लुम्बिनीको कूटनीतिक सम्भावना

मेचीकाली संवाददाता

१६ श्रावण २०८२, बिहीबार
71 shares

गौतम बुद्धको जन्मस्थल लुम्बिनी आज केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई अन्तर्राष्ट्रिय कूटनीति, शान्ति र दिगो विकासको प्रयोगशालाका रूपमा स्थापित हुँदै गएको छ । हिजो सम्पन्न भएको लुम्बिनी बौद्ध विश्वविद्यालयको संयोजनमा आयोजित दुई दिवसीय अन्तर्राष्ट्रिय कार्यक्रमले यस सम्भावनालाई थप प्रमाणित गरेको छ । ‘कूटनीतिमा बौद्ध शिक्षाः शान्ति र दिगो विकासको पथ’ विषयक उक्त भेलामा नेपाल र भारतका प्रमुख विश्वविद्यालयका उपकुलपति, प्राध्यापक, शोधार्थी तथा कूटनीतिज्ञको सहभागिताले लुम्बिनीको अन्तर्राष्ट्रिय सन्देश प्रवाह गर्ने क्षमतालाई उजागर गरेको छ ।
महामानव, एसियाका तारा, ज्ञान, मानवताको बोध पहिल्याउने बुद्धको शिक्षा संवाद, सहिष्णुता, अहिंसा र समताको जगमा उभिएको दर्शन हो, जुन आजको द्वन्द्वग्रस्त, असहिष्णु र असमानताले ग्रस्त विश्वमा अत्यन्त सान्दर्भिक छ । अहिले विश्वमा एकप्रकारको द्वन्द्व, अशान्ति, हिंसा र अस्वस्थ प्रतिस्पर्धा छ । यसले मानव जाति माथि मात्रै होइन, प्राणी जगत माथि नै एकप्रकारको संकट निम्त्याइरहेको छ । यस्तो अवस्थामा बुद्धले पहिल्याएको शान्तिको मार्ग, मध्यमार्गी मार्ग नै उपयुक्त माध्यम बन्नसक्छ ।

लुम्बिनी जस्तो पवित्र स्थानमा आयोजित उक्त कार्यक्रमले बौद्ध शिक्षालाई आधुनिक विश्व राजनीति, विकास नीति र कूटनीतिक संवादमा कसरी व्यवहारिक रूपले रूपान्तरण गर्न सकिन्छ भन्ने विषयमा गहिरो विमर्शलाई सम्बोधन गरेको छ । त्यहाँ सहभागी विज्ञहरु, शैक्षिक तथा प्राज्ञिक व्यक्तित्वहरुका विचार मन्थनले लुम्बिनीको सम्भावनालाई अझ उजागार गर्ने काम गरेको छ । लुम्बिनीमार्फत शान्ति र सहअस्तित्वको नयाँ पाठ्यक्रमको तयारी तथा बौद्ध कूटनीतिमा केन्द्रित स्नातकोत्तर डिप्लोमा कार्यक्रमको घोषणा हुनु ऐतिहासिक उपलब्धिसमेत हो ।

कार्यक्रममा उठाइएका विषय, प्रस्तुत कार्यपत्रहरू र नेपाल–भारतका विज्ञ तथा राजदूतहरूको धारणा लुम्बिनीलाई ‘मानवता, सहिष्णुता र अहिंसाको प्रतीक’ को रूपमा स्थापित गर्न महत्वपूर्ण छन् । यस्ता कार्यक्रमले लुम्बिनीको आध्यात्मिक, शैक्षिक र कूटनीतिक मूल्यलाई विश्वभर फैलाउने दिगो आधार तयार पार्दछन् । संसारभरका बौद्ध मार्गीहरुले एकपटक पाइला टेक्नेपर्ने ठाउँ हो लुम्बिनी । त्यस्तो पवित्र ठाउँमा शैक्षिक कार्यक्रममार्फत बौद्ध दर्शनलाई व्यवहारिक बनाउने लुम्बिनी बौद्ध विश्वविद्यालयको प्रयास सराहनीय छ ।

अब लुम्बिनीको प्रचार केवल तीर्थयात्रामा सीमित नरही, अन्तर्राष्ट्रिय शान्ति केन्द्रका रूपमा स्थापित गर्न दीर्घकालीन रणनीति बनाउन आवश्यक छ । लुम्बिनीको ऐतिहासिक र आध्यात्मिक पहिचानमा भ्रम फैलाउने कुनै पनि प्रयासलाई रोक्न वैज्ञानिक प्रमाण, अनुसन्धान र अन्तर्राष्ट्रिय संवादकै माध्यमबाट प्रतिवाद गर्नु आजको आवश्यकता हो । यस्तो पवित्र स्थललाई नेपालले भरपूर सदुपयोग गर्न सकेको छैन । विडम्बना यहाँका स्थानीयहरुमै यसको बारेमा अपनत्व महसुस भइरहेको देखिन्न ।