उज्यालो बनाउने काम ध्यानले गर्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य भनेको केवल रोगबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रुपमा स्वस्थ हुनु हो । यो सबैको प्राप्तिको आधार योग नै हो ।

राष्ट्रिय तथा विश्व योग दिवसको पृष्ठभूमि
विसं. २०७२ सालदेखि नेपालमा प्रत्येक वर्ष माघ एक गते राष्ट्रिय योग दिवस मनाउँदै आइएको छ । विश्व योग दिवसको सन्दर्भमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको ६९ औँ महासभामा योग सबका लागि सधैका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न पहिलोपटक प्रस्ताव गरेका र सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री स्व.सुशील कोइरालाले पहिलो समर्थन गरेपछि संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा पारित प्रस्तावअनुसार सन् २०१५ देखि हरेक वर्षको जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाउन थालियो । पृथ्वीको उत्तरी गोलार्धमा जुन २१ मा वर्षकै लामो दिन हुने गर्छ । नियमित योगा गर्नाले आयु लामो हुने यथार्तलाई लामो दिनसँग जोडेर जुन २१ छनौट संयोग हुन सक्छ । यस वर्ष ‘महिला सशक्तिकरणको लागि योग’ भन्ने नाराका साथ असार ७ गते शुक्रबार विभिन्न कार्यक्रम गरी दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।

सशक्तिकरण/महिला सशक्तिकरण
सशक्तिकरण भन्नाले सशक्त बनाउने काम, शारीरिक वा मानसिक सक्षम पार्ने कार्य, स्रोत, साधन, अधिकार आदिले सम्पन्न पार्ने काम वा प्रकृया हो । यी विषयहरुमा महिलाहरुलाई सशक्तिकरण गराउनु नै महिला सशक्तिकरण हो । महिलालाई शारीरिक र मानसिक रुपले सक्षम पार्ने काम नियमित योगाले गर्ने गर्छ ।

नारी सृष्टि केन्द्र मात्र हैनन्ः शक्ति केन्द्र पनि हुन्
हिन्दू संस्कृतिमा देवताहरुलाई दैत्यले दुःख दिँदा देवीको शरणमा परेको र देवीहरुले दैत्यको वध गरेर संरक्षण गरेका कुराहरु शास्त्रमा उल्लेख पाइन्छ । हिमवत खण्ड संस्कृतिमा मदमत्त सिंहलाई वसमा पार्ने देवीको पूजा हुन्छ । प्रकृतिले पनि एक सय जना छोरी जन्माउदा एक सय पन्ध्र जना छोरा जन्माउँछ किनकि पन्ध्र जना युवा हुँदासम्म मर्छन् । बच्चा जन्माउँदा एउटी आमाले स्वर्गीय आनन्द मात्र होइन, बिसवटा हड्डी भाँचिएको बराबर पीडा अर्थात् बाह्र डेसीवल शक्ति खर्च गर्छिन् । एक पटकमा पुरुषले नौ डेसीवल मात्र पीडा खप्न सक्छ । यसको अर्थ पुरुषले बच्चा जन्माउने बराबरको पीडा खप्नु परेमा सहन नसकेर मर्छ । नारीहरु एउटा परिवारबाट मुला उखेलिएझै अर्को घर परिवारमा सारेर त्यहाँ पहिचान कायम गर्नु पर्ने जीवनभरको संघर्ष र अनुभवले भित्रबाटै खारिएका हुन्छन् ।

