आधुनिक जीवन यापनसँगै प्लाष्टिकको प्रयोग बढेसँगै चिन्ता बढ्न थालेको छ । किनकि प्लाष्टिकको प्रयोग जीवन यापनका लागि घातक हो भन्ने पुष्टि भैसकेको छ । २० माइक्रोनभन्दा कमका प्लाष्टिकमा पोको पारिने खानाले क्यान्सरसम्म हुन सक्ने तथ्य सार्वजनिक भैसक्दासमेत हाम्रो समाजमा यसको प्रचलन घटेको छैन । कुनै समय शहर बजारमा मात्रै चलन चल्तीमा रहेको प्लाष्टिकको झोलाको प्रयोग अहिले गाउँगाउँमा समेत हुन थालेपछि वातावरणविद्हरु थप चिन्तित भएका छन् ।
प्लाष्टिकको प्रयोगले मानव जीवन मात्रै हैन पर्यावरणमा समेत नकारात्मक असर पार्छ । प्रयोग भैसकेका प्लाष्टिक जलाउदा निस्कने धुवाँ र ग्यासले मानव स्वास्थ्यलाई थप जटिल बनाउँछ । नेपालमा प्लाष्टिकको प्रयोग भएको धेरै भएको छैन । तयारी खानेकुराको माग बढेसँगै प्लाष्टिकको प्रयोग बढेको हो । शहरदेखि गाउँसम्मै आफूलाई आवश्यक परेको सामान खरीद गर्न जाँदा रित्तै जाने प्रवृत्तिले प्लाष्टिकको प्रयोग ब्यापक मात्रामा बढेको छ । सामान बोक्ने झोला मात्रै हैन घरमा प्रयोग हुने सामग्रीमा समेत प्लाष्टिककै बाहुल्यता बढन थालेको छ । पानी पिउने जग, पानी राख्ने बाल्टी, गिलास, प्लेटलगायतका प्लाष्टिककै सामग्री प्रयोग बढ्दै गएको छ ।
प्लाष्टिकका सामग्रीको बढ्दो प्रयोग र त्यसलाई पछि जलाउँदा निस्किने धुवाँको असरले मानव स्वास्थ्यमा गम्भीर प्रतिकूल असर गर्छ । धुवाँकै कारण क्यान्सर समेत हुनसक्छ । नेपालका विभिन्न शहरमा प्लाष्टिक नियन्त्रणका लागि भन्दै विभिन्न प्रयास नभएका होइनन् तर, हाम्रो बजार जाने शैली र चेतनाको विकासकै कारण प्लाष्टिक प्रयोगमा अपेक्षित सुधार हुन सकेको छैन ।
सबैभन्दा पहिला प्लाष्टिकसँग सम्बन्धित उद्योगका बारेमा सरकारले नीति बनाउनु जरुरी छ । प्लाष्टिकका सामग्री उत्पादन गरेरै कतिले उद्यमशिलता प्रस्तुत गरेका होलान् त कतिपयले रोजगारी पाएका छन् । प्लाष्टिकको सामग्री उत्पादनमा लागेकाहरुलाई त्यस्तै प्रकारका अन्य उद्योग सञ्चालनका लागि ‘उद्योग रिप्लेस’ मा सरकारले सघाउनुपर्छ । प्लाष्टिकका झोला एवं अन्य भाँडाकुँडा बनाउनेहरुलाई त्यस्तै प्रकृतिका उद्योगका रुपमा रुपान्तरण गर्नुपर्छ । प्लाष्टिकका झोलाको साथै अन्य विभिन्न जुट एवं कपडाको झोला प्रयोग गर्न सकिन्छ भने गाउँगाउँमा प्रयोग हुने प्लाष्टिकको झोलाको सट्टामा जुट बाबियो वा अन्य घरेलु सामग्रीको विकल्प खोज्न सकिन्छ ।