महिला सहभागिताः विगतदेखि वर्तमानसम्म
मानव सभ्यताको विकास भएदेखि महिलालाई घरभित्रका सेवाका काम र पुरुषलाई घर बाहिरका बढी श्रम र बल चाहिने काममा विभाजन भएको पाइन्छ । यी कुरा आवश्यकताले भन्दा पनि परम्परा देखि चल्दै आएको र मानिसको स्मृतिमा रहेका कारणले कायम हुन गयो । समाज विकासको क्रममा भएको औद्योगिक क्रान्तिले मानिसलाई कृषि पेशाबाट उद्योगमा ल्यायो । महिलाका काम घरभित्रका अर्थहीन र पुरुषका काम बाहिरका अर्थपूर्ण भन्ने भाष्य सिर्जनामा थप बल मिल्यो।वर्तमानमा आइपुग्दा भने महिला सहभागिता नभएको कुनै क्षेत्र छैन । महिला आधा आकाश हो । अहिले लिंगको आधारमा कुनै भेदभाव गर्न नहुने संवैधानिक प्रावधान छ । लोकतन्त्रमा महिला सहभागिता सम्बन्धमा पछिल्लो यो उत्साहजनक सहभागितालाई हेरौँ ।
प्रतिनिधिसभामा ३३.१ प्रतिशत, स्थानीय तहमा ४१.२ प्रतिशत, निजामती सेवामा २८.५ प्रतिशत, घरजग्गा स्वामित्वमा २३.९ प्रतिशत, बैंकिङ क्षेत्रमा ४५ प्रतिशत, सरकारी स्वास्थ्य सेवामा ४९ प्रतिशत, आधारभूत तहमा महिला शिक्षक ५४ प्रतिशत र आयु ७३ वर्ष रहेको छ । (लैंगिक विषय विज्ञ इन्दु पन्तको लेखबाट)

बच्चाहरुको लागि उनको परिवार पहिलो पाठशाला हो भने आमा गुरुआमा हो । आफ्ना बच्चाहरुलाई एउटी आमाबाट संस्कारयुक्त हुर्काइले परिवारका लागि असल सन्तान र राज्यका लागि असल नागरिक तयार हुन्छ । निरोगी, शिक्षित, सभ्य र संस्कार युक्त नागरिक राज्यको अमूल्य नीधि हुन् । जसबाट सभ्य र समुन्नत समाजको निर्माण हुन्छ । आमा बच्चाको खानपीन, रेखदेख, सिकाइदेखि संस्कार युक्त हुर्काइमा प्रत्यक्ष संलग्न हुन्छिन् । तसर्थ महिलालाई शारीरिक, स्वास्थ्य, मानसिक शान्ति, बौद्धिक विकास र अध्यात्मिक उन्नतिको लागि महिलालाई योग शिक्षा अनिवार्य हुन्छ ।

उपसंहार
भनिन्छ ‘बिहानी चराले किरा पाउँछ’ हामीहरु पनि चराहरुझै बिहान सबेरै (ब्राम्ह मुहूर्तमा) उठ्नुपर्छ । यस समय सम्पूर्ण वातावरण शान्तिमय र निर्मल हुन्छ । बिहान सबेरै उठ्दा स्वास्थ्यलाई अरु बढी लाभ मिल्छ । स्वास्थ्य, सफलता र आध्यात्मिक उन्नतिका लागि बिहानी समय अति नै महत्वपूर्ण छ । यो समय नै योग र ध्यानकालागि उत्तम समय हो । हिन्दीमा एउटा भनाइ छ ‘जब जागो तव सवेरा’ अर्थात कुनै पनि काम गर्न ढिलाई गर्न हँदैन । जतिबेला जानकारी भयो उति बेला बाट गर्न सुरु गर्नुपर्छ । उठ्दा जति बेला हुन्छ त्यो बेला नै बिहानै छ भन्ने अर्थमा लिनुपर्छ । योग गरौँ ! स्वस्थ्य बनौँ ! जीवनशैली बनाऔँ ! जीवनको अंग बनाऔँ !!

यो पनि पढ्नुहोस्

निजामती सेवास् आत्मसमर्पण, अतिक्रमण र कोपभाजनमा

परम्परागत सञ्चार प्रणालीस् कटुवाल प्रथा

सहकारीः वर्तमान अवस्था र जिम्मेवार पक्ष

नेपालको जग्गा प्रशासनस् हिजो, आज र भोलि

सहकारीमा सुशासनस् प्रविधि र एकीकरण

ढाक्रेदेखि अनलाइन सपिङसम्म